शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व हिमनदी दिवस

हिमनदी क्षेत्रको ‘तेस्रो ध्रुव’मा जलवायु परिवर्तनको असर

कसरी गर्ने हिमनदीको संरक्षण ?

शुक्रबार, ०८ चैत २०८१, १७ : ०८
शुक्रबार, ०८ चैत २०८१

तिब्बती उच्चभूमि र यसको वरिपरिका पर्वतहरूले पृथ्वीका सबैभन्दा ठुलो हिमनदी क्षेत्र समेटेको छ । वैज्ञानिकहरूले यस क्षेत्रलाई ‘तेस्रो ध्रुव’का रूपमा चिन्हित गरेका छन्, जसको क्षेत्रफल पाँच मिलियन वर्गकिलोमिटर छ र यसको औसत उचाइ चार हजार मिटरभन्दा बढी छ । 

यस क्षेत्रमा लगभग एक लाख वर्गकिलोमिटर हिमनदी क्षेत्र रहेको छ, यो क्षेत्र जलवायु परिवर्तनको प्रमुख सूचकको रूपमा मानिन्छ । यसलाई हिन्दुकुश–काराकोरम–हिमालयन प्रणालीको रूपमा पनि चिनिन्छ । तेस्रो ध्रुवले विश्वव्यापी वातावरणीय र जलवायु परिवर्तनको प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । यस क्षेत्रको हिमनदीले एसियाका विभिन्न देशको सामाजिक र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

  • भौगोलिक र वातावरणीय महत्त्व

तेस्रो ध्रुवको भौगोलिक परिभाषा तिब्बती उच्चभूमि र यसको वरिपरिका पर्वतबाट गरिएको छ । यो क्षेत्र पश्चिममा पामिर र हिन्दुकुश पर्वत शृङ्खलाबाट पूर्वमा हेङदुआन पर्वत, उत्तरमा कुनलुन र छिलियन पर्वतहरू र दक्षिणमा हिमालयसम्म फैलिएको छ । यस क्षेत्रको औसत उचाइ चार हजार मिटरभन्दा बढी छ र यहाँ पृथ्वीका सबैभन्दा उच्च शिखरहरू अवस्थित छन् । सगरमाथा (८८४८ मिटर), नंगा पर्वत (८१२५ मिटर), केटु (८६११ मिटर), कञ्चनजङ्घा (८५८६ मिटर) लगायत शिखरहरू पनि यही क्षेत्रमा पर्छन् ।

यस क्षेत्रको भौगोलिक स्थिति र पारिस्थितिकीय प्रणालीले साढे एक अर्ब मानिसको जीवनमा प्रभाव पार्छ । यस क्षेत्रले जल, घाँस, काठजस्ता स्रोत र पर्यटनका अवसर प्रदान गर्छ; जसले उक्त क्षेत्रका अर्बौं मानिसहरूको जीवनयापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यी पर्वत भौतिक, वातावरणीय र पारिस्थितिकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण हुन्छन् । उच्च उचाइ र विशाल क्षेत्रफलले पृथ्वीको जलवायु प्रणालीमा एक महत्त्वपूर्ण भूमिका खेल्छ । यहाँको वायुमण्डल, क्रायोस्फेयर, जलविज्ञान, भूविज्ञान र वातावरणीय प्रक्रियाहरूले पृथ्वीको जैविक विविधता र जलवायु चक्रमा गहिरो प्रभाव पार्छ । यस क्षेत्रको भौगोलिक स्थिति र पारिस्थितिकीय प्रणालीले साढे एक अर्ब मानिसको जीवनमा प्रभाव पार्छ । यस क्षेत्रले जल, घाँस, काठजस्ता स्रोत र पर्यटनका अवसर प्रदान गर्छ; जसले उक्त क्षेत्रका अर्बौं मानिसहरूको जीवनयापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

  • हिमनदीहरूको अवस्था

यहाँका हिमनदीहरू र हिमाच्छादित क्षेत्रहरूले ‘आर्कटिक’ र ‘अन्टार्कटिक’ ध्रुवपछि संसारको सबैभन्दा ठुलो जमेको पानीको भण्डार बनाउँछन् र १० प्रमुख नदीहरूको स्रोतको रूपमा चिनिन्छन्, जसले वैश्विक पारिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा बनाउँछ । 

जलवायु परिवर्तन अहिले तेस्रो ध्रुवमा प्रमुख चिन्ताको विषय बनेको छ । पर्वतीय संरचनाहरू विशेषगरी जलवायु परिवर्तनका लागि संवेदनशील छन् र यस क्षेत्रका बासिन्दा यिनै वैश्विक परिवर्तनबाट बढी प्रभावित भएका छन् । तेस्रो ध्रुव क्षेत्रको तापमान वृद्धिदर विश्वव्यापी औसतभन्दा अत्यधिक बढी छ, यो प्रवृत्ति बढिरहेको छ । 

जलवायु परिवर्तनका कारण यहाँका नदी प्रणालीमा महत्त्वपूर्ण परिवर्तन आएका छन्, जसको प्रत्यक्ष प्रभाव लाखौँ मानिसको जीवनमा परेको छ । जलवायु परिवर्तनका कारण सबै क्षेत्र यस शताब्दीको अन्त्यसम्म कम्तीमा एक डिग्री सेल्सियससम्म तात्ने सम्भावना छ । केही क्षेत्रमा त तापमान ३.५ देखि ४ डिग्री सेल्सियससम्म बढ्न सक्नेछ । यसले तेस्रो ध्रुव क्षेत्रका बासिन्दाको जीवन र जीविकोपार्जनलाई चुनौती दिने छ र दिएको छ । यस क्षेत्रको सुरक्षा र विकास जोखिममा पारेको छ ।

तेस्रो ध्रुव क्षेत्रको क्रायोस्फेयरमा गम्भीर परिवर्तन देखापरेका छन् । सन् १९५० को दशकको मध्यदेखि यस क्षेत्रको तापमान वृद्धि भएको छ । तातो हुने दर ०.३ डिग्री सेल्सियस प्रतिदशकको दरमा बढिरहेको छ, जुन विश्वव्यापी तापमान वृद्धिको लगभग तीन गुणा हो, यसले हिमनदीहरूको गति र अन्य पर्यावरणीय प्रक्रियामा गहिरो प्रभाव पारेको छ । विशेषगरी तेस्रो ध्रुवको मध्य, पूर्वीय र उत्तरपश्चिमी भागमा बढी तापमान वृद्धिको अवस्था देखिन्छ । हिमनदीहरू पातलिने प्रवृत्ति र हिउँको तहमा आउने परिवर्तन पनि जलवायु परिवर्तनको परिणाम स्वरूप हुँदै छन् ।

तेस्रो ध्रुवका हिमनदीको महत्त्वपूर्ण पर्यावरणीय परिवर्तनमध्ये एक हो, चाँडै पग्लनु । सन् १९९० को दशकदेखि अधिकांश हिमनदी ठुलो मात्रामा पातलिन थालेका छन् र तिनीहरूको गति क्षेत्र अनुसार भिन्न–भिन्न छन् । हिमनदीहरूको पग्लने तथा हट्ने दर १० प्रतिशतदेखि १७ प्रतिशतसम्म देखिएको छ, यो प्रवृत्ति हालको तापमान वृद्धिका कारण तीव्र भएको छ । वैज्ञानिकहरूको अनुमान अनुसार सन् २०७० सम्म हिमनदीहरूको ४३ प्रतिशत क्षेत्रफल घट्नेछ र २१औँ शताब्दीको अन्त्यसम्म यसमा ७५ प्रतिशतसम्मको घटावट आउने सम्भावना छ ।

  • हिउँको तहमा परिवर्तन 

हिउँको तहका परिवर्तन र पर्माफ्रस्ट बिग्रिँदै जाने प्रक्रिया पनि चलिरहेका छन् । यहाँ हिउँको तह १९७० को दशकको मध्यपश्चात् बढेको छ, जसले एसियाली मनसुनमा परिवर्तन ल्याएको छ । साथै यहाँको पर्माफ्रस्टको तहहरू बिग्रिनु, तापक्रम बढ्नुजस्ता जलवायु परिवर्तनका कारण ठुलो प्रभाव पारिरहेको छ । पर्माफ्रस्ट क्षेत्रहरू बिग्रिनु र हिमनदीको गति तीव्र हुनु भविष्यमा ठुलो समस्या बन्न सक्छ । यहाँका बिग्रिएको पर्माफ्रस्ट हिउँबाट उत्सर्जित कार्बन, नयाँ पानी स्रोत र अन्य खतरनाक प्रभावहरूले सम्पूर्ण क्षेत्रका पारिस्थितिकीय प्रणालीमा गहिरो असर पार्नेछन् । यसैले भविष्यका लागि थप अध्ययन र निगरानी आवश्यक छ ।

  • संयुक्त राष्ट्र संघको पहल

संयुक्त राष्ट्र संघले सन् २०२५ लाई हिमनदी संरक्षणको अन्तर्राष्ट्रिय वर्ष र यसै वर्षदेखि प्रत्येक मार्च २१ लाई ‘विश्व हिमनदी दिवस’का रूपमा मनाउने घोषणा गरेको छ । यस पहलले हिमनदी, हिउँ र बरफको जलवायु प्रणाली तथा जलवृद्धि चक्रमा महत्त्वपूर्ण भूमिकाबारे वैश्विक जागरुकता बढाउने उद्देश्य राख्छ । साथै पृथ्वीको ‘क्रायोस्फेयर’मा भइरहेको तीव्र परिवर्तनका आर्थिक, सामाजिक र वातावरणीय प्रभावलाई उजागर गर्नका लागि पनि यो अभियान सञ्चालन गरिन्छ ।

अन्तर्राष्ट्रिय वर्ष र हिमनदी दिवसले हिमनदी र यसको नोक्सानीलाई सम्बोधन गर्नका लागि उत्तम अभ्यास, ज्ञान र रणनीतिहरू साझा गर्ने प्लेटफर्मका रूपमा कार्य गर्नेछ । यस घोषणाले संयुक्त राष्ट्र महासभाद्वारा डिसेम्बर २०२२ मा पारित भएको प्रस्तावलाई पछ्याउँदै २०२५ लाई हिमनदी संरक्षणका लागि दशक लामो वैश्विक प्रयासको सुरुआतका रूपमा चिन्हित गरिएको हो, जुन २०३४ सम्म जारी रहनेछ । आजको सन्दर्भमा तेस्रो ध्रुव यस क्षेत्र विशेष हुन्छ ।

संयुक्त राष्ट्र संघले सन् २०२५ लाई हिमनदी संरक्षणको अन्तर्राष्ट्रिय वर्ष र यसै वर्षदेखि प्रत्येक मार्च २१ लाई ‘विश्व हिमनदी दिवस’का रूपमा मनाउने घोषणा गरेको छ । 
  • निष्कर्ष

तेस्रो ध्रुव क्षेत्रले पृथ्वीको जलवायु र पारिस्थितिकी प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ । यहाँको हिमनदी र ‘क्रायोस्फेयर’को गहिरो परिवर्तनले स्थानीय वातावरणमा मात्र नभई वैश्विक जलवायु परिवर्तनमा पनि प्रभाव पार्छ ।

हिमनदीहरूको गतिको तीव्रता, हिउँको तहमा परिवर्तन, पर्माफ्रस्ट बिग्रिनु आदिले भविष्यमा गम्भीर पर्यावरणीय र सामाजिक परिणामहरूको सङ्केत दिन्छ । यस क्षेत्रका बासिन्दाहरू र निकटवर्ती देशहरूको जीवनमा खतरनाक प्रभाव ल्याउने सम्भावना छ, साथै पर्यावरणीय संकटमा पनि वृद्धि हुन सक्छ । यसरी तेस्रो ध्रुव क्षेत्रको संरक्षण र यसको जलवायु परिवर्तनका प्रभावहरूको अनुगमन गर्न ठोस कदमहरू चाँडो चाल्न आवश्यक छ । 

वैज्ञानिकहरूको थप अध्ययन र निगरानी साथै वातावरणीय नीति–निर्माणले भविष्यमा यस क्षेत्रको संरक्षण र वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । जलवायु परिवर्तनले हिमनदीहरूमा पार्ने प्रभाव र समस्या न्यूनीकरणका बारेमा दीर्घकालिक रणनीति र साझेदारीका कार्यक्रम अत्यन्त महत्त्वपूर्ण हुन्छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नमिता पौडेल
डा. नमिता पौडेल
लेखकबाट थप