शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनाका विविध पक्षहरूको मनोवैज्ञानिक प्रतिबद्धता

शुक्रबार, ०८ चैत २०८१, ११ : २६
शुक्रबार, ०८ चैत २०८१

१९औँ शताब्दीअघि सामान्यतयाः हात्ती, घोडा, जिराफ, गोरु, खच्चर, कुकुर लगायत जनावरलाई सवारीवाहनका रूपमा प्रयोग गरिन्थ्यो । १९औँ शताब्दीमा युरोपेली वैज्ञानिकले गरेका आविष्कारबाट इन्जिनमा आधारित सवारी–साधनको प्रयोग बढ्न थाल्यो । साइकल, डिजेल वा पेट्रोलले चल्ने मोटरसाइकल, चारपाङ्ग्रे सवारी–साधनको आविष्कारले वैश्विक मानव सभ्यताको विकासमा छलाङ नै मार्‍यो । अहिले विद्युतीय र हाइड्रोजनमा आधारित सवारी–साधनहरूको प्रयोग बढ्दो छ । यसरी मानव सभ्यता दुःखबाट भौतिक सुखतर्फ उन्मुख हुने क्रमलाई हाम्रा मन–मगजहरूले वरदान ठान्यो । हो पनि, सुखपछि फेरि दुःख आउँछ भन्ने सृष्टि–चक्रलाई पनि हाम्रै मन–मगजहरूले अभिशाप ठान्यो । स्विकारेको पनि छ । 

फेरि पनि यसबिचका हाम्रा चेतनशील विवेकहरू अल्छी बन्न थाले । चालै नपाई हाम्रा विवेकलाई लत बस्न थाल्यो । आफ्नो स्वस्थान र स्थानीय थातथलो वाक्कदिक्क लाग्न थाल्यो । हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जान मन लाग्यो । गुडेर जान मन लाग्यो । उडेर जान मन लाग्यो । स्वस्थानभन्दा परस्थान, परस्थानभन्दा समुद्रपारको स्थान हामी एसियावासीका लागि पनि नियति बन्न पुग्यो । 

सवारी दुर्घटना नेपालमा मात्र होइन चीन, भारत, अमेरिका, जापान, जर्मनी, इरान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, क्यानडा, कोरिया लगायत पृथ्वीभित्रका जुनसुकै देशमा घटिरहने तितो सत्य घटना हो । यसमध्ये हाम्रो देश पनि सवारी दुर्घटनाबाट मुक्त हुन सक्ने कुरै भएन तर न्यूनीकरण अवश्य गर्न सकिन्छ भन्ने दार्शनिक चिन्तन एक जीवित सत्य हो ।

हुँदाहुँदै पृथ्वीको जुनसुकै कुनामा बगेर (पानीजहाज) उडेर (हवाईजहाज), गुडेर (दुईपाङ्ग्रे, चारपाङ्ग्रे, रेलबाट) जान सकिन भयो । त्यसो हो भने बालकृष्ण समले ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ चाहिँ किन भनेका होलान् ? २१औँ शताब्दी जान लाग्दासम्म हाम्रा यी वैज्ञानिक आविष्कार, विज्ञान प्रविधिका मन–मस्तिष्कहरू अगाडि अगाडि प्राकृतिक मानव शरीर पछाडि–पछाडि दौडिन थाल्यो । यो बिचको ग्यापमा हाम्रा मन–मस्तिष्कले हाम्रो शरीरलाई सुरक्षा दिएर सवारीसाधनबाट सन्तुष्टि पाइरहेका छौँ कि असुरक्षाबाट असन्तुष्ट छौँ ? यसको उत्तर सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूका आफ्ना प्यारा आफन्तजनहरू वा सवारी दुर्घटनाका प्रत्यक्ष साक्षीसँग अवश्य हुनुपर्छ ।
सवारी दुर्घटना नेपालमा मात्र होइन चीन, भारत, अमेरिका, जापान, जर्मनी, इरान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, क्यानडा, कोरिया लगायत पृथ्वीभित्रका जुनसुकै देशमा घटिरहने तितो सत्य घटना हो । यसमध्ये हाम्रो देश पनि सवारी दुर्घटनाबाट मुक्त हुन सक्ने कुरै भएन तर न्यूनीकरण अवश्य गर्न सकिन्छ भन्ने दार्शनिक चिन्तन एक जीवित सत्य हो । 

सवारी धनीको मनोविज्ञानबाट हेर्दा : सवारीधनीको समस्या केवल उहाँहरूलाई मात्र थाहा छ । सवारी धनीको पनि आफ्ना जन्मदाता, परिवार बालबच्चा, आश्रितजनहरू हुनुहुन्छ । त्यस कारण आफूसँग भएको नगद वा चल, अचल सम्पत्तिबाट सवारी–साधन खरिद गरी सवारी चालकहरूको हातमा सुम्पिइरहनुभएको छ । कतिपय सवारी धनीहरूले आफ्नो घर, खेतबारी, सुन–चाँदी, हिरामोतीजस्ता चलअचल सम्पत्ति बैंकमा धितो राखेर वा ऋण काढेर सवारीसाधन खरिद गरी आफैँले चलाइरहनुभएको छ । चालकलाई चलाउन दिइरहनुभएको छ । 

लामो रुटमा मैले एकजना मात्र सवारी चालक राख्नु हुँदैन, कम्तीमा दुईजना सवारी चालकलाई आलोपालो गरी सवारीसाधनको जिम्मा दिनुपर्छ भन्ने सोच सवारी धनीहरूको हुन्छ । अर्कोतिर, सवारीचालकले सवारी धनीलाई विनादुर्घटना सवारीसाधनबाट प्राप्त आम्दानीको तोकिएको हिस्सा कमाएर दिइरहनुभएको छ । कहिलेकाहीँ सवारी धनीको मनमा लाग्ला कतै मेरो सवारीसाधनको कमाइको केही हिस्सा चालक, सहचालक मिलेर खाइरहेका छन् कि ! इमानदार चालकले कसरी त्यसो गर्लान् ? यो त मात्र सवारीधनी र सवारी चालकको शंकालु मनले उब्जाएको शंका, उपशंका पनि हुन सक्छ । कुरो विश्वासको पनि हो, त्यसकारण म सफल व्यवसायी, उद्यमी बनिरहेको छु । 

सवारीसाधन मर्मतकर्ता, कारखानाका मिस्त्री, प्राविधिकहरूको मनोविज्ञानबाट हेर्दा : मेरो सेवाग्राहीको सवारीसाधनको प्राविधिक पक्ष कहाँ–कहाँ त्रुटि छ, कहाँ–कहाँ बिग्रेको छ, त्यहाँ त्यहाँ राम्रो परीक्षण, चेकजाँच गरी मर्मत सम्भार गरिदिनुपर्छ । म एक व्यावसायिक प्राविधिक मानिस भएकाले मैले बनाएको सवारीसाधनबाट अप्रिय घटना नघटोस्, टुटफुट नहोस्, दुर्घटना नहोस्, कसैको ज्यान नजाओस् भन्ने मेरो दृढ प्रतिबद्धता हो । 

यातायात व्यवसायी संघ, संगठन, संस्था, समितिहरूको मनोविज्ञानबाट हेर्दा : हामी पनि आफ्ना सवारीधनी, व्यवसायीको सामूहिक सौदाबाजी, बिमा सुरक्षा, विविध सुरक्षा, गुण–दोष छुट्याएर निष्पक्ष रूपमा काम गर्ने गुणकर्मसँग प्रतिबद्ध छौँ । 

सडक इन्जिनियर, ठेकदारहरूको मनोविज्ञानबाट हेर्दा : सरकारले तोकेको मापदण्ड अनुसार मैले बनाएको सडकबाट कुनै पनि मानवीय क्षति नहोस् । हरेक घुम्ती तथा मोडहरूलाई फराकिलो गरी निर्माण गर्न म प्रतिबद्ध छु । ती सडकहरू वातावरणीय जोखिमबाट मुक्त हुन सकुन्, सडक दुर्घटना ननिम्तिने गरी भौतिक पूर्वाधार विकास र सडक संरचना सञ्जाल निर्माण गर्न म पेसागत रूपमा प्रतिबद्ध र अनुशासित छु । 

सवारीचालक, सहचालकले खाजा, खाना खाने होटल व्यवसायीको मनोविज्ञानबाट हेर्दा : मेरा सेवाग्राहीको स्वस्थ, स्वच्छ शरीर अनि दिमाग रहोस् । मादक पदार्थ, नशालु पदार्थरहित तागत दिने शक्तिबद्र्धक एवं सफा, ताजा खानाहरू खुवाउन सकुँ ताकि उहाँहरू लामो बाटो पार गर्न सकुन् भन्ने व्यावसायिक मनोविज्ञानप्रति हामी पनि प्रतिबद्ध छौँ । 

सवारी चालक, सहचालकको मनोविज्ञानबाट हेर्दा : सडकमा सबैभन्दा धेरै मेरो जिम्मेवारी छ । मेरो लापरबाहीले मेरै र अरुको पनि ज्यान जान सक्छ । मेरो सवारीधनीको धनमालको क्षति हुन सक्छ । त्यस कारण विनादुर्घटना आफ्ना सवारी धनीको सपना; आफू, आफ्ना जन्मदाता, श्रीमती, छोराछोरी, आश्रितजनको सपना साकार पार्न सवारी चलाइरहेको छु । छोराछोरीको पढाइ शुल्क पनि यही कमाइले तिरी एक दिन उनीहरूलाई ठुलो मान्छे बनाउनेछु । सभ्य, शिक्षित, सुसंस्कृत बनाउनेछु । त्यो सम्झेर नियमपूर्वक मैले सवारीसाधन गुडाउनुपर्छ । गुडाइरहेको पनि छु । 

परिवारले पनि सवारी चालक, सहचालकको दुःख, सुखमा साथ दिएर उहाँहरूको स्याहारसुसार गरिरहनुपर्छ भन्ने मनोविज्ञानबाट टाढा हुनुपरेको छैन । त्यसकारण म सफल व्यावसायिक सवारी चालक बनिरहेको छु । यात्रुबाट पनि माया पाइरहेको छु । त्यसकारण मेरो सवारीसाधनको किला पुर्जा, नट, टायर, स्प्रिङपत्ता लगायत सम्पूर्ण प्राविधिक पक्ष ठिकठाक छ, त्रुटि छैन, राम्रो कन्डिसनमा हाँक्न मिल्नेछ भन्ने यकिन गरिरहेको हुन्छु । म पनि आफ्नो शारीरिक, मानसिक अवस्था कस्तो छ भन्ने हेक्का बारम्बार राखी मेरा आँखा, कान, नाक, जिब्रो र छाला यी पञ्चेन्द्रीय अङ्गहरूको समयसमयमा स्वास्थ्य परीक्षण गरी ठिक दुरुस्त र स्वच्छ राख्छु । मुख, मन, मुटु, मस्तिष्कलाई ठिकठिक तरिकाबाट सन्तुलन नगुमाई म सवारी हाँक्छु भन्ने अवचेतन मनप्रति म सचेत छु । बाटोघाटो, सडक, स्थलगत स्थानहरूको राम्रो पहिचान गरी सवारी चलाइरहेको छु । छिटो टिप लगाउन म जथाभावी लेन क्रस कहिल्यै गर्दिनँ । ट्रफिक सिग्नल, सवारीनियम, सवारी कानुनको सधैँ पालना गरिरहेको छु । आफ्ना यात्री, सडकमा गुड्ने सहकर्मी र तिनका यात्री, सडकछेउमा हिँड्ने पैदलयात्री र जनावरको सधैँ सम्मान गरी सचेतनापूर्वक सीमित गतिमा सवारी चलाउँछु । म हतार नगरी जेब्राक्रसमा हिँड्ने पैदलयात्रीलाई आरामले बाटो काट्न दिन्छु । सवारी चलाउँदा मोबाइलको प्रयोग गर्दिनँ । सँगै बसेका यात्रुसँग कुरा गर्दै सवारी चलाउँदिनँ । सडकमा गुड्ने अन्य सवारीसाधनहरूबिचको स्केल, पारस्परिक दूरी राख्न प्रतिबद्ध छु ।

यात्रुको मनोविज्ञानबाट हेर्दा : सुरक्षित यात्राबाट लक्षित गन्तव्यसम्म पुग्न पाएँ भने आफ्ना जन्मदाता, परिवारजन, आश्रितजन, साथीभाइ भेट्छु । व्यवहार टार्छु । यो काम फत्ते गर्छु । लागेको भाडा तिरी सवारीचालक, सहचालकसँग मिठो बोलीवचन, व्यवहार गरी यात्रा गर्छु । चालक गुरुजी, गुरुआमा, सहचालक भाइ, बहिनीहरूलाई धन्यवाद आजको सफल अनि शुभ यात्राका लागि । जोसुकैले जेसुकै भनिरहोस् तर चालक र यात्रुबिचको सुमधुर मिलाप र तालमेल अन्तिम सत्य हो । 

मोटरसाइकल, स्कुटी, मोपेड प्रयोगकर्ता चालकहरूको मनोविज्ञानबाट हेर्दा : म सडकको सबैभन्दा असुरक्षित सवारीसाधन चलाइरहेको छैन । मैले सडकमा अलिकति पनि खालि ठाउँ पाउनासाथ ओभरटेक गरेर वा छिरेर वा गलत तरिकाबाट लेन क्रस गरेर सवारी हाँक्ने छैन । तीव्र गतिमा सवारी हाँक्ने छैन । ठुला आकारका सवारीसाधनको बिच–बिचमा घुसेर, च्यापिएर सवारी–साधन चलाउने छैन ।

पैदलयात्रीको मनोविज्ञानबाट हेर्दा : सडकमा हिँड्दा छेउ लागेर हिँड्ने, जेब्राक्रस, अकासेपुल, अन्डरग्राउन्ड वे आदिबाट हिँड्नु म सुरक्षित रूपमा सडक प्रयोगकर्ता हुँ भन्ने मनोविज्ञान पैदलयात्रीको हुन्छ । सडक नियमको पूर्ण पालना गर्ने मेरो गुणधर्म हो भन्ने पैदलयात्रीको मन हुन्छ । सुरक्षित रूपमा सडक प्रयोग गरी घर पुगी आफ्ना जन्मदाता, परिवारजन, आश्रितजन, साथीभाइसँग भेट्छु । गन्तव्य पूरा गरी लिएको काम फत्ते गर्दै घर पुग्छु भन्ने पैदल यात्रीको मनोविज्ञान हुन्छ ।

जनावरहरूको मनोविज्ञानबाट हेर्दा : अक्सर सामुदायिक कुकुरहरू, सडक कुकुरहरू, सडकमा छोडिएका घरपालुवा जनावरलाई पनि सवारी साधनको डर छ । यसबाट सवारी चालकलाई पनि सडकमा गाडी गुडाउँदा अप्ठेरो परिरहेको छ । अक्सर कुकुरले पनि सकेसम्म जेब्राक्रसबाटै बाटो काटिरहेको देखिन्छ । सवारी चालकले सडकका ती जनावरलाई पनि बचाउन चाहन्छ नै ! त्यसो त सडकमा कमिलो देखे पनि त्यसको प्राण लिने मन हाम्रा नेपाली चालकमा हुँदैन । यो शाश्वत सत्य हो ।

ट्राफिक प्रहरीको मनोविज्ञानबाट हेर्दा : सडकमा गुड्ने सवारीसाधनहरूलाई नियमानुसार विनादुर्घटना सञ्चालन, रेखदेख, नियन्त्रण, नियमन र साथ–सहयोग गर्ने जिम्मा ट्राफिक प्रहरीको हो । त्यसकारण सरकारले दिएको सीमित तलब भत्ताको भरपुर उपयोग गरी जोखिम मोलेर सडकमा उभिएर यसरी काम गरिरहेको छु । म लगायत मेरा पनि जन्मदाता, परिवारजन, आश्रितजन, साथीभाइ हुनुहुन्छ । त्यसकारण मेरा लागि सडकमा सुरक्षित ट्राफिक पोस्ट नभए पनि, सडक पेटीछेउमा अत्याधुनिक सुविधासम्पन्न ट्राफिक पोस्ट नभए पनि मेरा लागि कार्यस्थलमा स्वच्छ खानेपानीको व्यवस्था नभए पनि, जाडो छल्ने वा घामपानी वा धुलो धुँवा छल्ने कार्यस्थलमा पर्याप्त सुरक्षा नभए पनि राज्यले दिएको ड्युटी गर्ने मेरो पहिलो जिम्मेवारीबाट म वञ्चित हुन सक्दिनँ ।

देश, जनता, सेवाग्राहीको सेवा गर्नु मेरो पहिलो गुणधर्म हो । सवारीधनी, सवारीचालक सहचालक, यात्रु, पैदलयात्रु सबैको सुरक्षा दिने मेरो पहिलो कर्तव्यबाट म विमुख हुन सक्दिनँ । सडक सुरक्षा, सडकमै शान्ति सुरक्षा कायम राख्नका लागि सडक दुर्घटना हुन नदिनु वा न्यूनीकरण गर्नु, कम क्षतिमा सार्वजनिक सेवा प्रवाह गर्नु मेरो गुणकर्मलाई म भुल्न सक्दिनँ भन्ने मनोविज्ञान ट्राफिक प्रहरीको हुन्छ । 

सरकारको मनोविज्ञानबाट हेर्दा : सवारीसाधन अनुमतिपत्र प्रदान गर्दा सवारीचालकको उमेर निर्धारण, अनुभव, क्षमता, मेडिकल वा स्वास्थ्य परीक्षण, योग्यता निर्धारण आदिको राम्रो परीक्षण गरी त्यसबाट उत्तीर्णलाई मात्र सवारीसाधन अनुमतिपत्र दिने सोच हरेक सरकारको हुन्छ । सुरक्षित सडक तथा पूर्वाधार संरचना निर्माणतर्फ पनि सरकार चिन्तित छ । सरकारको दायित्व सम्पूर्ण जनता, सेवाग्राही, करदाताहरूको सुरक्षाप्रति जिम्मेवार रहेको हुन्छ । आखिर सबै पक्ष, सबैजना, सबै–सबै कुराहरू ठिकठाक रहेछन् । तैपनि छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ । शुभयात्रा । 

संसद, सरकारमा सडक, सवारीको मनोविज्ञान : सडकमा सवारी मनोविज्ञान सबै ठिकठाक रहेछ ! ठिकठाक छ भने किन सडक दुर्घटना न्यूनीकरण हुन सकिरहेको छैन ? यो गम्भीर अनुसन्धानको विषय नबन्ने कुरै भएन ।

के नीतिगत परानुभूतिमा त्रुटि छ ? छ भने त्यो त्रुटि सरकारको हो अथवा राज्यको ? राज्यको हो भने हामी सम्पूर्णको मनोविज्ञान त्यसमा जिम्मेवार छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको सबैभन्दा ठुलो जिम्मेवारी र दायित्वपूर्ण मनोविज्ञान छ । संसदीय पूर्वाधार विकास समिति अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पनि ठुलो जिम्मेवारी र दायित्व छ । यो मन्त्रालयले देशका विभिन्न भौगोलिक क्षेत्रहरूलाई राष्ट्रिय यातायात सञ्जालमार्फत जोडेर देशको आर्थिक र सामाजिक विकासलाई अभिवृद्धि गर्ने जिम्मेवारी लिएको छ । सवारीसाधन, सडक प्रविधिको विकास अध्ययन, अनुसन्धान गर्ने काम पनि यो मन्त्रालयको हो । सवारी यातायात तथा सवारीसाधनसम्बन्धी योजना, नीति तथा कार्यक्रम तयार गर्नु र यसको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र निरीक्षणजस्ता कार्य गर्नु यो मन्त्रालयको जिम्मेवारी हो । 
सडक दुर्घटना न्यूनीकरणका लागि यस मन्त्रालयले आफ्नो मातहतका विभाग, निर्देशनालय, कार्यालयहरूलाई प्राविधिक रूपमा दोहोरो समन्वय, सहजीकरण गरी थप जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाउन सक्ने विषय हो यो । सडक दुर्घटना न्यूनीकरण गर्न नसके नैतिकताको मनोविज्ञानका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रीले समेत आफ्नो पदबाट राजीनामा दिन सक्नेसम्मको गम्भीर विषय हुन सक्छ यो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शैलेन्द्रबहादुर थापा
शैलेन्द्रबहादुर थापा
लेखकबाट थप