आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय
कथा

क्रमशः

शनिबार, ०९ चैत २०८१, १७ : ००
शनिबार, ०९ चैत २०८१

बदलीपछि घाम लाग्छ । सबै कुराहरू मौसमअनुसार परिवर्तन हुन्छन् । मकैबारीमा सयपत्री ढलीमली गरेर फुल्छन्, फेरि सुक्छन्— फेरि फुल्छन् । यो अनवरत प्रक्रिया ।

कति कुराहरू परिवर्तन भइसके तर मेरो मनको सतहमा कोरिएका अपूर्ण रेखा कहिले पूरा भएको थिएन, मेरो मन सुक्खा वनपाखाजस्तै भएको थियो । मैले पाउन खोजेको मिठो सपना दुब्लाएर ख्याउटे भएको थियो । म आफूलाई एउटी अस्तित्वहीन र मूल्यहीन स्वास्नीमान्छे ठान्थेँ । अटाउन नसकेर आँखाबाट आँसु निस्कन्थ्यो, मेरो बाँच्नु निरर्थक छ ।

यही मन र तन हो, एक समय लोग्नेसँग कहिले अघाउन्नथ्यो, तर अहिले यही मन कति खुम्चिएको ? कति गाँठो परेको ? किनकिन मेरो मन लोग्नेसँग अघाउँदै थियो, विरक्तिँदै थियो ।

लोग्ने गुनासो पोख्थे, जब म बादल छाएको मुख लाएर बस्थेँ ।

‘तिमी किन खिन्न हुन्छ्यौ ? छोराछोरी भएनन् भनेर चिन्ता नगर । हामी जे जस्तो गरी बाँचेका छौँ, सन्तोष गर्नुपर्छ । चिन्ता लिएर के काम ?’ 

लोग्नेले यति धेरै आश्वासन दिँदा पनि मेरो मनले चित्त बुझाउन सक्तैनथ्यो, बनावटी हाँसो मुखमा जबर्जस्ती ल्याउँथेँ । यो अर्थ होइन कि म लोग्नेलाई घृणा गर्थें, मन पराउन्नथेँ तर मेरो मन पहिलेजस्तै जाँगरिलो र उल्लसित हुन्थ्यो— बस यति नै हो ।

बिहे भएको आठ वर्षसम्म पनि बच्चा नहुँदा, म आफूलाई अभागी र दुख्याहा स्वास्नीमान्छे सम्झन्थेँ, कहिलेकाहीँ मनलाई शान्त पोखरी बनाउँथेँ— मेरो शान्त पोखरीमा ढुङ्गाले हानेर मेरो मन छचल्किन थाल्यो । म झसङ्ग हुन्थेँ ‘बाँझी’ शब्दको आवाज सुनेर, ‘बाँझी’ शब्दलाई पटक्कै मन पराउन्नथेँ । तापनि त्यो मेरो शरीरको अङ्ग–प्रत्यङ्ग लफ्रक्कै भिजेको थियो ।

यसरी नियास्रा चिसा दिन बितिरहेका थिए— यस अर्थमा कि मैले मेरो रहर मेटाउने झलझल बगैँचा बनाउन सकिनँ । मैले आफ्नो शरीर विश्राम गर्न एउटा सुकिलो सियाँल पाउन सकिनँ । मेरो आँखा र मन लालायित पार्ने मेरो कोठाको किलोमा एउटा झोलुङ्गो पनि टाङ्न सकिनँ । मेरो सम्पूर्ण स्नेह खन्याउन आमाको साकार मूर्ति बन्न सकिनँ । मेरै शरीरका कमजोर भागहरू व्यवधान थिए, मेरो जीवनमा छाप लागेको बाँकी शब्द हटाउन । इमानदारीका साथ भन्नुपर्छ, मैले मेरो लोग्नेले मेरो कमजोरीलाई कहिल्यै दोष दिएनन्, गुनासो पनि गरेनन् तर ‘बाँझी’ शब्दले मेरो शरीरको मासुको चोक्टाचोक्टा खाइसकेको थियो । यही शब्दले मलाई सधैँ हराइदिन्थ्यो । मेरो रहर पूरा गर्ने क्रममा धेरै मेहनत लगाई गोडगाड गरेकी थिएँ । असफल भएँ । अब सम्भावनाहरू कतै कोही थिएनन् । तर टाढा क्षितिजमा कताकता मेरो रहर अझै झुन्डिएकै थियो ।

बिहे भएको आठ वर्षसम्म पनि बच्चा नहुँदा, म आफूलाई अभागी र दुख्याहा स्वास्नीमान्छे सम्झन्थेँ, कहिलेकाहीँ मनलाई शान्त पोखरी बनाउँथेँ— मेरो शान्त पोखरीमा ढुङ्गाले हानेर मेरो मन छचल्किन थाल्यो । म झसङ्ग हुन्थेँ ‘बाँझी’ शब्दको आवाज सुनेर, ‘बाँझी’ शब्दलाई पटक्कै मन पराउन्नथेँ ।

अचानक मेरो घरमा एउटी विधवा बाहुनी पाँच वर्षको छोरो लिएर आइन् । भान्से बुहारीको आवश्यकता थियो— उसलाई घरैमा राखेँ । बाहुनीको नाम राधा रहेछ । करिब तीस–बत्तीसकी हुँदी हुन्, तर निकै छिप्पिएकी देखिन्थिन् । धेरै नबोल्ने गम्भीर स्वभाव, काम छिटो छरितो र सफा भएकाले राधा मलाई मन परिन् । मलाई लाग्यो, राधा निकै अनुभवी रहिछिन् । उनको छोराको नाम पनि निकै मिठो रहेछ ‘मधुकर’ । निकै हिस्सी परेको कालो वर्णको भए पनि उसको शरीरमा च्यातिएको र पुरानो लुगा थियो । मलाई लाग्यो, लाउन खान पाए मधुकर राम्रो देखिएला । एक¬–¬दुई दिनपछि नै मधुकरप्रति मेरो मनमा एक किसिमको ममताको धारा रसाउन लागेको थियो, जसको अनुभव 

जीवनमा कहिल्यै गरेकी थिइनँ, म भावुक भएकी थिएँ उसलाई देखेर एक हप्ताभित्रै मेरो वात्सल्य–प्रेम यसरी अङ्कुरायो कि मैले मधुकरलाई विशेष माया गर्न थालेँ । उसको तोते बोलीमा झुम्न थालेँ । उसको पुरानो लुगा फालिदिएर नयाँ लुगा सिलाइदिएँ, मलाई त्यस बेला कत्ति पनि आभास भएन कि मधुकर एउटा नोकर्नीको छोरा हो । नयाँ लुगा लगाएपछि ऊ त मेरै छोराजस्तै देखियो । मेरो जीवनको अनौठो र मिठो क्षण त्यही थियो जब मैले मधुकरलाई ‘छोरा’ भनेर कख्याएँ । मधुकरप्रति म यसरी सम्मोहित हुँदै गएँ कि उसलाई हर बखत मेरो अगाडि राखेर खेलाउँथेँ, कहिले काखमा राख्थेँ । हर बखत ऊ मेरै कोठामा हुन्थ्यो । राधाले दुध खुवाउँथिन् ।

छोराछोरी पाउने व्यग्रताले थलिँदा श्रीमान्को धर्मपुत्र राख्ने सल्लाहलाई विरोध गरेकी थिएँ । म चाहन्थेँ, मेरो आफ्नै कोखबाट जन्मेको छोरा होस्, मलाई आमा भनेर बोलाउँदै पछ्याउने छोरा होस् । मलाई विश्वास थियो, कसैको बच्चालाई आफ्नो छोरा बनाएर हुन सक्तैन । पराई रगत आफ्नो कहाँ हुन सक्छ र ?

मधुकरले मेरो यो पराईप्रतिको अविश्वासलाई भङ्ग गरिदियो । म उसलाई यति माया गर्न थालेँ कि म आफू नखाए पनि उसलाई खुवाउँथेँ । बाहिर घुमाउन लैजान्थेँ । कसैले ‘को को ?’ भनेर सोध्दा मेरो छोरा भन्थेँ । त्यति बेला मेरो हृदयमा असीम श्रद्धा र खुसी भरिन्थ्यो ।

बिस्तारैबिस्तारै मधुरकप्रति मेरो अधिकार बढ्दै गयो । उसलाई आफ्नी आमाबाट अलग्याएर आफूसँग सुताउन थालेँ । आमाको दूध चुसेर सुत्ने मधुकरलाई राति रुँदा सिसीबाट दूध खुवाउन थालेँ । म चाहन्थेँ, जसरी मैले मधुकरलाई माया गर्थें त्यसरी नै उसले पनि मलाई माया गरोस्, मलाई आफ्नी आमालाई मैँ ‘आमा’ भनेर पछ्याओस् । मेरो रहर र माया यसरी कठोर हुँदै गयो कि बाहुनीको आफ्नो छोराप्रतिको स्नेहलाई मैले कुनै मतलब राखिनँ । 

एक दिन कोठा बन्द गरेर मधुकरलाई आफूलाई ‘आमा’ भन्न सिकाउन थालेँ । मेरो ‘आमा’ शब्दको उच्चारणपछि उसले पनि आमा शब्दको उच्चारण गथ्र्यो तर ऊ घरीघरी ‘आमा’ भनेर ढोका खोल्ने व्यर्थै प्रयास गथ्र्यो । मन चस्कन्थ्यो, सायद उसले आफ्नै आमालाई खोजिरहेको होला । फेरि बिस्कुट, चकलेट दिएर फकाउँथेँ । काखमा राखेर म्वाई खान्थेँ । एकछिनपछि म चुप लागेर बिछ्यौनामा पल्टेँ । मैले इच्छा गरेँ, उसले ‘आमा’ भनेर बोलायोस्, मेरो छातीमाथि खेलोस् तर ऊ मतिर होइन फेरि ‘आमा’ भन्दै ढोकातिर गयो मन खिन्न भयो । झनक्क रिस पनि उठ्यो । एक थप्पड लगाइदिएँ गालामा । ऊ ‘आमा...’ भन्दै चिच्च्याएर रुन थाल्यो । राधा हामफाल्दै ढोका खोल्न आइन । ‘मेरो बाबु ! मेरो छोरा !!’ भन्दै बोकेर भान्सातिर लागिन् । उनको हेराइ मलाई मन परेन । केही बोलिनन् के सोचेर हो कुन्नि सोचेँ, बाहुनीले शङ्का गरिन् होली, मैले उसको छोरालाई निर्मायासँग कुटेँ । कस्तोकस्तो नमिठो लाग्यो त्यो क्षण । कोठामा बस्न सकिनँ । उठेर भान्सातिर गएँ । मधुकर हातखुट्टा फाल्दै आमाको दूध चुस्दै थियो । मेरो रहरमा धक्का लाग्यो । निर्णय गरेँ, मधुकरबाटै आफ्नो अतृप्त कामना पूरा गर्छु, उसलाई आफ्नै बनाइछोड्छु । 

कोठाबाट खेलौना र बिस्कुट ल्याएँ र मधुकरलाई देखाएर आफूतिर आकर्षित गर्न थालेँ । मधुकर खेलौना र बिस्कुट पाएर मतिर आउन छटपटाउन थाल्यो ।

‘दिदी ! खेलौनाहरू नदिनु । बच्चालाई के थाहा छ र बिगार्ला ?’ छोरालाई काखैमा अँठ्याएर राधाले गम्भीर भएर भनिन् ।

राधाको कुरा माथि ध्यान दिइनँ । मधुकरले आमाको काख छोड्न बल गर्‍यो । उसलाई बोकेर कोठामा ल्याएँ । बिस्कुट, खेलौना पाएर ऊ रमाएर खेल्न थाल्यो ।

श्रीमान् केही दिनका लागि बाहिर गएका थिए । मधुकरलाई सँगै सुताउन लागेको आज तेस्रो दिन भएको थियो । आज मनग्गेसँग मधुकरलाई छातीमा टाँसेर सुतेँ । ढोकामा छेस्किनी लगाउन बिर्सेंछु । राति ब्युँझँदा मधुकर मेरो बिछ्यौनामा थिएन । मन खङ्रङ्ग भयो, ढोका ह्वाङ्गै थियो । दगुर्दै राधा सुत्ने कोठामा जाँदा मधुकर आफ्नी आमासँग मस्त सुतिरहेको देखेँ । सोचेँ, मधुकर रोएको भए मैले थाहा पाउनुपर्ने थियो । के राधा आफैँ आएर लगेकी त होइन ? हुन त मधुकरले दूध खान छोडिसकेको थियो । मनमा चस्काचस्की चल्न थाल्यो । राधासँग रिस उठ्यो । के मैले उनको छोरालाई उनीबाट पन्छाउन खोजेकी हुँ र ? मेरो मायामा त उनी खुसी नै हुनुपर्ने हो । किन लुसुक्क आएर सुतेको छोरालाई मेरो काखबाट खोसेर लैजानुपथ्र्यो ? मलाई सोध्न मन लाग्यो ।

‘राधा ! ए राधा !’ उनी हडबडाउँदै उठिन् ।

‘किन मधुकरलाई ल्याएकी ?’

‘मधुकर रोएको सुनेँ र हजुरको कोठामा गएँ, ढोका लगाएको थिएन । हजुर मस्त निद्रामा हुनुहुन्थ्यो । त्यसैले मधुकरलाई ल्याएकी ।’ बाहुनीको स्वरमा केही कम्पन थियो । उनको कुरामा मलाई विश्वास लागेन किनभने मधुकर रोएको भए मैले सुन्नुपर्ने थियो । फेरि मधुकरलाई उठाएर ल्याएर बिछ्यौनामा सुताएँ । ढोकाको छेस्किनी लगाएर मधुकरलाई कख्याएर सुतेँ ।

भोलिपल्ट उठेर भान्सामा आउँदा बाहुनीका दुवै आँखा राता देखिन्थे । रोएर उनका आँखा राता भएका हुन् कि अनिदो भएर हो झट्ट हेर्दा भन्न गाह्रो थियो तर बाहुनीका दुवै आँखा सुन्निएका थिए । अनुहारमा अँध्यारो प्रशस्त पोखिएको थियो । पक्कै पनि उनी रोएकी थिइन् । तर मलाई सोध्न मन लागेन । उल्टै दयाभन्दा उनीप्रति रिस पो उठ्यो । मधुकर हातभरि बिस्कुट, चकलेट लिएर आमाछेउ बस्न गयो । बाहुनी एक शब्द बोलेकी थिइनन् । म नुहाउन धारातिर गएँ । धाराको छेउमा प्याटप्याट केही खसेको आवाजले मेरो ध्यान तानियो, जहाँ बिस्कुटहरू भुइँभरि थिए, जो भर्खरै मधुकरलाई दिएर आएकी थिएँ । यो कसरी खस्यो ? झ्यालबाट फाल्न मधुकर पुग्न सक्तैनथ्यो । भान्साबाट मधुकर रोएको आवाज प्रस्ट आइरहेको थियो । एउटा लामो र गहिरो प्रश्न मेरो मनमा तेर्सियो । के राधा आफैँले फालेको त होइन ? मनमा खैलाबैला भयो । हत्तपत्त नुहाएर माथि जादा भान्सामा मधुकर चिच्याउँदै रुँदै थियो ।

‘किन बिस्कुट, चकलेट फालेकी राधा ?’ उनैलाई दोषी ठहर्‍याएर सोधेँ ।

‘मैले किन फाल्थेँ र दिदी ? मधुकरलाई बोकेर ख्यालमा गएकी थिएँ, उसको हातबाट खसेर झर्‍यो ।’

राधाले जवाफ त सजिलै दिइन् तर विश्वास भएन । विश्वास पनि कसरी हुनु, जबकि उनलाई छोरो बोकेर ख्यालमा आउने मतलबै थिएन । राधासँग विवाद गर्न मन लागेन । पूजा गर्न पूजा कोठामा आएँ । मन स्थिर भएन । राधाको अडबाङ्गे चालामालाले मनलाई कुँदिरह्यो । भान्सामा चिया खान जाँदा मधुकर यताउता चल्दै थियो ।

‘भान्सामा बच्चा राखेको मन पर्दैन मलाई । फोहोर हुन्छ, यसलाई कोठामै लैजान्छु ।’ चिया खाइवरी भनेँ । मधुकरलाई बोक्न खोजेँ— ऊ आमाको पिठ्युँमा टाँस्सिएर रुन लाग्यो, मसँग आउन मानेन ।

‘भैहाल्यो दिदी ! फोहोर गर्दैन । यहीँ खेलोस् । किन हजुरलाई दुःख ?’ 

राधाको कुरा सुनिनँ— रुवाउँदै जबर्जस्ती मधुकरलाई बोकेर कोठामा ल्याएँ । दराजमा राखेको चकलेट निकालेर दिएँ, खेलौनाहरू पनि मधुकरलाई राखिदिएँ । चकलेट नसिद्धिउन्जेल खेलिरह्यो । त्यसपछि एउटा खेलौना बोकेर मधुकर फेरि भान्सातिर जान लाग्यो । मेरो चाहनाअनुरूप मधुकरमा केही परिवर्तन भएन । न त मसँग लडीबुडी गरेर नै खेल्यो न त ‘आमा’ भनेर नै पछ्यायो । जुन शब्द एक हप्तादेखि सिकाइरहेकी थिएँ । मलाई यसरी रिस उठेछ, मेरो दाहिने हात जोडले मधुकरको बायाँ गालामा परेछ— रातै भयो । राधा हतारहतार गरेर कोठामा आइपुगिन् । मधुकर पिटिएको गालामा छाम्दै आफ्नी आमालाई झम्टन पुग्यो ।

‘यसरी पिटेको मलाई मन पर्दैन दिदी । यही एउटा छोरो न हो मेरो । यो छोराका लागि पाटीमा बसेर पनि जीविका गर्न सक्छु ।’ त्यति भन्दै राधा आफ्नो छोरो बोकेर एकछिनमै कोठाबाट अलप भइन् ।

केही जवाफ दिन सकिनँ, अलमलमा परेँ । लज्जित भएँ आफैँ तर मधुकरको मायाले गर्दा राधाका कुराहरू मनमा गाडिएनन् । बिचरा मधुकर दूध पिउने बच्चा न हो; उसको के दोष ? राधाले केही भन्दैमा मधुकरलाई वास्ता नगर्नु आफ्नै इच्छामाथि आघात थियो । सबै कुरा भुलेँ ।

एक दिन मधुकरलाई सिँगारपटार गरेर उसको बायाँ हातको चोर औँला समातेर तरकारी किन्न बजार गएकी थिएँ । साथमा राधा पनि गएकी थिइन् । तरकारी किन्दाकिन्दै शीला अचानक भेट भइन्— उनी सात–आठ वर्ष लोग्नेसँग विदेश बसेर आएकी थिइन् । उनका साथमा दुइटा कलिला र राम्रा बच्चाहरू थिए— सोचेँ, उनैका छोराहरू हुनुपर्छ ।

‘ओ... हो ! लता, सन्चै छौ ? के छ हालखबर ? तिमीसँग भेट्न कति आत्तिएकी थिएँ ।’

‘तिम्रो के छ नि हालखबर ? कहिले आएको थाहा पनि दिइनौ ।’ अस्ति भर्खर आएकी । सामान मिलाउँदैमा फुर्सद छैन । यो कसको बच्चा नि ?’ मधुकरलाई सङ्केत गर्दै शीलाले सोधिन् ।

‘मेरो छोरा मधुकर ।’ मैले पनि ठाँटसँग जवाफ दिएँ । ‘कस्तो राम्रो छोरो । ढिलो भए पनि छोरै भएछ । राम्रै भयो ।’

म हाँसे— केही भनिनँ । केही कुराकानीपछि हामी छुट्टियौँ । त्यसरी कुरा गर्दै गएकी राधा फर्कंदा बाटोभरि चुपचाप थिइन् । उनको अनुहारमा क्रोधका रेखाहरू कोरिएका देखिन्थे । त्यति मात्र होइन गोरी राधा कालीनीली देखिन्थिन् । तर मेरो मन भने खुसीले उडिरहेको थियो । घरमा आइपुगेपछि राधा भान्सामा तरकारी राखेर मधुकरलाई लिन आइन् । यति बेला मधुकर नयाँ खेलौनासँग बरन्डामा खेलिरहेको थियो । खेलिरहेको मधुकरलाई विनाकारण राधाले बोकेर कोठामा लगिन् ।

एक्कासि मधुकर रोएको आवाज सुनेँ, दुगरेर उनको कोठामा जाँदा मधुकरले लगाएका नयाँ लुगा कुनामा हुत्त्याएकी थिइन् । त्यही मैले च्यातिएको लुगा मधुकरको शरीरमा थियो । राधा आँखाबाट आँसु झार्दै जथाभावी पिट्दै भन्दै थिइन्— ‘साहु’ शत्रु !! यो मरे पनि हाइसन्चो हुने थियो । किन आउन्न काल यसका लागि ? बाँचेर पनि सुख दिएन यसले ।’

बाहुनीको त्यस्तो बीभत्स र घिनलाग्दो व्यवहार देखेर म चकित भएँ— केही बुझ्न सकिनँ । मन थाम्न पनि सकिनँ ।

‘यो अबोध बच्चालाई त्यसरी श्राप दिँदै किन पिटेकी ? के बिराएको

छ र बच्चाले । खै ल्याऊ यता; म कोठामा लैजान्छु ।’

‘भैहाल्यो दिदी, यहीँ बसोस् साहु ।’

‘किन नयाँ लुगा फुकालिदिएकी ?’

‘मैलो हुन्छ भनेर । फेरि सधैँ यस्तै राम्रो लुगा लगाउने कर्म लिएर यो टुहुरो जन्मेको भए मैले यो दुःख पाउँथे र ?’

‘केको दुःख छ र तिमीलाई यहाँ ? एउटा भात पकाउने र दुईजनाको भाँडा माझ्नु त हो ।’

‘हो दिदी, केही दुःख छैन । कहिलेकाहीँ मन बहुलाउँछ— फतफताउँछु । कोसँग रिस, डाह र छटपटी पोख्ने ? यही छोरामाथि खन्याउँछु मन शान्त गर्न ।’

‘किन दुःख मान्छ्यौ ? तिम्रो छोरालाई मैले आफ्नै छोराझैँ मानेकी छु ।’

मैले मधुकरको पुरानो लुगा फुकालिदिएँ, नयाँ लुगा लगाइदिएँ र कोठामा ल्याएँ । उनी केही नबोली खुट्टा जोडले बजार्दै भान्सातिर लागिन् । अहिलेसम्म राधाको हिँडाइको आवाज सुनेकी थिइनँ । खुट्टा बजार्दै हिँडेको मलाई पटक्कै सुन्न मन लाग्दैनथ्यो । भान्सामा भाँडा बजेको आवाज, गिलास फुटेको आवाज सुनेँ । दगुरेर भान्सामा जाँदा मधुकरको दूधदानी फुटेर भुइँभरि छरिएको थियो । उनी टुलटुल हेर्दै बघिनीजस्तै भएर बसेकी थिइन् । उनको उपद्रव देखेर छक्कै परेँ । रिस पनि उठ्यो । दूधदानी दुईपल्ट उनले फुटालिसकेकी थिइन् । मलाई देख्नासाथ राधा दाल, चामल बटुल्न थालिन् । ‘के भयो तिमीलाई आज ?’ कड्केर भनेँ ।

‘केही भएको छैन । हातबाट फुस्केर दूधदानी झर्‍यो । चामल निफन्छु भन्दा चामल पनि पोखियो । कहिलेकाहीँ काम गर्दागर्दै बिग्रने रहेछ । मेरो कर्मै अपजस्या छ । नरिसाउनुस् दिदी ।’

केही भन्न मन लागेन । आफ्नै कोठामा आएर मधुकरलाई खेलाउन थालेँ ।

एक्कासि राधा फेरि चिलझैँ आएर छोरालाई झम्टेर लगिन् । उनको यो मुख्र्याइँ व्यवहारले मलाई रिसको चरम सीमामा पुर्‍यायो । म पनि पछिपछि दगुरेर मधुकरलाई झम्टन गएँ ।

‘तिम्रो छोरालाई मबाट झम्टेर ल्याउनुको मतलब के हो ? आज किन मसँग रिस देखाउँदै छौ ?’

एक दिन कोठा बन्द गरेर मधुकरलाई आफूलाई ‘आमा’ भन्न सिकाउन थालेँ । मेरो ‘आमा’ शब्दको उच्चारणपछि उसले पनि आमा शब्दको उच्चारण गथ्र्यो तर ऊ घरीघरी ‘आमा’ भनेर ढोका खोल्ने व्यर्थै प्रयास गथ्र्यो । मन चस्कन्थ्यो, सायद उसले आफ्नै आमालाई खोजिरहेको होला ।

‘दिदी, भो... भो... यसलाई धेरै माया नगर्नुस् । यसैको कारणबाट म एउटा यस्तै राम्रो घरबाट निस्कनुपर्‍यो ।’

‘यसलाई त मैले आफैँले जन्माएको छोरोजस्तै ठानेकी छु— माया गरेकी छु ।’

‘हो, त्यही कारणबाट । त्यो व्यक्तिले असाध्य माया गथ्र्याे ।’ 

‘त्यस्तो माया गर्दागर्दै किन छोडेकी त ?’

‘किन छोडेँ थाहा छैन । तर यो छोरालाई मबाट कसैले टाढा लगेको म सहनै सक्तिनँ ।’ यति भन्दाभन्दै बाहुनी डाँको छाडेर रुन थालिन् । बाहुनीको स्पष्ट कुराले मन धुजाधुजा भयो । उनको सम्पूर्ण क्रियाकलापको अर्थ बुझेँ । आफैँलाई धिक्कार्न थालेँ । लाज, क्षोभ, ग्लानि र रिसले भतक्कै पाकेँ र बगैँचामा गएँ— शान्ति पाइनँ । सम्पूर्ण फूलहरू ओइलाएर झरेजस्तै लाग्यो । ‘तुच्छ बाहुनी !’ मनमनै सरापेँ । सोचेँ, आजसम्म मधुकरलाई माया गरेको फल के पाएँ त ? अपजस त पाएँ मैले । निराश भएर सोचेँ, माया दिएर अर्काको छोराछोरी आफ्नो नहुँदो रहेछ । मेरो मायाले त राधा खुसी हुनुपर्ने हो । मैले सपनामा पनि चिताएकी थिइन, राधाभित्र यति असन्तोष जन्मिएला भन्ने । मैले उनको छोरालाई उनीबाट खोसेकी त होइन । कस्तो ईष्र्या हो ? त्यति माया गर्दा पनि न त मधुकरले नै मलाई ‘आमा’ भन्यो न त राधाले नै सन्तोष गरिन् । टाढा क्षितिजमा झुन्डिएको सानो उज्यालोको धर्साे त्यहीँ नै हरायो । सबै कुराहरू सपनासरि क्रियाकलाप सधैँ । छोरालाई राति ल्याउनु, बजारबाट फर्किंदा क्रोधित मुख बिलाए । म फेरि सन्तोषको पोखरीमा हुत्तिन पुगेँ । राधाको एकएक पार्नु, भान्सामा उपद्रव गर्नु, दूधदानी फुटाल्नु, चकलेट–बिस्कुट फाल्नु सबै राधाको रिस र असन्तोषका प्रतिक्रियाहरू थिए । सोचेँ, अब कसैको छोरालाई माया गर्नु आफ्नै टाउकोमाथि ढुङ्गाले हान्नु हो । बेकारमा मथिङ्गल खराब गर्नुभन्दा बरु राधालाई नै घरबाट निकाल्नु बेस । टाढा भएपछि मन पनि टाढा हुन्छ । सम्झेँ— मेरो सानो इच्छाको संसारमा पहिरो जाँदै छ । साह्रै शून्यताको अनुभव गरेँ— जुन जीवनमा कहिल्यै अनुभव गरेकी थिइनँ । रिसको नदीमा बग्दै म भान्सामा गएँ ।

‘राधा ! काम गर्ने मान्छे मलाई चाहिन्न । के काम पो छ र घरमा ? यति काम त म आफैँ पनि गर्न सक्छु । भैहाल्यो तिमी आजै जाऊ । हिसाबकिताब गरिदिन्छु ।’

राधा पहिले त झस्किन्, पछि फेरि स्वाभाविक रूपमा आइन् । केही प्रतिक्रिया देखाइनन । यस्तो लाग्यो— निस्कने र आउने कुरामा उनी अभ्यस्त भएकी छिन् । उनका लागि यो नयाँ कुरो होइन । तर मेरो भने जोडजोडले मुटु हल्लिरहेको थियो । शरीर कामिरहेको थियो ।

कोठामा फर्किंदा झट्ट मेरा दुवै आँखा भित्तामा झुन्ड्याएको ठुलो फोटोमा पर्‍यो जुन फोटोमा मलाई मेरी स्वर्गीया आमाले काखमा राखेकी थिइन् । म त्यति बेला सम्भवतः छ–सात वर्षकी हुँदी हुँ । मेरो रिसको नदी ठ्याम्मै रोकियो । सोचेँ, के म निर्दयी बनेकी त होइन ? के म असत्य र स्वार्थको दापभित्र पसेकी त होइन ? सोचें छोराछोरीको ममताको वास्तविक गन्ध मैले कहाँ सुँघ्न पाएकी छु र ? मेरो जबर्जस्ती मायाले कुन बच्चा आफ्नो हुन सक्छ र ? म पनि त त्यो उमेरमा आमालाई कति पछ्याएर रुन्थेँ ।

मेरी विधवा फुपूले कति माया गर्थिन तर म आमासँगै लाडिन्थेँ । बिचरी राधालाई के दोष ? त्यही छोराको मुख हेरेर दोस्रो विवाह गरिनन् । तरुनी थिइन्— बिहे गर्न सक्थिन् । उनले एक दिन भनेकी थिइन्— ‘यही छोराको मुख हेरेर कतिले फकाउँदा पनि बिहे गर्न सकिनँ । एक दिन ठुलो भएपछि आमाको दुःख सम्झला नि ।’ निर्दोष राधालाई किन निस्क भनेँ हुँला ? कहाँ गएर बस्छिन् बिचरी ? उनको आशाको किरण त्यही एउटा छोरा त हो । मधुकर त उनको अधिकारभित्रको छोरा हो— मेरो भन्दा उनैको हक छ । मधुकरलाई उसको आमाको काखबाट त्यति विघ्न खोस्न नपर्ने हो मैले । मधुकरलाई माया गरेका क्षणहरू सम्झन थालेँ । साँच्चै मैले मधुकरलाई माया गरेकी थिएँ— बहाना थिएन, असत्य थिएन । मधुकरबिना म एक्लै बस्ने कल्पनासम्म गर्न सकिनँ । मधुकरले मेरो हृदयमा जरा गाडिसकेको थियो । राधा छोरा लिएर निस्केपछि मेरो के गति होला ? जेहोस्, मधुकरले ‘आमा’ भनेर किन चित्त दुखाउने ? उसले आफ्नी आमालाई पछ्यायो भनेर किन ईष्र्या गर्ने ? सोचेँ, आमाको ममता यस्तो अडिग चट्टान हो जसलाई संसारको कुनै पनि हतियारले टुक्य्राउन सक्दैन । एउटी निरपराध बाहुनीलाई निकालेर के पाउँछु र मैले ? भूल स्विकारेँ मैले ।

दगुर्दै बाहुनी सुत्ने कोठातिर जाँदा उनी छोरालाई बोकी निस्कन लागेकी थिइन् । छोरालाई उही पुरानो थोत्रो लुगा लगाइदिएकी थिइन्, आफूले पनि त्यही पुरानो साडी लगाएकी थिइन् । काँधमा त्यही सानो मैलो झोला झुन्डिएको थियो । मन र आँखा एकैपल्ट रसाए ।’

भैहाल्यो राधा ! मलाई माफ गर । तिमी नजाऊ । जबसम्म म बाँच्छु तबसम्म तिमी यहीँ नै बस । तिम्रो चित्त दुखाउने काम मैले गर्ने छैन । मधुकरलाई पाएर मैले आफ्नो पीर र मर्का शून्यतामा बिर्सेकी थिएँ, किनभने छोराछोरीको रहर मलाई पनि छ । मधुकरबिना म बस्न पनि सक्तिनँ । तर तिम्रो अधिकारमा रहेको छोरालाई खोस्नेछैन । कुन आवेशमा आएर तिमीलाई निस्क भनेँ, चित्त नदुखाउ ।’ 

यति भन्दै उनको काँधको झोला लिएर किलामा झुन्ड्याइदिएँ । कोठाबाट चकलेट, बिस्कुट ल्याएर मधुकरको हातमा राखिदिएँ । रमाएर उसले खान थाल्यो । सोचेँ— मेरो सन्तोषको बाटो यत्ति नै हो । मधुकरलाई बोक्न खोजेँ तर हात अघि बढ्न सकेनन्, जहाँको तहीँ टक्क रोकिएँ । अवाक् भएर राधाले मलाई हेरिरहिन् । म कोठामा फर्कें एक्लै । लाग्यो, म उही शून्य वातावरणभित्र हराउँदै गइरहेकी छु । एकाएक आँखाबाट आँसु बग्न थाल्यो ।

(गरिमा २०४१)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भागीरथी श्रेष्ठ
भागीरथी श्रेष्ठ
लेखकबाट थप

छुटाउनुभयो कि ?