सुके खोला र खोल्सा, जल संरक्षण कसरी गर्ने ?

काठमाडौँ । केही वर्षअघि काठमाडौँ उपत्यकामा काभ्रेपलान्चोकको पाँचखालाबाट ठुलो मात्रामा तरकारी ल्याइन्थ्यो । अहिले त्यो मात्रा घटेको छ । यसो हुनुमा त्यहाँको झिकु खोला सुक्नु नै मुख्य कारण देखिएको छ ।
बर्खायममा उर्लेर बाढी आउने र अरू समय मरुभूमि बन्ने यो खोलाको आसपास खेती पनि सुक्न थालेका छन् । जलाधारविज्ञ मधुकर उपाध्यायाका अनुसार करिब ४० देखि ५० वर्षअघि झिकु आसपास उत्पादन हुने धेरै तरकारी काठमाडौँ ल्याइन्थेँ । तर अहिले थोरै मात्रामा आइपुग्छन् । ‘खोलाको सिँचाइले प्रशस्त तरकारी फल्थ्यो, ५० देखि ६० प्रतिशत तरकारी काठमाडौँमा सोही क्षेत्रबाट आउँथ्यो,’ उनले भने, ‘त्यो खोला सुक्यो र सिँचाइ पनि हुँदैन । तर केही ठाउँमा भने हुने गरेको छ ।’
बाराको सिम्रौनगढ नगरपालिका–२ का सुनिल यादवको घरमा दुई वटा ट्युबवेल (चापाकल) छन् । ती दुवै चापकलमा फागुनदेखि असारसम्म अर्थात् बर्खा नलागेसम्म पानी आउँदैन । यो चार महिना मेसिन लगाउँदा अलिअलि पानी आउँछ । ‘पछिल्ला तीन–चार वर्षदेखि पानी बिस्तारै कम हुन थालेको छ । अहिले हामीलाई पानीको समस्या छ,’ चुरे तथा वन जंगल संरक्षण अभियानका अभियन्तासमेत रहेका यादव भन्छन्, ‘पानी सुकेका वेला नगरपालिकाले ट्यांकरमार्फत पानी बाँडेको पनि दुई वर्ष भयो ।’
जलाधारविज्ञ उपाध्या अनुसार एक सरकारी अध्ययनले उच्च पहाडी क्षेत्रमा शतप्रतिशत खोल्सा सुकेको देखाएको छ । मध्यपहाडी क्षेत्रका ६५ देखि ७० प्रतिशत खोल्साहरू सुकेका देखाइएको छ ।
कैलालीमा पनि ५० प्रतिशत चापाकल सुकेका छन् । मधेश प्रदेशमा ३० प्रतिशत चापाकल सुकेका छन् । उनले भने, ‘मुलहरू सुकेका छन्, कुवाहरू सुकेका छन्, पश्चिम र पूर्वमा पानीका मूल तथा खोल्साहरू सुक्ने क्रममा छन् ।’
नेपालमा पहिलाझैँ झरी पर्न छोड्यो, पहिला हिउँदमा पानी पर्थ्यो, आजभोलि पर्दैन । हिउँदमा पानी नपरेको तीन वर्ष भएको उपाध्या सुनाउँछन् । ‘नेपालको जलस्रोत प्राकृतिक वितरण बिग्रिएको छ, निकै परिवर्तन भएको छ,’ उनले भने, ‘साना खोला खोल्सीहरू सुकेका छन् । उच्च पहाडमा अझै बढी सुकेको छ भने तराई भेगमा भूमिगत पानी निकै तला गएका छन् ।’ यसो हुनुमा जलवायु परिवर्तन रहेको उनी बताउँछन् ।
पानीको मुख्य स्रोत भनेको बर्खा हो । उच्च र हिमाली भेगमा हिउँ हो । वर्षा र हिउँलाई प्रकृतिले रिजर्भ गरी वर्षभर नै पानी पुग्छ । तर पछिल्लो समय एकै पटक ठुलो वर्षा हुँदा जमिनले पानी लिन नसकिरहेको उपाध्या बताउँछन् । यसले गर्दा पानी प्राप्त हुने मुहानहरू जस्तैः नदी, खोल्सा, खोला, मूलहरू सुक्दै गएका छन् । ‘बर्खाको पानी जमिनभित्र गएपछि मूलमा पानी आउने, खोलामा पानी आउने गर्छ । सानातिना खोल्सामा पानी हुन्छ । हाम्रो घरायसी प्रयोजनका लागि पानी आउने त्यही हो नि,’ उनले भने, ‘बर्खाको पानी जलस्रोत हो । खोल्सा, खोला, नदी, मूल त्यो पानीको मुहान हो ।’
नेपालमा पानीका मुहानमा पानी आउन नसक्नु ठुलो चुनौती बनेको छ । यसले जनजीवनलाई प्रत्यक्ष असर पारेको छ । खानेपानीको सकसका कारण बर्सेनि हजारौँको संख्यामा बसाइँसराइ हुन थालेका छन् । उत्पादन हुने क्षेत्रमा खेती नै हुन सकेको अवस्था छैन । सुक्खाका कारण जंगलमा आगलागी हुने समस्या देखापरेका छन् ।
वन्यजन्तु मासिनुका साथै वनमा हुने सूक्ष्म जीवाणुदेखि पर्यावरण असन्तुलनको समस्या देखा पर्न थालेको छ । साथै जंगली जन्तुहरू गाउँ पस्न थालेका छन् ।
यसरी सामाजिक र पर्यावरण नै खल्बलिएको उपाध्या बताउँछन् । यस्ता समस्यालाई समाधान गर्न बर्खामा आएको पानी जमिनमा हाल्नुपर्ने उनी सुझाउँछन् । उनले भने, ‘यसलाई कसै पुनर्भरण भन्छ, कसैले रिचार्ज भन्छ ।’
नेपालमा जलसँग सम्बन्धित रणनीति, योजना, कार्यक्रम प्रायः जलवायु परिवर्तनका समस्या नहुँदादेखिका छन् । यसलाई समय सान्दर्भिक बनाउनुपर्ने उनको जोड छ ।
यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत विधेयक संघीय संसद्मा छलफल भइरहेको जनाएको छ । संसद्मा प्रस्ताव गरिएको विधेयकमा जलस्रोत उपयोगको प्राथमिकता निर्धारण, संरक्षण, दिगो व्यवस्थापनलगायत विषय समावेश गरिएको मन्त्रालयका प्रवक्ता सन्दिप देवले बताए ।
जलस्रोतलाई संरक्षण गर्न जमिनमा पानी पुनर्भरणको कार्यमा सरकार तथा सरोकार निकायले ध्यान दिनुपर्ने देखिएको छ ।