सभापति सहकारी काण्डमा फस्दा रास्वपा महाधिवेशन अनिश्चित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्धारित समयमै महाधिवेशन गर्ने हो भने जम्मा ४८ दिन बाँकी छ ।
तर पूर्वनिर्धारित समयमै महाधिवेशन हुनेमा रास्वपका शीर्ष नेताहरू नै विश्वस्त देखिएका छैनन् । असोज २ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख (२५–२७) सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । सभापति रवि लामिछानेले नै मिति प्रस्ताव गरेका थिए ।
सहकारी ठगी आरोपमा अहिले लामिछानेविरुद्ध चार वटा जिल्ला अदालतमा मुद्दा चलिरहेकाले समयमै महाधिवेशन हुनेमा आशंका उब्जिएको हो । लामिछाने पक्राउ परेपछि सिंगो पार्टी उनको प्रतिरक्षामा खटिँदा दुई महिना समय पार्टीको अन्य आन्तरिक कार्य नै प्रभावित भएको नेताहरूले बताएका छन् । यस्तो अवस्थामा पार्टीको महाधिवेशन तोकिएको मितिमै हुनेमा आशंका व्यक्त गर्छन् कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी ।
कार्यतालिका कार्यान्वयन हुनेगरी नै पार्टीले प्रक्रिया अगाडि बढाए पनि प्राविधिक कारणले तोकिएको समयमा महाधिवेशन हुनेमा उनी पनि विश्वस्त छैनन् ।
यद्यपि आगामी हप्ता बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनसम्बन्धी एजेन्डा पेस हुने उनले जानकारी दिए । चैत ४ गते बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । तर बिहीबारसम्म बस्ने दिन र समयको टुंगो नलागेको बुर्लाकोटीले रातोपाटीलाई बताए ।
केन्द्रीय समिति बैठक दिन र समय टुंगो लगाउन छलफल भइरहेकाले आज/भोलिसम्ममा टुंगो लाग्ने उनले स्पष्ट पारे । महाधिवेशन मिति प्रभावित हुन्छ कि हुँदैन भन्ने विषयमा बैठकले नै टुंग्याउने बुर्लाकोटीले बताए ।
‘महाधिवेशनको क्यालेन्डर बनाउने विषय नीतिगत भएकाले केन्द्रीय समिति बैठकले नै टुंग्याउँछ । सबै स्थिति हेर्दा निर्धारित मिति प्रभावित हुन सक्छ’, उनले भने ।
राजनीतिक प्रतिवेदन लामिछानेले तयारी गरेको भए पनि उनी बैठकमा सहभागी हुने सम्भावना नरहेको बुर्लाकोटी बताउँछन् ।
लामिछानेविरुद्ध सरकारले पर्सा जिल्ला अदालतमा समेत मुद्दा दायर गर्ने तयारी गरेको छ । उनीविरुद्ध सहकारी ठगीबाहेक संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाइएको छ । मुद्दा छिनोफानो हुन धेरै समय लाग्ने भएकाले पर्सा जिल्ला अदालतमा पर्न सक्ने सम्भावित मुद्दा पर्खेर बस्ने कि नबस्ने भन्ने विषय अन्योलमै रहेको बुर्लाकोटीको भनाइ छ ।
‘महाविधेशन प्रक्रिया त रोकिँदैन । रविजीले पर्साको मुद्दा प्रक्रिया कुरेर बस्नुभएको छ । त्यो लम्बियो भने कुरेर बस्नुहुन्न । यही बिचमा मुद्दा दायर भए सोहीअनुसार अगाडि बढ्नुहुन्छ । तर अहिलेको स्थितिमा महाधिवेशन थोरै प्रभावित हुन सक्छ’, उनले भने ।
कार्यवाहक प्रवक्ता मनीष झाले महाधिवेशन प्रक्रिया प्रभावित नहुने बताए । महाधिवेशन एजेन्डाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएकाले यस विषयमा पार्टीले नै निर्णय गर्ने झाको भनाइ छ ।
‘अब बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेन्डामाथि छलफल हुन्छ । अहिले नै महाधिवेशन प्रभावित भइहाल्छ भन्ने स्थिति छैन । यस विषयमा बैठकले नै निर्णय गर्छ’, उनले भने ।
झाले पनि पर्सा जिल्ला अदालतको मुद्दाको पर्खाइमा लामिछाने रहेकाले केन्द्रीय समिति बैठकमा सभापति सहभागी नहुने बताए । जिल्ला, प्रदेशको अधिवेशनको समय र प्रतिनिधि छनोटको विधि केन्द्रीय समितिमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए ।
गतवर्ष मंसिर (११–१३) सम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकले लामिछानेले पेस गरेको महाधिवेशनसम्बन्धी कार्यविधि र सागंठनिक संरचना पारित गरेको थियो । त्यही कार्यविधिअनुसार रास्वपाले सातै प्रदेशमा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पालिका र जिल्ला सम्मेलन बल्ल प्रारम्भ भएको बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाको राष्ट्रिय भेलाको निर्णयअनुसार पालिका र जिल्ला अधिवेशनको समय चैत महिना छुट्याइएको थियो । २०८२ को वैशाखमा प्रदेश र केन्द्रीय अधिवेशन गर्नेगरी महाधिवेशनको कार्यतालिका बनेको थियो । हाल ७ वटा पालिकाका समिति गठन भएको उनले जानकारी दिए ।
‘अहिले अपवादबाहेक वडा अधिवेशन सम्पन्न भइसकेको छ । पालिका समिति गठन प्रक्रिया अगाडि बढिरहेको छ । चैतको अन्तिम सातासम्म अधिवेशन सम्पन्न हुन्छ होला’, उनले भने ।
राष्ट्रिय भेलामा बुर्लाकोटीले पेस गरेको महाधिवेशनको कार्यतालिका पारित भएको थियो । त्यतिवेला पारित भएको कार्यतालिकाअनुसार असोजदेखि माघसम्म वडा तदर्थ समिति बनाउने तथा फागुनमा वडा अधिवेशन सकिने थियो । त्यतिवेला बुर्लाकोटीले बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा महाधिवशेन अगाडि कम्तीमा ४ हजार वडा र ५ सय पालिकामा तदर्थ समिति गठन गर्ने लक्ष्य राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टाका लागि किन बन्द भयो लन्डनको हिथ्रो विमानस्थल ?
-
उपत्यकाका १३ पानीपोखरीमा अत्याधुनिक प्रणालीमार्फत आपूर्तिको प्रबन्ध
-
वसन्तपुर स्थित नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो
-
कान्द्रा नदीमा तटबन्ध निर्माण
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ हुँदै