शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

मासिँदै भँगेराको बासस्थान, सङख्या बर्सेनि घट्दो

शुक्रबार, ०८ चैत २०८१, ०५ : २२
शुक्रबार, ०८ चैत २०८१

कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिंदै जान थालेको हो ।
 
‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके’, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।’ आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन् । 

तीव्र रूपमा भइरहेको सहरीकरणलाई उनी भँगेरा विनासको कारण मान्दछन् । भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको उनको भनाइ छ । भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उनी  बताउँछन् । 

चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ । विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ । 

खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हुँदै गएको उनले बताए । काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि सङ्ख्यामा कमी देखिएको उनको भनाइ छ । भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ । भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ । 

भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने उनी सल्लाह दिन्छन् ।  चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ । यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आइ लभ स्प्यारो) रहेको छ ।

चरा संरक्षणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन् । चराप्रेमीले आआफ्नो घर वरिपरि २० मिनेट भँगेरा गणनाको  काम गरेका छन् । कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रूखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताए । विद्यार्थीमाझ छलफल, अन्तरक्रियालगायत कार्यक्रम पनि गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?