शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
दलितको घर भत्काइएको प्रकरण

नयाँ घरको कागज भन्दै मन्जुरीनामामा सहीछाप गराइएको खुलासा

राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक टोलीद्वारा अनुगमन
शुक्रबार, ०८ चैत २०८१, १३ : १९
शुक्रबार, ०८ चैत २०८१

सिराहा । सिराहाको औरहीमा आयोजना गर्न लागेको विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटना सर्वत्र आलोचित बनेपछि घटनालाई साम्य पार्न विभिन्न प्रयास हुन थालेको छ ।

घर भत्काउने कार्यको नेतृत्व गरेका महायज्ञ आयोजक समितिका कार्यकारिणी अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी यादवले घटनालाई ढाकछोप गर्न पीडित परिवारलाई बयान फेर्न लगाउनेदेखि कागजी प्रक्रिया मिलाउनेसम्मका प्रयास गरेका छन् ।

औरही गाउँपालिका–५ का दीपक मरिक (डोम)को घर भत्काएकै दोस्रो दिनको मिति राखेर अध्यक्ष यादवले मन्जुरीनामा लिइएको भन्दै एउटा कागजात प्रकाशमा ल्याएका छन् । तर पीडित दीपकले चैत ६ गते आफूलाई नयाँ घरको कागजात भनेर घर हटाउन मन्जुरीनामा दिएको विवरण लेखिएको कागजमा सही गर्न लगाइएको दाबी गरेका छन् । बुधवार बिहान ११ बजेतिर आफूले सो कागजमा हस्ताक्षर गरेको दीपकले बताए ।

पालिका अध्यक्ष यादवले नयाँ ठाउँमा घर बनाएर मात्रै दीपक मरिकको पुरानो घर भत्काएको जिकिर गर्दै आएका छन् । यद्यपि, पीडित परिवारका अनुसार पुरानै घरको काठ, बाँस र जस्तालाई नयाँ घरमा प्रयोग गरिएको छ ।

पालिका अध्यक्ष यादवले कृषि बजार स्थापनाका लागि सो क्षेत्रको जग्गा खाली गर्न पटक–पटक सूचना निकालेको र सहमतिमै जग्गा खाली गराइएको दाबी गर्दै आए पनि मरिक परिवारकै घर नजिकै रहेका गैरदलित समुदायको घर भने हटाइएको छैन ।

पालिका अध्यक्ष यादवकै पक्षले दीपक मरिककी पत्नी अनितालाई घरनजिकै सुँगुर–बङ्गुर पालेकाले महायज्ञस्थलमा समस्या हुने भएर पालिका अध्यक्षले उपलब्ध गराइदिएको नयाँ ठाउँमा सरेको भनेर बोल्न लगाएर भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो बिहीबार सार्वजनिक भएको हो ।

महायज्ञ आयोजक समितिका मान्छेले पालिकाको सफाइकर्मीको कामबाट निकालिदिने धम्की दिएर भिडियो बनाउन लगाएको दीपकको भनाइ छ । ‘म गाउँपालिकामा अनि पत्नी औरही अस्पतालमा सफाइको काम गर्छौँ । दुवैको तलब मासिक ३३ हजार रुपैयाँ हुन्छ । यसबाटै सात जनाको परिवार पाल्नुपर्छ,’ दीपकले भने, ‘कामबाट निकालिदियो भने गाह्रो हुन्छ भन्ने त्रासमा छौँ ।’

सफाइकर्मीको काम खोसिदेलान् भनेर नै आफूहरूले जबरजस्ती थातथलो छाड्नुपर्दासमेत खुलेर विरोध गर्न नसकेको उनले प्रस्ट पारे ।

दीपकको घर रहेको जग्गा ऐलानी हो । सोही जग्गामा मधेस प्रदेश सरकारले दुई वर्षअघि मात्र जनता आवास कार्यक्रम अन्तर्गत घर बनाइदिएको थियो । सो घर भत्काएर दीपकको परिवारलाई अहिले गल्फुधारको पश्चिमी भँगालोको माटो खनेर थुपारिएको करिब दुई धुर टाकुरामा बाँसले बारेको टहरो बनाएर राखिएको छ । यो जग्गा सुन्दर जनता माविको हो ।

‘उहाँहरूको टहरोमा खानेपानीका लागि कल छैन, बिजुली छैन,’ स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले भनिन्, ‘अछुत भन्दै महायज्ञस्थलबाट उठीबास गराइयो । घर रहेको ठाउँको माटो पनि ताछेर फालिएको छ । यो अपराधमा संलग्नमाथि कारबाही हुनुपर्छ ।’

पालिका अध्यक्ष यादवले जातीय छुवाछुतका कारण डोम परिवारलाई महायज्ञस्थलबाट जबरजस्ती हटाएको पुष्टि भए आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले मरिक परिवारका लागि खानेपानीको व्यवस्था गर्न चापाकल धसाउने तयारी भइरहेको पनि बताए । महायज्ञ समापन भएलगत्तै गाउँ कार्यपालिकाबाट निर्णय गरी उनीहरूका लागि पक्की घर बनाइदिने उनको भनाइ छ ।

दीपकका बुबा मोहिता डोमको परिवार करिब अढाई दशकअघि सिराहा नगरपालिका–१९, सन्हैठा गाउँबाट गल्फुधारको पूर्वतर्फ हुलाकी सडकको दक्षिणी किनारमा बसेको थियो । ‘गल्फुधारनजिकको जग्गा रहेका व्यक्तिले खाली गर्न भनेपछि लालाबालासहित करिब १० वर्षअघि औरही–५ मा उनीहरू पुगेका थिए,’ राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कबुली पासवानले भनिन् ।

औरहीमा दीपकको परिवार बसेको जग्गामा यसअघि स्थानीय बासिन्दाले सिनो फाल्थे । तर, हुलाकी सडक बनेपछि वरपर बस्ती बस्यो । सो ठाउँको जग्गा महँगियो । ‘त्यसपछि कृषि बजारीकरणको नाममा अहिले फेरि दलित परिवारको उठीबास लगाइयो;’ पासवानले भनिन् ।

डोम परिवारको घर भत्काएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले अनुगमन थालेको छ । आयोगका मधेस प्रदेश प्रमुख बुद्धनारायण सहनीले बिहीबार प्रेस नोट जारी गर्दै यज्ञस्थल नजिकैबाट दलितको घर हटाइएको भनिएको घटनाको अनुगमन थालिएको जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?