शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

पर्यटक खोज्दै मितगाउँ पुगे पोखराका मेयर

बिहीबार, ०७ चैत २०८१, २२ : ४५
बिहीबार, ०७ चैत २०८१

लुजाउ ।  पोखराको सेती नदी, माछापुच्छ्रेे हिमाल । बस्ती भन्दा बढी वन जङ्गलले घेरिएको । न उखुम गर्मी, न ठिहिरयाउने ठन्डी । पोखराजस्तै सुन्दर सहर छ चीनको लुजाउ । ५१ प्रतिशत भन्दा बढी वन जङ्गलले घेरिएको लुजाउ सहरलाई याङ जी नदीले बीचबाट चिरेर बगेको छ । भूगोलसँगै दुई सहरको सांस्कृतिक पहिचान पनि विशेष खालको छ ।

प्रकृति र संस्कृतिको अद्वितीय दुई सहरबिच मितेरी सम्बन्धको तयारी भइरहेको छ । गत वर्ष नै मितेरी सम्बन्धको औपचारिक घोषणा गर्ने तयारी गरिएकोमा कागजी प्रक्रिया नपुगेका कारण स्थगन भएको हो । जे होस्, दुई सहरले आपसमा आफूलाई मितको अनौपचारिक दर्जा दिइसकेका छन् । 

बिहीबार लुजाउ सहरले पोखरालाई भव्य स्वागत गरयो र आफ्नो सहरका विशेष क्षेत्रहरूको भ्रमण गरायो । दुई सहरबिच आपसी सहयोग आदानप्रदानबारे खुलेर छलफल भयो । पोखराले लुजाउबाट प्रविधि र पर्यटकीय सहयोग माग्यो । लुजाउले पोखरासँग मिलेर प्राचीन औषधीसँगै पर्यटनमा काम गर्ने इच्छा देखायो ।

उनीहरूले आफ्नो मितेरी गाउँलाई नजिक बनाउनका लागि हवाई मार्ग प्रभावकारी हुने निष्कर्ष निकाल्दै पोखरादेखि छेङ्दु उडानलाई नियमित बनाउन आफ्ना देशका सरकारसँग पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालीमा एउटा कथन छ, ‘सुख पर्दा ......जानू, दुःख पर्दा मितको घर जानू ।’ २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको पोखरा यतिबेला पर्यटक डाक्न डुलिरहेको छ । 

पोखरा महानगरका मेयर धनराज आचार्य र लुजाउ सहरका मेयर तथा चिनियाँ कम्युनिस्ट पार्टी लुजाउका उपसचिव यु जिआनले भेटका क्रममा पर्यटन र संस्कृति, अर्थतन्त्र, प्राचीन चिनियाँ औषधी, शिक्षा र खेलकुद जस्ता क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् ।

कार्यक्रममा पोखराका तर्फबाट मेयर आचार्यसँगै प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्षका कार्यसम्पादन समिति संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी उपस्थित थिए । 

लुजाउका तर्फबाट मेयर जिआनसँगै साउथवेष्ट मेडिकल युनिभर्सिटीका अध्यक्ष हा ताओ, लुजाउका उपमेयर लुआ सुपिङ, महानगरका महासचिव लि झेन्जिआओ, संस्कृति, रेडियो, टिभी तथा पर्यटन विभागका निर्देशक लि लिङ, परराष्ट्र मामिला निर्देशक लिन यू र पार्टी कमिटी सचिव तथा साउथवेष्ट मेडिकल इन्भेष्टमेण्ट ग्रुपका अध्यक्ष लिन जिआन सहभागी थिए । 

पोखराका मेयर आचार्यले पोखरा र नेपालको पर्यटकीय गन्तब्यहरुबारे चिनियाँ मिडिया मार्फत प्रचार गराइदिन आग्रह गरेका छन् । ‘हाम्रा सहरलाई कसरी व्यापारसँग जोडेर प्रवद्र्धन गर्न सकिन्छ भनेर चीनको मिडियाले सहयोग गरिदिनुपर्ने छ,’ उनले भने, ‘यसबाहेक पनि हामीबिच आदान प्रदान गर्न बाँकी धेरै कुराहरू छन् ।

सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्छ ।’ उनले पोखरा भ्रमण वर्ष सफल पार्न लुजाउको साथ खोजे । ‘कस्तो गतिविधि गर्नपर्छ पोखरा तयार छ । हामी भ्रमण वर्ष घोषणा गरेर आएका हौं,’ उनले भने, ‘हाम्रो लक्ष्य भ्रमण वर्ष सफल गर्ने नै हो । मितेरी गाउँका धेरै भन्दा धेरै पर्यटकलाई पोखरामा स्वागतका लागि आतुर छौं ।’ उनले लुजाउका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीको सङ्ख्या बढाइदिन पनि अनुरोध गरे । 

लुजाउका मेयर जिआनले पोखराबारे धेरै सुने पनि पुग्न नपाएको भन्दै छिटै पोखरा भ्रमण गर्ने बताएका छन् । ‘पोखरा राम्रो छ भनेर मैले सुनेको छु, मलाई पनि पोखरा आउन मन छ,’ उनले भने, ‘पोखरा सुन्दर मात्रै छैन, आत्मीय पनि छ भन्ने मेरो उपमेयरले सुनाउनुभएको छ ।’ नगरपालिकाले गरेका विकास, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रका बारेमा जानकारी गराएका थिए । 

दुई मेयरहरूले नेपाल र चीनको द्धौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र पोखराले पनि पोखरा भ्रमण वर्ष यही वर्ष मनाइरहेकोमा खुसीयाली साटे । लुजाउ ५० लाख भन्दा बढी जनसङ्ख्या भएको सहर हो ।

चीनकै उत्कृष्ट पर्यटन सहरको रूपमा स्थापित लुजाउले विश्वका २ वटा अन्तर्राष्ट्रिय सहरमा भगिनी सम्बन्ध कायम गरेको छ । यता पोखराको भने १२ वटा सहरसँग भगिनी सम्बन्ध छ । तिमध्ये ८ वटा सहर चीनकै छन् । मेयर आचार्यको टोलीले लुजाउको साउथवेष्ट मेडिकल युनिभर्सिटी, हुवावे सिचुआन विग डाटा सेन्टरको भ्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप

छुटाउनुभयो कि ?