अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पायो पहिलो महिला अध्यक्ष

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को अध्यक्षमा क्रिस्टी कोभेन्ट्री निर्वाचित भएकी छन् । ग्रिसको कोस्टा नवारिनोमा सम्पन्न आईसीसीको साधारणसभाले जिम्बाबेकी क्रिस्टीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
उनी जिम्बाबेकी खेलकुदमन्त्री पनि हुन् । उनी पौडीकी पूर्वखेलाडी हुन् । ४१ वर्षीया क्रिस्टीले विश्व खेलकुदको सबैभन्दा वृहत प्रतियोगिता ओलम्पिकमा दुईवटा स्वर्ण पदक जितेकी छन् । आईओसी अध्यक्षका लागि सातजनाले मनोनयन दर्ता गराएका थिए ।
अध्यक्ष पदको निर्वाचनमा कुल ९७ मत खेलेको थियो । त्यसमध्ये क्रिस्टीले ४९ मत पाइन् । क्रिस्टी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित हुने पहिलो महिला पनि हुन् । उनले अब आईओसीका वर्तमान अध्यक्ष थोमस ब्याचको स्थान लिनेछिन् ।
थोमस ब्याच सन् २०१३ मा पहिलो पटक आईओसीको अध्यक्ष बनेका थिए । उनी सन् २०२१ मा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए । क्रिस्टी आईओसीकी १०औँ अध्यक्ष हुन् । अफ्रिका महादेशबाट आईओसी अध्यक्ष बन्ने पनि क्रिस्टी पहिलो व्यक्ति हुन् ।
क्रिस्टीले आगामी जुन २३ तारिखदेखि औपचारिक रुपमा आईओसी अध्यक्षको पद समाल्ने छिन् । सन् २०२६ मा आयोजना हुने शितकालीन ओलम्पिक खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्नु उनको पहिलो चुनौति हुनेछ । यसका लागि करिब ११ महिना समय बाँकी छ ।
क्रिस्टीले आफू खेलाडीको भूमिकामा रहँदा पाँचवटा ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । सन् २००० मा सम्पन्न सिड्नी ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी क्रिस्टीले सन् २०१६ मा ब्राजिलको रियोमा अन्तिम पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् ।
उनले ओलम्पिकमा सातवटा पदक जितेकी छन् । त्यसमध्ये दुई स्वर्ण पदक, चार रजत पदक र एक कांस्य पदक हो । ‘मलाई अध्यक्ष पदमा निर्वाचित गराउनु भएकोमा सबैलाई धन्यवाद । म तपाइँहरुको विश्वासमा खरो ओर्लने प्रयास गर्नेछु,’ अध्यक्षमा निर्वाचित भएपछि उनले भनेकी छन् ।