१२ बजे, १२ समाचार : समिति बैठकमा सांसदहरूबीच नोकझोकदेखि ३ प्रतिशत थ्रेसहोल्डको कुराले तर्सिए साना दलसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. दलितको घर भत्काएको प्रकरण
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा प्रहरीले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडा अध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितका अनुसार पालिका अध्यक्ष शिवजी र पूर्ववडा अध्यक्ष दिलीपलाई अनुसन्धानका लागि शुक्रबार नियन्त्रणमा लिइएको हो ।
२. कांग्रेसको एजेण्डा
प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि प्रारम्भिक रूपमा एजेण्डा तय गर्न सात प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम गर्यो । पार्टीको पेसागत तथा बुद्धिजीवी विभागले नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनसँगको सहकार्यमा सात प्रदेशमा गरेको अन्तक्र्रियामा हिन्दु राष्ट्र ल्याउनेदेखि समानुपातिक सांसद, जातीय आयोग र सङ्घीयता हटाउनेसम्मको सुझाव आएको छ । विभागकी प्रमुख एवं पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको र रातोपाटीले प्राप्त गरेको प्रतिवेदनमा संविधानमा रहेका महत्त्वपूर्ण विषय संशोधनका लागि प्रस्ताव गरिएको छ ।
३. संसदीय समिति
‘भन्सार विधेयक–२०८०’ मा २२५ पुराना भन्सार एजेन्टलाई एक पटक मौका दिने गरी हरेक दुई वर्षमा भन्सार एजेन्टको परीक्षा गर्ने व्यवस्था गरिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा यसबारे सहमति जुटेको छ । हालसम्म उक्त समितिमा ११६ वटा उजुरी प्राप्त भएका छन् । त्यसमध्ये १०० वटा उजुरीको स्क्रिनिङ गरिएको छ । समितिको सदस्य एवं नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको नेतृत्वमा बनेको उपसमितिले उक्त उजुरीमध्ये पनि ४८ वटा उजुरी छानबिनका लागि योग्य रहेको र बाँकी योग्य नभएको ठहर गरिसकेको छ ।
४. थ्रेसहोल्डको सवाल
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदाउपर विद्यमान व्यवस्थाबाहेक केही फरक र कडा प्रस्ताव गर्दै राय सुझाव मागेको छ । आयोगले सूचना जारी गरेर सरोकारवालाहरूसँग ऐन परिवर्तनका लागि सरोकारवालाहरूसँग १० दिनभित्र सुझाव पठाउन भनेको हो ।
५. उपसचिवलाई जिम्मेवारी
उपसचिव कैलाश ठकुराठीले गृह मन्त्रालयमा हाजिर भएको १२२ दिनमा बल्ल जिम्मेवारी पाएका छन् । गृह सचिव स्तरीय निर्णयबाट ठकुराठीलाई शुक्रबार बझाङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।
६. पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए
नेपाल पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ । डेढ महिनाअघि सम्पन्न धुलिखेल बैठकले गठन गरेका विभागहरूमा संयोजक टुङ्ग्याइएको हो । १३ जना पदाधिकारीहरूलाई संयोजक तोकेर विभाग गठन गरिएको केन्द्रीय समितिका सचिव रमेश खतिवडाले जानकारी दिए ।
७. आन्दोलनको कुरा
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौँमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्थित हुन पर्साका जनतालाई अपिल गरेका छन् । शुक्रवार जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत विन्दवासिनी गाउँपालिका वहुअर्वामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले विरोध सभामा आउन अपिल गरेका हुन् । केपी ओली नेतृत्वको गठबन्धन सरकार उल्टो बाटोमा हिँडेकाले ठुलो सङ्ख्यामा उपस्थित भएर दबाब दिन आवश्यक भएको उनले बताए ।
८. रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले नबोलेर चुप बसेको प्रतिक्रिया दिएका छन् । शुक्रवार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै समय आएपछि बोल्ने बताए ।
९. बारको चुनावी सरगर्मी
नेपाल बार एशोसिएशनको नयाँ कार्यसमिति चयनका लागि चैत २३ गते निर्वाचन हुँदैछ । चुनावी मैदानमा सत्तापक्षीय नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीका संगठनबिच गठबन्धन भएको छ । अर्कोतिर प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच गठबन्धन भएको छ ।
१०. सुन सवाल
वैदेशिक रोजगारीमा गएका पुरुषहरूले गहना बनाएर २५ ग्रामसम्म सुन ल्याउँदा भन्सार शुल्क लाग्दैन । महिलाले चाहिँ ५० ग्राम सुनको गहना ल्याउँदा भन्सार नतिरेरै लैजान पाउँछन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गहनाको पनि ‘वर्गीकरण’ गरेको छ । सुनको सिक्री, बेरुवा र बाला गहनामा पर्दैन । जर्ती राखेर आकार परिवर्तन गरिएको सुनलाई मात्र गहना मानिने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराम निरौलाले रातोपाटीलाई बताए ।
११. जंगलमा विदेशी
कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना १०० भन्दा बढी विदेशी नागरिक बसोबास गरिरहेका पाइएको छ । यसबारे जानकारीसँगै जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्र उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको छ।
१२. गाँजासहित ट्रक चालक पक्राउ
प्रहरीले धनुषामा ४७७ केजी गाँजा बरामद गरेको छ । शुक्रवार राति ७ बजे धनुषाको लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया चोकस्थित जनकपुर ढल्केबर सडक खण्डबाट प्रहरी गाँजा बरामद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जाको भीरकोटमा दुई सडक कालोपत्र
-
अब पालो गजनी २ को ?
-
सुके ढुङ्गेधारा, मासिए पानीका स्रोत, उपत्यकावासीलाई जारको भर (तस्बिरहरू)
-
बेटिङ एपको प्रचार : राणा दग्गुबाती र विजय देवरकोंडासमेत २५ सेलिब्रेटीविरुद्ध एफआईआर
-
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
-
एखुवा खोलामा पक्की पुल निर्माण सम्झौता अवधिभित्रै सम्पन्न