दुई ठुला संगठनबिच धोकाबाजीको आरोप–प्रत्यारोप, क्रान्तिकारी उत्साहित

विराटनगर । कोशी प्रदेशका ४९ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो र माओवादी निकट अखिल क्रान्तिकारी समग्रमा तेस्रो स्थानमा रह्यो ।
संघ–संगठनहरूले दिएको जानकारी अनुसार हालसम्म नेविसंघले २५ वटा क्याम्पसको स्ववियु सभापति जितेको छ । अनेरास्ववियुले १५ र अखिल क्रान्तिकारीले ११ वटा क्याम्पस जितेको छ । कोशीमा स्ववियु निर्वाचन हुने क्याम्पस ५४ वटा छन् । त्यसमध्ये ४९ वटा क्याम्पसमा चैत ५ गते निर्वाचन भएको थियो ।
स्ववियु निर्वाचनको परिणामलाई लिएर नेविसंघ र अनेरास्ववियुका नेताहरूबिच विवाद तथा असन्तुष्टि सार्वजनिक भइरहेको छ ।
कोशीको महत्त्वपूर्ण मानिएका क्याम्पसमध्ये महेन्द्र मोरङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भए । नेविसंघ र अनेरास्ववियु मिलेको भोजपुर बहुमुखी क्याम्पसमा पनि क्रान्तिकारीकै सोबिन तामाङ विजयी बने । त्यहाँ नेविसंघका उम्मेदवार अशोक कार्की पराजित बने ।
दमक बहुमुखी क्याम्पसमा बागी उठेर नेविसंघका स्वतन्त्र उम्मेद्वार भुपेन्द्र बस्नेत नै सभापतिमा निर्वाचित भए । उनलाई अखिल क्रान्तिकारी र लिम्बुवान विद्यार्थी संगठनहरूले सहयोग गरेका थिए । तर, गठबन्धनबाट उम्मेदवार बनेका अनेरास्ववियुका निशम अधिकारी भने पराजित बने ।
धरानको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट उठेका नेविसंघका उम्मेदवार प्रशान राई विजयी बने तर, धरानकै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेविसंघ–अनेरास्ववियुको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै क्रान्तिकारीले सघाएका स्वतन्त्र उम्मेदवार पेसलराज कार्की विजयी भए ।
त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त गरी ११ मध्ये मोरङका १० क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तिकारीले पाँच सभापति पदमा विजय प्राप्त गर्यो । मोरङमा रहेका तीन वटा आङ्गिक क्याम्पस र ७ वटा सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । क्रान्तिकारीले स्नातकोत्तर क्याम्पस विराटनगर, मोरङ नर्सिङ क्याम्पस विराटनगर पनि जित्यो ।
क्रान्तिकारीले अघिल्लो पटक नर्सिङ क्याम्पसमा उम्मेदवार बनाउने विद्यार्थीसमेत सहज ढंगले पाएको थिएन तर, यस पटक जित निकाल्दा धेरैले आश्चर्यजनक भनेका छन् । स्नातकोत्तर क्याम्पस विराटनगरमा क्रान्तिकारीका प्रितम साहसहित प्यानल नै विजयी हुँदा नर्सिङ क्याम्पसमा रोहित ताजपुरिया सभापतिमा निर्वाचित भए ।
अघिल्लो पटक क्रान्तिकारीले नेविसंघसमेतको सहयोगमा निर्वाचन लड्दा एकल जितेको अनेरास्ववियु यस पटक भने रमाइलो बहुमुखी क्याम्पसमा पराजित बन्यो । त्यहाँ क्रान्तिकारीका अनिश कार्की एकल प्रतिस्पर्धाबाटै विजयी बने ।
स्ववियुको यो परिणामबाट आफूहरू असन्तुष्ट रहेको अनेरास्ववियुका कोशी प्रदेश अध्यक्ष जिबी गजल बताउँछन् । ‘योभन्दा अगाडि हाम्रो संगठनले धेरै जितेको थियो । अहिले रिजल्ट खस्कियो । आन्तरिक खटाइ पनि भएन । नेविसंघसँग गठबन्धन गर्नु हाम्रा लागि घातक भयो,’ उनले भने ।
उनले नेविसंघसँग गठबन्धन गर्दा आफूहरूले धोका पाएको दाबी गरे । ‘धेरै ठाउँमा नेविसंघसँग गठबन्धन गर्यौँ । हामीले इमानदारपूर्वक भोट हाल्यौँ । नेविसंघले हालेन । सुनसरीको धरानकै महेन्द्र क्याम्पसमा हामीले जितायौँ । तर, हात्तीसार क्याम्पसमा उनीहरूले स्वतन्त्र उम्मेदवारलाई जिताए । नेविसंघसँग मिल्नु नै हाम्रो लागि घातक भयो । तर दोष हामीले लिइरहनु परेको छ,’ उनले भने ।
अनेरास्ववियुका नेता नविन पहाडी भने संगठनमा एकता र तयारी नहुँदा पराजय व्यहोरेको बताउँछन् । ‘मोरङमा अखिलको जिल्ला समिति नै छैन । स्ववियु निर्वाचनको सन्दर्भमा जिल्लामा मिटिङ नै बस्न सकेन । त्यही कारण जिल्लाको स्ववियु निर्वाचनमा परिणाम राम्रो आएन,’ पहाडीले भने ।
नेपाल विद्यार्थी संघका पूर्वनेता नेत्र पौडेल भने स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई धोका नदिएको बताए । ‘स्ववियु चुनाव पार्टी राजनीतिभन्दा लोकप्रिय उम्मेदवारले दिने हो । यहाँ धोकाको कुरा होइन,’ उनले भने, ‘नेविसंघमा पनि अन्तर्घात देखियो । टिकट वितरण पनि सही भएन । यद्यपि समग्रमा नेविसंघ कोशी प्रदेशमा पहिलो भएको छ ।’
पौडेलले अहिले विभिन्न खालका अराजकता देखिरहेको सन्दर्भमा स्ववियु निर्वाचनमा तीन ठुला संगठनहरूकै वर्चश्व देखिनु सन्तोषजनक भएको बताए ।
अखिल क्रान्तिकारी कोशी प्रदेशका अध्यक्ष चन्द्र माग्बोले क्रान्तिकारीले स्ववियु निर्वाचन राम्रो प्रदर्शन गरेको बताए । ‘हामीले अपेक्षा गरेकोभन्दा माथि हो । मुख्य–मुख्य क्याम्पसहरू हामीले जितेका छौँ । महेन्द्र मोरङमा जित निकाल्नु, विराटनगरकै स्नातकोत्तर क्याम्पस, नर्सिङ क्याम्पस, भोजपुर बहुमुखी क्याम्पसमा जित निकाल्नु हाम्रो लागि धेरै सुखद् हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीश डा. आचार्यद्वारा लिखित ‘नेपाली दुष्कृति कानुन टिप्पणी’ पुस्तक प्रकाशित
-
वाइसिएलले कर्णालीको प्रदेश सम्मेलन रुकुममा गर्ने
-
आठ महिनामा भित्रियो २१ अर्बको स्मार्टफोन
-
पूर्वराजा शाहद्वारा गुरु गोरखनाथ मन्दिरमा पूजा अर्चना
-
केएल राहुलले आईपीएलका सुरुवाती खेलहरू गुमाउन सक्ने
-
जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी भइरहेकाे छ : राजदूत शर्मा