शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव गोसाईकुण्डमा हुने

शुक्रबार, ०८ चैत २०८१, १७ : ४१
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाख ४ देखि ६ गतेसम्म गोसाईकुण्ड गाउँपालिका, रसुवामा आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

सापकोटाको अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका फिल्मलाई समावेश गरिनेछ । 

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

विगत ४ वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिनेछ ।

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेस्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाको धारणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?