शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय
सुन आयात

विदेशबाट फर्किनेले ७ महिनामा ल्याए १६३ किलो सुन

शुक्रबार, ०८ चैत २०८१, २२ : १७
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका पुरुषहरूले गहना बनाएर २५ ग्रामसम्म सुन ल्याउँदा भन्सार शुल्क लाग्दैन । महिलाले चाहिँ ५० ग्राम सुनको गहना ल्याउँदा भन्सार नतिरेरै लैजान पाउँछन् । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गहनाको पनि ‘वर्गीकरण’ गरेको छ । सुनको सिक्री, बेरुवा र बाला गहनामा पर्दैन । जर्ती राखेर आकार परिवर्तन गरिएको सुनलाई मात्र गहना मानिने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराम निरौलाले रातोपाटीलाई बताए । 

अर्थ मन्त्रालयले जारी गरेको ‘निजी गुन्टा, झिटी भारी सम्बन्धी आदेश अनुसार १ सय ग्रामसम्म सुन भन्सार तिरेर ल्याउन पाइन्छ । गहना र भन्सार तिरेर दैनिक १ किलो सुन त्रिभुवन विमानस्थलबाट आउने गरेको विमानस्थल भन्सार कार्यालयका उपसचिव निरौलाले बताए । उनले भने, ‘विदेशबाट फर्किनेहरूले भन्सार शुल्क तिरेर दैनिक १ किलो सुन लैजान्छन् ।’ 

२०८१ साउनदेखि माघ मसान्तसम्मको ७ महिनाको अवधिमा स्वदेश फर्किनेहरूले प्रक्रिया पूरा गरेर १६३ किलो ९७८ ग्राम सुन ल्याएका छन् । 

यस्तै राष्ट्रबैंकको अनुमतिमा बैंकहरुले कोटा प्रणालीमा सुन आयात गर्न सक्ने कानुनी व्यवस्था छ । जसअनुसार २०८१ साउन भन्दा पछि बैंकहरुले १ हजार ८८ किलो २५ ग्राम सुन आयात गरेको पाइएको छ । विमानस्थल भन्सारको रेकर्ड अनुसार पछिल्लो ७ महिनामा १ हजार ८८ किलो २५ ग्राम अर्थात् बैंकहरुले १० लाख ८८ हजार २५ ग्राम सुन आयात गरेका हुन् । 

वैध ढङ्गबाट सर्वसाधारणमार्फत १६३ किलो सुन भित्रिएपनि अवैध ढङ्गबाट समेत सुन ल्याउने प्रयास हुँदै आएका छन् । त्यस्ता अवैध सुन  विमानस्थलबाट पटक पटक बरामद हुँदै आएका छन् । 

  • गोल्ड डिटेक्टर राख्नेबारे अध्ययन 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वाकथ्रु गेट पार गरिसकेका ४ जना उज्बेकिस्तानका नागरिक फागुन १४ मा साँझ पक्राउ परे । पक्राउ गरेको करिब ३ घण्टाको प्रयासपछि आरोपीहरूले मलद्वारमा लुकाएर ल्याएको सुन प्रहरी अधिकृतहरूले बरामद गरेका हुन् ।

 ३ जना महिलाको शरीरबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र राठौरले रातोपाटीलाई बताए । ४१ वर्षीय तुरसुनोभ सारदोर चाहिँ सुनको मालिक भएको अनुसन्धान अधिकृतहरूको आशंका छ । सारदोरको साथमा सुन भेटिएन ।

सुन ल्याउनेमा उज्वेकिस्तानको तास्केन्त सिटीमा बस्दै आएका ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमिदा र ५४ वर्षीया मारिफालिभा दिलफुला छन् । तिनैजना फ्लाई दुबईको एउटै उडानमार्फत नेपाल आएका हुन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीका गर्न भनेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । विमानस्थल भन्सार कार्यालयका उपसचिव अर्जुन न्यौपाने नेतृत्वको टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ । विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराम निरौला भन्छन्, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेका छौँ ।’

सुन तस्करले भरियामार्फत दुबई र हङकङबाट सुन पठाउने गरेका छन् । सो सुन विमानस्थल भन्सारको वाकथ्रुु गेट कटेपछि मात्र समातिने गरेका छन् । एक्सरे मेशिन र वाकथ्रु गेटबाट कसरी सुन कारोबार गर्नेहरू सजिलै बाहिर आउन सक्छन् भन्नेबारे गम्भीर प्रश्न उठेपछि विमानस्थल भन्सार कार्यालयले सो समस्यालाई निराकरण गर्न उपाय खोजिरहेको छ । 

२०८० साउन ३ मा हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यसबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर सङ्गठित सुन तस्करीमा मुद्दा चल्यो । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएर भन्सार पास गराएसँगै भन्सार कार्यालयको चेकजाँचमा गम्भीर प्रश्न उठ्यो । त्यसपछि भन्सार जाँचपासमा सशस्त्र प्रहरीलाई पनि परिचालन गर्न थालिएको छ । अहिले भन्सारका कर्मचारीले ब्यागेज चेकजाँच गर्छन् । सशस्त्र प्रहरीले मेटल डिटेक्टर मार्फत यात्रुको शरीर चेकजाँच गर्ने गरेका छन् । 

चेकजाँच अझै परिष्कृत बनाउन विकसित एक्सरे मेशिन राख्नेबारे अध्ययन भइरहेको उपसचिव शान्तिराम निरौलाले बताए । उनले भने, ‘गोल्ड डिटेक्टर राख्नेबारे अध्ययन भइरहेको छ ।’ 

गोल्ड डिटेक्टर आयात गर्न भन्सार कार्यालयले विदेशी कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ । निरौला भन्छन्, ‘त्यसबारे अध्ययन र छलफल हुँदै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप

छुटाउनुभयो कि ?