आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय
कथा

मनकुमारी

शनिबार, ०९ चैत २०८१, १५ : ००
शनिबार, ०९ चैत २०८१

कुखुरी काँ !

भालेको पहिलो डाँकमै मनकुमारी जरुक्क उठिन् । पूर्वको ज्योतिले धर्तीलाई स्पर्श गरेकै थिएन । नित्यकर्म सकेर लुगा फेरिन् र बेलुकी नै ठिक्क पारेको झोला बोकिन् । छोरा सुतेको ठाउँमा हेरिन् तर हेरिरहन सकिनन् । बिस्तारै बिरालाको चालमा बाहिर निस्किइन् । उनका अपाङ्ग लोग्ने पिँढीमा मस्त निदाएका थिए । लोग्नेको घुराइको बाक्लो आवाजले छोरा ब्युँझेला भनेर उनी रसाएका आँखालाई पुछेर सुक्खा गराउँदै तगारो नाघेर तलतिर झरिन् ।

रुँदै गरेको छोरा छाडेर हिँड्न आमालाई गाह्रो हुन्छ नै । यही ठानेर उनले सुस्तरी पाइला चालेकी थिइन् । गोठको भैँसीले कराएर बोलाएझैँ गर्‍यो । मनकुमारीले घर छाड्ने कुरा थाहा पाएर भैँसीले बोलाएको होला सायद ! पशुवाक्य मान्छेले बुझ्ने कुरै भएन । उनी घरतिर नफर्की सरासर बाटो लागिन् । उनलाई बुटवलको बस भेटाउनु थियो ।
ल, ल, जानै लाग्यो, छिटो आउनुस् ! छिटो ! ल, ल !

बस हिँड्नै लागेको रहेछ ।

मनकुमारी बाटोभरि आफ्नो काखे बालक छोरालाई सम्झँदै बेचैन हुन्थिन् । नजिकै सिटमा बसेका अन्य महिलाका काखे नानी देखेर मनकुमारीको मुटु जोडजोडले धड्कियो, हुन सक्छ आफ्नो नानी सम्झिएर ।

नागबेली आकारको पहाडी बाटो बसले रफ्तार लियो । बसको गति बढ्ना साथ यात्रुको धड्कन बढ्दै जान्थ्यो । धड्कनभन्दा डर अझै बढी हुन्थ्यो । झ्यालसँगैको सिटमा बसेकी मनकुमारी आफ्ना सम्झनाका तरेलीमा पर्दा हाल्न झ्यालबाट बाहिर हेर्थिन् र भुल्न खोज्थिन् । तर उनलाई घरको याद आइरहेको थियो । घरको भन्दा सानो बालक छोराको यादले सताइरहेको थियो । बसले केही कम गति लिएको बेलामा सिटमै अडेस लागेर निदाउने जमर्काे गर्थिन् तर निदाउन सकेकी थिइनन् । उसो त मनकुमारी विदेश जाने योजना बनेदेखि नै राम्रोसँग निदाएकी थिइनन् । झन् तीन रात भयो, उनले पलक पटक्कै नजोडेको । मनभरि खेलेका कुराका बयानले निदाउन पो कहाँ दिन्थ्यो र !

‘गौरी पनि मजस्तै महिला त हो नि ! विदेश गएर कति धेरै पैसा कमाएर आफ्नो बन्दोबस्त गरेकी छे । परिवारलाई सहरमा लगेर राखेकी छे । छोराछोरीलाई राम्रोसँग पढाएकी छे ।’ मनकुमारीको मगजमा नयाँ–पुराना कुराका दृश्य फेरिँदै रहे ।

गोठको भैँसीले कराएर बोलाएझैँ गर्‍यो । मनकुमारीले घर छाड्ने कुरा थाहा पाएर भैँसीले बोलाएको होला सायद ! पशुवाक्य मान्छेले बुझ्ने कुरै भएन । उनी घरतिर नफर्की सरासर बाटो लागिन् । उनलाई बुटवलको बस भेटाउनु थियो ।

‘मनकुमारी तिमी पनि हिँड विदेश ।’ गौरीले धेरैपटक मनकुमारीलाई भनेकी थिइन् । उमेरमै पैसा कमाउ, छोराछोरीलाई राम्रो शिक्षा दिन सकिन्छ । बुढेसकालमा सुख पाइन्छ । शत्रु–वैरीका अगाडि ठाडो शिर गरेर बाँच्न पाइन्छ । यस्ता अनेकौँ कुरा गरेकी थिइन् गौरीले मनकुमारीसँग ।

गौरीका कुराले भित्रसम्म छोइएकी मनकुमारी आफ्नो जीवनको नीरस भूमिलाई उर्वर बनाउन विदेश जाने निर्णयमा पुगेकी छन् । गौरीलाई विदेश पठाउने मान्छेले नै भनेको थियो, ‘बहिनी चिन्ता नगर्नु, राम्रो ठाउँमा पठाइदिन्छु ।’

राम्रै ठाउँमा पठाउला ! एकै भेटमा कस्तो नजिकको आफन्तको जस्तो व्यवहार गरेको थियो । पैसा कमाउन थालेपछि पहिला ऋण तिर्छु, लोग्नेको उपचार गर्छु अनि छोराछोरी पढाउँछु ।’ मनकुमारीका मनमा अनेकौँ दृश्यका वर्षात् भए । धेरै सपना आँखामा आएर अलप भए । 

बुटवल, बुटवल ! बुटवल आयो । आ–आफ्नो सामान लिएर झर्नुस् । 

सह–चालकले जोडले कराएर मनकुमारीको तर्कना बिथोलिदियो । केटा मान्छेहरू फटाफट पहिले ओर्लिए । झोला, गुन्टा भएका मानिसहरू र नानी बोकेका महिला बिस्तारै ओर्लिए । मनकुमारी पनि ओर्लिइन् ।

‘मनकुमारी तपाईं नै होइन ?’

‘हो, म नै हो ।’

‘म लालहरि, गौरीले फोनमा कुराकानी गराइदिएको मान्छे । ल हिँड्नुस् । म तपाईंलाई मेनपावर अफिस पुर्‍याइदिन्छु । पर्सिको फ्लाइट छ । उहाँहरू पनि हुनुहुन्छ ।’ लालहरिले मनकुमारीलाई अरू तीनजना महिलालाई देखायो । अरू तीनजना महिला र मनकुमारीले आफ्नो भविष्यको बाटो लालहरिको जिम्मामा छाडे ।

नेपाल सरकारले महिलालाई वैदेशिक रोजगारीमा जान धेरै प्रक्रिया पूरा गर्नुपर्ने बनाएको थियो । झन्डै झन्डै प्रतिबन्धको अवस्था थियो । त्यसैले मनकुमारी समूहका सबैलाई खाडी मुलुक लैजाने भनेर लालहरिले पहिले नयाँदिल्ली पुर्‍यायो । हातमा राहदानी र प्लेन टिकट थमाउँदै राम्रोसँग जानु, धेरै पैसा कमाउनु भन्यो । दुबईको एयरपोर्टमा मेरो मान्छे लिन आउँछ । उताको बन्दोबस्त सबै उसैले हेर्छ भनेर आश्वस्त बनायो । मनमा डर–डर लागे पनि पैसा कमाएर सुखको संसार बनाउने सपनाले मनकुमारी लगायतको मन जितेको थियो । उनीहरूका लागि यो यात्रा नौलो अनुभव थियो । अरू साथी कता छुटे, कता परे— मनकुमारीले पत्तो पाइनन् । अत्यन्तै नौलो यात्रा गर्न लागेकी मनकुमारीले आफ्नो झोला बोकिन् र पछि फर्केर हेरिन् । लालहरि गइसकेको थियो ।

जहाजमा कतै कतै नेपाली बोलेको सुनेर मनकुमारीले एक्लो यात्रामा पनि ढाडस दिइन् आफैँलाई । तीन घन्टाको यात्रापछि दुबई एयरपोर्टमा जहाजले ओराल्यो । नितान्त नौलो ठाउँ, नौला मान्छे, नौलो नौलो बोली । लालहरिले भनेझैँ प्रक्रिया पूरा गर्दै उनी एयरपोर्ट बाहिर निस्किइन् ।

‘मनकुमारी तपाईं नै हो ?’ एउटा मान्छेले नजिकै आएर सोध्यो ।

‘म लिन आएको तपाईंलाई, हिँड्नुस् ।’ उसले यति भन्यो र ट्याक्सी बोलायो । नेपाली मान्छेले नै बोलाएर सँगै जाँदा मनकुमारीलाई अलिक चैनको सास आयो ।

‘म शिवलाल ।’

‘घरमा को को छन् ?’

‘तपाईंको लोग्ने के गर्नुहुन्छ ?’

मनकुमारीले उत्तर दिन नपाउँदै एकपछि अर्काे प्रश्न गथ्र्याे त्यो मान्छेले । घर परिवारको सम्झनाले मनकुमारीको आँखा रसाइरहे ।

करिब आधा घन्टाको यात्रापछि ट्याक्सी रोकियो । मनकुमारी ओर्लिइन् । तातो हावाले स्पर्श गर्नासाथ उनको शरीरले बेचैनी ठान्यो । त्यो मान्छेले उनलाई एउटा घरभित्र लिएर गयो । त्यहाँ एउटा कोठामा अरू पनि दिदीबहिनी रहेछन् । मनकुमारीलाई अरू दिदीबहिनी देख्दा खुसी र आधार मिलेको आभास भयो । परिचय साटासाट भयो । बिदा मनाउन जम्मा भएका रहेछन् उनीहरू ।

खाडी मुलुक लैजाने भनेर लालहरिले पहिले नयाँदिल्ली पुर्‍यायो । हातमा राहदानी र प्लेन टिकट थमाउँदै राम्रोसँग जानु, धेरै पैसा कमाउनु भन्यो । दुबईको एयरपोर्टमा मेरो मान्छे लिन आउँछ । उताको बन्दोबस्त सबै उसैले हेर्छ भनेर आश्वस्त बनायो ।

मनकुमारीको भिजिटिङ भिसा रहेछ । शिवलालले उनको काम खोज्ने जिम्मा लिएका रहेछन् । भन्नेबित्तिकै काम पाइएन । घरमा छोराछोरी छिटै फर्कनु आमा भनेर चिच्याउँदा उनको कलेजा नौ चिरा हुन्थ्यो । महँगो ब्याजमा काढिएको ऋणले अनेक हाँगाबिगा हाल्दै थियो । कुनै राम्रो काम नपाएपछि एकजना नेपाली मान्छेले एउटा भारतीय परिवारको घरमा राखिदिए । थोरै तलब र गाह्रो काम थियो । तर परिवार र ऋण सम्झिएर उनले काम गर्न मञ्जुर गरिन् ।

एक साँझ एकजना नेपालीले फोन गरेर परिचय दियो । ‘म कुमार ! अस्ति दुबईमा भेटेको के त !’
‘ए ! अँ, चिनेँ चिनेँ ।

‘किन यतिबेला फोन गर्नुभयो त कुमारजी !’

‘एउटा राम्रो काम भेटिएको छ; मिल्छ भने भोलि छुट्टी मिलाएर यता आउनु । काम चित्त बुझे यतै गर्नुहोला मनकुमारीजी ।’

‘हुन्छ, म आउँछु, कुमारजी ।’

एक भारी सपना बोकेको मनलाई अलिकति खुसी मिलेजस्तो भयो । मनकुमारी घरमा पैसा पठाउने बहाना गरेर निस्किइन् । अलिअलि जम्मा भएको पैसा घरमा पढाउनुपर्ने पनि थियो । आफूलाई केही मेसो नभएको हुँदा कुमारले सहयोग गर्नेछ भन्ने आशा अनुरूप कुमारले सहयोग गरेर पैसा पठाइदियो । नेपाली मन नेपालीपन निकै सुखद आत्मीयता मनकुमारी गद्गद् भइन् ।

‘निकै गर्मी छ, चिसो पिउँ कुमारले चिसो पेय पदार्थले भरिएको गिलास मनकुमारीको हातमा थमायो र आफूले पनि पिउन थाल्यो । त्यहाँ अरू मान्छे कोही थिएनन् । पेय पदार्थमा नशालु तत्त्व मिसाइको रहेछ । मनकुमारी अर्धचेत बनिन् । कुमारले कुत्सित् हर्कत पूरा गर्‍यो । मनकुमारी रोइन् कराइन् तर उनको पुकार सुन्ने भित्ताबाहेक कोही थिएन । भित्ताको पनि कान हुन्छ भन्थे तर मनकुमारीको रोदन भित्ताले सुनेन, उनी लुटिइरहिन् ।

नशाले केही छाडेपछि आफ्नो अस्मिता गुमाएर मनकुमारी फर्किइन् । केही बोलौँ नयाँ र नौलो ठाउँ, त्यसमाथि आफ्नै इज्जतमाथि प्रश्न ।

एक दिन मनभरि घरको पिर अनि आफू लुटिएको पीडाको बिचमा काम गर्दागर्दै बेहोस् भएर ढलिन् मनकुमारी । उनलाई स्वास्थ्यकर्मी ल्याएर देखाइयो । विडम्बना, मनकुमारी गर्भवती बनेकी रहिछन् । यो थाहा पाउनेबित्तिकै साहुनीले मनकुमारीलाई कामबाट निकालिदिइन् । मनकुमारीको विकल्प थिएन र त्यही कुमारलाई फोन गरिन् । भेट गर्नुपर्ने भन्नेबित्तिकै हौसिएको कुमार मनकुमारीको कुरा सुन्नेबित्तिकै आगो भयो र उल्टै मनकुमारीलाई लाञ्छना लगाउन थाल्यो । आफूले कुनै हालतमा स्वीकार नगर्ने र आफू प्रतिष्ठित मान्छे भएकाले यस्ता कुरा कसैले विश्वास नगर्ने भन्दै उल्टै धम्की दियो ।

मनकुमारीको अवस्था दयनीय भयो । दुई रातसम्म भोक–प्यास सहेर सडकमै बसिन् । समुद्रमा फाल हालेर जीवन त्याग गर्न नसोचेकी पनि होइन । तर घरमा अशक्त श्रीमान् र साना अबोध छोराछोरी सम्झिएर त्यसो गर्न सकिनन् । भोक–प्यासले ग्रसित मनकुमारी समुद्र किनारको बालुवामै ढलिन् र भीड जम्मा भयो । मनकुमारीलाई अस्पताल लगियो । सज्जन नेपाली दाजुभाइ दिदीबहिनीले सहयोग गरे । उनको अवस्था हेरेर कसैले दुबईमा रहेका समाजसेवी मुकुन्द थापालाई खबर गरिदियो । मुकुन्द थापाले सबै चाँजोपाँजो मिलाएर उनको उपचार गरिदिए । समाजसेवी थापाले नै राजदूतावासको सहयोगमा बढ्दै गरेको गर्भसहित मनकुमारीलाई नेपाल फर्काए । नेपाल त फर्किइन् उनी तर जाने ठाउँ देखिनन् । घरमा जाने कुरै थिएन । बेलाबेला पेटमा रहेको शिशुले लात हानेर उनको गाउँ फर्कने योजना बिथोलिदिन्थ्यो । चिनजान आफन्तकोमा जाने सम्भावना नै थिएन, उफ !
दुबई हुँदा चिनजान भएकी एकजना साथीको घर काठमाडौँमा थियो । त्रिभुवन एयरपोर्टबाहिर निस्केर एकजना व्यक्तिको सहयोगले उनै साथी सुनितालाई फोन गरिन् ।

आपत्मा आफन्तभन्दा असल मन भएका साथी नै बढी काम लाग्ने हुन्छन् । मनकुमारीलाई भेट्न सुनिता तुरुन्तै आइहालिन् । मनकुमारी र सुनिता अँगालोमा कसिए । सुनितालाई देख्दा मनकुमारीलाई निकै ठुलो आधार मिलेको थियो । दुवैजना सुनिताको घर गए । मनकुमारीले रुँदैरुँदै आफ्नो सबै कुरा सुनाइन् । सुनिताको आँखाबाट पनि आँसु बर्सिए ।
भोलिपल्टै सुनिताले मनकुमारीलाई राम्रो हेरचाह हुने संस्था ‘ह्याप्पी–होम’मा लगेर छोडिन् । चाहेर पनि आफूसँग राख्न सकिनन् । परिवारलाई के भन्नु ? बेला बेलामा संस्थामा गएर भेट्ने गर्थिन् सुनिता । दुई महिनापछि मनकुमारीले सुन्दर छोरीलाई जन्म दिइन् । मुटु अब दुईतिर बाँडियो । उता, घरको याद उत्तिकै छ । यहाँ अर्काे मुटुको टुक्रा ! छोरी बोकेर घर जान पनि त नहुने । कसलाई छाड्ने, कसलाई अँगाल्ने, दोधारमा परिन् । बेलाबेलामा घरतिरको खबर सुनेर मरेतुल्य हुन्थिन् मनकुमारी । आफन्त, इष्टमित्रमा लामो समयदेखि बेखबर मनकुमारीलाई समाजले अनेक कुरा काटेर उनको चरित्रमाथि औँला उठाएको थियो । कतिले त सुखको खोजीमा पोइल भागेको किटानी गरेका थिए । छोरामान्छे बेखबर बनेको भए अनेक सहानुभूतिको वर्षा गराउँथ्यो समाजले । मनकुमारी रहरले होइन, बाध्यताले बेखबर बनेकी थिइन्, यही समाजको चुत्थो इज्जतका लागि ।

टाउकामाथि खसेको आकाश पन्छाउन सानो आँट र हिम्मतले सम्भव थिएन । छोराछोरीको भविष्य, लोग्नेको उपचार, साहुको ऋण, काखे नानीको व्यवस्थापन विकट पहाड बनेर उभिएका थिए मनकुमारी सामु ।

सुनिताको सहयोगमा सीपमूलक तालिम लिइन् मनकुमारीले । लगनशीलता र मेहनतले काम गर्दै जाँदा छोटो समयमै निकै तरक्की गरिन् उनले । गाँस–बासको समस्या नपरेपछि अन्य योजना बनाउन र काम गर्न सजिलो हुन्छ भन्ने उनले बुझिन् ।

मनकुमारीले आफूलाई रसातल पुर्‍याउने दुष्टलाई सजाय दिलाउने हेतुले वैदेशिक रोजगार विभाग र प्रहरीमा समेत उजुरी दिइन् । विडम्बना, मनकुमारीको आशा यस कुरामा भने पूरा हुन पाएन । किनभने, कुमार भन्ने त्यो नरश्वानले अर्काे नेपाली चेलीलाई मनकुमारीलाई झैँ फन्दामा पारेर शोषण गर्न खोज्दा ती चेलीले दुबई पुलिसको जिम्मा लगाइदिइछन् । बलात्कारजस्तो जघन्य अपराधमा उसलाई मृत्युदण्डको फैसला भइसकेको रहेछ । मुकुन्द थापाद्वारा सुनेको खबरले घाउमा थोरै मलमको काम गर्‍यो मनुलाई ।

समय बित्यो । फराकिलो मन भएका मनकुमारीका लोग्नेले उनको बाध्यतालाई आत्मसात गरेका छन् । लामो समयको उपचारपछि रोगलाई जितेर तन्दुरुस्त भएका उनी मनकुमारीलाई हरतरहले सहयोग गर्छन् । छोराछोरी पनि सहरको राम्रो विद्यालयमा पढ्छन् ।

मनकुमारीमा हरेक समस्या सामु सतिसालझैँ उभिइन् सुनिता । अभरमा परेका मान्छेलाई साथ सहयोगले लक्ष्यमा पुर्‍याउँछ भन्ने उदाहरण हो यो । महिलाको धन, यौवन लुट्नेदेखि जीवन नै चुँडाल्न पछि नपर्ने समाजका गलत मनोवृत्ति बोकेका मानिस र महिला विभेदका विरुद्धमा आवाज बुलन्द गर्ने मनसाय राखेर सामाजिक काम गर्न अगाडि बढ्दै छन् सुनिता र मनकुमारी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप

छुटाउनुभयो कि ?