आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : जलसरोकार

‘लो–भोल्टेज’ले कर्णाली मारमा, तेस्रो मुलुकमा विद्युत् बेच्दैछ राज्य

शुक्रबार, ०८ चैत २०८१, १० : २१
शुक्रबार, ०८ चैत २०८१

सुर्खेतमा बत्तीको समस्या ६० कै दशकदेखिकै हो । समयमै यसलाई सम्बोधन गर्न नसक्दा जटिलता बढ्दै गएको छ । त्यो बेला कहिलेकाहीँ विद्युत् जान्थ्यो तर अहिले कुनै ठेगान नहुने अवस्थामा पुग्यो ।

सुरुमा यहाँको झुप्रा खोला रहेको हाइड्रो पावरबाट उत्पादित बत्तीले सीमित क्षेत्र धान्ने गरेको थियो । तत्कालीन राजा वीरेन्द्रनगरमा सवारी हुने भएपछि हतार–हतार कोहलपुर–सुर्खेत ३३ केभी विद्युत् लाइन जोडियो । राष्ट्रिय प्रसारण लाइन नै जोडिएपछि स्थानीय हाइड्रोको विद्युत् बल्न छाड्यो ।

३३ केभी लाइन वीरेन्द्रनगरमा आउँदा त्यो बेलाको जनसंख्यालाई मध्यनजर गरेर विद्युत् आपूर्ति गरिएको थियो । त्यो बेला यहाँको जनसंख्या निकै कम थियो । ५० को दशकपछि जनसंख्या ह्वात्तै बढ्न थाल्यो ।

६० को दशक सुरु भएसँगै होटल तथा पसलहरू बढ्न थाले । घर विस्तार भए । अनि बिस्तारै लोडसेडिङ हुन थाल्यो । अझ ७० को दशक र प्रदेश राजधानी भएपछि सबैको केन्द्रविन्दु वीरेन्द्रनगर बन्यो । मान्छेहरू सबैतिरबाट यहाँ जम्मा हुन थालेपछि ठु–ठुल्ला होटेल, साना तथा मझौला उद्योग बन्न थाले । खपत बढेसँगै विद्युतको ठेगान हुन छाड्यो । घण्टा र दिन हैन, सेकेण्डको भरमा बत्ती जाने÷आउने हुन थाल्यो ।

०४५ सालमा वीरेन्द्रनगरको तत्कालीन अवस्थालाई हेरेर ल्याइएको उक्त लाइनले ७० को दशकसम्म आउँदासम्म धान्नुपरेको छ । विद्युत् उपभोक्ता बढ्नु तर आपूर्तिको परिमाण नबढेकाले अहिले समस्या भएको हो । दिन प्रतिदिन जनसंख्या बढ्दै गयो भने विद्युत् अनियमित हुने समस्या पनि त्यही रफ्तारमा बढ्यो ।

अहिले हामी व्यवसायी त छिनछिनमै बत्ती आउने–जाने हुँदा दिक्क भइसक्यौँ । वीरेन्द्रनगरकै अवस्था यस्तो भए कर्णालीका गाउँबस्तीमा कस्तो समस्या होला ? यसै कल्पना गर्न सकिन्छ ।

नेपालले बंगलादेशलाई बिजुली बेचेको समाचार सुनिन्छ । हाम्रो कर्णाली वर्षौंदेखि अघोषित लोडसेडिङको मारमा छ । बरु कर्णालीमा विद्युत् पठाइदिएको भए हामीजस्ता सानो व्यवसाय गरेर बसेका मानिसलाई ठुलो राहत हुने थियो । यहाँका मान्छेले विद्युतकै अभावमा एउटा आधारभूत सेवा राम्रोसँग प्रयोग गर्न पाएका छैनन् ।

विद्युतको कुनै ठेगान नभएपछि अहिले वीरेन्द्रनगरका अधिकांश व्यवसायीले जेनेरेटर चलाउनुपर्ने बाध्यता छ । निरन्तर सेवा प्रवाह गर्ने कार्यालयहरूमा जेनेरेटर अनिवार्यजस्तै बनेको छ । तर हाम्रा राजनीतिक दल, सरकार मुकदर्शक बनेको देख्छु । सबैले जेनेरेटर राख्न आर्थिक अवस्थाले भ्याउँदैन । बत्ती अवरुद्ध भएपछि जेनेरेटर चलाउन सुरु गर्‍यो, फेरि लाइन आउँछ । अनि जेनेरेटर बन्द गर्न नपाउँदै लाइन काटिसकेको हुन्छ ।

वीरेन्द्रनगर लगायत कर्णालीका तीन ठाउँमा मेरो होटल छ । ती होटलका लागि तीन वटा जेनेरेटर किनेको छु । जेनेरेटर चलाउँदा घण्टामा १५–१५ लिटर तेल खान्छ । दैनिक हुने आम्दानीले त्यसमा लाग्ने तेल खर्च नै उठाउन हम्मेहम्मे हुन्छ । हामीले बत्ती छैन, जेनेरेटरबाट सेवा दिएका छौँ भनेर एकै पटक सेवाग्राहीबाट बढी पैसा लिन मिल्दैन । खर्च धान्न धौधौ हुन्छ ।

नेपालले बंगलादेशलाई बिजुली बेचेको समाचार सुनिन्छ । हाम्रो कर्णाली वर्षौंदेखि अघोषित लोडसेडिङको मारमा छ । बरु कर्णालीमा विद्युत् पठाइदिएको भए हामीजस्ता सानो व्यवसाय गरेर बसेका मानिसलाई ठुलो राहत हुने थियो । यहाँका मान्छेले विद्युतकै अभावमा एउटा आधारभूत सेवा राम्रोसँग प्रयोग गर्न पाएका छैनन् ।

कोठामा लगाएको पङ्खा कुनैबेला हेलिकप्टरको पङ्खासरी घुम्छ, कुनैबेला हावा नै फाल्न नसक्नेगरी घुम्छ । यसले विद्युतीय सामग्रीमा असर गर्छ । कहिलेकाहीँ त टेलिभिजन, बिजुली बत्ती पड्किने गर्छ । यहाँसम्म कि, मोबाइल चार्जसम्म नहुने, पङ्खा नै नचल्ने यहाँ सामान्य कुरा भइसक्यो ।

व्यवसायीहरूलाई गर्मीकै समयमा धेरै विद्युत् चाहिन्छ । गर्मी बढ्दै जाँदा बत्तीको माग पनि बढ्दै जान्छ । वीरेन्द्रनगरमा खानेपानीको समस्या छ । पानी तान्नका लागि मोटर चलाउनुपर्ने हुन्छ तर बत्तीको समस्याले मोटर चलाउन समस्या हुन्छ ।

हामीलाई शंका छ– इन्भर्टर, जेनेरेटर बेच्नका लागि पनि जानाजान लोडसेडिङ गराइएको पो हो कि ? यो त राज्यले कर्णालीका जनतामाथि गरेको गम्भीर लापर्बाही हो । अन्त यस्तो समस्या छैन ।

कर्णालीका व्यवसायीहरू निकै पीडित छौँ । हामीलाई चाहिएको बराबर विद्युत् आपूर्ति हुन सकेको छैन । विद्युत् छ भनेर कर्णालीमा ढुक्क हुने अवस्था छैन । होटलमा कार्यक्रम गरिएको हुन्छ, झ्याप्प बत्ती जान्छ । टाढाबाट आएका मान्छे सुर्खेतमा बत्तीको अवस्था देखेर नाक खुम्च्याउँछन् ।

कर्णालीमा आउने पर्यटकको मुख्य बासस्थल वीरेन्द्रनगर हो । सिद्धार्थ, शुभ, भ्याली भ्यु, डि–नमस्ते लगायतका ठुला होटल छन् । देशविदेशबाट आउने पर्यटकहरू प्रायः यस्तै होटलमा बस्छन् । तर विद्युतका कारण राम्रो सेवा नपाउँदा उनीहरूले प्रश्न उठाउने गर्छन् । अर्को पटक पुनः सेवा लिन आउँदैनन् ।

विद्युत् प्रसारण लाइन निकै पुरानो छ । यसका संरचना जीर्ण छन् । यसमा सुधार आवश्यक छ । कहिले पोलबाट पसल तथा घरमा जोडेको फेजमा आगो लाग्ने समस्या छ । कहिले सामान्य हावाहुरीले गर्दा विद्युत् अवरुद्ध हुन्छ । होटल तथा उद्योगमा लोड धेरै चाहिन्छ । कर्णालीका सानादेखि ठुला सबै व्यवसायी विद्युत् अनियमित आपूर्तिको समस्याबाट आजित छन् ।

अहिले भइरहेको समस्याको समाधान भनेको १३२ केभी प्रसारण लाइन नै हो । उक्त लाइन बन्न थालेको वर्षौं भए पनि पूर्णता पाउन सकेको छैन । त्यसमा देखिएका समस्याहरू राजनीतिक दल, सरकार, निजी क्षेत्रदेखि सबैको समन्वयमा हल गर्नुपर्छ ।

बाँकेमा विवाद हुँदा काममा ढिलाइ भएको भन्ने सुनिन्छ । स्थानीयको माग के हो ? किन जमिन दिन तयार छैनन् ? त्यो विषयमा स्थानीयस्तरमै पुगेर छलफल चलाइनुपर्छ । चाँडोभन्दा चाँडो कर्णालीको विद्युत् समस्यालाई समाधान गर्नुपर्छ । यसलाई राजनीति ‘इस्यु’ बनाइनु हुँदैन । राज्यले मान्छेलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ ।

कर्णालीमा विद्युतकै समस्याले उद्योग, कलकारखानामा लगानी गर्ने ठुला व्यवसायी, लगानीकर्ताहरू आउन मानिरहेका छैनन् । विद्युतको समस्या हल नभएसम्म कर्णालीमा उद्योग खोलेर अर्थ छैन । अहिले भएका साना होटल तथा पसललाई त विद्युत् धान्न गाह्रो छ, अनि ठुलो उद्योग खोलेको खण्डमा कसरी चल्छ ? पानी, बत्ती, बाटोको समस्या छ ।

कर्णाली सम्भावनाको खानी हो भनेर भाषण गरिन्छ, तर व्यवहारमा त्यो प्रयोगमा आएको देखिन्न । प्रयोगमा ल्याउन त लगानी चाहिन्छ होला, लगानी गर्ने वातावरण राज्यले बनाइदिनुपर्छ । सामान्यतः आधारभूत समस्याभित्र पर्ने विद्युतकै यस्तो हालत रहँदा यहाँ को आउँछ लगानी गर्न ? यो विषयमा राज्य गम्भीर बन्नुपर्छ ।

(होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका संयोजक तर्कबहादुर शाहीसँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तर्कबहादुर शाही
तर्कबहादुर शाही
लेखकबाट थप

छुटाउनुभयो कि ?