दुई–दुई वर्षमा भन्सार एजेन्टको परीक्षा–पुरानालाई एक पटक मौका, स्नातक पास अनिवार्य

काठमाडौँ । ‘भन्सार विधेयक–२०८०’ मा २२५ पुराना भन्सार एजेन्टलाई एक पटक मौका दिने गरी हरेक दुई वर्षमा भन्सार एजेन्टको परीक्षा गर्ने व्यवस्था गरिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा यसबारे सहमति जुटेको छ ।
भन्सार विधेयकको दफा ११८ मा रहेको भन्सार जाँचपास प्रतिनिधिले इजाजत पत्र लिनुपर्ने व्यवस्था अनुसार पुराना तथा अनुभवी भन्सार एजेन्टलाई एक पटक मौका दिने गरी जाँचपास प्रतिनिधिले इजाजत पत्रका लागि खुला गर्ने गरी सहमति भएको हो ।
२० वर्षपछि २०७८ सालमा लोकसेवाले लिएको परीक्षा पास गरेर ६६० जना नयाँ भन्सार एजेन्ट थपिएको थियो । त्यो बेलामा भन्सार परीक्षामा सामेल भएर परीक्षा फेल भएका र छुटेकाहरूले नयाँ भन्सार विधेयक बन्दै गर्दा सांसदहरूलाई बारम्बार दबाब दिँदै आएका थिए ।
भन्सार एजेन्टहरूले समिति सदस्यहरूलाई बारम्बार फोन र एसएमएस पठाएर दबाब दिँदै आएका थिए । उनीहरूले भारतीय एजेन्टले गर्दा नेपाली भन्सार एजेन्टले काम गर्न नपाएको गुनासो गर्ने गरेका थिए । उक्त गुनासोलाई समेत सम्बोधन गर्ने गरी विधेयकको दफा समितिबाट पारित गरिएको हो ।
समितिमा बोल्दै नेकपा एमालेका सांसद अमरबहादुर रायमाझीले भन्सारमा काम गर्न अनुभव प्राप्त व्यक्ति आवश्यक बताएको बताए । उनले अन्य देशहरूमा कम्तीमा ३ वर्ष अनुभव भएको व्यक्ति भन्सार एजेन्ट बन्न पाउने व्यवस्था रहेको भन्दै भन्सार एजेन्टलाई लाइसेन्स दिने व्यवस्थालाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
उनले भन्सार एजेन्टलाई कानुन कारबाही गर्ने व्यवस्था गरेकोले व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘२० वर्षपछि लाइसेन्सको परीक्षा भएको छ । पास भएकाहरूले काम नपाएको भनिएको छ । काम गरिरहेका अनुभवी एजेन्टहरूले होल्ड गरे भनिएको छ । परीक्षा खुला गर्ने कुराको व्यवस्था भएको छैन । लाइसेन्स दिने कुरा व्यवस्थित गरेर जानुपर्छ ।’
सांसद रायमाझीले ३ वर्षमा लाइसेन्स दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले भन्सार कर्मचारीको रूपमा नियुक्ति गर्न वातावरण बन्ने गरी विधेयकमा व्यवस्था गर्न एसएमएस आइरहेको समेत बताए । उनले लामो समय भन्सारमा काम गरेका अनुभवीहरू कामबाट वञ्चित रहेको उल्लेख गरे ।
उनले अनुभवीहरूलाई ऐन मार्फत भन्सार प्रतिनिधिका रूपमा काम गर्ने अवसर दिनु पर्ने प्रस्ताव राखे । नयाँ भन्सार प्रतिनिधिलाई अवसर सिर्जना गर्दै पाँच वर्ष अनुभव भएका पुरानालाई एक पटक अवसर दिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए । नेपालीहरू रोजगारीको लागि विदेश गए भनेर गुनासो गरिरहेका छौँ भने भएकाहरूलाई सेवाबाट वञ्चित गराउने काम गर्न नहुने धारणा थियो ।
नेकपा माओवादी केन्द्रका सांसद गङ्गा कार्कीले पनि पुरानालाई एक पटक अवसर दिन आवश्यक रहेको बताए । उनले नेपालको भन्सार प्रशासनमा आवश्यकता हेरेर एजेन्टको परीक्षा खुला गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘नेपालको आवश्यकता अनुसार लिनुपर्छ । चाँडै पुरानालाई सम्बोधन हुने गरी लोकसेवा मार्फत परीक्षा लिएर भन्सार एजेन्ट ल्याउनुपर्छ ।’
नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले भन्सार एजेन्टको प्रतिनिधिले काम गर्ने व्यवस्थाको अन्त्य गर्न आवश्यक भएकाले आफ्नै पालामा हटाएको बताए । उनले भन्सार एजेन्टको विषयलाई व्यवस्थित गर्नु आवश्यक रहेकोले परीक्षा मार्फत एजेन्ट छनोट गर्नु आवश्यक रहेको बताए ।
उनले समिति कुनै स्वार्थ समूहको लबिङको आधारमा कुनै पनि निर्णय गर्नु नहुने बताए । उनले भने, ‘रोजगारीको कुरा गरिएको छ । नयाँले पनि पाउनुपर्छ । धेरै भन्सार एजेन्टहरू विदेशमा बसेर काम गर्ने नेपालको अरूलाई जिम्मेवार दिने अवस्थामा पुगेछन् । उनीहरूले भन्सारबाट धेरै फाइदा उठाई सके ।’
उनले विगतमा जो भन्सार एजेन्ट थिए सधैँ उनीहरूले मात्रै रोजगारी पाउनुपर्ने सिद्धान्तमा समिति जान नहुने भन्दै नयाँलाई अवसर दिन आवश्यक रहेको बताए । उनले भन्सार प्रतिनिधिको लागि लोकसेवा आयोगको परीक्षा पास गर्नु पर्ने बताउनु भयो । सङ्गठित रूपमा सांसदहरूलाई पठाएको केही एसएमएसबाट प्रभावित हुनु नहुने बताए ।
नेकपा एमालेका सांसद सूर्य थापाले भन्सार जाँचपास प्रतिनिधिको इजाजत पत्र प्राप्त गर्ने भन्सार एजेन्टको सहयोगीले भन्सार प्रतिनिधिको रूपमा काम गर्ने अभ्यास अन्त्य गर्नु आवश्यक रहेको बताए । उनले भन्सार एजेन्ट इजाजत लिएको व्यक्ति नेपालमा छैन तर भन्सार एजेन्टका सहयोगीहरूले व्यवसायीहरूको भन्सार एजेन्टको रूपमा काम गरिरहेको भन्दै यो स्थितिको अन्त्य गरिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘भन्सार जाँचपास प्रतिनिधिको इजाजत पत्र प्राप्त गर्नको लागि परिक्षाको वातावरण बनाउनुपर्छ । अघिल्लो पटक परीक्षामा पुराना सबै फेल भए । नयाँ ६६० जना भन्सार एजेन्टहरू आए । हामीले नयाँ र पुराना सबैलाई भेटेका छौँ । पुरानाको एक पटक परीक्षा दिन पाउनुपर्छ भन्ने माग छ ।’
उनले काम गरिरहेका २२५ जनालाई सम्बोधन हुने गरी विधेयकमा व्यवस्था गरिनुपर्नेमा जोड दिए । परीक्षा पास गरेर मात्रै भन्सार प्रतिनिधि बनाउनु पर्नेमा विचार राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विधेयकलाई आयात र निर्यातको प्रकृति परिवर्तन भएको भन्दै त्यही अनुसार विधेयक बन्न आवश्यक रहेको बताए । उनले क्षमता अभिवृद्धि र समय सापेक्ष हुनु पर्ने भएकाले आवधिक रूपमा परीक्षा प्रणाली बनाउनु पर्ने बताए । उनले हरेक दुई वर्षमा परीक्षा मार्फत प्रवेश गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
सांसदहरूको यस्तो प्रस्ताव आएपछि बोलेका भन्सार विभागका महानिर्देशक महेश भट्टराईले दुई वर्षमा परीक्षा गर्ने सकिने बताए । उनले विधेयकमा नै भन्सार एजेन्टलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
महानिर्देशक भट्टराईले अहिले भन्सार लाइसेन्स माग गर्नेहरू परीक्षा फेल भएका र छुटेकाहरू रहेको बताए । उनले विगतमा भन्सार एजेन्ट नपुगेको कारणले भन्सार कार्यालयमा एक जना प्रतिनिधि राख्न पाउने व्यवस्था गरे पनि नयाँ भन्सार एजेन्टहरू २०७८मा पास भएर आएसँगै त्यो व्यवस्था खारेज भएको बताए । उनले भने,‘ पुरानाहरूले व्यवसाय दर्ता गरेछन् र व्यवसाय नै दर्ता भएछ । कम्पनीलाई नै भन्सार एजेन्टको रूपमा दर्ता भएको छ । भन्सार एजेन्ट संस्था होइन व्यक्ति हो । मिल्दैन पनि । अदालतले पनि भन्सार एजेन्ट भनेको संस्था होइन व्यक्ति हो ।’
सांसदहरूको धारणापछि समिति सभापति सन्तोष चालिसेले विधेयकको उक्त दफा समितिले भन्सार एजेन्टको परीक्षा हरेक दुई वर्षमा खुला गर्ने र पुराना एजेन्टको अनुभवलाई प्राथमिकता दिने गरी दफा पास भएको जानकारी दिए ।
भन्सार विधेयकले कुनै वस्तुको धनीले निकासी वा पैठारी गर्ने वस्तु कार्यालयबाट तोकिए बमोजिम आफैँले छुटाई लैजान नसक्ने भएमा भन्सार जाँचपास प्रतिनिधि नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ । भन्सार कार्यालयसँग सम्बन्धित कुनै कार्य आफैँले नगरी भन्सार जाँचपास प्रतिनिधिमार्फत गर्न चाहेमा पनि यो सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।
भन्सार एजेन्ट बन्नको लागि भन्सार विभाग वा भन्सार कार्यालयबाट इजाजत पत्र जारी हुनु पर्ने व्यवस्था गरेको छ । हाल रहेका भन्सार एजेन्ट प्रस्तावित विधेयक ऐनमा रूपान्तरित भएपछि अब स्वतः भन्सार जाँचपास प्रतिनिधिको रूपमा परिणत हुने भएका छन् । उक्त व्यवस्थालाई समितिबाट सर्वसम्मतिले पास भएको छ ।
- यस्तो छ भन्सार जाँचपास प्रतिनिधिले इजाजत पत्र लिन पाउने योग्यता
भन्सार एजेन्टको काम गर्न लाइसेन्स अनिवार्य विधेयकले गरेको छ । विधेयकले अब भन्सारमा भन्सार एजेन्टको लाइसेन्स लिएर अन्य सहयोगीहरूले काम गर्न नसक्ने व्यवस्था विधेयकले गरेको छ ।
विगतमा भन्सार एजेन्टको लाइसेन्स दिएर विदेश जाने तर उसको सहयोगीहरूले उसको लाइसेन्समा भन्सार एजेन्टको रूपमा काम गरिरहेकाले त्यसलाई विधेयकले कडाइ गरेको हो । त्यस्तै भन्सार एजेन्टको रूपमा काम गर्ने कुनै संस्था नहुने र भन्सार एजेन्ट व्यक्ति मात्रै हुने पनि स्पष्ट बनाएको छ । त्यस्तै भन्सार भन्सार एजेन्ट बन्नको लागि एक्काइस वर्ष पुरा भएको नेपाली नागरिक नै हुनु पर्ने कानुनी व्यवस्था गरिएको छ ।
भन्सार विधेयकको दफा ११८मा निकासी वा पैठारी हुने बस्तु कार्यालयबाट छुटाउन बा कार्यालयसँग सम्बन्धित कामको लागि भन्सार जाँचपास प्रतिनिधिको रूपमा काम गर्न बाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार जाँचपास प्रतिनिधिको इजाजत पत्र लिनु पर्ने व्यवस्था गरेको छ ।
त्यसको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनु पर्ने छ । कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको, भन्सार जाँचपास प्रतिनिधिको योग्यता र इजाजत पत्र दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनु पर्नेछ ।
- विधेयक सबै दफामा सहमति सोमबारको बैठकमा पास गरिने
समितिमा दफावार छलफल भइरहेको भन्सार विधेयकको दफा सबै दफा सोमबारको बैठकमा पास गरिने भएको छ ।
समितिले सरकारले प्रस्तुत गरेको विधेयकमा अर्थ मन्त्रालयको थप सुझाव र सांसदहरूको धारणालाई समेत दफागत रूपमा भाषा मिलाएर प्रतिवेदन बनाउने गरी सबै दफाहरूमा सहमति गरेको हो ।
समितिमा छलफल भएर सहमति भएका तर अर्थ र कानुन मन्त्रालयले सहमति गर्नु पर्ने केही दफाहरूमा सोमवार सहमति गरेर बैठकमा उपस्थित हुन अर्थ समितिले निर्देशन समेत दिएको छ । समितिले सवारी साधन तथा अन्य वस्तुहरू जफत गर्ने विषयमा सहमति गर्न पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते
-
सरुवा भएकाहरू जान नमान्दा २ सचिव मुख्यमन्त्री कार्यालयको बरण्डामा
-
कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास
-
लुम्बिनी प्रदेश मुख्यमन्त्री कप भलिबलको उपाधि गुल्मीलाई
-
फ्राइडे रिलिज : ‘द्रौपदी’ भर्सेज ‘११ः ५५’
-
दुई–दुई वर्षमा भन्सार एजेन्टको परीक्षा–पुरानालाई एक पटक मौका, स्नातक पास अनिवार्य