शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय

चौतारीमा यसरी खोसियो राजेशको अध्यक्ष पद

शुक्रबार, ०८ चैत २०८१, १६ : ००
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन सुरु हुन दुई दिन अघि उपाध्यक्ष राजेश राई र एमाले प्रचार विभाग सचिव गणेश पाण्डेले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राईले १० औँ राष्ट्रिय महाधिवेशनमा आइपुग्दा आफूसँग जम्मा दुईवटा विकल्प रहेको पनि बताएका छन् । 

‘पहिलो, अध्यक्षको जिम्मेवारी लिएर नेतृत्व गर्ने । दोस्रो, संगठनबाट बिदा लिएर नयाँ मोर्चामा काम गर्ने’, राईले लेखेका छन् ।  अरू उपाध्यक्षहरूले अवसर पाइसकेको भन्दै अध्यक्षमा आफ्नो दाबेदारी स्वाभाविक र जिम्मेवारी न्यायपूर्ण हुने राईको दाबी छ । 

एमाले स्रोतका अनुसार उपाध्यक्ष राईले यस्तो घोषणा गर्दै गर्दा चौतारीको अध्यक्ष पद भने बालुवाटारले एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेलाई दिइसकेको बताइएको छ ।  उपाध्यक्ष राई त्यस विषयमा जानकार रहेको बताइन्छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको पुस्तकका लेखक समेत रहेका पाण्डेलाई २ दिन अघि नै बालुवाटारले अध्यक्षका लागि ग्रिन सिग्नल दिएको बुझिएको छ । 

नेकपा (एमाले) जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई बोलाएर अध्यक्ष ओलीले ६ चैत गते पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएका छन् । तर त्यो पद अध्यक्ष ओलीले १६ फागुन २०८१ मा अर्का उपाध्यक्ष राईलाई दिएका थिए ।

अध्यक्ष ओलीले १६ फागुन २०८१ मा उसैगरी नेकपा (एमाले) जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई बोलाएर राईलाई अध्यक्ष, पाण्डेलाई प्रचार तथा प्रकाशन विभागका सचिव बनाउन निर्देशन दिएका थिए । 

सोही अनुसार गत १८ फागुनमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको एमाले सचिवालय बैठकले पाण्डेलाई प्रचार विभागको सचिव पदमा नियुक्त गरेको थियो । एक पदाधिकारीका अनुसार यो निर्णयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न उठाएपछि अध्यक्ष ओलीले सबैको रिपोर्टिङका आधारमा राई अध्यक्ष र पाण्डे सचिव बनाउने निर्णय गरिएको बताएका थिए । 

तर उक्त सहमति र नेताहरूको प्रतिवद्धताविपरित राष्ट्रिय महाधिशेनको मुखमा  राईको अध्यक्ष पद खोसिएको छ । अध्यक्ष पद खोसिएपछि राईले चुनाव लड्ने घोषणा गरेका छन् । 

उनले भनेका छन्– ‘सङ्गठनका मेरो आदरणीय अध्यक्ष गणेश बस्नेतले पनि तिम्रो दाबेदारी स्वाभाविक छ भन्नुभएको छ । पार्टी नेतृत्वसँग कुरा गर्दा पनि त्यही भन्नुभएको छ । यस हिसाबले मलाई पार्टी नेतृत्वले केन्द्रीयताको अभ्यासबाटै अवसरको नेतृत्व दिनुहुन्छ भन्ने गहिरो विश्वास छ । दोस्रो अर्थात् जनवादको अभ्याससम्म जानै नपर्ने वस्तुगत अवस्था हो ।  उल्लेखित तथ्यबाट हेर्दा न्यायपूर्ण पनि यही हुनेछ ।’

अध्यक्ष पद खोसिएपछि राईले नेताहरूलाई भेटेर आफूमाथि अन्याय भएको बताएका छन् । चौतारीका उपाध्यक्ष पाण्डेलाई प्रचार विभाग सचिव बनाउँदा प्रेस चौतारी र एमाले पङ्क्तिमा राजेश राईलाई नै अध्यक्ष बनाउने तयारी रहेकै सन्देश गएको थियो । किनकि अरू दुई उपाध्यक्ष सविन प्रियासन र देविका घर्तिमगर नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा निर्वाचित भइसकेका छन् । सविन केन्द्रीय सचिव र देविका केन्द्रीय सदस्य छन् ।

अध्यक्ष पदका अर्का आकाङ्क्षी हुन्, महासचिव हिरामान लामा । तर लामा र राईबिच एक अर्कालाई छोड्न समस्या नरहेको बताउँदै आएका छन् ।

यसैबिच एमाले प्रचार विभाग सचिवमा मनोनयन भएका पाण्डेले सो पदबाट शुक्रबार राजीनामा दिएका छन् । उनले प्रेस चौतारी नेपालको आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने भन्दै राजीनामा दिएको बताएका छन् ।  

gg

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?