शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

दाङका उदाहरणीय कृषक भिमकान्त, भन्छन्– कृषिमा युवालाई आकर्षित गर्नुपर्छ

शुक्रबार, ०८ चैत २०८१, १८ : ३२
शुक्रबार, ०८ चैत २०८१

दाङ । घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाई गोलभेँडा खेती गरी आर्थिक रूपमा सक्षम र सफल बनेका छन् ।  पाँच विगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिक १० देखि १२ लाख रूपैयाँ बचत गर्न सकेको उनी सुनाउँछन् ।

व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रूपमा चिनिन सफल चापागाईँको गोलभेँडा खेती यो क्षेत्रकै नमूना पनि बनेको छ, जसले उपभोक्ता मात्र नभई देख्नेजति सबैलाई लोभ्याउने गर्दछ । 

उनको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकेका छन्, केही पाक्ने तयारीमा छन् । त्यही गोलभेँडा खेतीले उनलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रूपमा स्थापित गर्न उनले धेरै मेहेनत पनि गरे ।

विस २०७५ मा ४ लाखको लगानीमा अरूको जमिन भाडामा लिएर खेती सुरू गरेको बताउने चापागाई अहिलेसम्म करिब २० लाखको हाराहारीमा लगानी गरेको बताउछन् । उनले जमिन भाडामा लिएर उन्नत जातका गोलभेँडाका साथै विभिन्न जातका बेमौसमी तरकारी खेतीसमेत गरिरहेका छन् । 

वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले जमिनको भाडा तिर्नुपर्ने र छ जनाले प्रत्यक्ष रोजगारी पनि पाएको बताउँदै सबै खर्च कटाएर बार्षिक १२ लाखसम्म बचत गर्न सकेको उनको भनाई छ ।

उनको यो काममा उनकी श्रीमतीले सघाउछिन् भने दुई छोरा कामका सिलसिलमा बाहिरी जिल्लामा । एक वर्षमा गोलभेँडा खेतीबाटै यति कमाई गर्न सक्नु सामान्य नभएको र आफ्नो व्यावसायबाट सन्तुष्ट  र खुशी भएको उनको भनाई छ । 

बर्दियाको गेरूवा गाउँपालिका–३ पर्सेनीमा स्थायी घर भएका उनको खेतीयोग्य जमिन पनि छ । पर्याप्त मात्रामा सिचाईंको सुविधा पुगेको छ तर बजार अभाव र तरकारी खेतीका लागि आवश्यक पर्ने तापक्रमका कारण आफू खेती गर्नका लागि यहाँ आएको बताउँछन् उनी । दाङमा  धेरै नजिकका आफन्त रहेका र आफन्तहरूले गरेको गोलभेँडा तथा तरकारी खेती देखेपछि आफू यस खेतीतर्फ आकर्षित भई सुरूवात गरेको बताउने उनी सुरूमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाडामा लिएर खेती सुरु गरेका थिए ।

पछि खेतीका लागि आवश्यक जमिन अपुग भएर विगत पाँच वर्षदेखि यस ठाउँमा खेती सुरू गरेको हुँ उनले अन्य जातका तरकारी भन्दा गोलभेँडा खेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने भएकाले आम्दानी लिन पनि सजिलो हुने भएकाले गोलभेँडा खेती गरेको बताए । 

चापागाईले गोलभेँडासहित काँक्रो, खुर्सानी, बोडी, सिमी लगायतका तरकारी पनि लगाएका छन् । उत्पादन भएको तरकारी लिन फार्ममै थोक व्यापारीहरू पुग्ने गरेका छन् । अहिले टमाटरको सिजन भएकाले प्रतिकेजी रू ३० मा बिक्री गर्नु परेकोप्रति उनी  दुःखी छन्, यसअघि गोलभेँडा प्रतिकेजी रू ९० देखि १०० सम्म बिक्री हुने गरेको थियो । 

उनको बारीको गोलभेँडा दाङका विभिन्न बजार, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका शहरमा जाने गरेको छ । कृषिप्रधान देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको चापागाईको गुनासो छ ।

कृषिमा देशको अर्थतन्त्रको ठूलो योगदान रहेको भए पनि पछिल्लो समयमा कृषि उत्पादन अथवा कृषिजन्य वस्तुहरू बाहिरबाट आयात गर्नु दुःखद भएको चापागाईं बताउँछन् । नेपालमा तरकारी तथा कृषिजन्य उत्पादनहरू आयात गर्ने कामलाई निरूत्साहित गर्नुपर्ने उनको सुझाव छ । 

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने, यस क्षेत्रका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा उनले जोड दिए । देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशिने युवालाई लक्षित गरेर स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनुतर्फ सोच्नुपर्ने उनले बताए ।

आफ्नै माटोमा पसिना र पौरख पोख्न सके सुन फल्छ भन्दै चापागाईं बर्सेनि कामका लागि विदेशिने युवालाई आफ्नै माटोमा पसिना पोख्न सुझाउछन्नु । ‘हाम्रो धर्ती मलिलो छ, यहीँ रोपौँ जे पनि फल्छ, कामका लागि विदेशिनु पर्दैन ।’

सरकारले खेती किसान गर्ने मानिसलाई वातावरण निर्माण गरिदिन, आवश्यक ऋण सकेसम्म सस्तोमा दिन र उत्पादित वस्तुको बजार सुनिश्चित गरिदिन चापागाईले सरकारसँग आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?