आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय
निबन्ध

घान्द्रुकको गुम्दै गरेको आत्मा

शनिबार, ०९ चैत २०८१, १४ : ००
शनिबार, ०९ चैत २०८१

हिमालको काखमा अँगालो हालेर बसेको घान्द्रुकलाई पहिलोपटक देख्दा मन एकाएक आनन्दित हुन्थ्यो । ढुङ्गैढुङ्गाका पेटी, पर्खाल र तिनै ढुङ्गाले छाइएका घरहरू टल्किएका छाना; परम्परागत गुरुङ बस्ती; आँगनमा बुनिएका डोकाडाला, सुकुल र मान्द्राहरू; पाटीहरू अनि घरअगाडि सिँगारिएका फूलबारी — यी सबैले एक जीवित चित्र कोरेजस्तै लाग्थ्यो । जीवनको सरलता, मौलिकताको मिठास अनि समृद्ध संस्कृतिको रङ्गीन दृश्य त्यहाँका गुरुङ गाउँघरमा देखिन्थ्यो ।

घान्द्रुक–पहिलेजस्तो नभए पनि, अझै पनि सुन्दर छ तर साँच्चै घान्द्रुक थियो भन्ने सम्झनामा बाँकी छ ।

पहिलेको घान्द्रुक, साँच्चैको घान्द्रुक थियो !

पहिले घान्द्रुकका आँगनमा कोदोका नल ओसार्दै नाच्ने युवतीहरू थिए, उनीहरूका हातमा मादल र ढोलक हुन्थ, मनमा लोकगीतका धुनहरू । अहिले ती आवाज सहरतिरको यात्रा तय गरिसकेका छन् । गाउँका ज्येष्ठ नागरिकहरू स्मृतिको गहिराइमा डुबेर पुराना दिनहरूको गाथा सुनाउँछन्, ‘पहिले गाउँमा यति धेरै पाहुना आउँदैनथे, जो आउँथे तिनलाई आफ्नै घरमा राखिन्थ्यो । कति रमाइलो थियो त्यो समय ! अहिलेको घान्द्रुक नयाँ घान्द्रुक हो, यहाँ पाहुनालाई पाहुनाजस्तै राखिन्छ, तर आत्मीयतासँग होइन, व्यावसायिक दृष्टिले ।’

हिमाल उस्तै छ, अन्नपूर्ण र माछापुच्छ«ेले पहिलेझैँ आफ्ना सेता पाखाहरू फिँजाएको छ । परन्तु घान्द्रुकको आकाशमा घन्किने गुरुङ भाका क्रमशः ओझेल पर्दै छ । चौतारीमा गफ गर्ने हजुरबुबाहरू, पिठ्यँुमा सामान बोकेर उक्लने भरियाहरू, ढुङ्गाका भित्तामा सेतो माटोले लेखिएका मन्त्रहरू — यी सबै अब स्मृतिका कोसेली मात्र बन्न थालेका छन् ।

विकास रोक्नु हुन्न, समयसँगै परिवर्तन अपरिहार्य छ । तर जरा नै उखेलेर हुर्कने वृक्षको कुनै अस्तित्व हुँदैन । घान्द्रुकले पनि आफूलाई नयाँ युगसँग समायोजन गर्न सक्छ, तर आफ्नो मौलिकता बिर्सेर होइन, त्यसलाई सम्हालेर, जगेर्ना गरेर । पक्की घरहरू बनुन्, होटलहरू बढुन् तर गुरुङ संस्कृतिको सुगन्ध पनि त उस्तै रहनुपर्छ, होइन र ?

त्यसैले जब घान्द्रुक जाउँ, त्यहाँको विकास मात्र होइन हराउँदै गरेको आत्मालाई पनि खोजौँ । गुरुङ संस्कृति, त्यहाँका पुराना भाका, ढुङ्गे गोरेटाहरू अनि आत्मीयताले भरिएका घरहरूको अस्तित्वलाई जीवन्त राख्न सकियो भने मात्र घान्द्रुक साँच्चै घान्द्रुक रहिरहन सक्छ । नभए सायद हामीले कुनै दिन घान्द्रुकलाई सम्झेर भनौँला, ‘पहिलेको घान्द्रुक साँच्चै घान्द्रुक थियो !’

घान्द्रुक ! यो नाम उच्चारण गर्दा मनमा एउटा सुरम्य गाउँको चित्र हाँकिएर आउँछ — अन्नपूर्ण र माछापुच्छ«ेको काखमा बसेको गुरुङ बस्ती, जहाँ टिनले छाएका र ढुङ्गा छापिएका परम्परागत घरहरू छन्, जहाँ हिउँले चुमेका टाकुरा तलको हरियालीसँग मीत लगाइरहेका छन् ।

पहिलेको घान्द्रुक आजको जस्तो थिएन । पहिलेको घान्द्रुक साँच्चै घान्द्रुक थियो । गाउँले जिन्दगीको लय बिछट्टको भेटिन्थ्यो । धार्मिक ध्वनिहरूले बिहानको सगुन बाँड्थ्यो । अनि भेँडाबाख्राका गोठाले गफहरूले दिउँसोको समय सजाउँथे । घाँसे–दाउरे र ढिँकीजाँतो, पँधेराका भेटघाट पनि बिरानिँदै गइरहेको रहेछ । पिँढीमा बसेर पुख्र्यौली गौरवको पुरानो इतिहास सम्झने बुढाबाजेहरू पनि स्मृति–शून्य हुँदै रहेछन् । मेलापातबाट फर्केका गुरुङ युवतीहरूको मुहारमा झल्किने मिहिनेतको चमक । यिनले गाउँको सौन्दर्यलाई निखार्थे । यी सबै अब बिराना भएछन् ।

पहिले घान्द्रुकका आँगनमा कोदोका नल ओसार्दै नाच्ने युवतीहरू थिए, उनीहरूका हातमा मादल र ढोलक हुन्थ, मनमा लोकगीतका धुनहरू । अहिले ती आवाज सहरतिरको यात्रा तय गरिसकेका छन् । गाउँका ज्येष्ठ नागरिकहरू स्मृतिको गहिराइमा डुबेर पुराना दिनहरूको गाथा सुनाउँछन् ।

बिहानको घामसँगै कोदो, फापर, मकैका बारीहरूमा काम सुरु हुन्थ्यो । खोल्सामा ढुङ्गेघट्ट घन्किन्थ्यो, जसले गाउँभरका अन्न पिस्ने जिम्मा लिएको हुन्थ्यो । घान्द्रुकको पुरानो लय त्यही घट्टको तालमा धड्किन्थ्यो ।

माटोको सुगन्ध र संस्कृति सबैलाई प्यारो लाग्छ । घान्द्रुकको बाटाहरू तन्किएका थिए । तर तिनीहरूलाई टेक्ने पाइला अघोषित सम्झौतामा बाँधिएका थिए । त्यहाँ आउने जो–कोहीले गाउँलाई श्रद्धा गर्नुपथ्र्यो । ढुङ्गाले छापिएका ती घुमाउरा गोरेटामा गुरुङ संस्कृति हिँड्थ्यो — बाँसुरीका धुनमा, झ्याउरे गीतका बोलमा, ढोल र डम्फुका तालमा ।

पँधेरामा पानी भर्न गएका युवतीको गफगाफले प्रेमका कसीहरू गाँसिन्थे । घान्द्रुकको प्रत्येक चोकमा लोककथाहरू थिए — कहिल्यै नसुस्ताउने, कहिल्यै नमर्ने ।

परन्तु आज परिवर्तनको छायाले प्रभावको नराम्रो झड्का दिएको रहेछ ।

तथापि समयको धारले घान्द्रुकलाई फेर्‍यो । ढुङ्गे घट्टहरू रोकिए, गाउँका उकाली–ओरालीमा सवारीका पाङ्ग्र्राहरू घुम्न थाले । ढुङ्गा र टिनका छानाहरू हराएर सिमेन्टका घरहरू उम्रिए । पहिलेका थकाइ मेट्ने चौतारीहरू हराए । अनि तिनीहरूका ठाउँमा पर्यटकका लागि होटलहरू ठडिए ।

गाउँका बुढाबाजेहरू अब सम्झनामा बाँकी छन्, उनीहरूका अनुभवहरू पनि सँगै हराउँदै छन् । पहिलेजस्तै मन खोल्ने गोष्ठीहरू अब फाटेका छन् । किनभने मानिसहरू मोबाइलका स्क्रिनमा हराएका छन् ।

हिजोको घान्द्रुक र आजको घान्द्रुक अब तुलना गर्न नसकिने हुँदै गइरहेछ । घान्द्रुक ! यही नाम उच्चारण गर्दा पनि मनभित्र हिमाली हावाको चिसो झोक्का पसेर आउँछ । अन्नपूर्ण र माछापुच्छ«ेको काखमा अडिएको, ढुङ्गेघरहरूले छोपिएको, गुरुङ संस्कृतिको धरोहर बनेको यो गाउँ कुनै बेला यात्रुका लागि सपनाजस्तो लाग्थ्यो तर आजको घान्द्रुक हिजोको घान्द्रुकजस्तो छैन । समयले यसलाई परिमार्जन गरिदिएको छ ।

परिमार्जन भन्नु कसैका लागि यो विकास हो, कसैका लागि अस्तित्वको ह्रास, मौलिकताको पत्तासाफ, गुरुङ संंस्कृति र सभ्यताको सङ्कट ।

हिजोको घान्द्रुकमा बिहानको घाम ढुङ्गाका छानाहरूमा झर्दा पहेँलपुर सुनौला आकृतिहरू बनाउँथ्यो । जहाँ चुलोको धुवाँ ढुङ्गे गल्लीहरूमा नाच्थ्यो र गुरुङ बुबाआमाका मुखबाट निस्किने लोक सुस्केराहरूका गुञ्जनले गाउँ, पाखाहरू झङ्कृत बनाउँथ्यो ।

छेउछाउका जङ्गलहरूमा लालीगुराँस ढकमक्क फुल्थे, तर अहिले गुराँसका बोट भेट्न र फूल देख्न पनि मुस्किल । अनि रङ्गीचङ्गी चराहरू रमाउँथे । साँझ पर्दै गर्दा चिसो सिरेटो र आरुबखडाका बोटहरूमा झुन्डिएका किरणले घान्द्रुकलाई एउटा सुन्दर तस्बिरजस्तो बनाइदिन्थ्यो । पारिपट्टि ज्वाज्वल्यमान हिमाली छटाको मादक उपस्थिति आगन्तुकका लागि मन हर्ने दृश्य बनेर देखापथ्र्यो ।

हिमाल उही छ । घान्द्रुक त्यही हो तर हिमाल हेर्ने ठाउँ फेरिएको छ । आँखै बिझाउने आधुनिक भवनले घान्द्रुकको पहिचान बिथोलेको छ ।

यसरी आजको घान्द्रुक फरक भइरहेछ । अहिलेका घरहरू सिमेन्टका बनेका छन्, ढुङ्गेछाना हराउँदै छन् । गल्लीहरूमा ढुङ्गाको बाटो टुक्रिँदै गइरहेछ । परम्परागत गुरुङ वस्त्रहरूमा सजिएर नाच्ने युवायुवती अब होटल व्यवसायीका पोसाकमा छन् । लोकगीतहरू अब पर्यटकलाई देखाउने सांस्कृतिक कार्यक्रममा मात्र सीमित छन् । ती सबै संस्कृति अब पैसामा रूपान्तरित हुँदै छ । 

हिजोको घान्द्रुक प्राकृतिक थियो, मौलिक थियो, आत्मीय थियो । आजको घान्द्रुक सुविधा सम्पन्न, व्यावसायिक र आधुनिक छ । हिजो यात्रुहरू यहाँको मौनतासँग साक्षात्कार गर्न आउँथे । आज उनीहरू राम्रो होटल, वाइफाई र सेल्फी पोइन्ट खोज्न आउँछन् ।

यो परिवर्तनको बहस लामो छ । एकथरी भन्छन्, ‘यो त विकास हो !’ किनभने जीवन सहज बनेको छ, प्रविधि भित्रिएको छ, रोजगारी बढेको छ ।

अर्काथरि भन्छन्, ‘यो मौलिकताको क्षय हो !’ किनभने परम्परागत संस्कृति ओझेल पर्दै छ, आत्मीयता हराउँदै छ, प्रकृति सुक्दै छ ।

घान्द्रुक अझै सुन्दर छ, अझै मनमोहक छ । यहाँको आकाश अझै निलो छ, हिमाल अझै अटल छ, फूलहरू अझै फुल्छन् तर हिजोको घान्द्रुकको त्यो मौलिक आत्मा खोज्दै गर्दा, हामी सायद आधुनिकताको भीडमा कतै अल्झिएर बसेका छौँ ।

घान्द्रुक, हिजोको स्मृतिमा र आजको खोजीमा छ हरपल । अबको घान्द्रुक र हाम्रा जिम्मेवारी धेरै छन् । यो कुरा स्थानीय बासिन्दा र स्थानीय सरकारले मनन गर्नुपर्छ ।

के पहिलेको घान्द्रुकलाई फिर्ता ल्याउन सकिन्छ ? सायद सकिँदैन । तर त्यसको आत्मालाई जोगाउन सक्छौँ । इतिहासका पानाहरू सुरक्षित राख्न सक्छौँ । ढुङ्गाका गोरेटाहरूमा टेक्दा परम्परालाई सम्झन सक्छौँ ।

घान्द्रुक भूगोल होइन, यो संस्कृतिको एउटा जिउँदो श्वास हो । पहिलेकै घान्द्रुक आजको घान्द्रुकसँग मिसिएर बाँचोस्, ताकि हाम्रा भविष्यका पुस्ताले पनि यसको सुगन्ध महसुस गर्न सकुन् ।

घान्द्रुक ! पहिलेजस्तो नभए तापनि, अझै पनि सुन्दर छ । तथापि साँच्चै घान्द्रुक थियो भन्ने कुरा सम्झनामा बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप

छुटाउनुभयो कि ?