१३२ केभी प्रसारण लाइन चाँडो नबने कर्णालीमा विद्युत् समस्या झन् बढ्छ

०४५ सालमा तत्कालीन राजा वीरेन्द्र वीरेन्द्रनगर आउँदा सुर्खेतमा ३३ केभी प्रसारण लाइन तानिएको हो । उक्त लाइन बाँके जिल्लाको कोहलपुरदेखि तत्कालीन क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरमा जोडियो । प्रसारण लाइनको ६० प्रतिशत एरिया जङ्गलमा पर्छ । बाँके, बर्दिया राष्ट्रिय निकुञ्जदेखि वीरेन्द्रनगरसम्म आउँदा ठाउँ–ठाउँमा जङ्गल छ । बबईमा पुरानो बाटोबाट तोनिएको थियो, जुन अहिले पूरै जङ्गल भइसक्यो ।
निकै पुरानो संरचना भइसकेकाले त्यसको मेन्टनेन्स गर्दागर्दै अहिलेसम्म चलाइएको अवस्था रहेछ । उक्त संरचनाको अवस्था जीर्ण बन्दै गइसकेको छ । निकुञ्जमा रुख ढल्ने, बेलाबेला हात्ती लगायतका जनावरका कारण पोल ढल्ने समस्यालाई मेन्टनेन्स गर्दै अहिलेसम्म जेनतेन चलिरहेको अवस्था छ । त्यो बेला (०४५ सालतिर) वीरेन्द्रनगरलाई भनेर मात्रै बालिएको बत्ती हो सायद । अहिले पूरै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, सल्यान, जाजरकोट, रुकुम हुँदै डोल्पासम्म यही लाइनबाट विद्युत् लाइन विस्तार गरेर बाल्नु परेको छ ।
हुम्लामा सडक सञ्जाल नपुगेकाले राष्ट्रिय ग्रीड नपुगेको भनिन्छ । अहिले सञ्चालित प्रसारण लाइनको क्षमता भनेको १५ मेगावाटको हाराहारीमा हुन्छ । यो भनेको सुरुमा लाइन जडान गर्दाको बेलाको हो । कन्डक्टर पुरानो हुँदै गएपछि क्षमता घट्दै जान्छ । तर डिमान्ड भने बढिरहेको हुन्छ । अहिले यसले बढीमा १२ मेगावाटसम्मको विद्युत् प्रवाह गरिरहेको छ । जबकि अहिले वीरेन्द्रनगरको जनसंख्या नै झण्डै ५ लाख हाराहारी छ भने उपभोक्ता पनि ह्वात्तै बढे । सुर्खेतमा मात्रै ६२ हजार ५ सय बराबर उपभोक्ता छन् ।
वीरेन्द्रनगरको १५ नम्बर वडामा विद्युतीकरण भएको छैन । पश्चिम सुर्खेतका चौकुने, बराहतालका तरङ्गा लगायतका गाउँमा विद्युतीकरण हुन सकेको छैन । तर पनि वीरेन्द्रनगर सहरकै विद्युत् लोड अहिले १३ मेगावाटसम्म पुग्छ । यही अवस्थमा फेरि कर्णालीका अन्य जिल्ला तथा गाउँमा विद्युत् पुर्याउँदा लोड धान्नै नसक्ने अवस्थामा पुग्यो तर डिमान्ड भने बढेको बढ्यै छ ।
यही लाइनलाई पुनः सुधार गर्ने र कन्डक्टर अर्को हाल्ने हो भने पनि १५–१८ मेगावाट मात्र विद्युत् आउने हो । जसका कारण नागरिकको माग र विद्युत् क्षमता आकाश–पाताल फरक हुन्छ । सबैको लोड पर्ने भनेको ३३ केभीलाई हो । वैशाख, जेठमा लोड निकै बढ्छ । लोड बढी भएरै तार छिन्ने समस्या आउने हो । जसका कारण छिनछिनमा बत्ती जाने, ‘लो–भोल्टेज’ हुन्छ ।
अघिल्लो पटक हामीले गर्मीकै समयमा १/२ दिन बिराएर तार छिन्यो । विद्युत् अनियमित हुँदा जनता आक्रोशित हुन्छन् । त्यसो हुँदा हामीले सामाजिक सञ्जालमै पूर्वजानकारी गराउने गरेका छौँ । पिक आवरमा कन्डक्टरको एक्सेस गरिएको हो तर धान्न सकेन । क्यापासिटी बढाउँदा कन्डक्टर हाई भोल्टेजमै जानुपर्छ । त्यो ३३ केभीबाट सम्भव हुँदैन । हामीले कैलालीको चिसापानी हुँदै पश्चिम सुर्खेतको बाबियाचौरमा आएको ३३ केभीलाई जडान गरेका छौँ । जसले गर्दा गत वर्षजस्तो तार छिन्ने समस्या अहिले छैन । पश्चिमबाट आएको लाइनलाई वीरेन्द्रनगरमा थप गरेर लोड केही घटाएका छौँ । हामीसँग भएको कन्डक्टरको क्यापासिटी भन्दा डिमान्ड धेरै बढिसक्यो । त्यसो हुँदा हामीलाई अर्को विद्युत् लाइनको आवश्यकता भइसकेको छ ।
- संरचनागत अवस्था
तार धेरै पुरानो भइसक्यो । ठाउँ–ठाउँमा बिग्रे–भत्केकै छ । त्योभन्दा पनि पोलको समस्या बढी छ । निकुञ्ज क्षेत्रभित्र रुख ढल्दा पोलहरू बिचबिचमा भाँचिएका छन् । जस्तो चार वटा पोलमा बिचमा एउटा पोल भाँचिएको छ भने त्यहाँ समस्या बढी हुन्छ र विद्युत् अवरुद्ध हुन्छ । सुरुमा ठाउँ पत्ता लगाउनै हम्मे पर्छ । कहिलेकाहीँ रातको समयमा कर्मचारी गएका हुन्छन् । हामीलाई चाँडो बत्ती सञ्चालनमा ल्याउँ भन्ने हुन्छ । त्यो अवस्थामा कर्मचारीहरूले भाँचिएको पोललाई रिप्लेस गर्दै तत्काल लाइन सञ्चालन गर्नुहुन्छ । त्यसले गर्दा स्पान बढ्ने र लाइनको दुरी लामो हुन्छ । फेरि त्यो दीर्घकालीन पनि हुँदैन । अहिले पनि हेर्न जाने हो भने बिचबिचमा त्यो देखिन्छ । सुधार्नका लागि पूरै लाइन लामो समय बन्द गरेर काम गर्न त सकिन्छ तर वैकल्पिक व्यवस्था नभएसम्म त्यो खाले सुधारको काम सम्भव छैन । अझ जङ्गलभित्र त निकै गाह्रो छ ।
सडक एरियातिरको विद्युत् संरचना त्यत्ति बिग्रेको छैन, जङ्गलभित्र निकै दयनीय छ । म आफैँ पनि कतिपटक कर्मचारीसँगै निकुञ्जभित्र गएको छु । अवस्था निकै समस्याग्रस्त छ । जङ्गलमा बाटो पनि नहुने, जतिसक्दो लाइन छिटो चलाउँ भन्ने हुँदा पूर्ण सुधार गर्न गाह्रो छ ।
अबको केही वर्षभित्र १३२ केभी प्रसारण लाइन सञ्चालनमा नआउने हो भने अहिलेको पुरानो ३२ केभी पूर्ण रूपमा ध्वस्त हुन्छ । अहिले पनि पश्चिमबाट लाइन जडान नगरेको भए दैनिक लाइन काटेर चलाउनुपर्ने हुन्थ्यो । सबैलाई चाहिएजति विद्युत् दिने हो भने कन्डक्टर छिन्न थालिहाल्छ । अहिलेकै अवस्थामा पश्चिमको लाइन छुटाउने हो भने कन्डक्टर छिन्न थाल्छ ।
थोरै वेगमा हावा चल्दा पनि किन विद्युत् अवरुद्ध भन्ने प्रश्न आउँछ । हाम्रो लाइनमा सानो हाँगा वा अरु केहीले छोयो भने पनि लाइन ‘ट्रीक’ हुनैपर्छ । त्यो विद्युत् लाइनको राम्रो अवस्था नै हो । हाँगाले छोयो, केही भयो भने लाइन बन्द हुनुपर्छ । त्यही किसिमको हाम्रो सेटिङ हुन्छ ।
जङ्गलमा विद्युत लाइनको ६–७ मिटर वरपर रुख छैनन् । यद्यपि हाम्रो लाइन १०–११ मिटर हाइटको छ । तर रुखको उचाइ निकै अग्लो हुन्छ । हावा चलेपछि हाँगाहरू माथिमाथिबाट उडेर तारमा पर्छ । त्यसो हुँदा लाइन अवरुद्ध हुन्छ । निकुञ्जमा हाँगाहरू पनि काटकुट गर्न समस्या हुन्छ । त्यहीँ गएर लाइन सपार्नुपर्ने अवस्था आयो भने समय लाग्छ । धेरै जङ्गल क्षेत्र भएकाले पनि यहाँ समस्या भएको हो । जङ्गल क्षेत्रमा लाइन अवरुद्ध हुँदा पुनः सञ्चालन गर्न धेरै समय लाग्छ ।
लाइन जानेबित्तिकै हामी समाधानको प्रयास गर्छौं । यहाँबाट नभए रामघाट सब–स्टेसनमा प्रयास गर्छौँ । त्यहाँ पनि भएन भने हर्रेमा र त्यहाँ पनि भएन भने उतै जङ्गलमा समस्या आयो भन्ने हुन्छ । त्यसपछि बाँकेको चिसापानीमा सम्पर्क गरेर लाइन भए÷नभएको चेक हुन्छ । त्यहाँ छ भन्ने भयो भने त्यही बिचको एरियामा समस्या आयो भन्ने निश्चित भएर फल्ट क्षेत्र खोज्दै जानुपर्छ । जङ्गलमा त एक्लै छिर्न गाह्रो हुन्छ, गाडी चाहियो, सामानहरू लिनुपर्यो । हिँडेरै टिम लिएर जाँदा र सपार्न धेरै समय लाग्ने हुँदा लाइन सञ्चालनमा ढिला हुन्छ ।
गर्मी समयमा बढी विद्युत् अवरुद्ध हुन्छ । त्यो बेला बढी हावाहुरी लाग्ने र भोल्टेज डाउन हुन्छ । हामीले टाढाबाट लाइन ल्याएका छौँ । त्यो बिचमा कुनै हाइड्रो पावर छैन, त्यसमाथि उद्योग छन् भने भोल्टेज डाउन हुने सम्भावना हुन्छ । यस्तै, मोटर, पङ्खादेखि विद्युतीय सामानहरू धेरै चल्छन् । धेरै लोड बढ्न थाल्यो भने भोल्टेज डाउन गराइदिन्छ र सिस्टम नै जान्छ । अनि ग्रीड ‘अफ’ हुन्छ ।
गर्मी याममा मेन्टनेन्स पनि बढी नै गर्नुपर्छ । लोड बढ्ने हुँदा ट्रान्सफरमरमा पनि समस्या आउँछ । जाडो महिनामा त्यस्तो समस्या हुँदैन । जाडोमा मान्छेले उज्यालोका लागि मात्र बत्ती बाल्छन्, अरु प्रयोग खासै नहुँदा विद्युत् आउने÷जाने समस्या हुँदैन । अहिले मान्छे मोबाइलदेखि नेट, इन्टरनेटमा बढी अग्रसर छन्, गर्मी पनि धेरै हुने हुँदा पङ्खा, फ्रिज, एसी चलाइरहनुपर्ने अवस्था हुन्छ ।
यदि अहिले हामीले पश्चिम क्षेत्रबाट ३३ केभी नजोडेको भए जाडो याममा पनि धान्न सक्ने अवस्था थिएन । वीरेन्द्रनगरमा जति आवश्यक पर्ने हो, त्यसको ४० प्रतिशत उताबाट ल्याएका छौँ । त्यसले केही राहत भएको छ । त्यसले यताको लोड अलि घटाउन मद्दत गरेको छ । कन्डक्टर, जम्पर छिन्ने समस्यामा थोरै कमी आएको छ । तर उक्त लाइनको अवस्था पनि बेहाल नै छ । अहिले पनि भोल्टेजमा समस्या छ ।
सुर्खेतमा जस्तो समस्या अन्त मैले देखेको छैन । मेहनत धेरै छ, अनि गाली पनि धेरै नै खाइएको छ । विद्युत् अवरुद्ध हुँदा जनताले गाली गर्छन् । अन्त भोल्टेजका समस्या हुन्छ, तर लाइनमा हुँदैन । यहाँ त लाइनदेखि भोल्टेज, निकुञ्जको समस्या छ । अझ विद्युतीकरण पनि गर्नुपर्ने छ । संरचनागत अवस्था पनि जसोतसो चलाउनुपर्ने खालका छन् । मेरो अनुभवमा अहिलेसम्मकै फरक शाखा हो सुर्खेत । कर्मचारीले २÷३ दिन नसुतेर पनि काम गर्नुभएको छ । तर सधैँ यसरी त चल्दैन ।
- समाधान के ?
अबको केही वर्षभित्र १३२ केभी प्रसारण लाइन सञ्चालनमा नआउने हो भने अहिलेको पुरानो ३२ केभी पूर्ण रूपमा ध्वस्त हुन्छ । अहिले पनि पश्चिमबाट लाइन जडान नगरेको भए दैनिक लाइन काटेर चलाउनुपर्ने हुन्थ्यो । सबैलाई चाहिएजति विद्युत् दिने हो भने कन्डक्टर छिन्न थालिहाल्छ । अहिलेकै अवस्थामा पश्चिमको लाइन छुटाउने हो भने कन्डक्टर छिन्न थाल्छ ।
अछामबाट कालिकोट आएको लाइनले पनि केही राहत भएको छ । विगतको भन्दा लोडसेडिङ यो वर्ष थोरै भए पनि घट्छ । तैपनि समस्या नै हुन्न भन्दिनँ । त्यसो हुँदा दीर्घकालीन समाधान भनेको १३२ केभी नै हो । उक्त लाइन सञ्चालनमा आएको खण्डमा क्यापासिटी २०० सम्म पुग्छ । त्यसले पनि हाम्रो अवस्था कोहलपुर, नेपालगञ्जको जस्तो बनाउँछ ।
अत्यधिक गर्मीको समयमा त्यहाँ पनि भोल्टेज कम हुन्छ । त्यो पनि हल गर्नका लागि भेरी बबईको हाइड्रो पावर सञ्चालनमा आउनुपर्छ । जुन बेला भोल्टेजको समस्या हुन्छ, त्यो बेला हाइड्रो पावरबाट जडान गरी भोल्टेज बढाउन सकिन्छ । जस्तो बर्खाको समयमा दैलेखमा भएको हाइड्रो पावरले त्यहाँ भोल्टेजको समस्या हुन्न । गर्मीको समयमा खोला सुक्ने हुँदा त्यहाँ समस्या हुन्छ तर कोहलपुर–सुर्खेतमा त्यस्ता हाइड्र«ो छैनन् । भेरी बबई आएको खण्डमा धेरै राहत दिन्छ ।
(नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सुर्खेतका प्रमुख, इन्जिनियर अशोक लोहनीसँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीले ठप्प भएको युरोपकै व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु
-
सूर्यग्रहण लाग्ने दिन चैत १६ मा शनिग्रह विशेष पूजा हुने
-
भारतीयको रोजाइमा नेपाली हस्तकला र विजयसालका भाँडा
-
पूर्ण अपाङ्गता भएका क्षितिजलाई घरमै पुगेर नागरिकता
-
१२ बजे, १२ समाचार : समिति बैठकमा सांसदहरूबीच नोकझोकदेखि ३ प्रतिशत थ्रेसहोल्डको कुराले तर्सिए साना दलसम्म
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए