शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय
कवितामा दलित चेतना

भ्रम, अन्योल र अबुझपन चिर्ने कविताको शक्ति

शनिबार, ०९ चैत २०८१, १३ : ००
शनिबार, ०९ चैत २०८१

म सियो बनेँ
म आरो बनेँ
म आरन बनेँ
म फोहोर बनेर
तिमीलाई सफा बनाएँ
तिमीले मलाई
तीन हजार वर्षदेखि
निरन्तर घृणाको
तीरले हानेपछि
म बन्चरो बनेँ (बन्चरो, शोभा दुलाल) ।

कवितामा दलित चेतनाको दृष्टान्तलाई यस कविताले छर्लङ्ग पारेको छ । दलित चेतनाको दर्शन, विश्वचेतना र सांस्कृतिक पहिचानको सवाललाई यस्ता तिखा ऐतिहासिक सन्दर्भ र वैचारिक प्रतिरोधयुक्त कविताले लामो विश्लेषणको अनुच्छेदभन्दा धेरै बोलेको छ । दलित चेतनाबारे समाजमा देखापरेका भ्रम, अन्योल र अबुझपनलाई मिठो जवाफ दिने सौन्दर्य चिन्तन समेत यस्ता कवितामा अभिव्यक्त भएको छ ।

दलित चेतना र कविताबिच बहस गर्नुपूर्व थोरै दलित चेतनाको सौन्दर्य चिन्तनको विवेचना गर्नु उचित हुन्छ । दलित चेतना के हो र के होइन भन्ने केही भ्रम देखिएका छन् । यसबारे एक थरीले बुझेर बोलिरहेका छन् भने एक थरीले सतही तर्क गरेर नबुझीकन मत–मतान्तरमा भाग लिइरहेका छन् । 

कुनै पनि सौन्दर्य चिन्तनको तथ्यापन र सत्यापन गर्ने उचित मार्ग समाजशास्त्रीय दृष्टिकोण हो । समाजशास्त्रीय दृष्टि अनुसार सौन्दर्य चिन्तनको जन्म सामाजिक वर्ग चेतनाबाट भएको हुन्छ । सामाजिक संरचना के कसरी निर्माण भएको छ र त्यसको ऐतिहासिक शृङ्खला कुन वस्तुगत धरातलमा आधारित रहेको छ ? यसकै आधारमा समाजमा वर्गको उत्पत्ति हुन्छ । तिनका बिचमा द्वन्द्व हुन्छ । यसले सङ्घर्षको चरणमा प्रवेश गराउँछ । मूलतः समाज उत्पीडक र उत्पीडित वर्गका बिचमा रहेको टकराबबाट प्रभावित भएको हुन्छ । यस्ता वर्ग संरचनाका खास रूप अर्थ, विचार, लिङ्गमा रहेका हुन्छन् । यसबाहेक दक्षिण एसियाको समाजमा अत्यन्त अमानवीय दृष्टिबाट निर्मित भएको जात वर्ग रहेको छ । 

यही जात–वर्गभित्र उत्पीडित समुदायको एउटै प्रतिरोधी स्वर, साझा पहिचान, आन्दोलित चेतनाको सम्बोधनमूलक प्रतिनिधि शब्द दलित चेतना हो । यसको सौन्दर्य चिन्तन मानिसलाई मानिस बनाउन नदिने, अछुत बनाउने, अमानवीय सोच र व्यवहार गर्ने, दलनमा पार्ने उत्पीडक वर्ग विरोधी दृष्टिकोणमा सिर्जना भएको हो । त्यस्ता उत्पीडक वर्गका विरुद्ध लड्ने साझा चिन्तन, पहिचान र सङ्घर्षको प्रतिफलबाट दलित चेतना निर्माण भएको हो । कतिपयले दलित शब्दको उत्पत्तिलाई अत्यन्तै हल्का ढङ्गबाट लिएको पाइन्छ । यसको जग, तात्पर्य र गन्तव्यलाई बोध नगरी टिप्पणी गरेको पाइन्छ ।

कविता आफैँमा विचारको अभिव्यक्ति हो । कवितामा अभिधार्थभन्दा माथि विम्ब र प्रतीकले लक्षणा र व्यञ्जनाको स्तर कायम गरिदिन्छ । यसले अलङ्कार मात्रै सजाउँदैन, मानवीय आवेग, संवेगलाई मानिसका असङ्ख्य समुदायमा प्रसार गरिदिन्छ ।

इतिहासको अध्ययन नगरी, सामाजिक संरचनाको द्वन्द्वात्मक धरातल नहेरी, मानिसलाई मानिसबाट अमानुष बनाउने गलत संस्कार, संस्कृति, धर्म र परम्परा के कसरी विकास भयो भन्ने पृष्ठभूमिको विवेचना नै नगरी यसमाथि गलत व्याख्या गर्ने कामले दलित वर्गमाथि अर्को समस्या थोपरेको पाइन्छ । दलित चेतनाको सौन्दर्य चिन्तनलाई वस्तुपरक रूपमा बुझाउनुको साटो यसको ऐतिहासिक आन्दोलनको चरणलाई धमिलो बनाउने काम पनि भएको पाइन्छ । जब मानिसलाई मानिसबाट खसाल्ने काम मानिसद्वारा नै भयो तब त्यसको प्रतिरोध र प्रतिवाद गर्न साझा पहिचान, आन्दोलन र प्रतिबद्धता आवश्यक भयो । यही साझा पहिचान, आन्दोलन र प्रतिबद्धताको सम्प्रेषण गर्ने शब्दको रूपमा ‘दलित’ शब्द आएको हो । त्यस कारण यो आन्दोलनको पर्यायबाट जन्मेको हो । यो मानिसलाई मानिसको रूपमा पुनः स्थापित गराउने मानिसहरूकै प्रयासको प्रतिफल हो । यो अन्धविश्वास, सामन्ती दर्शन, कुप्रथा, दलन, दमन, अमानवीय क्रूरता, ढोङका विरुद्ध विभिन्न समुदाय, जातजाति, पेसा, वर्गमा रहेका तप्काहरूको एउटै मोर्चाबन्दी हुने उद्देश्यबाट बनेको दलित चेतना आन्दोलनको चेतता हो । 

मानिसलाई मानिस नदेख्नेहरू आफैँ मानिस नभएको मानी तिनलाई मानिस बनाई तिनले अमानुष बनाएकालाई पनि मानिस नै बनाउने उद्घोषबाट बनेको ऐतिहासिक विमर्श र आविष्कारबाट जन्मेको दलित सौन्दर्य चिन्तन एउटा वर्गदृष्टि हो । उत्पीडकलाई उच्च मानिस होइन, सामान्य मानिस बनाउने र उत्पीडितलाई पनि निम्न मानिस होइन सम्मानित मानिस बनाउने तात्पर्यमा जन्मेको दलित सौन्दर्य चिन्तनको गहिरो बहस, बुझाइ र शिक्षाको अभाव अनुभूत भइरहेको पाइन्छ । दलित चेतनाको साहित्यले दलित सौन्दर्यलाई व्यक्त गरेको छ । यसमा पनि उत्तरवर्ती कविता परमपरामा कवितामा दलित चेतना घनीभूत रूपमा प्रकट भएका छन् । 

दलित चेतनाको सौन्दर्य चिन्तनलाई कवितात्मक अभिव्यक्तिमा प्रस्तुत गर्ने भूमिका आहुतिको यो कवितांशले मार्मिक र सार्थक तरिकाले निर्वाह गरेको छ —

तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या 
जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ (गहुँगोरो अफ्रिका) ।

मानिसलाई दलित बाउने, शूद्र बनाउने, अछुत बनाउने, मान्छेहीन वा अस्तित्वहीन बनाउने काम कुनै अलौकिक दुनियाँबाट भएको होइन । अलौकिक भन्ने कुरा कल्पना र अनुसन्धान गर्न बाँकी रहेका लोकका बारेमा भनिने सजिलो तर्क तथा अज्ञानताको बिसौनी चौतारी नै हो । आज मानिसले जाने–बुझेका र भोगेका चिज लौकिक हुन् । मानिस नै मानिसलाई अनेकानेक तहमा बाँडेर राख्ने प्राणी हो र यसरी विभेदको विभाजन गर्ने क्रममा जनावरलाई समेत छुत–अछुतको वर्गमा बाँडिसकेको अवस्था छ । यो दलित बनाउने काम, दमन गर्ने काम कहिलेदेखि भयो भन्ने निचोड पनि मानवशास्त्रीय, समाजशास्त्रीय र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी इतिहास चेतनाबाट बोध गर्न सकिने विषय हो । यसबारे धेरै अध्ययन, चिन्तन र अनुसन्धानहरू पनि भइसकेका छन्, अझै धेरै काम हुने क्रममा छ । मानिसले आफ्नो गुमेको अस्तित्व, किनारीकृत, सीमान्तकृत जीवनबाट फर्काएर स्थापित गर्ने आन्दोलनको यात्रा निरन्तर अघि बढिरहेको छ । यसको मूल हतियार चेतना हो । 

शोषक, उत्पीडिक वर्गमा पनि चेतनाकै अभाव छ भने उत्पीडित वर्गमा पनि त्यसबाट मुक्त हुने मार्गमा अघि बढ्न चेतनाकै अभाव छ । एउटा वर्गलाई आफूले अन्याय गरेको कुरा हृदयदेखि नै स्वीकार गर्ने चेतना आवश्यक छ भने एउटा वर्गमा आफूहरू यी–यी स्वार्थका चरणबाट उत्पीडित भएकाले यो–यो मार्गबाट आन्दोलन गरेमा यसरी मुक्ति पाइन्छ भन्ने चेतनाको आवश्यक छ । अन्याय गरेको र अन्यायमा परेको विपरीत तर एउटै सन्दर्भका अलग–अलग चेतनाले मानिसलाई देवत्करण गर्ने र राक्षसीकरण गर्ने अतिवादी प्रवृत्तिबाट मुक्त गराई मानिसलाई मानिसका रूपमा बाँच्ने समाज निर्माण गर्न सकिन्छ, गर्नुपर्छ । यसो नगरी मानिसलाई डोर्‍याउने अर्को कुनै बाटो छैन । यो सभ्यताको शिष्टाचारलाई सम्बोधन गर्न समग्र मानिसलाई मानिस भएर रहने संसारको, समाजको निर्माण गर्नुको अर्को विकल्प छैन । यही जीवन दर्शन, यही सौन्दर्य चेतना, यही मानवतावाद, यही विश्व चेतना दलित सौन्दर्य चिन्तनका कवितामा प्रतिविम्बित भएका छन् । 

दलित चेतनाको सबल वैचारिक अभिव्यक्ति दिन समर्थ हरिशरण परियारको पसिनाको हिसाब कविता शीर्षकबाट एक कवितांश यस्तो छ —

बा !
अब उठ्नुस्
आर्यघाटको चापाटे चिताबाट
र, दिनुस् मलाई
वर्षौं पसिनाले सिञ्चित
तपाईंको अस्थिपञ्जर
गालेर नवयुगको आरनमा
बनाउँछु विष्टहरूलाई कठघरामा
र, माग्छु,
एक माना बालीले
तिर्न नसकेको
हाम्रा पुर्खाहरूको पसिनाको हिसाब !

दलित चेतना उत्पीडित वर्गको मुक्तिको दार्शनिक यात्रा प्रक्रिया हो । यसलाई अघि बढ्न रोकावट गर्ने वर्ग उत्पीडक वर्ग नै हो । सबै मानिसले मानवीय स्थान पाएको देख्न नसक्ने मनोदशा भएकाले दलित चेतनामाथि अनेक नकारात्मक टिप्पणी गरेको पाइन्छ । यहाँ डलरको गन्ध देख्ने, विदेशीको रङ देख्ने र धर्मविरोधी समेत भन्न भ्याउने वर्गमा उभिने मानिसलाई दलित सौन्दर्य चिन्तन अनावश्यक लागेको छ । यस मान्यतामा रचिएका कवितालाई कविता नै नमान्ने मनोविज्ञान बनेको पनि देखिन्छ । 

कविता मनोरञ्जन, मनोविलास, आत्मरति तथा व्यक्तिको अन्तः सुखको साधन मात्रै ठान्ने वर्गले पनि यसलाई दुत्कारेको पाइन्छ । हजारौँ हजार वर्षदेखि हप्की र सास्ती खेप्दै आएका, बोल्न नसक्ने, कुञ्ठित, दमित, डर–त्रासमा पारिएका समुदायले सुरुमा आँसुको भाषामा आफ्ना पीडा व्यक्त गर्दै आए । सचेत र सबल दर्शनको बोध भएपछि प्रतिरोधको भाषा प्रयोग गर्न थाले । यसले आन्दोलन समेत उठायो । आरक्षण र समानता, समताको चेतनाबाट निर्मित हुँदै आयो । यसरी दलित चेतना समकालीन साहित्य दर्शनको, सिर्जना र समालोचनाको टड्कारो सिद्धान्त बन्न पुगेको छ । 

विचार, दृष्टिकोण भूगोल, संस्कृति, समाज अनुकूल त हुन्छ नै तर विश्व चेतनाले बोल्ने मानवता विश्वव्यापी हुन्छ । विश्वकै मानिसले कुनै युगमा कुनै न कुनै रुपमा दलितको पीडा भोगेको हुन्छ—  सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, आर्थिक, शारीरिक, मानसिक रूपमा । तिनमा उत्पीडनको वंशानुगत अनुभूति पनि सञ्चित भएको पाइन्छ । अपहेलित हुनुको लामो मनोविज्ञानबाट आक्रोश र आवेगको बाँध फुट्ने हुँकार चेतना पनि उत्पन्न भएर कवितामा प्रकट भएको पाइन्छ ।

डम्बर पहाडी एलाकले डम्बरे दमाईको बकपत्र कवितामा ती दलित सौन्दर्य चिन्तनलाई मर्मस्पर्शी रूपमा यसरी प्रकट गरेका छन्—

एक्काइसौँ शताब्दीको 
म ! डम्बरे दमाई
कुसंस्कारको जालोभित्र
पाँच हजार वर्षअघिकै
अनुभूति गरिरहेछु
घोटिरहेछु
चरचरी फुटाउँदै पैताला
उषा हाते कल र
सिंगर कलका पाइडलहरूमा
तुनिरहेछु
अमल तुनोले ठेल्दै मधुमेहले धमिलो पारेका 
बुढो आँखाले नभ्याउने
सियोको नाथ्रीमा उन्दै
जिन्दगीका लामो धागोहरू
घरीघरी
थुकका छिर्काहरूले 
धागो बटारी
तुनिरहेछु अम्टार्दै
सगरमाथाभन्दा पनि अग्लो
मेरा सभ्य भनौँदा
विष्टहरूका शिरमा
ठाँटले सजिने शुभ साइतका सगुनी
फूलबुट्टे ढाकाटोपी
नाङ्गो आङ ढाक्ने
खद्दरका दौरा सुरुवाल र भोटाहरू
र ! पनि
यो सभ्यताको वकालत गर्न समाजमा
पिँढीबाहिर बसी
म ! डम्बरे दमाई
छटपटाइरहेछु
अछुत हुनुको पीडा ।

खुकुरीको चोट अचानोलाई थाहा हुन्छ भन्ने नेपाली लोकोक्तिजस्तै दलित चेतनाको मर्म दलित वर्गकै स्रष्टामा बढी अनुभूत भएको हुन्छ । यसको दृष्टान्त उपर्युक्त कवितामा स्पष्ट भएको छ । यद्यपि दलित सौन्दर्य चिन्तन र सामाजिक विसङ्गति विरुद्ध यस्ता युग युगदेखिका अन्यायका विरुद्ध दलित वर्गले मात्रै लड्नुपर्छ भन्ने दृष्टिकोण सही होइन । यो समस्या मानव समाजको समस्या हो । यो सभ्यतामाथि औँलो उठेको समस्या भएको तर्क उक्त कविताले स्पष्ट पारेकै छ । सभ्य हुँ भन्ने तर मानिसको दर्जा खोस्ने सभ्यता टिकिरहनु विडम्बना हो । दलित चेतनाले दलितहरूको मुक्तिको सवाललाई केन्द्रमा राख्छ र यस्ता कविता यही मान्यताबाट सिर्जना हुन्छन् । 

कविता आफैँमा विचारको अभिव्यक्ति हो । कवितामा अभिधार्थभन्दा माथि विम्ब र प्रतीकले लक्षणा र व्यञ्जनाको स्तर कायम गरिदिन्छ । यसले अलङ्कार मात्रै सजाउँदैन, मानवीय आवेग, संवेगलाई मानिसका असङ्ख्य समुदायमा प्रसार गरिदिन्छ । कवितामा संश्लिष्ट शैलीमा सघन विचारको प्रक्षेपण गर्ने शक्ति हुन्छ । कवितामा दलित चेतना प्रकट हुनुको तात्पर्य दलित अनुभूतिको संरचना प्रस्तुत हुनु मात्रै होइन, दलित चेतनाको आन्दोलनलाई गहिरोसित उठाउनु पनि हो । आम मानिसलाई मानवताको इतिहास र अमानवीय क्रूरताको इतिहास बोध गराउनु पनि हो । इतिहास वर्गद्वन्द्वबाट विकसित भएको छ । यसको अभिमत दलित सौन्दर्य चिन्तनमा पाइन्छ । यसलाई बलियोसित व्यक्त गर्ने विधा कविता हो । कविताले सूत्रमा, प्रतीकमा, बिम्बमा दलित चेतनालाई मुखरित गर्ने प्रक्रिया समकालीन कवितामा बढेको छ । हिजो कुनै युगको शासन सत्तामा दलितले दलित सौन्दर्यमा कविता लेख्न नसक्ने वातावरण रहेको थियो । गैरदलितले पनि यसमा कलम चलाउँदा यातना, घृणा र निन्दाको पात्र बनिने अवस्था थियो । त्यो युगमा पनि दलित चेतनाका कविताहरू लेख्ने काम भइरहे । 

जब मानिसलाई मानिसबाट खसाल्ने काम मानिसद्वारा नै भयो तब त्यसको प्रतिरोध र प्रतिवाद गर्न साझा पहिचान, आन्दोलन र प्रतिबद्धता आवश्यक भयो । यही साझा पहिचान, आन्दोलन र प्रतिबद्धताको सम्प्रेषण गर्ने शब्दको रूपमा ‘दलित’ शब्द आएको हो ।

लक्ष्मीप्रसाद देवकोटाले स्वच्छन्दतावादी क्रान्तिकारी प्रवृत्तिसँगै दलित चेतनाका कविताहरू रचेर यसको सौन्दर्य चिन्तनलाई स्वीकार गरेका हुन् । मोदनाथ प्रश्रितजस्ता कविले दलित चेतनाको सौन्दर्यमा कविता लेख्दै अछुत प्रथाको विरुद्धमा गाउँ¬¬–गाउँ र सहरमा आवाज प्रसार गरेका हुन् । यस प्रवृत्तिमा मात्रा र गुणका साथ विकसित हुँदै उत्तरवर्ती चरणका कवितामा व्यापकता भएको पाइन्छ । कवितामाथि पनि प्रतिबन्धजस्तो कविको मानवीय आवेग, संवेगमाथि पनि बुटको भाषाले छेक्ने गरिएको थियो । त्यसले दलित सौन्दर्यको आवश्यकतालाई झनै माथि उठायो । 

दलित चेतनालाई दास मालिक वर्गको जन्मसँगै सन्दर्भ ज्ञानका रूपमा केलाउनु उचित हुन्छ । दास प्रथाकै एक अभिलक्षणका रूपमा दलित वर्गको उत्पीडन हुँदै आएको हो । केही मानिसले लामो समय चलेको वंशानुगत रूपमा बनाइएको दलित, दासतालाई परम्परा माने । हिजो दलित भएर, दमित भएर, हेपिएर, अछुत भएर बाँचेको पुस्ता र त्यो पुस्ताबाट जन्मेका सन्तानलाई त्यही नियतिमा बाँच्न विवश बनाएपछि त्यो पनि देखेकाले यो त मानव समाजको धर्म हो । परम्परा हो, संस्कार हो भनेर कैयौँ मानिसले अछुत बनेको कुप्रथालाई नै परम्पराको नामकरण गरी त्यही नै सही थियो, हो र तिनले त यो भोग्ने भाग्य लिएर आएका छन् भनेर विसङ्गति, अन्यायलाई नै न्याय तथा सङ्गति देख्ने मनोदशा बनाएको पाइन्छ । यही मनोदशाको प्रतिरोधमा जन्मेका कविता सिर्जनाले दलित चेतनाको यथार्थीकरण, विश्वदृष्टि र सही मार्गदर्शन गर्न सक्छन् । अँध्यारो समाजलाई उज्यालो बनाउन, तीव्र दबाब सिर्जना गर्न, आन्दोलित बनाउन, सचेत बनाउन सक्छन् ।

दलित चेतनाको आलोचनात्मक विवेचनाका निम्ति दलित आन्दोलनकै निखारता र यसभित्रको निसाना ठिक बेठिक कहाँ गएको छ भन्ने दृष्टिकोण पनि महत्त्वपूर्ण छ । यस सन्दर्भमा रणेन्द्र बरालीको रातो बारुद कविता कृतिको एक कवितांश सान्दर्भिक दृष्टान्त रहेको छ—

हे दलित मुक्तिका मसिहाहरू

मेरा मुटुका धुकधुकीहरू

म नेपाल आमाकी पवित्र छोरी

दलित समुदायकी सावित्री चेली

तिम्रै कुलकी देवी मेरो अस्मिता बिटुलो हुँदा

अझै तिमी रमिते हुन्छौ ?

भन त तिम्रो साख कसरी चोखो हुन्छ ?

म त कल्ली कुमारी हुँ होइन मेरो,

तिम्रै रङ्गमञ्च बिटुलो भयो ।

विश्व मानचित्रको पश्चिमा भूगोलमा स्पार्टाकसको महान् सङ्घर्ष सफल भयो । त्यसमाथि धेरै साहित्य सिर्जना भए । आख्यान, निबन्ध, नाटक र कविताहरू रचिए । वर्ण विभेदका विरुद्ध पनि सुन्दर कविताहरू सिर्जना भए । जाति, धर्म र वर्णका बिचमा भएका विभेदले दक्षिण एसियामा भने नराम्रो जरा गाडेको छ । संविधान, कक्षा शिक्षणका पाठशाला, बौद्धिक गोष्ठी केन्द्र, मानवतावादी प्रवचन कक्ष, राजनीतिक वृत्त र मानव अधिकारवादी मञ्चहरूमा समानता र समताको आवाज घन्किन्छ । 

ती आवाज कानुनका अक्षरमा समेत सजिएका छन् । कानुनका डिलमा बुट्टा भरेर सजाइए पनि व्यवहारमा, मनोविज्ञानमा, परम्पराका नाममा, धर्मका नाममा उत्पीडन बाँकी रहेको छ । छुवाछुत प्रथाले समाजलाई नमिठो र असहनीय घाउ लगाएको छ । सभ्यताको नाक नै काटिदिएको छ । विवेकी समाजलाई अन्धविश्वास, अमानवीय विभेदमा जकडाइएको छ । यसका विरुद्ध उत्रेका कविहरू आफैँमा आन्दोलन हुन्, पथ प्रदर्शक हुन् । तिनका कविताका प्रतीक, विम्बले बोल्ने स्वरहरू मानव दर्शनलाई सही ठाउँमा ल्याउने वैचारिक गैँचीहरू हुन् । कविताको माध्यम प्रविधि मिलाएको भाषाशैली मात्रै होइन, त्यसभित्र संसारलाई मानवीय भूगोल, समाज र संस्कृति दिन खोजेको सौन्दर्य मानवतावादको साहित्यिक काव्यिक प्रयास हो । औपचारिक पाठशालामा यस्ता कविताका प्रवृत्तिको बहस गर्नु हाजको काव्यिक पठन र समालोचनाको आवश्यकता पनि हो ।

यी विवेचनाका अनुच्छेदलाई छोटकरीमा बुझाउने, दलित सौन्दर्य चिन्तनलाई कविताको भाषाबाट प्रस्तुत गर्ने, दलित आन्दोलनको आशयलाई वस्तुपरक विश्वदृष्टिमा व्यक्त गर्ने, मुक्तिको लडाइँलाई किन र कसरी भन्ने तरिका सिकाउने, दलित समुदायको मनोविज्ञानलाई आत्मविश्वासको रूपमा ग्रहण गरी विचार दिन सक्ने आहुतिको गहुँगोरो अफ्रिका कविता आफैँमा सुन्दर नमुना हो । उनको कविता समाजदर्शन, मानवदर्शन र विभेदलाई चिरेर त्यसको समाधान सहितको सन्देश दिने सङ्घर्षको स्वर हो । यही कविताको अंशबाट प्रस्तुत आलेखलाई निष्कर्षमा राख्दा यथोचित हुन्छ भन्ने सङ्केत कविताका अक्षरहरू स्वयं आन्दोलित रहेका छन्—

तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म

तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म

म कहाँ छैन ? म सर्वत्र छु !

मलाई तिमी कसरी अछुत बनाउन सक्छौ मान्छे ?

कि इतिहासको कठघरामा उभिने आँट गर

कि आफूलाई बदल्ने साहस गर

आँखा जुधाउने आँट गर पूजारी !

म बिसौँ शताब्दीको अछुत हुँ !

यो गोल भूगोलको गहुँगोरो अफ्रिका हुँ !

म अपमानित इतिहासको हिसाब चाहन्छु

म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. हरिप्रसाद सिलवाल
डा. हरिप्रसाद सिलवाल
लेखकबाट थप

छुटाउनुभयो कि ?