आईपीएलको १८औँ संस्करण आजदेखि, १० टोलीबिच १३ स्टेडियममा उपाधिका लागि घम्साघम्सी

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ ।
ऐतिहासिक ईडेन गार्डेन्स स्टेडियममा हुने कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिचको भिडन्तसँगै आईपीएलको १८औँ संस्करणले गति लिनेछ ।
उद्घाटन खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको भब्य उद्घाटन समारोह हुने बताइएको छ । उद्घाटन समारोहमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।
यसपटक पनि प्रतियोगितामा १० वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरु कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलुरु, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स, चेन्नई सुपर किङ्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स, गुजरात टाइटन्स र पञ्जाब किङ्स हुन् ।
दुईवटा खेल भएको दिन पहिलो खेल दिउँसो १५ः४५ बजे र दोस्रो खेल राति १९ः४५ बजे सुरु हुनेछ । लिग चरणको खेल मे १८ तारिखसम्म चल्नेछ । १८औँ संस्करणको फाइनल खेल मे २५ तारिखमा कोलकाताको ईडेन गार्डेन्स स्टेडियममै खेलिने छ । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलिने छ ।
स्टेडियम
प्रतियोगिताका खेलहरु भारतका विभिन्न १३ वटा शहरका रंगशालामा खेलाइने छ । प्रतियोगिताका लागि छुट्याइएको स्टेडियममा एक लाख ३२ हजार दर्शक क्षमताको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम र ३५ हजार दर्शक क्षमताको बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियम छन् ।
यसैगरी, चेन्नईस्थित ३९ हजार दर्शक क्षमताको एमए चिदम्बरम स्टेडियम, दिल्लीस्थित ३५ हजार दुई सय दर्शक क्षमताको अरुण जेट्ली स्टेडियम र धर्मशालास्थित २१ हजार दुई सय दर्शक क्षमताको हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा पनि आईपीएलका खेलहरु हुनेछन् ।
यसैगरी, गुवाहाटीस्थित ४६ हजार दर्शक क्षमताको बर्सापरा स्टेडियम, हैदराबादस्थित ५५ हजार दर्शक क्षमताको राजिव गान्धी स्टेडियम, जयपुरस्थित २५ हजार दर्शक क्षमताको सवाई मानसिंह स्टेडियम, कोलकातास्थित ६८ हजार दर्शक क्षमताको ईडेन गार्डेन्स स्टेडियममा पनि खेल हुनेछ ।
यसैगरी, लखनउस्थित ५० हजार दर्शक क्षमताको एकाना क्रिकेट स्टेडियम, मुलानपुरस्थित ३८ हजार दर्शक क्षमताको महाराजा यादविन्द्र सिंह स्टेडियम, मुम्बईस्थित ३३ हजार दर्शक क्षमताको वानखेड स्टेडियम र विशाखापत्तनमस्थित २७ हजार पाँच सय दर्शक क्षमताको स्टेडियममा पनि खेल हुनेछ ।
कप्तान
यसपटक नौवटा टोलीको कप्तान भारतीय छन् । एउटा टोलीले मात्र विदेशी खेलाडीलाई कप्तान बनाएको छ । सनराइजर्स हैदराबादले अस्ट्रेलियाका प्याट कमिन्सलाई कप्तान बनाएको हो । रुतुराज गायकवाड चेन्नई सुपरकिङ्सका र अक्सर पटेल दिल्ली क्यापिटल्सका कप्तान हुन् ।
यसैगरी, सुभमन गिल गुजरात टाइटन्सका, अजिनक्या रहाणे कोलकाता नाइट राइडर्सका, ऋषभ पन्त लखनउ सुपर जायन्ट्सका, हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका, श्रेयष ऐयर पञ्जाब किङ्सका, सन्जु सामसन राजस्थान रोयल्सका र रजत पाटिदार रोयल च्यालेन्जर्स बेंगलुरुका कप्तान हुन् ।
आईपीएलको हालसम्मको इतिहासमा एकैपटक पाँचवटा टोलीले आफ्नो कप्तान परिवर्तन गरेको यो पहिलो पटक हो । यसका अतिरिक्त आईपीएलको इतिहासमा नौवटा टोलीले भारतीय खेलाडीलाई कप्तान बनाएको पनि यो पहिलो पटक हो ।
विदेशी खेलाडी
आईपीएलको १८औँ संस्करणमा पनि उल्लेख्य सँख्यामा विदेशी खेलाडीको सहभागिता रहने छ । दिल्ली क्यापिटल्सबाट दुसमन्था चामिरा, फाफ डु प्लेसिस, डोनोभान फेरेइरा, ज्याक फ्रासर म्याकगर्क र मिचेल स्टार्कले खेल्नेछन् । चेन्नई सुपर किङ्सबाट नुर अहमद, डेभोन कनवे, साम कुर्रन, नाथन एलिस, जामी ओभरटन र माथिसा पाथिरानाले खेल्दैछन् ।
यसैगरी, गुजरात टाइटन्सबाट जस बट्लर, जेराल्ड कोएट्जी, रासिद खान, ग्लेन फिलिप्स, कागिसो राबडा र सेरफन रुथरफोर्डले खेल्दैछन् । कोलकाता नाइट राइडर्समा मोइन अली, क्विन्टन डी काक, रहमानुल्लाह गुरबाज, स्पेन्सर जोन्सन, सुनिल नारिन, एनरिच नोर्जे, रोभमन पोवेल र आन्द्रे रसेल आबद्ध छन् ।
यसैगरी, लखनउ सुपर जायन्ट्समा सहबाज अहमद, म्याथ्यू ब्रिट्जके, सामर जोसेफ, ऐडिन मारक्रम, मिचेल मार्श, डेभिड मिल्लर र निकोलस पुरन रहेका छन् । ट्रेन्ट बोल्ट, विल ज्याक्स, बेभोन ज्याकब्स, रायल रिकेल्टन, मिचेल सान्टनर, रिसे टप्ली, मजिब उर रहमान र कोर्बिन बोस्च मुम्बई इन्डियन्समा आबद्ध छन् ।
यसैगरी, पञ्जाब किङ्सबाट जेभियर बार्टलेट, लोकी फर्गुसन, एरोन हार्डी, जस इङ्लिस, मार्को जानसेन, अजमतुल्लाह ओमरजाई, ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसले खेल्नेछन् । जोफ्रा आर्चर, फजालहक फारुकी, वानिन्दु हसरंगा, सिमरन हेटमायर, क्वेना मपाखा र महिस थिक्सना राजस्थान रोयल्समा आबद्ध छन् ।
यसैगरी, रोयल च्यालेन्जर्स बेंगलुरुबाट ज्याकब बेथेल, टिम डेभिड, जस हेजलउड, लियाम लिभिङ्स्टोन, लुङ्गी एनगिडी, फिल साल्ट, नुवान थुसरा र रोमारियो सेफर्डले खेल्नेछन् । प्याट कमिन्स, ट्राभिस हेड, हेनरिक क्लासेन, एसहन मालिंगा, कामिन्दु मेन्डिस, एडम जाम्पा र विआन मल्डर सनराइजर्स हैदराबादमा आबद्ध छन् ।
पहिलो पटक ‘म्याच फि’ को व्यवस्था
इन्डियन प्रिमियर लिगको इतिहासमा पहिलो पटक ‘म्याच फि’ को व्यवस्था पनि गरिएको छ । यस अर्थमा आईपीएलको १८औँ संस्करण विशेष हुनेछ । १८औँ संस्करणमा सहभागी हुने प्रत्येक खेलाडीले प्रत्येक खेलका लागि ‘म्याच फि’ पाउने छन् ।
फर्किएको नियम
आईपीएलको १८औँ संस्करणमा एउटा पुरानो नियम पुनः लागू गरिने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सहभागी टोलीका कप्तानहरुसँगको छलफलपछि उक्त नियम फेरि लागू गरेको समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको महामारीले विश्वलाई गाँज्नुअघि आईपीएलमा यो नियम कायम थियो । खेलका क्रममा बलरहरुले बललाई चम्काउन थुक वा र्याल दल्ने गर्थे । यसरी पटक–पटक बलको एकतर्फ मात्र र्याल दलिरहँदा बल चम्किलो देखिन्थ्यो ।
बलको एउटा भाग चम्किलो हुन्थ्यो भने अर्को भाग विस्तारै खस्रो बन्दै जान्थ्यो । यस्तो स्थितिमा बलरहरुका लागि बललाई ‘रिभर्स स्विङ’ गराउन सजिलो हुन्छ । बलरले फालेको ‘रिभर्स स्विङ’ बललाई खेल्न ब्याट्सम्यानका लागि भने निकै अप्ठ्यारो हुन्छ ।
त्यसैले यो नियम बलरका लागि गतिलो अस्त्र सावित हुने गरेको थियो । कोरोना महामारी फैलिएपछि यो नियमलाई हटाइएको थियो । थुकबाट कोभिड फैलन सक्ने भएकाले यो नियम हटाइएको हो । तर, अहिले आएर बीसीसीआईले त्यही नियम पुनः लागू गरेको छ ।
भब्य उद्घाटन
आईपीएलका पहिलो खेलअघि भब्य उद्घाटन समारोह हुने भएको छ । बंगाल क्रिकेट संघका अध्यक्ष स्नेहशिष गांगुलीका अनुसार, उद्घाटन समारोह ३५ मिनेटको हुनेछ । उद्घाटन समारोहमा श्रेया घोषाल र करण औजलाले आफ्नो प्रस्तुती दिनेछन् ।
उद्घाटन समारोहमा वलिउड अभिनेत्री दिशा पटानीले पनि आफ्नो प्रस्तुती दिने बताइएको छ । यसका अतिरिक्त, आईपीएलको यो संस्करणमा प्रत्येक स्टेडियममा पहिलो खेल खेलाइनुअघि विशेष कार्यक्रम आयोजना गरिने पनि आयोजकले जनाएको छ ।
पुरस्कार राशि
इन्डियन प्रिमियर लिगको १८औँ संस्करणमा उपाधि जित्ने टोलीले २० करोड भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छ । प्रतियोगितामा उपविजेता बन्ने टोलीले भने १२ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार हात पार्नेछ । यो राशी च्याम्पियन्स ट्रफीको विजेता टोलीले पाएभन्दा बढी हो ।
यसैगरी, आईपीएलमा तेस्रो हुने टोलीले सात करोड भारतीय रुपैयाँ र चौथो स्थानमा रहने टोलीले ६ करोड ५० लाख भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् । सर्वाधिक रन बनाउने खेलाडी र सर्वाधिक विकेट लिने खेलाडीले १५–१५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, प्रतियोगिताको इमर्जिङ प्लेयरलाई पनि २० लाख भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने समाचारमा जनाइएको छ । मोस्ट भ्यालुएवल प्लेयरलाई पनि १२ लाख भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
यस्तो छ इतिहास
- पहिलो संस्करण
इन्डियन प्रिमियर लिगको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो । प्रतियोगिता अप्रिल १८ देखि जुन १ तारिखसम्म चलेको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए । प्रतियोगिता अवधिभर कुल ५९ खेल खेलाइएको थियो । उपाधि राजस्थान रोयल्सले जितेको थियो ।
फाइनलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो । राजस्थान रोयल्सका शेन वाट्शन प्लेयर अफ दि सिरिज घोषित भए । किङ्स–११ पञ्जाबका सन मार्शले सर्वाधिक ६ सय १६ रन बनाएका थिए । राजस्थान रोयल्सका सोहेल तनविरले सर्वाधिक २२ विकेट लिएका थिए ।
- दोस्रो संस्करण
आईपीएलको दोस्रो संस्करण सन् २००९ को अप्रिल १८ देखि मे २४ तारिखसम्म आयोजना भएको थियो । दोस्रो संस्करणमा पनि आठवटा टोलीले नै भाग लिएका थिए । यो संस्करणमा पनि कुल ५९ खेल खेलाइएको थियो । दोस्रो संस्करण दक्षिण अफ्रिकामा खेलाइएको थियो ।
दोस्रो संस्करणको उपाधि भने डेक्कन चार्जर्सले जितेको थियो । डेक्कन चार्जर्सले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ रनले हराएको थियो । विजयी टोलीका एडम गिलक्रिस्ट प्लेयर अफ दि सिरिज बने । चेन्नई सुपर किङ्सका म्याथ्यू हेडेनले सर्वाधिक पाँच सय ७२ रन बनाएका थिए । डेक्कन चार्जर्सका रुद्रप्रताप सिंहले सर्वाधिक २३ विकेट लिएका थिए ।
- तेस्रो संस्करण
आईपीएलको तेस्रो संस्करण सन् २०१० को मार्च १० देखि अप्रिल २५ तारिखसम्म आयोजना भएको थियो । प्रतियोगितामा आठवटा टोलीले नै सहभागिता जनाएका थिए । तर, यो संस्करणमा कुल ६० खेल खेलिएको थियो । तेस्रो संस्करणको उपाधि चेन्नई सुपर किङ्सले जितेको थियो ।
चेन्नई सुपर किङ्सले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । मुम्बई इन्डियन्सका सचिन तेन्दुल्कर प्लेयर अफ दि सिरिज बनेका थिए । सचिनले नै सर्वाधिक ६ सय १८ रन बनाएका थिए । सर्वाधिक विकेट डेक्कन चार्जर्सका प्रज्ञान ओझाले लिएका थिए । उनले कुल २१ विकेट लिए ।
- चौथो संस्करण
आईपीएलको चौथो संस्करण सन् २०११ को अप्रिल ८ देखि मे २८ तारिखसम्म खेलाइएको थियो । चौथो संस्करणमा टोलीको सँख्या बढाएर १० पुर्याइएको थियो । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइएको छ । चौथो संस्करणको उपाधि पनि चेन्नई सुपर किङ्सले नै जितेको छ । फाइनलमा चैन्नईले सुपर किङ्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराएको थियो । रोयल च्यालेन्जर्स बेंगलुरुका क्रिस गेल प्लेयर अफ दि सिरिज बनेका थिए । गेलले नै सर्वाधिक ६ सय आठ रन बनाएका थिए । मुम्बई इन्डियन्सका लासिथ मालिंगाले सर्वाधिक २८ विकेट लिएका थिए ।
- पाँचौँ संस्करण
आईपीएलको पाँचौँ संस्करण सन् २०१२ को अप्रिल ४ देखि मे २७ तारिखसम्म खेलाइएको थियो । यो संस्करणमा टोलीको सँख्या घटाएर नौ पुर्याइएको थियो । प्रतियोगिताका क्रममा कुल ७६ खेल खेलाइएको थियो । पाँचौँ संस्करणको उपाधि कोलकाता नाइट राइडर्सले जितेको थियो ।
कोलकाता नाइट राइडर्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हरायो । कोलकाताका सुनिल नारिन प्लेयर अफ दि सिरिज घोषित भए । रोयल च्यालेन्जर्स बेंगलुरुका क्रिस गेलले सर्वाधिक सात सय ३३ रन बनाए । दिल्ली क्यापिटल्सका मोर्ने मोर्केलले सर्वाधिक २५ विकेट लिएका थिए ।
- छैटौँ संस्करण
आईपीएलको छैटौँ संस्करण सन् २०१३ को अप्रिल ३ देखि मे २६ तारिखसम्म आयोजना भएको थियो । प्रतियोगितामा नौ टोली सहभागी थिए भने कुल ७६ खेल खेलाइएको थियो । प्रतियोगिताको उपाधि भने मुम्बई इन्डियन्सले जितेको थियो ।
मुम्बई इन्डियन्सले फाइनलमा चेन्नाई सुपरि किङ्सलाई २३ रनले हरायो । राजस्थान रोयल्सका शेन वाट्शन प्लेयर अफ दि सिरिज घोषित भए । चेन्नई सुपर किङ्सका माइकल हसीले सर्वाधिक सात सय ३३ रन बनाए । चेन्नई सुपर किङ्सकै ड्वेन ब्राभोले सर्वाधिक ३२ विकेट लिएका थिए ।
- सातौँ संस्करण
सातौँ संस्करण सन् २०१४ को अप्रिल १६ देखि जुन १ तारिखसम्म आयोजना भएको थियो । सातौँ संस्करण संयुक्त अरब इमिरेट्स (यूएई) र भारतमा खेलाइएको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए भने कुल ६० खेल खेलाइएको थियो । उपाधि कोलकाता नाइट राइडर्सले चुमेको थियो ।
कोलकाताले फाइनलमा किङ्स–११ पञ्जाबलाई तीन विकेटले हराएको थियो । किङ्स–११ पञ्जाबका ग्लेन म्याक्सवेल प्लेयर अफ दि सिरजि घोषित भए । कोलकाता नाइट राइडर्सका रोविन उथप्पाले सर्वाधिक ६ सय ६० रन बनाए । चेन्नई सुपर किङ्सका मोहित शर्माले सर्वाधिक २३ विकेट लिए ।
- आठौँ संस्करण
आईपीएलको योसंस्करण सन् २०१५ को अप्रिल ८ देखि मे २४ तारिखसम्म आयोजना भएको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए भने कुल ६० खेल खेलाइएको थियो । प्रतियोगिताको उपाधि मुम्बई इन्डियन्सले जितेको थियो ।
मुम्बई इन्डियन्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई ४१ रनले हराएको थियो । कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल प्लेयर फ दि सिरिज घोषित भए । सनराइजर्स हैदराबादका डेभिड वार्नरले सर्वाधिक पाँच सय ६२ रन बनाए । चेन्नई सुपर किङ्सका ड्वेन ब्राभोले सर्वाधिक २६ विकेट लिए ।
- नवौँ संस्करण
इन्डियन प्रिमियर लिगको नवौँ संस्करण सन् २०१६ को अप्रिल ९ देखि मे २९ तारिखसम्म आयोजना भएको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए भने कुल ६० खेल खेलाइएको थियो । यो संस्करणको उपाधि भने सनराइजर्स हैदराबादले जितेको थियो ।
हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई आठ रनले हराएको थियो । बेंगलुरुका विराट कोहली प्लेयर अफ दि सिरिज घोषित भए । विराट कोहलीले नै सर्वाधिक नौ सय ७३ रन बनाए । सनराइजर्स हैदराबादका भुवनेश्वर कुमारले सर्वाधिक २३ विकेट लिए ।
- १०औँ संस्करण
१०औँ संस्करण सन् २०१७ को अप्रिल २ देखि मे २१ तारिखसम्म आयोजना गरिएको थियो । आठ टोली सहभागी थिए भने कुल ६० खेल खेलाइएको थियो । उपाधि मुम्बई इन्डियन्सले जितेको थियो । मुम्बई इन्डियन्सले फाइनलमा राइजिङ पुणे सुपरजायन्टमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
आईपीएलको इतिहासमा यो फाइनलमा हालसम्मकै सबैभन्दा कम रनअन्तरको हार–जित हो । राइजिङ पुणेका बेन स्टोक्स प्लेयर अफ दि म्याच घोषित भए । सनराइजर्स हैदराबादका डेभिड वार्नरले सर्वाधिक ६ सय ४१ रन बनाए । हैदराबादकै भुवनेश्वर कुमारले सर्वाधिक २६ विकेट लिए ।
- ११औँ संस्करण
आईपीएलको ११औँ संस्करण सन् २०१८ को अप्रिल ७ देखि मे २७ तारिखसम्म आयोजना गरिएको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए भने कुल ६० खेल खेलाइएको थियो । प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको थियो ।
चेन्नईले फाइनल खेलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो । कोलकाता नाइट राइडर्सका सुनिल नारिन प्लेयर अफ दि म्याच घोषित भए । सनराइजर्स हैदराबादका केन विलियम्सनले सर्वाधिक सात सय ३५ रन बनाए । किङ्स–११ पञ्जाबका एन्ड्रयू टाईले सर्वाधिक २४ विकेट लिए ।
- १२औँ संस्करण
आईपीएलको १२औँ संस्करण सन् २०१९ को मार्च २३ देखि मे १२ तारिखसम्म आयोजना गरिएको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए भने कुल ६० खेल खेलाइएको थियो । उपाधि भने मुम्बई इन्डियन्सले जितेको थियो । मुम्बईले जितेको त्यो चौथो उपाधि पनि थियो ।
मुम्बई इन्डियन्सले फाइनलमा चेन्नई सुपर किङ्समाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो । आईपीएलको इतिहासमा दोस्रोपटक फाइनलमा एक रनले हार–जित भएको हो । कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल प्लेयर अफ दि म्याच बने । सनराइजर्स हैदराबादका डेभिड वार्नरले सर्वाधिक ६ सय ९२ रन बनाए । चेन्नई सुपर किङ्सका ईमरान ताहिरले सर्वाधिक २६ विकेट लिए ।
- १३औँ संस्करण
इन्डियन प्रिमियर लिगको १३औँ संस्करण सन् २०२० को सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म आयोजना भएको थियो । प्रतियोगितामा आठ टोली सहभागी थिए भने कुल ६० खेल खेलाइएको थियो । यसपटक पनि उपाधि मुम्बई इन्डियन्सले नै जित्यो । मुम्बईले जितेको त्यो पाँचौँ उपाधि थियो ।
मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो । राजस्थान रोयलस्का जोफ्रा आर्चर प्लेयर अफ दि सिरिज बनेका थिए । किङ्स–११ पञ्जाबका केएल राहुलले सर्वाधिक ६ सय ७० रन बनाए । दिल्ली क्यापिटल्सका कागिसो राबडाले सर्वाधिक ३० विकेट लिएका थिए ।
- १४औँं संस्करण
इन्डियन प्रिमियर लिगको १४औँ संस्करण सन् २०२१ अप्रिल ९ देखि अक्टोबर १५ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) र भारतमा आयोजना भएको थियो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको प्रभाव यो संस्करणमा परेको थियो ।
कोभिड महामारीकै कारण विश्व क्रिकेटका थुप्रै प्रभावशाली खेलाडी यो संस्करणमा सहभागी भएका थिएनन् । खेलकै क्रममा पनि केही खेलाडी कोभिडबाट संक्रमित भएका थिए । त्यसैले यो संस्करण सकिन निकै लामो सयम लागेको थियो ।
यो संस्करणको उपाधि चेन्नई सुपर किङ्सले जितेको थियो । चेन्नईले जितको यो चौथो उपाधि पनि थियो । चेन्नईले फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको थियो ।
यो संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुका हर्षल पटेल प्लेयर अफ दि सिरिज घोषित भएका थिए । चेन्नई सुपर किङ्सका ऋतुराज गायकवाडले सर्वाधिक ६ सय ३५ रन बनाएका थिए । रोयल च्यालेन्जर्स बेंगलुरुका हर्षल पटेलले सर्वाधिक ३२ विकेट लिएका थिए ।
- १५औँ संस्करण
आईपीएलको १५औँ संस्करण सन् २०२२ को मार्च २६ देखि मे २९ तारिखसम्म आयोजना गरिएको थियो । यसपटक प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइएको थियो । यो संस्करणको उपाधि भने गुजरात टाइटन्सले जितेको थियो ।
गुजरातले फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो । राजस्थानका जस बट्लर प्लेयर अफ दि सिरिज घोषित भएका थिए । जस बट्लरले नै सर्वाधिक आठ सय ६३ रन बनाए । राजस्थान रोयल्सकै युजवेन्द्र चहलले सर्वाधिक २७ विकेट लिए ।
- १६औँ संस्करण
इन्डियन प्रिमियर लिगको १६औँ संस्करण सन् २०२३ को मार्च ३१ देखि मे ३० तारिखसम्म आयोजना भएको थियो । प्रतियोगितामा सहभागी १० टोलीले ७४ दिनसम्म उपाधिका लागि भिडन्त गरेका थिए । प्रतियोगिताको उपाधि भने चेन्नई सुपर किङ्सले जित्यो । चेन्नईले जितको त्यो पाँचौँ उपाधि थियो ।
चेन्नईले फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराएको थियो । गुजरातका शुभमन गिल प्लेयर अफ दि म्याच घोषित भए । शुभमन गिलले नै सर्वाधिक आठ सय ५० रन बनाए । गुजरातकै मोहम्मद सामीले सर्वाधिक २८ विकेट लिएका थिए ।
- १७औँ संस्करण
आईपीएलको १७औँ संस्करण सन् २०२४ को मार्च २२ देखि मे २६ तारिखसम्म खेलाइएको थियो । उक्त संस्करणमा पनि १० टोलीले ७४ दिनसम्म उपाधिका लागि घम्साघम्सी गरेका थिए । उक्त संस्करणको उपाधि भने कोलकाता नाइट राइडर्सले जितेको थियो ।कोलकाताले फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो । कोलकाताका सुनिल नारिन प्लेयर अफ दि सिरिज घोषित भए । रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहलीले सर्वाधिक सात सय ४१ रन बनाए । पञ्जाब किङ्सका हर्षल पटेलले सर्वाधिक २४ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा शाहद्वारा गुरु गोरखानाथ मन्दिरमा पूजा अर्चना
-
केएल राहुलले आईपीएलका सुरुवाती खेलहरू गुमाउन सक्ने
-
जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी भइरहेकाे छ : राजदूत शर्मा
-
गाजामा नयाँ तनाव देखिनु ‘निराशाजनक’ : थाइल्याण्ड
-
प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
-
पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्न सक्छ: ऊर्जामन्त्री खड्का