शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय
सन्दर्भ : अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस

मैले पानी खाएपछि साथीहरू धाराको वरिपरि सुनपानी छर्कन्थे

शुक्रबार, ०८ चैत २०८१, ०८ : ५२
शुक्रबार, ०८ चैत २०८१

जब म विद्यालय भर्ना भएँ, जातीय विभेदको पाठ घरमै पढेर आएका गैरदलित साथीहरूसँग मेरो भेट भयो । क, ख नचिन्दै तिनीहरूले जातीय विभेद बुझिसकेका रहेछन् । उनीहरूले छाडेको बेन्चमा म बस्नुपथ्र्याे । उनीहरूले कहिलेकाहीँ घरबाट ल्याएको खाजा खान्थे, म नजिक पर्नु पनि हुँदैनथ्यो । म अघि गएर धारामा पानी खाएँ भने उनीहरूले मैले टेकेको र छोएको ठाउँमा सुनपानी छर्कन्थे । उनीहरू धारामा हुँदा मैले पालो कुरेर पाखा बस्नुपथ्र्याे । यो सबै विभेद म चुपचाप सहन्थेँ, संसार यस्तै हो, हामी हेपिनै जन्मेका हौँ जस्तो लाग्थ्यो ।

गाउँका गैरदलित साथीहरूले आफ्नो बालाई ‘बुवा’ भनेको सुनेपछि मलाई पनि घरमा बालाई बुवा भन्ने रहर भयो । त्यसो भन्दा बाको पनि इज्जत बढ्छ भन्ने मलाई लागेको थियो । मैले बालाई बुवा भन्न थालेँ । बिस्तारै बुवा सम्बोधनमा अभ्यस्त हुँदै गएकी थिएँ, गाउँका गैरदलितहरूलाई त्यो मन परेन । 

एक दिन म गाउँका साथीहरूसँग खेल्न निस्केकी थिएँ । पाका मानिसहरूले नै मलाई हकारे, ‘बुवा भनेर त ठुला जातका मान्छेले भन्ने हो, तिमीहरू तल्लो जातले भन्ने होइन ।’ 
त्यो दिनदेखि मेरा गैरदलित छिमेकीले आफ्ना छोराछोरीलाई मसँग खेल्नै दिएनन् । 

मलाई अचम्म लाग्यो, शब्द र सम्बोधन पनि जात–जातको ? बुझ्दै गएँ, समाजमा विभेद त बोली र व्यवहारमा रहेछ । मेरो बाल मन–मस्तिष्कमा पर्‍यो, यहाँ राम्रा शब्द हाम्रा रहेछन् । स्कुल, धारा–पँधेरो र कथित अभिजातहरू हाम्रा रहेनछन् । दलितको राम्रो जग्गा, राम्रो घर, राम्रो जागिर कसरी होस् ! आखिर उठ्ने यही समाजबाट हो । 
मानिसले जातीय विभेद गर्न गर्भैबाट सिकेर आएको हुँदैन, जानेको हुँदैन । उसको सिकाइ, हुर्काइ र सोचाइ जन्मपश्चात् मात्र हुन्छ । त्यो प्रक्रिया परिवार, समाज र साथीभाइबाट सुरु हुन्छ । जुन सिकाइको प्रतिविम्ब उसको व्यवहार, क्रियाकलाप र अभिव्यक्तिमा व्यक्त हुन्छ । जातीय विभेद गर्दै आएकालाई लाग्छ, यो स्वाभाविक हो । भोग्नेलाई लाग्छ, यो विभेद हो । कानुन, विज्ञान र विवेकले विभेद भने पनि विभेद गर्नमै अभ्यस्त हुँदै आएका, घरबाटै विभेद सिकेर हुर्केकाहरू अझैसम्म बदलिन सकेका छैनन् । धर्म र संस्कारका नाममा समाजमा जातीय विभेद कायमै छ । 

म अघि गएर धारामा पानी खाएँ भने उनीहरूले मैले टेकेको र छोएको ठाउँमा सुनपानी छर्कन्थे । उनीहरू धारामा हुँदा मैले पालो कुरेर पाखा बस्नुपथ्र्याे । यो सबै विभेद म चुपचाप सहन्थेँ, संसार यस्तै हो, हामी हेपिनै जन्मेका हौँ जस्तो लाग्थ्यो ।


एक दिन मैले मेरी आमालाई सोधेकी थिएँ — तपाईं केटाकेटी हुँदा जातीय विभेद कस्तो थियो ? 

मेरा आमाहरूले आफ्ना दौँतरीलाई नामले बोलाउन, तिमी भनेर सम्बोधन गर्न पाउँदैनथे । ‘साथी भन्न पनि पाइँदैनथ्यो, मैयाँ भन्नुपथ्र्याे, हजुर भन्नुपथ्र्याे, नभने जात काढेर गाली गर्थे,’ मेरी आमाले मलाई भन्नुभयो, ‘अहिले पनि विभेद कति नै हटेको छ र ? यस्तो कानुन आयो, उस्तो व्यवस्था आयो भन्छन्, मैले त संसार बदलिएको चालै पाएकी छैन ।’ 
आमाको बाल्यकालको भोगाइ सुन्छु, आफ्नै आजसम्मको जीवन नियाल्छु र पाउँछु — विभेदका स्वरूपहरू र त्यस विरुद्धको लडाइँ अत्याधुनिक रूपमा फेरिएको छ । 
काठमाडौँ आएपछि मलाई जातकै कारण कोठा पाउन समस्या भयो । जातका कारण मैले सरकारी अधिकृतको घर छाड्नुपरेपछि मुद्दा लडेँ । घरबेटी गृह मन्त्रालय मातहतका प्रशासकीय अनुसन्धान अधिकृत हुन् । कोठा सरेरै गएको भोलिपल्ट ती अधिकृत आएर भने — तिमीहरूलाई मेरी श्रीमतीले परिचय नै नसोधी कोठा दिइछ । अहिले तिमीहरूको थर थाहा भो  । तिमीहरू तल्लो जातको रैछौ । तिमीहरू मेरो घरमा बस्दा घर अशुद्ध हुन्छ । भर्खरै बुवाको स्वर्गीय भएको छ । त्यसैले पनि घर शुद्ध गर्नुपर्छ । घरमा बुढी आमा हुनुहुन्छ, उहाँले पनि मान्नुहुन्न । फेरि कोठामा बस्ने अरुले तिम्रो थर थाहा पाए भने कोठा छाडेर जान्छन् । र सामाजिक दृष्टिकोणमा नराम्रो भइन्छ । त्यसैले अन्तै कोठा खोज्नु, यहाँ बस्न मिल्दैन ।’

उनले आफन्त र छिमेकी बोलाएर हामीलाई निकाले । त्यसपछि परीक्षाकै समयमा किताब बोक्ने झोलामा जातीय विभेद विरुद्धको मिसिल बोकेर प्रहरी कार्यालयदेखि सरकारी वकिल कार्यालय, जिल्ला अदालत काठमाडौँ, उच्च अदालत हुँदै सर्वाेच्च अदालतसम्म धाउनुपर्‍यो । त्यतिखेर काठमाडौँमा दलितलाई कोठा भाडा पाइँदैन भन्ने बहसमा आउन सकिरहेको थिएन । मैले आफ्नो घटनाबारे गैरदलितलाई सुनाउँदा अनौठो विषय सुनेझैँ गरी ‘ओ हो काठमाडौँ पनि जातीय विभेद हुन्छ र ? जातीय विभेद छ भने अरूले भोगेको कतै सुनिँदैन अनि तिमीलाई यस्तो कसरी भयो’ भनेर मलाई नै प्रश्न गर्थे । त्यही कुरा दलितलाई सुनाउँदा ‘यहाँ यस्तै हो । भविष्य बनाउन पनि थर लुकाएर बस्नुपर्छ । त्यो कोठाबाट अन्तै सर’ भनेर सम्झाइबुझाइ गर्ने मात्र भेटिए । 

‘यो अन्याय हो । हामी तिम्रो साथमा छौ’ भन्ने पनि केही भेटिए तर थोरै अर्थात् नगन्य मात्रामा । मलाई भने त्यो समस्यादेखि भागेर जात लुकाएर भविष्य निर्माण गर्ने कुरा कति पनि जायज लागेन । जीवनमा अरु बन्नु भन्दा पहिला आत्मसम्मानको अनुभूति गर्न पाउनुपर्छ भन्ने लागेर मेरो आवाजमा आवाज थप्ने कोही नहुँदा पनि घटनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेँ । र कानुनी प्रक्रियामा अघि बढेँ । 

पाँच वर्षसम्म यो मुद्दा टुङ्गिएको छैन । यो मुद्दा लड्दालड्दै विभिन्न कारण काठमाडौँमा आठपटक कोठा सर्नुपर्‍यो । कोठा सर्दासर्दै घरबेटीले दिएको मानसिक तनाव, जातीय विभेदको त्रास, मुद्दाको झन्झट आदिले सुरुका दुई वर्ष भाइहरूको पढाइ नै लथालिङ्ग भयो ।

जातीय विभेदको मुद्दा दर्ता हुन नदिन गृह मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयसम्म राजनीतिक दलले कुरा पुर्‍याए । त्यतिखेर गृहमन्त्री रामबहादुर थापा बादल थिए भने महान्यायाधिवक्ता थिए अग्नि खरेल । मुद्दा दर्ता समेत हुन नदिन राजनीति चलखेल भयो । ‘त्यति ठुलो पदको सरकारी कर्मचारीले कहाँ जातीय विभेद गर्छ, यो आरोप हो’ भनेर घटनालाई अतिरञ्जित बनाउन खोजियो । त्यति मात्र होइन गृहमन्त्रीले दलित विकास समितिका डाइरेक्टर डा. बुद्धि नेपाली र घरबेटी श्रीकृष्ण बिडारीलाई गृह मन्त्रालय बोलाएर घटनाको स्पष्टीकरण लिए । त्यसपछि मात्र मुद्दा दर्ता भयो । 

त्यसपछि पनि मलाई जातीय विभेद भएकै हो भनेर महान्यायाधिवक्ता कार्यालयसम्म पुग्नुपर्‍यो । म भुइँ मान्छेले भोगेको जातीय विभेद गृहका सरकारी कर्मचारीको पद हेरेर मूल्यांकन गरियो । जसले गर्दा विश्वविद्यालयको कक्षा छाडेर मलाई विभेद भएको हो भनेर विभिन्न न्यायिक निकाय धाउनुपर्‍यो । विश्वविद्यालय पढ्ने मेरो समय न्यायालय धाउनमै बित्यो । यसको क्षतिपूर्ति कसले दिने ?

पाँच वर्षसम्म यो मुद्दा टुङ्गिएको छैन । यो मुद्दा लड्दालड्दै विभिन्न कारण काठमाडौँमा आठपटक कोठा सर्नुपर्‍यो । कोठा सर्दासर्दै घरबेटीले दिएको मानसिक तनाव, जातीय विभेदको त्रास, मुद्दाको झन्झट आदिले सुरुका दुई वर्ष भाइहरूको पढाइ नै लथालिङ्ग भयो ।

म जातीय विभेदविरुद्ध लड्दै गरेको समाचार आमाले सुनेपछि आमाले भन्नुभयो, ‘तिमी जातीय विभेदविरुद्ध लड्दै रैछौ । तिमीहरूलाई थाहा छ, हामी यही जातीय भेदभावविरुद्ध लड्दा घर छाडेर तराई झर्नुपरेको हो । आफ्नो पुख्र्याैली घरबाट विस्थापित हुनुपरेको हो । हामीले जस्तो नियति भोग्नु नपरोस् भनेर नै तिमीहरूलाई पढायौँ, लेखायौँ, केही बन्न काठमाडौँ पठायौँ । त्यहाँ पनि तिमीहरूमाथि त्यस्तो भयो ? तिमी हाम्री छोरी हौ, लड्नुपर्छ भन्ने थाहा छ । तिमी अन्यायविरुद्ध बोल्न सकौला भनेरै पढाएको हो । तिमीजस्ता दलित विद्यार्थीले त्यस्तै विभेद कतिले भोग्छन् होला । त्यसैले तिमीले जे गरेकी छौ त्यो ठिक छ । बरु जातीय विभेदविरुद्ध लडेर मर्नुपरे पनि मर्नु तर जातीय विभेद भयो भनेर घर नफर्कनु । यो लडाइँमा कसैसँग नझुक्न तिमी बोल्न सक्छौ, कसै गरी पछि नहट्नू ।’ आमाको यति शब्द पाएपछि ममा झनै आँट आयो । deepa1
देशमा कानुन त छ तर अड्डा–अदालत, शासन, प्रशासनमा उनीहरूकै हालीमुहाली छ, त्यसैले मुद्दा लड्न पनि सहज छैन । 

समस्याहरू मात्रै देखाउँदा प्रश्न उठ्छ, समाधान के त ? समाधान भनेकै शिक्षा र चेतना हो, ऐतिहासिक विभेदको क्षतिपूर्ति हो । 

चाणक्यले ‘कौटिल्यको अर्थशास्त्र’ नामक किताबमा लेखेका छन्, ‘शिक्षाको दोहोरो रूप हुनुपर्छ । एउटा वैज्ञानिक शिक्षा, जुन राजपरिवारका बच्चाहरूले पढ्न पाउँछन् । अर्काे शिक्षा हो, आम जनताका लागि दिइने शिक्षा । जसको उद्देश्य हुन्छ — जनतालाई अन्धविश्वासी र डरपोक बनाउनु ।’ 

दोस्रो खालको शिक्षाका बारेमा चाणक्यले अलिकति सविस्तार लेखेका छन्, ‘दोस्रो खालको शिक्षाले गर्दा आम जनता शासकहरूको वा राजा–महाराजाहरूको आदेश र आज्ञा आँखा चिम्लेर पालन गर्ने आज्ञाकारी बन्छन् ।’ 

यही खालको शिक्षा यस भूगोलमा चल्दै आयो । अर्थात् मानिसलाई जातीय विभेद गर्ने शास्त्र वा कानुन बनाइयो । यस्तै शिक्षा र संस्कारबाट दीक्षित हुँदै आएको समाजले जातीय विभेदलाई स्वाभाविक ठान्छ । जातीय विभेदविरुद्ध प्रथमतः कसैलाई बोल्नै दिइन्न, कोही बोली हाल्यो भने उसलाई अनेक लाञ्छना लगाइन्छ । यसको गतिलो प्रमाण मेरो आफ्नै भोगाइ छ । अदालतभित्रै विपक्षी एकजना वकिलले मलाई भनेँ — विदेशी डलर खाएर बोलेका हौ ।

कसैले क्रिस्चियन धर्म अँगालेको समेत आक्षेप लगाए । कसैले मिलेर बसेको समाज भाँडेर जातीय द्वन्द्व भड्काउने भनेर दुष्प्रचार गरे । आखिर म हिन्दु भित्रकै क्रान्तिकारी हिन्दु हुँ, खस–आर्य समुदाय हुँ । यी देवी–देवताको कल्पना गर्न, कतिपय शास्त्र रच्न र संस्कृतिको जगेर्ना मेरा पुर्खाको पनि पौरख परेको छ । 

म कुनै एनजीओ र आईएनजीओमा आबद्ध व्यक्ति नै होइन, कसरी डलरवादी भएँ म । अझै भन्ने हो भने विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुँ । तैपनि झुटा आरोपले न्यायिक निकाय प्रभावित पार्ने ठुलै प्रयास जारी रह्यो । यद्यपि म हारेकी छैन, रतिभर डगमगाएकी छैन । यो समाजमा आफूलाई मान्छेको दर्जामा उभ्याउन म लडिरहनेछु ।
मानिसहरू भन्छन्— व्यवस्था परिवर्तन भयो, कानुन आयो, कहाँ विभेद छ ? आज पनि आफूलाई कथित ठुलो जात स्थापित गर्न र दलितलाई मान्छेको दर्जा नदिन सामाजिक सञ्जालमा कुर्लनेहरूको कमी छैन । जातको इतिहास नपढेका र आफैँले बोकेको जातको भारी खोतल्न नसकेको आजको गैरदलित पुस्ताले कोटा र कोठाको प्रदूषित बहस चलाउँछ । कतिपय त कोटा खान हक पाएका जनजाति, मधेसी र बाहुन–क्षत्री महिला समेतले यस्ता कुरा गर्छन् । 

समाधानको उपाय यही हो कि मानिसलाई जात र विभिन्न विभेदको इतिहास बुझाइनुपर्छ । यस्तो बुझ्न नचाहनेलाई कानुन बुझाउनुपर्छ ।

दलितहरू कहिलेसम्म लड्ने, कति लड्ने ? कति जातको कुरा सोचेर बस्ने ? मैले मुद्दा लडेको पाँच वर्ष भइसक्यो । अध्ययन र सिर्जनशील कार्यमा लाग्ने बेला मुद्दाको झन्झट बेहोर्नुपरिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपा नेपाली
दीपा नेपाली
लेखकबाट थप