गृहमा हाजिर भएको १२२ दिनमा उपसचिव ठकुराठीले पाए जिम्मेवारी

काठमाडौँ । उपसचिव कैलाश ठकुराठीले गृह मन्त्रालयमा हाजिर भएको १२२ दिनमा बल्ल जिम्मेवारी पाएका छन् ।
गृह सचिव स्तरीय निर्णयबाट ठकुराठीलाई शुक्रबार बझाङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।
गत मंसिर ५ गते मन्त्रालयमा हाजिर भएपनि ठकुराठीलाई अहिलेसम्म अतिरिक्त समूह (जगेडा)मा राखिएको थियो । निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख)(१) अनुसार लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई ६० दिनभन्दा बढी समय राख्न मिल्दैन । तर, ठकुराठीले त्यसको दोब्बर भन्दा दुई दिन बढी समयमा मात्रै जिम्मेवारी पाएका हुन् ।
ठकुराठी मात्रै होइन गृह मन्त्रालयमा अझै हाजिर गरेको ६० दिनभन्दा बढी पुगेका दुई सहसचिव र ३ उपसचिव छन् ।
सहसचिव बन्धुप्रसाद बास्तोला र प्रेमप्रसाद भट्टराई तथा खेमराज ओझा, अमरदिप सुनुवार र सहदेव रायमाझीले मन्त्रालयमा हाजिर भएको ६० दिनभन्दा बढी पुग्दा पनि जिम्मेवारी पाएका छैनन् ।
रातोपाटीलाई प्राप्त सूचीमा सहसचिवद्वय बास्तोला २६ पुसमा र भट्टराई २७ पुसमा मन्त्रालयमा हाजिर भएका थिए । उपसचिवत्रय ओझा कात्तिक ४ गते, सुनुवार मंसिर १७ गते र रायमाझी पुस २७ गते मन्त्रालयमा हाजिर भएका थिए । त्यसपछि उनीहरूले अझै जिम्मेवारी पाएका छैनन् ।
मन्त्रालयमा दर्जनभन्दा बढी सहसचिवहरू जिम्मेवारीविहीन भएर बसेको लामो समय भएको छ । तर, कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीबाट बुधबारमात्रै तानिएका विश्वप्रकाश अर्याललाई एक दिनमै जिम्मेवारी दिइएको छ ।
उनलाई सिराहाका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा तानेर त्यहाँको प्रमुख जिल्ला अधिकारीमा पठाउने निर्णय गृहमन्त्री लेखकले शुक्रबार बिहान गरेका हुन् ।
मन्त्रालयमा लामो समयदेखि बास्तोला, भट्टराईसहित दीपकराज नेपाल, माधवप्रसाद पोखरेल, ईश्वरीप्रसाद अर्याल, सुरेन्द्र पौड्याल, बलराम रिज्याल, नारायणप्रसाद रिसालसहितका सहसचिवहरू जगेडामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण अपाङ्गता भएका क्षितिजलाई घरमै पुगेर नागरिकता
-
१२ बजे, १२ समाचार : समिति बैठकमा सांसदहरूबीच नोकझोकदेखि ३ प्रतिशत थ्रेसहोल्डको कुराले तर्सिए साना दलसम्म
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए
-
श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण
-
धनुषामा ४७७ केजी गाँजासहित ट्रक चालक पक्राउ
-
गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित वर्षा