शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

गणतन्त्र कि राजतन्त्र ? जनमतसङ्ग्रह गरौँ : विप्लव

‘सबै उद्योगपति प्रतिक्रियावादी, दलाल भन्ने कुरा गलत रहेछ’
शुक्रबार, ०८ चैत २०८१, १७ : ००
शुक्रबार, ०८ चैत २०८१

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) अहिले देश दौडाहामा छन् । त्यही क्रममा उनी केही दिनयता कोशी प्रदेशमा छन् । झापा, सुनसरी र मोरङमा आफ्ना पार्टीका नेता कार्यकर्ता तथा अन्य राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, उद्योगी, व्यापारी, किसानहरूसँग छलफल गर्दै, कुरा सुन्दै उनी हिँडिरहेका छन् ।

विप्लव यसरी हिँडिरहँदा काठमाडौँमा भने पुनः राजतन्त्र फर्काउने भन्नेहरूको स्वर बढिरहेको छ । यही स्वर बढिरहँदा उनै विप्लव नेतृत्वको समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्षमा बृहत् प्रदर्शन गरेर राजावादीलाई ‘काउन्टर’ दिने तयारी गरिरहेको छ ।

देशको वर्तमान निराशा, राजावादीहरूले चर्काइरहेको आन्दोलन, समाजवादी मोर्चा, माओवादी र कम्युनिस्टहरूबिचको एकता तथा समाजवादको यात्रा लगायतका विषयमा महासचिव विप्लवले बिहीबार विराटनगरमा प्रेस सेन्टर मोरङद्वारा आयोजित अन्तरसम्वाद कार्यक्रममा झण्डै एक घण्टा लामो छलफल गरे । प्रस्तुत छ– सो क्रममा उनले गरेका कुराकानीको सार संक्षेप ।

  • तपाईं पूर्वको भ्रमणमा हुनुहन्छ । काठमाडौँमा अर्कै हल्ला भइरहेको सुुनिन्छ । अहिले देशको अवस्था कस्तो छ ?

– हामी गणतन्त्रमा आयौँ । एउटा सामन्तवादी युगको अन्त्य गर्‍यौँ । नेपाली जनता इतिहासमा पहिलो पटक सार्वभौम बन्ने प्रक्रियामा उक्लिए । यो नेपाली राजनीतिको युगान्तकारी परिवर्तन हो ।

यदि हामीले गणतन्त्र स्थापना गर्दैनथ्यौँ भने नेपाल अझै पनि १ सय वर्षजति सामन्तवादमै रुमल्लिनु पर्थ्यो होला । तर, समाजवादी मूल्य–मान्यताको दृष्टिकोणबाट बहस गर्दा गणतन्त्र जनताको गणतन्त्रको रूपमा भने रुपान्तरित हुन सकेको छैन । यो सैद्धान्तिक र राजनीतिक कोणबाट पनि बहस भइरहेको छ ।

समाज विकासको सैद्धान्तिक आधारबाट हेर्दा नेपाली जनताको अपेक्षा र चाहना समाजवादसँग जोडिएको छ । गणतन्त्र जनताको बन्न नसक्दा अहिले असन्तुष्टि चरम चुलीमा पुगेको छ । एक प्रकारले भन्दा संसदीय व्यवस्था, दलाल पुँजीवादी व्यवस्था पनि हामीले भनेका छौँ । सामन्तवादी प्रभुत्वमा रहेको समाज र सम्पत्ति त रुपान्तरण भयो तर, सम्पत्तिमाथिको अधिकार, राजनीतिक सत्तामाथिको अधिकार जनताको हातमा आउन सकेन । यहाँका किसान, मजदुर, महिला, दलित, मधेसी, जनजातिको हातमा यहाँको सत्ता आउन सकेन । जो हिजो सामन्तवादी सत्ता रहँदा उत्पीडनमा परेका थिए, अहिले पनि उनीहरू सत्ताको मालिक बन्न सकेनन् । त्यसले गर्दा क्रमशः नेपाली राजनीति जानेर या नजानेर सैद्धान्तिक या व्यवहारिक ढङ्गले हेर्दा सङ्कटमा या चरम अन्तरविरोधबाट गुज्रिरहेको छ ।

  • अब के गर्ने त ?

– सामन्तवादी उत्पादन सम्बन्ध हामीले भत्कायौँ तर, अहिले संसदीय व्यवस्था वा दलाल पुँजीवादी अर्थसम्बन्ध कायम छ । हामीले जनवादी अर्थव्यवस्था लागु गर्न सकेनौँ । त्यसैको कारण आज पुँजी दलालहरूको हातमा केन्द्रित भएर जाँदा जनताको ठुलो हिस्सा रोजीरोटीको सामान्य दैनिकी चलाउन नसकेको र छटपटाइरहेको स्थिति छ । उद्योग चल्न सकेका छैनन् । भएका बन्द हुँदैछन् । स्वास्थ्य, शिक्षामा राम्रो गर्न सकेको छैन । बुद्धिजीवी र वैज्ञानिकहरू सन्तुष्ट छैनन् । देशबाट दक्ष जनशक्ति विदेशिने क्रम बढिरहेको छ । राज्यले पनि त्यो जनशक्तिलाई देशमै रोक्नेभन्दा विदेश जान प्रोत्साहन गरिरहेजस्तो देखिन्छ ।

राज्यमा बस्नेहरूले त्यो विषयलाई चिन्ता व्यक्त गरिरहेको देखिए पनि कार्यक्रम र नीतिमार्फतचाहिँ विदेश जान प्रोत्साहन गरिरहेको देखिन्छ । उदाहरणका लागि विदेश जानलाई सहुलियत ऋण दिने, तालिम दिने लगायतका कुराहरू हुन् । यसले राज्यमा बस्नेहरूले भन्ने एउटा र गर्ने अर्को भइरहेको पुष्टि हुन्छ । नेपालको अर्थतन्त्रमा आएको सङ्कटको कारण समाजमा ठुलो प्रभाव परिरहेको छ ।

  • राजावादीको आन्दोलन त्यसैको प्रतिबिम्ब हो ?

– गणतन्त्र पनि जनताको बन्न नसक्नु नै अहिलेको मुख्य असन्तुष्टिको कारण हो । जनतामा अधिकार हस्तान्तरित नहुनु, संविधान नै विवादमा पर्नुले पनि त्यसको पुष्टि गर्छ । राज्यका उपल्लो निकायमा उत्पीडित जाती, समुदाय, किसान, मजदुरको प्रतिनिधित्व अझै हुन सकेको छैन । समानुपातिक, समावेशीले जनताको तहमा केही विषय सम्बोधन गरिए पनि त्यतिले मात्रै जनता सन्तुष्ट छैनन् ।

त्यसो हुँदा र आर्थिक क्षेत्र सङ्कटमा पर्दै जाँदा नेपाली समाज ठुलो अराजकतामा परेको छ । यो वस्तुगत कारण हो । यही कारण व्यवस्था हस्तान्तरणको प्रक्रियामा हारेका वर्गहरू उत्तेजित हुन्छन् । यो नेपालमा मात्रै होइन, संसारभर भइरहेको छ ।

नेपाली समाजमा अहिले मूलतः तीन वटा रूपबाट बहस चलिरहेको छ । यो व्यवस्था चलेन, अस्थिर भयो, हरेक वर्ष हामीले आर्थिक बोझ थपिरहनु पर्ने र सरकार भने ढल्ने, बन्ने, प्रदेशहरूको अवस्था त्यस्तै हुने, स्थानीय सरकारलाई प्रभाव पर्ने, कर्मचारीहरू शान्त ढङ्गले काम गर्न नसक्ने, सुरक्षा प्रणालीमा बाधा पार्ने, सुरक्षा अधिकारी पनि शान्त ढङ्गले काम गर्न नपाउने, उद्योग क्षेत्र प्रभावित पर्ने अवस्था छ । यसले यो व्यवस्था चलेन भन्ने कुरामा एकमत देखिन्छ । तर, निकास के हो भन्ने कुरामा एकमत हुन सकेको अवस्था छैन । त्यहीभित्र एउटा प्रवृत्ति पश्चगमनतिर या राजतन्त्र विकल्प हो भनेर आइरहेको देखिरहेका छौँ ।

राजतन्त्र विकल्प हो भन्ने कुरा नौलो होइन । यो नेपाली समाजमा निरन्तर चल्दै आएको सङ्घर्षकै रूप हो । अलिक बढी आलोचनात्मक राजनीति हावी पनि छ नेपालमा । त्यही बेला आफ्नो अवसर छोप्ने गरी राजावादीहरू अगाडि आएको देखिन्छ । यसो हेर्दा मन्दिरमा गएजस्तो पनि देखिन्छ । त्यो पनि राजनीतिक संस्कृतिसँग जोडिएको छ । पूर्वराजाले त्यही आवरणमा राजनीतिलाई अगाडि सारेको पनि देखिन्छ । कतिपयलाई हो कि के हो भन्ने भ्रम पनि परेको देखिन्छ । तर, त्यो नेपाली समाजको चुनौती हो, विकल्प होइन ।

राजतन्त्र नेपाली समाजको विकल्प होइन भन्ने कुरा विगतको इतिहासले पनि पुष्टि गरेको छ ।

  • अबको विकल्पचाहिँ के हो त ?

– शिक्षा भएन, स्वास्थ्य भएन, रोजगारी भएन, आर्थिक समृद्धि आएन भन्ने कुराचाहिँ समस्या हो । म पूर्वका विभिन्न सहरका उद्योगीहरूसँग पनि छलफलमा बसेँ । उहाँहरू सयौँ जना कालोसूचीमा परेको र हामीलाई उकास्नु पर्‍यो भन्ने छ । त्यसो भए पैसा कहाँ गयो ? नेपालमा पैसा १६ खर्ब त छ । १० खर्ब त राजस्व नै उठेको छ नि । त्यो पैसा कहाँ गयो ? सामान्य नजरले हेर्दा पैसा छैनजस्तो देखिए पनि भएको पैसा केही मुट्ठीभर मानिसको खातामा जम्मा भएको स्थिति छ । एकातिर बैंकले ऋण लगानी (कर्जा प्रवाह) भएन भनेर गुनासो गरिरहेको अवस्था छ, अर्कोतिर गरिब जनताहरूले गाँसबास पनि जुटाउन नसक्ने अवस्था छ । त्यसकारण अब जनताको अपेक्षा समाजवादसँग नै छ । मानिसले गाँस, बास, रोजगारी, स्वास्थ्य, शिक्षा खोज्छ । त्यो समाजवादले नै दिने हो । केही समय गाली गर्ने, अराजकता सिर्जना गर्ने, दाउ थाप्ने, च्याखे थाप्ने कुरा भनेको चुनौतीमात्रै हो । त्यसलाई हामीले समाधान गर्नुपर्छ ।

गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नु नै आजको आवश्यकता हो । यो नै सबैले सोचिरहेको पनि देखिन्छ । देश पनि यतै जान्छ । राजतन्त्र आउने भनेको दुर्घटनामात्रै हो । त्यो भए पनि सफल हुँदैन । त्यस विषयमा हामी धेरै तर्सिनुपर्ने अवस्था पनि छैन । छोडिहाल्नु पनि हुँदैन । जनतालाई हामीले सचेत बनाउनु पर्छ । हामीले समाजवादी मोर्चामार्फत त्यो अपिल पनि गरेका छौँ र नियमित कार्यक्रम पनि गरिरहेका छौँ । चैत १५ गते हामीले काठमाडौँमा कार्यक्रम पनि गर्दैछौँ । यो पूर्वराजाको गतिविधिविरुद्धको भन्दा पनि जनतालाई समाजवादबारे बुझाउने अभियानकै रूप हो ।

  • गणतन्त्रवादीहरू त निकै तरङ्गित देखिन्छन् नि ?

– अहिले देशका गणतन्त्रवादी शक्तिहरू कुनै न कुनै हिसाबले सक्रिय भएको पाएका छौँ । फरक–फरक ढङ्गले पार्टीहरू लागिरहेकै छन् । त्यसकारण आज पनि नेपाली समाजको मूल प्रवृत्ति भनेको समाजवादी गणतन्त्र नै हो । त्यसमा पनि कम्तीमा गणतन्त्रको रक्षा नै हो । त्यस विषयमा जनता प्रतिबद्ध छन् ।

  • तर, गणतन्त्रवादीहरूको गल्तीकै कारण त यो सबै भइरहेको छ नि, होइन र ?

– हाम्रो निष्कर्ष भनेको ठुलो गल्ती हामी माओवादीको हो । माओवादी जति रुपान्तरण हुन्छ, समाज अर्को नयाँ प्रक्रियामा अगाडि बढ्न सक्छ । त्यसपछि कम्युनिस्टहरू समाजवादीहरू, लोकतान्त्रिक शक्ति र देशभक्त शक्तिहरू क्रमशः आउँछन् । जनयुद्धमा जाँदा पनि हाम्रो प्रस्ताव पुँजीवादी गणतन्त्र थिएन । दलाल पुँजीवाद पनि थिएन । हाम्रो लक्ष्य, उद्देश्य वैज्ञानिक समाजवाद नै थियो । आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद हामीले भनेका छौँ । यो सत्यलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।

Biplab (6)

०६४ पछि माओवादीले जे गल्ती गर्‍यौँ, त्यसलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ । नेपाली राजनीतिका जो कमजोर पक्ष थिए, माओवादीमा पनि दोहोरिन खोजे । त्यसले हामीलाई मात्रै होइन, आम जनतालाई पनि चिन्तित बनायो । सबैको अपेक्षा पनि माओवादीले जरैबाट राम्रो गर्छ भन्ने थियो । तर, अहिले उस्तै भयो भन्ने कुरा कसैले गरेको नकारात्मक प्रचारमात्रै होइन, सत्य पनि हो । माओवादीले ठुलो मौका गुमाएको सत्य हो । त्यो महसुस गरेरै प्रचण्ड कमरेडले पनि भनिरहनु भएको छ । त्यो महसुसप्रति हामी सकारात्मक छौँ । त्यो कुरा ०६५÷०६६ सालमै देखेका थियौँ । त्यसबेला पार्टीको केन्द्रमा बस्दा माओवादी कता जान खोज्दैछ ? यसको कमजोर पक्ष के हो भन्ने कुरा देखेका थियौँ । त्यसबेला पनि हामीले भनेका थियौँ ।

  • त्यो कमजोरीलाई रोक्न किन सक्नुभएन ?

– त्यसबेला हामीसँग ५० हजार पूर्णकालीन कार्यकर्ता थिए । क्यान्टोनमेन्टमा २० हजारभन्दा बढी जनमुक्ति सेना थिए । त्यसबेला हामी कता जाने भन्ने विषयमा स्थिर भइसकेको थिएन । व्यक्तिगत जीवन पनि सङ्क्रमणमा थियो । कसरी गरी खाने ? समाजमा कसरी सेटल हुने भन्ने विषय पनि अस्पष्ट थियो । त्यसबेला हामीले आर्थिक व्यवस्थासहितको निकास दिनुपर्थ्यो । त्यो चुक्यौँ । बरु हामीले जनयुद्धमा एकदमै दुःख गरेर बनाएका कम्युन र सहकारीहरू लथालिङ्ग बने । जनयुद्धको बेलामा १९ वटा सहकारी, २३ वटा स्कुल थियो । एउटा बैंक थियो । हामीले रोल्पाको थवाङसम्म सहिद मार्ग पुर्‍याएका थियौँ । त्यो बाटो अहिले पिच हुन सकेको छैन । राम्रोसँग बस पनि हिँड्दैन । नमूना अस्पतालहरू बनाएका थियौँ । त्यो अहिले एउटा कम्पनीले चलाउँदो रहेछ । त्यसकारण पछि हाम्रा गल्ती भए । त्यो प्रचण्ड, बाबुराम कमरेडलाई मात्रै भन्ने कुरा पनि होइन ।

  • गल्तीमात्रै भनेर समाधान कहिले दिने ?

हामीले आत्मसात गरेका छौँ । यसलाई जीवन व्यवहारमा बदल्ने सोच छ । यो पार्टीमात्रै छैन नि अहिले ! हामी पार्टीले मात्रै गरेको पनि नभनौँ । यो सबैको बोधको विषय हो । कर्मचारीको सहयोग छ । व्यवसायी साथीको सहयोग छ । हामीलाई विनोद चौधरीले पनि उधारोमा बिउ दिनुभयो । २२ लाखको बिउ किन्न हामी सक्दैनथ्यौँ नि । अहिले फलेको छ । उहाँलाई फिर्ता पनि दिएका छौँ । तर, त्यो गर्दा पनि सुखचाहिँ छैन । विप्लवले आलु खेती गरेर दलाललाई दियो भन्ने पनि आएको छ । एउटा मान्छेले कि त विप्लवले राजनीतिमात्रै गर्नुपर्‍यो कि व्यापार गर्नुपर्‍यो भनिरहेको सुन्यौँ । हामी यो देशका नागरिक होइनौँ ? हामीले पनि भात खान्छौँ । राजनीति गर्ने मानिस आकाशमा हावा खाएर बस्ने त होइन होला । त्यसकारण खाने कुरा त उत्पादन गर्नुपर्‍यो नि ! अब २४ घण्टै राजनीति गर्नुपर्दैन । वर्षमा एक महिना श्रम गर्ने, एक वर्ष खान पुग्छ । अरु बेला राजनीति गर्न जति पनि समय छ नि । त्यतिकै झोला बोकेको छ, हिँडेको छ, चन्दा मागेको छ । अर्कालाई हैरान बनाएको छ । हामी चन्दा उठाउने काम बन्द गर्छौं । हाम्रो तीन वर्षको टार्गेट हो । अहिले डेढ वर्षमै त्यो प्रतिबद्धता पूरा गर्ने अवस्था बनेको छ । खानका लागि पनि मालिकको ढोकामा जानु त परेन नि ! ‘हजुर’, ‘सर’ भनेको छ । उसले गमक्क परेर फोन पनि उठाउँदैन । नेताले फोन गर्दा त ऊ फेरि अफ गरेर हिँडिदिन्छ । यस्तो अवस्थामा छ ।

काठमाडौँमा चर्चा थियो– पैसा विप्लवसँग छ भन्दै गरेको (हाँस्दै) । अहिले त काम गरेको पनि देखिनसहने अवस्था भयो । तर, काम गर्दा खानचाहिँ पुग्दो रहेछ भन्ने भयो ।

हामीसँग डेढदुई सय घार मौरी छ । त्यहाँ डेढ सय क्विन्टल मह उत्पादन भएको छ । हामीले ८ सय रुपैयाँ किलो बेचेका थियौँ । व्यापारीले फेरि आएर भन्यो कि १२ सयमा बेच, कि ८ सयमा सबै पसलमा पुर्‍याऊ भन्छ । तैँले ८ सयमा बेचे हामीले के खाने भन्ने खालको अवस्था छ । त्यसकारण हामी नयाँ प्रयोगमा गइरहेका छौँ । त्योमात्रै होइन, हामीले उद्योगपतिसँग सहकार्य पनि गरेका छौँ । अहिले सबैले मद्दत नै गर्नुभएको छ ।

  • अब कसरी अगाडि बढ्ने त ?

– हामी कम्युनिस्टहरूले प्रतिशोधात्मक, आलोचनात्मक सोचबाट काम गर्न थालियो भने हामीले निकास दिन सक्दैनौँ । हामीलाई चाहिएको के भने सामान्य किसानको हातमा पैसा कसरी बचत गर्ने ? पैसाको बचत कसरी हुन्छ भन्ने विषयमा हाम्रा किसान परिवारलाई थाहा पनि छैन । पालेका कुखुरा काटेर खानुपर्ने, फलाएको अन्न जाँड बनाउनु पर्ने जस्ता संस्कार छन् । तर, राम्रो आङमा लगाउने कपडा छैन । त्यसकारण हाम्रा किसान दाजुभाइहरूले श्रम नगरेको होइन, मात्रै पुँजी बचत गर्न नजानेको हो । सहरिया वर्गमा पैसाबाट पैसा कमाउनेतिर गयो । उत्पादनतिर जानेभन्दा रातारात करोडपति, अरबपतिको सपना आएको छ । त्यसले भ्रष्टाचार जन्मायो । नेताहरू फसेका पनि त्यही कारण हो । भएको पुँजीलाई श्रम र उत्पादनसँग जोडेको भए भ्रष्टाचार हुँदैन थियो । उत्पादनविना सुखभोगको प्रवृत्तिले मानिसलाई भ्रष्ट बनायो ।

हामीले उद्योगति सबैलाई दलाल, प्रतिक्रियावादी, पुँजीपति भन्यौँ तर, हामीले काम गर्न थालेपछि थाहा पायौँ, त्यो गलत रहेछ । एउटा उद्योग चलाउन कति मेहनत रहेछ भन्ने कुरा काम गर्न थालेपछि थाहा पाएका छौँ । त्यसकारण सबै उद्योगपति प्रतिक्रियावादी, दलाल भन्ने कुरा गलत रहेछ । हामी बुझ्दैछौँ । पैसा कसरी बन्छ भन्ने कुरा किसानलाई थाहा छ तर, बचाउन सकिरहेको छैन । यो पुँजीसम्बन्धी बहस र छलफल नेपाली राजनीतिमा कमजोर भयो । कुनै पनि पार्टीमा बहस भएन । ००७ सालदेखि अहिलेसम्म आएका कार्यकर्ताको अवस्था हेर्ने हो भने हरेक कार्यकर्ताको आर्थिक जीवन अपारदर्शी र सुखभोगी खालको छ । शङ्कास्पद छन् । अविश्वसनीय छन् । जिन्दगीभर जेल पनि बस्ने तर जनताको आँखामा बदनाम हुने परिस्थिति हुनुको कारण अर्थसम्बन्धको बारेमा पार्टीहरूमा स्कुलिङ वा दृष्टिकोण छैन । त्यही भएका कारण हामी आफैँ उत्पादनमा लागेका हौँ ।

जनयुद्धको बेलामा पनि लागेका हौँ । त्यसबेला हामीले थवाङमा जुत्ता कारखाना खोलेका थियौँ । त्यहाँ स्थानीय दिदीबहिनीहरूबाट २० लाख जम्मा भएको थियो । अहिले पनि चितवनमा कृषि उद्योग सुरु गर्‍यौँ । २ दिनमा ३० लाख जम्मा भयो । विश्वास भए लगानीको अभाव पनि छैन तर, विश्वास नभए आफूसँग भएको पैसा बोरामा खाँदेर सिरानीमा राख्ने अवस्था छ । पुँजी परिचालनको दृष्टिकोण नै कमजोर छ ।

हामीले कपिलवस्तुमा सानो गार्मेन्ट खोल्यौँ । २ दिनमै धेरै लगानी जुट्यो । यो ठुलो गरेको होइन तर, गर्दा हुँदो रहेछ भन्ने देखियो ।

  • तपाईंहरूको उत्पादन क्रान्तिचाहिँ कहाँ पुग्यो ?

– अहिले हामीले अलिक ठुलो गर्न खोजेको आलु उत्पादन हो तर, धेरै गाह्रो रहेछ । कृषिमा नेताहरूको आँखा नपरेसम्म गाह्रो हुने रहेछ । मैले प्रचण्ड प्रधानमन्त्री हुँदा पनि हामीलाई दिनुहोस्, गर्छौं भनेको थिएँ । तर, एक पैसा पनि पाएनौँ । बचनले पाएका थियौँ, व्यवहारले पाएनौँ । आलुमा हामीले राम्रो गर्‍यौँ । ४८ टन त बिउ नै रोपेका हौँ । अहिले ६० टन बजारमा गइसकेको छ । ४८ टन बराबरको बिउ अहिले पनि बचतमा छ । त्यसकारण यो नहुने रहेछ भन्नेचाहिँ होइन रहेछ । उत्पादनमा जनता खुसी छन् । हामीले जुम्लामा स्याउ रोपेका छौँ । त्यहाँ जनताले नै रेखदेख पनि गरेका छन् । सहिद परिवारले जमिन निःशुल्क उपलब्ध गराएका छन् । सबै जनता उल्टेर जाँदा ५ सय स्याउको बिरुवा रोप्न २ घण्टा पनि लागेन । त्यहाँ सबै पार्टीका युवाहरू आए, स्याउको बिरुवा रोप्न सहयोग पनि गरे । मानिसलाई चाहिएको पार्टी होइन । जीवन पद्धतिको रुपान्तरण हो । सबै ढङ्गले हेर्दा नेपाल अगाडि जान्छ भन्नेमा हामी विश्वस्त छौँ ।

  • अगाडि जान्छ भनेको के हो ? राजावाद कि समाजवाद ?

– विभिन्न खालका अल्झन त देखा पर्छन् तर, त्यसमा हामी अल्मलिने स्थिति हुँदैन । हामी अग्रगमनतिरै जानुपर्छ । त्यो फेरि कठिन कुरा पनि हो । महसुस सबैले गर्न सक्ने तर, त्यसको भार बोक्न नसक्ने खालको पनि छ । कांग्रेस पनि समाजवाद, रविजी पनि समाजवाद, हामी पनि समाजवाद, सीकेजी पनि समाजवाद भनिरहनु भएको छ । यो सबै ढङ्गले हेर्दा तर्कमा समाजवाद निर्विवाद छ । बाँकी कार्यान्वयनमा जान सबै शक्ति तयार हुने हो भने संविधान संशोधन गरेरै पनि समाजवाद ल्याउन सकिन्छ तर, भनाइ र गराइको फरक पनि नेता, कार्यकर्ता र पार्टीमा देखिएको छ । त्यसलाई मेट्ने हो भने भयङ्कर ठुलो विद्रोह वा आन्दोलन, बन्दुुकको जरुरत पनि पर्दैन ।

त्यसकारण कानुनी मान्यता दिने र योजनामा ढाल्ने हो भने अहिलेसम्मका सबै सोचाइ र अवशेषहरू हल हुन्छ । अन्यथा फेरि नेपाली जनताले बाध्यताको मार्ग समात्नु पर्‍यो भने आन्दोलन आवश्यक बनेर आउँछ । त्यसकारण नेपाली समाजको निकास अग्रगमन नेपाली विशेषताको समाजवाद नै हो । देश त्यतै जान्छ भन्ने हामीलाई विश्वास छ ।

  • समाजवाद संविधानबाट या उत्पादनबाट ?

समाजवाद ल्याउने भनेको संविधानबाट र उत्पादनबाट पनि हो । व्यवस्थालाई मुर्तिकरण गर्ने, सुव्यवस्थित गर्ने र त्यसलाई बुझिने बनाउनेचाहिँ संविधानबाटै गर्ने । त्यसबाट अगाडि सारेको कुरालाई जीवन्त बनाउने र सार्थक बनाउने काममा उत्पादन एउटा मोर्चा हो । उत्पादनमात्रै गरेर पनि हुँदैन । त्यसको लागि राज्यका सबै निकायहरूले सहयोग गर्नुपर्छ । अहिले त्यस्तो देखिँदैन । एउटा सानो उदाहरण हेर्ने हो भने देशमा अनुदान अरबौं रुपैयाँ गयो तर, त्यसको रिजल्टचाहिँ शून्य भयो । जति पनि कार्यकर्ता वा जनतालाई भनेर दिएका अनुदानले कुनै प्रगति भएन । कोहीले कृषि, कोहीले बाख्रा, सुँगुरपालन, माछापालन भनेको छ तर, रिजल्ट कमजोर भयो । त्यो दलीयकरण र राजनीतीकरण भएर अर्थतन्त्रलाई प्रभावित पार्‍यो । मेरै गाउँमा एउटा इमानदार मान्छेले ५ लाख अनुदान लिनका लागि गाउँभरका बाख्रा भेला गरेर रातारात आफ्नो खोरमा थुन्नुभएछ । अनि कर्मचारी आएर हेर्न खोरको ढोका खोल्दा बाख्रा भाग्दै आ–आफ्नो खोरतिर गएका थिए । लाज हुँदैन ? समाज नै यस्तो छ । त्यसकारण यस्तो हुनुमा नेतृत्व र व्यवस्थाको सम्बन्ध छ । ५ लाखको लागि एक जना किसानले त्यसो गर्नुपर्ने त होइन होला ? बाख्रा ल्याउँदा पनि बाख्रा धनीलाई दिने भनेको थियो होला । यसरी जालझेल गरेर राज्यको पैसा उडाइयो । त्यो पैसा सारा जनताको पैसा हो नि । यस्तो त देशैभर कति छ कति छ !

त्यसकारण उत्पादन गर्छु भनेरमात्रै हुँदैन । उत्पादनमा राज्यका निकायहरूले उत्तरदायी हिसाबले हेर्नुपर्छ । अरबपतिलाई तुरुन्तै सहुलियत दिने सरकारको नीति छ तर, गरिब, किसानलाई त छैन । त्यसकारण यो ठ्याक्कै उल्टो भइरहेको छ । यो त पुँजीवाद पनि भएन ।  एउटा साँचो कुरा के हो भने युवालाई देशभित्र राख्ने हो भने अर्थनीतिमा, अर्थयोजनामा, उत्पादन प्रणालीमा पनि पूरै हेरफेर ल्याउनु पर्छ । त्यसको कामचाहिँ नेताहरूले गर्नुपर्छ । हामीसँग एउटा भेंडा फर्म पनि छ । कालिकोटको पाटनमा पनि हाम्रा युवाहरू बस्न तयार छन् । अरब गएर अर्काको भेंडा हेर्नुभन्दा यहीँ हेर्ने भन्ने सोचले युवाहरू लागेका छन् । उत्पादनमा घाटा नजानुको कारण पनि हाम्रो श्रम सदुपयोग भएको छ । तपाईंले श्रम गर्नुभएन भने त खेर जान्छ नि त । त्यो श्रमलाई सदुपयोग गर्दाको रिजल्टचाहिँ उत्साहपूर्ण छ तर, हामीले पनि भर्खरै सुरु गरेका छौँ ।

  • कस्तो समाजवाद ?

– समाजवाद भनेको मजदुर वर्गीय निष्कर्ष हो । समाजवाद भनेको पुँजीवादीहरूले चलाएको व्यवस्था होइन । समाजवादको संश्लेषण र निष्कर्ष भनेको मजदुर वर्गीय श्रमजीवीको हित रक्षा, उनीहरूको नेतृत्व, उनीहरूको वर्ग अनुसार संश्लेषण गरिएको व्यवस्था हो । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने आ–आप्mना तरिका होलान् । हामीले भनेकोचाहिँ श्रमजीवी जनता, किसान, उत्पीडित जाती, समुदाय, लिङ्ग, क्षेत्र पनि वर्ग अन्तर्गत छ भनेका छौँ । यो सबैको समाजवाद ल्याउने हो ।

  • कम्युनिस्ट पार्टी र समाजवादीबिचको एकता कहिले हुन्छ ?

– अहिले माओवादी धारा, समाजवादी मोर्चा र कम्युनिस्टहरूसँग एकता गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसमा पहिलो पटक सजिलोका लागि माओवादी धाराहरू एकता हौँ भन्ने छ तर, सार्थक भइरहेको छैन । दोस्रो समाजवादीभित्रको मोर्चामा पनि एकताको कुरा चलेको छ । त्यहाँ पनि हाम्रा छलफलहरू पुगेको छैन । बाँकी सबै कम्युनिस्टहरूको बिचमा एउटा अवधारणा र सोचाइजस्तो मात्रै चलिरहेको छ । सबै पार्टीमा त्यो छलफलमा पनि छ तर, प्रस्तावको रूपमा संगठित ढङ्गले अगाडि बढेको छैन । अहिले अगाडि बढेको भनेको माओवादी धारा र समाजवादी मोर्चाबिचको एकताको प्रस्तावबारे छलफल चलिरहेको छ । माओवादीको धाराभित्रको कुरा गर्दा शान्ति प्रक्रियापछि आउँदा नेपाली समाजलाई विश्लेषण गर्ने, राजनीतिक ढङ्गले छलफल गर्ने विषयमा एकरुपता अझै कायम भएको छैन । केही विषयहरूमा हामी फरक ठाउँमा छौँ । ती विषयमा सकारात्मक ढङ्गले छलफल भइरहेको छ ।

समाजवादी मोर्चासम्म हामी अहिले सहकार्य गरिरहेका छौँ, त्यहाँ समस्या छैन तर, समाजवादमा जाने, कस्तो पार्टी बनाउने, त्यसको मूल्य, मान्यता कस्तो हुने भन्ने विषयहरू छन् । दृष्टिकोण, विचार, संगठनात्मक मान्यता, अनुशासन, संस्कृतिको कुरा आउँछन् । ती कुराहरूमा हाम्रा केही मतभेद छन् । समाजवादमा कसरी पुग्न सकिन्छ ? समाजवादलाई कसरी अभ्यास गर्न सकिन्छ भन्ने विषयहरू मसिनो गरी टुङ्गिसकेका छैनन् । यी कैयौँ सैद्धान्तिकस्तरमा, कैयौँ व्यावहारिक र संगठनात्मक स्तरमा छलफल गर्‍यौँ भने सकारात्मक परिणाम देला ।

समाजवादीहरूबिचमा एकता होला कि माओवादीबिचमा पहिले एकता होला भन्ने पनि आउँछ । त्यसमा कुनै निश्चित छैन । एउटा कुरा के हो भने समाजवादतिर सहकार्य गर्ने कुरामा मोर्चा बनाउने कुरामा अगाडि बढ्छ । एउटै पार्टी बनाउनेमा केही समय लाग्ने देखिन्छ तर, मोर्चाको माध्यमबाट राज्यलाई रुपान्तरण गर्न सहकार्य गर्ने भन्ने विषय भत्किँदैन । बाँकी एमाले, जनमोर्चाको कुरा छ । अरु कैयौँ साथीहरूसँग छलफल छ । त्यहाँ छलफल खुला नै हुन्छ ।

एक पटक समाजवादी मोर्चाको विषयमा केपी कमरेड पनि सकारात्मक हुनुभएको थियो । माओवादी र एमालेको सरकार बनेपछि एउटा अन्तरक्रियामा उहाँ पनि आउनुभएको थियो । छलफल सकारात्मक ढङ्गले अगाडि बढेको थियो तर, सरकार दायाँबायाँ भएपछि त्यो छलफल रोकियो ।

यहाँ धेरै कुरा छन् । पुराना पिँढीका नेता हुनुहुन्छ । यहाँसम्म आउन उहाँहरूको भूमिका धेरै ठुलो छ तर, एकतामा जाने र समाजवाद ल्याउने कुराचाहिँ ठुलो बहसको खाँचो छ । सायद नयाँ पिँढीले त्यो सफल पार्लान् ।

  • समाजवादी र राजावादी मुठभेडतिर जाने हो ?

मुठभेडतिर जाँदैन होला । उहाँहरूले उहाँको कुरा गर्नुहोस् । जनमतसङ्ग्रह गर्ने भन्ने कुरा छ । गरौँ न जनमत सङ्ग्रह । नेता त्यतिकै फट्फटाको देख्छु । ९० प्रतिशत मानिस गणतन्त्रको पक्षमा छन् । काठमाडौँमा कति मानिस उत्रिए ? अधिक भए १५–२० हजार होलान् । त्यस्ता जुलुस हाम्रा कति निस्किएको छ– निस्किएको छ । सबै पार्टीको निस्कन सक्दैन र ? काठमाडौँमा सबैतिरबाट जुटेर होला । यहाँ विराटनगरमै गरौँ न ! कांग्रेस, एमाले, माओवादीले, हामीले छुट्टाछुट्टै गर्दा पनि त्यति मानिस निस्किन्छन् । मुठभेडमा लाने प्रयास देखिन्छ तर, त्यस्तो नहोला । गर्नै खोजेको हो भने रोक्नचाहिँ सकिँदैन । मानिसले लुकेर त बम हान्न सक्छ तर, गर्नै चाहेको हो भने त्यो चुनौती हो । सफल हुँदैन ।

  • अहिलेको आक्रोश के हो ?

– नेताहरूको क्रियाकलाप, आचार र व्यवहार भनेको व्यवस्थासँग जोडिएको विषय हो । यद्यपि यसको समाजशास्त्रीय व्याख्या गर्नुपर्छ । यो लामो हुन्छ । नेपाली समाजमा राजादेखि लिएर हामी माओवादीसम्म आउँदा संस्कृति, सोच र क्रियाकलापको हिसाबले खासै अन्तर देखिएन । यो विषय समाजशास्त्रीय कोणबाट हेर्न जरुरी छ । हामी कम्युनिकरण र सर्वहाराकरण भनेर हिँडेका थियौँ । माओवादी जनयुद्ध हुँदा आफ्नो बुबा–आमाबाट सम्पत्ति मागेर पार्टीकरण गरेर हिँडेका हौँ तर, माओवादी सत्तामा गएपछि भ्रष्टाचार र तस्करीको आरोपमा बदनाम हुनुपर्ने अवस्था आयो । सबै नभए पनि जोडियो । कोही जेलमा, कोही नेलमा बदनाम भयो । त्यसको कारण राजनीतिकमात्रै होइन ।

राजादेखि अहिलेसम्म हेर्दा कैयौँ क्षेत्र उस्तै छ । राजनीतिक क्षेत्र, सैद्धान्तिक, तार्किक क्षेत्र फरक छ । कैयौँ सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रचाहिँ समान छ । यसलाई समाजशास्त्रीय ढङ्गले हेर्नुपर्छ । त्यसकारण नेता भनेको पनि काल्पनिक पात्रमात्रै होइन, त्यो पनि समाजकै उत्पादन हुन् । त्यसकारण नेता र व्यवस्था अन्तरसम्बन्धित कुरा हुन् । नेताहरूप्रति उठेका कुराले व्यवस्थालाई असर पनि गर्छ र व्यवस्थाको कमजोरीले नेतालाई पनि समस्या पार्छ ।

  • अहिलेको असन्तुष्टि व्यवस्था परिवर्तनको कि नेता परिवर्तनको ?

हाम्रो दृष्टिकोणमा जनताले माग गर्ने, चाहने कुरा र व्यवस्थाको कुरा गर्दा समाजवादी व्यवस्थाले समाधान दिन्छ । पुँजीवादले पनि समाधान गरेको होला तर, पुँजीवाद र समाजवादको अन्तर भनेको पुरानो पुँजीवादले गरेको थिएन । त्यसैले समाजवादको अनुसन्धान भएको हो । बीपीले पनि कम्तीमा मार्क्ससिस्ट भन्दा सोसलिष्ट हिसाबले बहस गर्नुभयो । सबैले सारेको समाजवादको कुरा गर्दा त्यो ऐतिहासिक आवश्यकतासँग जोडिएको हो । पुँजीवादले जनतन्त्रको अभ्यास गर्ने कुरा, जनजीविकालाई सुनिश्चित गर्ने कुरा, सामाजिक जीवनलाई सुनिश्चित गर्ने कुरा नसकेपछि आएको हो । अहिले २१ औँ शताब्दीको पुँजीवाद १९ औँ र २० औँ शताब्दीको पुँजीवाद भन्दा फरक छ । अहिले युरोपमा कल्याणकारी राज्यको अवधारणा अन्तर्गत पनि समाजवादी मान्यता लिएर अगाडि बढेका छन् ।

मार्क्सले घोषणापत्रमा लेखेको कुरा पहिले अपराध मानिन्थ्यो । पछि तिनीहरूले पनि मार्क्सले अगाडि सारेका १० वटा अवधारणापत्र लागु गरेको देख्छौँ । त्यसकारण समाजवाद भनेको कुरा फरक हो । व्यवस्थाद्वारा सबै कुरालाई व्यवस्थित गर्नुचाहिँ सैद्धान्तिक कुरा हो । बाँकी व्यावहारिक हिसाबले भन्दा जमिन्दार नै भए पनि सबै खराब त थिएनन् तर, सिस्टमको कुरा गर्दा नेतालाई मात्रै दोष दिएर हुँदैन । सिस्टममै कैयौँ समस्या छन् ।

  • सानासाना कुराको असन्तुष्टि पनि व्यवस्था कै असफलताले हो भन्ने कुरा जनताले भनिरहेको देखिन्छ नि ?

– यो भनेको बाटो बनाएर, बिजुली दिएरमात्रै हुँदैन रहेछ । कालिकोटमा सबै पालिकामा बाटो पुग्यो तर, बस चढ्न १ हजार÷१५ सय रुपैयाँ चाहियो । त्यसका लागि मानिसको उत्पादन बढ्नु पर्‍यो । पैसा कमाउने उपाय पहिलेको भन्दा घट्यो । काम गर्ने मान्छे छैन । युवा विदेश गएको छ । विदेश जाने बाउछोराको झगडा परेरै हामीले भेंडा सस्तोमा पायौँ । छोरा विदेश जाने भन्ने, बाउ नजा भन्दोरहेछन् । छोराले नटेरेपछि हामीलाई सस्तोमा भेंडा बेचे ।

Biplab (8)

त्यसकारण कुरा के हो भने आर्थिक कार्य पनि सँगसँगै लानुपर्छ । केवल बिजुली बालेरमात्रै भएन, बिल तिर्न सक्ने बनाउनु पर्‍यो । त्यही कालिकोटमा बिजुली निकाल्न भनेर पाइप, तार सबै लगेछन् । कर्मचारी, राजनीतिज्ञ र ठेकदार मिलेर नबलेको बिजुलीको पैसा जनताबाट उठाएर खाएछन् । त्यसपछि जनताले बिजुलीको तारलाई लुगा सुकाउने, पोललाई घरको निदाल बनाए छन् । यस्तो पनि हालत छ । त्यस्तो जनतालाई हामीले बाटो भयो, बिजुली भयो, तँ चुप लाग भन्न सक्दैनौँ । त्यसलाई भोग गर्न सक्ने क्षमता बढाउनु पर्‍यो । जनताको क्रयशक्ति बढाउनु पर्‍यो । संसारमा ठिकैठिकै देश पनि खुसीका साथ बाँचेका छन् । कतिपय सुनखानी, हिराखानी भएका देशहरू टाट पल्टिएका पनि छन् । त्यसकारण जनतालाई निजी जीवनमा आयस्रोत, उत्पादन वृद्धि गर्ने बढायौँ भनेमात्रै सबै भौतिक पूर्वाधारहरू जनताका लागि हुन्छन् ।

  • नेताहरूले किन निम्छरो प्रतिक्रिया दिन्छन् ?

यो एउटा सही कुरा हो तर, राजनीतिक हिसाबले हेर्दा गणतन्त्रसम्म, खुला समाजसम्म आउनु भनेको उहाँहरूकै योगदान हो । उद्योग धन्दा, कलकारखानासम्म आउनु, अर्थतन्त्रको क्षेत्रमा खुला नीति प्रवेश गर्नु भनेको अग्रगमन र प्रगति नै हो तर, योभित्र देखिने कतिपय क्रिया प्रतिक्रिया भनेको सही हुन् ।

  • तपाईंले राजनीतिलाई सेवा बनाउने कि पेसा ?

– यो दुई वटै हो । राजनीति भनेको पेसा पनि हो, सेवा पनि हो । शुद्ध सेवा भन्ने कुरा संसारमा छैन । कसैबाट केही नगरेर सेवा मात्रै गरेर, नमस्कार हजुर भन्दै हिँड्ने सेवा संसारमा काँही छैन । वर्ग रहेसम्म त्यो हुनेवाला पनि छैन । चोकमा दुई जना कुटाकुट गरिरहेका छन् भने के गरेको भनेर सोध्नु पर्छ । बढी गर्नेलाई यो नगर है पनि भन्नुपर्छ तर, अर्कोलाई पिर परेर कहाँबाट जान्ने पल्टेको भन्ने पनि आउला । त्यसकारण दुनियाँ सेवाको मात्रै होइन । पेसा पनि हो ।

पेसा भनेकोचाहिँ ठगेरमात्रै हुँदैन । आत्मनिर्भर हिसाबले उत्पादन गर्ने पेसा पनि हुन्छ । त्यो गर्नुपर्छ । समाजवादको  सिद्धान्त के हो भने शोषण नगरेर पनि पुँजीको उत्पादन हुन्छ र सबैलाई पुँजी उत्पादनमा सहभागी बनाएर समान र समृद्ध जीवन बनाउन सकिन्छ भन्ने आर्थिक मान्यता पनि हो । पुँजी त चाहिन्छ । कम्युनिस्ट भएर ओडारतिर फर्किने त होइन । केही नबनाउने भनेर जङ्गल र त्यहाँबाट गुफातिर जाने कुरा हुँदैन । पुँजी त चाहियो । पुँजीको चरित्र बदल्नु पर्‍यो । अर्काको खल्तीको पैसा तानेर धनी हुने कि पुँजी निर्माणको चरित्र बदल्न आफू पनि श्रममा सहभागी हुने भन्ने कुरा मुख्य हो । सबैले पुँजी निर्माण गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप

छुटाउनुभयो कि ?