शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

अखिल क्रान्तिकारी र नेविसंघ उत्साहित, अनेरास्ववियु खस्कियो

बिहीबार, ०७ चैत २०८१, २१ : १८
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । त्रिविका ३८ वटा आंगिक र करिब ३ सय  सम्बन्धनप्राप्त कलेजहरूमा चैत ५ गते निर्वाचन सम्पन्न भएको थियो । 

अहिलेसम्मको नतिजाले कांग्रेसनिकट नेपाल विद्यार्थी र माओवादी निकट अखिल क्रान्तिकारी उत्साहित देखिएका छन् । 

नेकपा एमालेनिकट अनेरास्ववियुले भने निर्वाचनको समीक्षा हुनुपर्नेमा जोड दिइरहेको छ । २०७९ सालको तुलनामा यो पटक धेरै कलेजमा निर्वाचन जितिने उनीहरूको दाबी छ । अर्थात् अझै हुन बाँकी कलेजहरूमा आफूहरूले धेरै ठाउँमा जित्ने उसले दाबी गरेको छ । 

हालसम्म प्राप्त विवरणअनुसार नेविसंघले १०९ कलेजको स्ववियु अध्यक्ष जितेको छ । निर्वाचन भएका ३८ वटा आंगिक क्याम्पसमध्ये नेविसंघले १५ वटामा स्ववियु अध्यक्ष जितेको छ । 

त्यस्तै अनेरास्ववियुले हालसम्म ९७ वटा कलेजमा स्ववियु निर्वाचन जितेको छ । अनेरास्ववियुले ११ वटा आंगिक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ । जबकि अनेरास्ववियुले २०७९ सालमा १८ वटा आंगिक क्याम्पसमा निर्वाचन जितेको थियो ।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले हालसम्म ८४ वटा कलेजमा स्ववियु अध्यक्ष जितेको जनाएको छ । उसले १० वटा आंगिक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ । अन्यमा समेत कुनैमा सचिव तथा कुनैमा कोषाध्यक्ष जितेको छ । 

त्यसबाहेक एकीकृत समाजवादीनिकट अनेरास्ववियूले ४, स्वतन्त्र ३, जसपानिकट विद्यार्थी गठन समाजवादी विद्यार्थी युनियनले एउटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ । 
स्ववियु निर्वाचनको नतिजा देखेर अखिल क्रान्तिकारी निकै उत्साहित देखिएको छ । नेविसंघले २०७९ सालको निर्वाचनको निरन्तरता भनेको छ  भने अनेरास्ववियुले धेरै स्थान गुमाएका कारण समीक्षाको विषय बनाउनुपर्नेमा जोड दिएको छ । अनेरास्ववियु नेतृत्वले यसलाई सहज नै लिए पनि कार्यकर्ताहरूले नेतृत्वले निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिइरहेका छन् । 

अनेरास्ववियुले जितेका कलेज

अखिल क्रान्तिकारी महासचिव रोशन थापा मगरले अहिलेको नतिजाले विद्यार्थी आन्दोलनमा थप ऊर्जा पैदा गरेको बताए । संगठनभित्र ३२ वर्षे उमेरहद, माउपार्टी प्रतिपक्षमा रहनुको फाइदालगायत कारण विद्यार्थीमाझ अखिल क्रान्तिकारी रुचाइएको उनको तर्क छ । माउपार्टी सरकारमा हुँदा राम्रै काम गरेकाले विद्यार्थीले आफूहरूलाई समेत पत्याएको उनले बताए । 

२०७९ सालमा ३ वटा आंगिक कलेजमा मात्रै अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन जितेको थियो । त्यसअघि २०७३ सालमा पनि ३ वटामै सीमित थियो । तर, यो पटक १० वटामा जितेपछि अखिल क्रान्तिकारी उत्साहित छ । क्रान्तिकारीले दाबी गरेका १० मध्ये ६ वटामा ऊ एक्लै लडेको थियो । भने २ वटामा संयुक्त प्यानलसहित चुनावी मैदानमा होमिएको थियो । २ वटामा भने स्वतन्त्रबाट उम्मेदवारी दिएकालाई क्रान्तिकारीले सहयोग गरेको थियो । उनीहरू निर्वाचनपछि क्रान्तिकारीमा प्रवेश गरेका छन् । 

नेविसंघका प्रवक्ता सुरज सेजुवालले आफूहरूको विगतकै निरन्तरता भएको बताए । २०७९ सालमा जहाँ जहाँ नेविसंघ निर्वाचित भएको थियो, यो पटक पनि निरन्तर पाएको उनले बताए । अनेरास्ववियु लगायतले जितेका कलेजहरूमा समेत यो पटक नेविसंघले जितेको उनको दाबी छ । संगठनको अस्तव्यवस्तताबिच समेत विद्यार्थीले नेविसंघलाई रुचाएका उनले बताए । विद्यार्थी संगठन र पार्टीप्रति वितृष्णा फैलिरहेका वेला स्ववियु निर्वाचनले राहत मिलेको उनको भनाइ थियो । ‘स्वतन्त्रको लहर भनेर खुबै चर्चा चल्यो । तर, अहिले विद्यार्थी संगठनहरूको विकल्प स्वतन्त्र वा अन्य हुँदैन भन्ने देखिएको छ,’ सेजुवालले भने । 

नेविसंघले जितेका कलेज

पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरमा यो पटक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विद्यार्थी संगठनका उम्मेदवारलाई पराजित गर्दैै स्वतन्त्रका स्वयम् श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । 

त्यस्तै पोखराको पश्चिमाञ्चल क्याम्पसमा समेत स्वतन्त्र उम्मेदवार विजयी भए । प्रकाश धामीले यहाँ अध्यक्ष पद जिते । त्यस्तै धरानको केन्द्रीय प्रविधि क्याम्पसमा समेत स्वतन्त्रका पेशलराज कार्की निर्वाचित भए । उनलाई अखिल क्रान्तिकारीले समर्थन गरेको थियो भने निर्वाचनपछि अखिल क्रान्तिकारीमा प्रवेश गर्ने सहमति भएको थियो । सोहीअनुसार उनी अखिल क्रान्तिकारीबाटै निर्वाचित भएका र संगठन प्रवेश गरेका क्रान्तिकारीका महासचिव मगरले बताए । 

त्यस्तै चितवन इन्जिनियरिङ क्याम्पसमा समेत स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भए । उनी पनि अखिल क्रान्तिकारी प्रवेश गर्न लागेका महासचिव मगरले जानकारी दिए । 

क्रान्तिकारीले जितेका कलेजहरू

अनेरास्ववियुले समीक्षा गर्ने

धेरै आंगिक क्याम्पसहरू गुमाएको एमाले विद्यार्थी संगठन अनेरास्ववियुभित्र भने निर्वाचनको नतिजालाई लिएर समीक्षाको विषय बन्नुपर्ने आवाज उठ्न थालेको छ । विगतमा जित्दै आएका धेरै कलेजमा अन्य संगठनले जितेको भन्दै नेता तथा कार्यकर्ताहरूले अनेरास्ववियु नेतृत्वले निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् । 

काठमाडौँ उपत्यकाका तीन वटा आंगिक क्याम्पसमा मात्रै अनेरास्ववियुले जितको छ । महेन्द्र रत्न क्याम्पस ताहाचलमा ईश्वर थापा, ललित कला क्याम्पस भोटाहिटीमा आशीष पौडेल र नेपाल कमर्स क्याम्पस मीनभवनमा  विशाल रोकाहा निर्वाचित भएका हुन् । 

महाराजगञ्ज नर्सिङ क्याम्पस र महाराजगञ्ज मेडिकल कलेजमा यो पटक नेविसंघले जित्यो । यी दुवै कलेजमा २०७९ सालमा अनेरास्ववियुले बाजी मारेको थियो । 

त्यस्तै यो पटक पुल्चोक इन्जिनियरिङ कलेजसमेत अनेरास्ववियुले गुमाएको छ । विगतमा जित्दै आएका धेरै कलेज यो पटक अनेरास्ववियुले गुमाएको छ । जसले गर्दा विद्यार्थी तथा कार्यकर्तास्तरमा अनेरास्ववियुको नेतृत्वप्रति समीक्षा गर्नुपर्नेमा जोड दिइएको छ । 

अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले विगतमा जित्दै आएका कलेज यो पटकसमेत जितेको दाबी गरेका छन् । काठमाडौँ उपत्यकाका कतिपय कलेजमा स्ववियु निर्वाचन रोकिएकाले ती कलेजमा अनेरास्ववियुले जित्ने निश्चित रहेको उनले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?