लागुऔषधले बिगारेको जिन्दगी सुधार्ने प्रयास
_k8xJQ3LR7k.jpg)
धनगढी । लागुऔषध दुर्व्यसनले हजारौँ युवाको जीवन अन्धकारमा डुबाइरहेको छ । तर समयमै सुधारको बाटो रोजे नयाँ सुरुवात गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सुरेश, समीर, सन्तोष, अनिल र अन्य धेरै ।
यी सबै अहिले धनगढी–१४ फूलबारीस्थित आसरा सुधार केन्द्रमा छन् । सुधार केन्द्रमा बसेपछि मात्र उनीहरूले आफ्नो अतीत नियाल्न पाए, पछुतो गरे । र सुधारको बाटो समाते ।
ब्राउन सुगरले बिग्रिएको जिन्दगी सुधार्ने प्रयास
डडेलधुराका सुरेश सानै उमेरमा लागुऔषध दुर्व्यसनमा फसे । २०५७ सालमा एसएलसी दिएपछि १२ कक्षा पास गर्न सकेनन् । बोर्डिङको होस्टलमा पढ्दा साथीहरूको लहैलहैमा लागेर सुरुमा चुरोट, त्यसपछि लागुऔषध सेवन गर्न थाले । बुबा सरकारी जागिरे थिए, परिवारले राम्रै अवसर दिएका थिए, तर उनले कुलतको बाटो रोजे ।
‘नसाले मेरो जिन्दगीलाई अस्तव्यस्त बनायो,’ सुरेश भन्छन् । लागुऔषधकै कारण परिवार, समाज, करिअर सबै गुमाए । सुधार केन्द्रमा आएपछि मात्र उनलाई आफ्ना गल्ती महसुस भयो । अहिले उनी नयाँ पुस्तालाई लागुऔषधबाट टाढा रहन सन्देश दिन चाहन्छन् ।
बुबाको मृत्युपछि आत्मग्लानिले सुधार केन्द्रको ढोका ढकढक्याए
समीरको जन्म अछाममा भए पनि उनको बाल्यकाल कैलालीको टीकापुरमा बित्यो । कक्षा ४ मा हुँदा साथीहरूको संगतले उनलाई चुरोट, तम्बाखु खान प्रेरित गर्यो । कक्षा ६ पुग्दा गाँजा, चरेस खान थाले ।
‘धनगढीमा पढ्न आएपछि कुलत झन् बढ्यो । होस्टलबाट भागेर पहाड गएँ । कक्षा ६ को परीक्षा पहाडबाटै दिएँ,’ उनी सम्झिन्छन् । उनी कक्षा ७ मा काठमाडौँ पुगे । त्यहाँ फुपूसँग बसे, तर लागुऔषधकै कारण परिवारबाट टाढिँदै गए ।
१६ वर्षको उमेरमा काम गर्दै पिल्स सेवन गर्न थालेका थिए । बुबा बितेपछि भने उनलाई आत्मग्लानि भयो । ‘बुबा बित्नुमा मेरो गल्ती छजस्तो लाग्छ, कुलतकै कारण बुबाले तनाव सहनुपर्यो,’ उनी भन्छन् ।
लागुऔषधकै कारण उनले परिवारको विश्वास गुमाए । सुधार केन्द्र आएपछि भने उनलाई थाहा भयो, जीवन नसा सेवन गर्न मात्र होइन । ‘अब म कुलतबाट मुक्त भएर समाजमा योगदान दिन चाहन्छु,’ समीरले भने ।
कुलतले परिवार टुटायो, सुधार केन्द्रले पुनः जोड्दैछ
२५ वर्षीय सन्तोष कैलालीको टीकापुरका स्थानीय हुन् । रमाइलोका लागि चुरोट खाएका उनी बिस्तारै लागुऔषधमा फसे । ‘बिहान खाएँ, साँझ कसरी खाने भन्ने सोच्न थालेँ । जीवन लागुऔषधकै पछि दौडिन थाल्यो,’ उनी भन्छन् ।
गाँजा, ब्राउन सुगर खान थालेपछि उनी परिवारका लागि समस्या बने । ‘पैसा भए आफैँ किन्थेँ, नभए साथीहरूसँग मिलेर जोगाड गर्थेँ । घरमा राम्रो सम्बन्ध रहेन,’ उनी विगत सम्झन्छन् ।
सात महिना भयो उनी सुधार केन्द्रमा छन् । ‘बाहिर अरू धेरै साथीहरू लागुऔषध सेवन गरिरहेका छन् । उनीहरूलाई पनि सुधार केन्द्र ल्याउनु आवश्यक छ,’ उनले भने ।
कुलतकै कारण १२ वर्ष बर्बाद, अब परिवारको विश्वास कमाउने लक्ष्य
२७ वर्षीय अनिल पनि टीकापुरकै स्थानीय हुन् । साथीहरूको प्रभावमा लागेर लागुऔषध सेवन गर्न थाले । घमन्डले गर्दा उनले परिवारको सल्लाह पनि मान्न छाडेका थिए । ‘परिवारले सम्झाउँदा झन् रिस उठ्थ्यो । कलेज जान्छु भन्दै बाटोमै लागुऔषध सेवन गर्थेँ । पसलमा पैसा जम्मा हुन्थ्यो, मौका पारेर चोरी गर्थेँ,’ उनी ती दिनहरू सम्झँदै भन्छन् ।
१२ वर्षसम्म लागुऔषध सेवन गरेपछि उनको जीवन बर्बाद भयो । सुधार केन्द्र आएपछि भने उनलाई गल्ती महसुस भयो । ‘अबको जीवन परिवारको विश्वास फिर्ता गर्न लगाउँछु,’ अनिल विश्वास व्यक्त गर्छन् ।
सुरेश, समीर, सन्तोष, अनिलजस्ता थुप्रै युवा अहिले सुधार केन्द्रमा छन् । उनीहरू कुलत त्यागेर समाजमा योगदान दिने लक्ष्य राख्दै छन् ।
सुदूरपश्चिममा लागुऔषधका कारण कति युवाले ज्यान गुमाउनुपर्यो त कतिपय जेलमा छन् । कतिपय सडक तथा परिवारबाट बेपत्ता छन् । कतिपय युवा भने परिवारको सहयोगका कारण सुधार केन्द्रमा नयाँ जीवन जिउने प्रयासमा छन् । नसामुक्त जीवन जिउन लागिपरेका उनीहरू अहिले सुधार केन्द्रमा अन्यलाई सुधार गर्न स्वयमसेवका रूपमा खटिएका छन् ।
निजी क्षेत्रबाट प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सुधारकेन्द्र सञ्चालनमा छन् । तर सरकारी क्षेत्रबाट भने सुधार केन्द्र सञ्चालन भएको एक वर्ष मात्रै पुग्यो । सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन बढ्दै गएको छ । धनगढी–१४ फूलवारीस्थित आसरा सुधार केन्द्र लागुऔषध प्रयोगकर्तालाई पुनर्स्थापित गर्ने उद्देश्यले स्थापना गरिएको हो । आसराका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर पार्कीका अनुसार केन्द्रमा हालसम्म १ सय ६ जना भर्ना भइसकेका छन् । जसमध्ये ६५ जना सुधार भएर घर फर्किएका छन् भने ४१ जना उपचाररत छन् । सुधार केन्द्रमा वैज्ञानिक पद्धतिअनुसार उपचार गरिन्छ । योग र शारीरिक अभ्यास, मनोपरामर्श र मोटिभेसन कक्षा, समूह खेल र व्यक्तित्व विकास कार्यक्रम, डाक्टरहरूको निगरानीमा औषधि उपचार हुने गरेको प्रहरी निरीक्षक पार्कीले जानकारी दिए ।
सुधार केन्द्रले युवालाई कुलतबाट मुक्त गरेर समाजमा पुनर्स्थापित गर्ने अभियान चलाइरहेको छ । प्रहरी निरीक्षक पार्की भछन्, ‘लागुऔषध दुर्व्यसन अपराध होइन, मानसिक समस्या हो । यसलाई समयमै उपचार गर्नु आवश्यक छ ।’
‘कसैलाई थाहा छ, छरछिमेकमा कोही लागुऔषध दुर्व्यसनमा फसेका छन् भने सुधार केन्द्रमा सम्पर्क गर्नुहोस्,’ उनले भने ।
लागुऔषध दुर्व्यसनको अन्धकारमा फसेका युवाहरूलाई आशाको उज्यालोतर्फ लैजान आसरा सुधार केन्द्र निरन्तर लागिपरेको बताइएको छ । समाज, परिवार, प्रहरी र सुधार केन्द्रको सहकार्यले मात्रै युवालाई कुलतबाट जोगाउन सकिने प्रहरी निरीक्षक पार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही