शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

एनआरएनए एकता महाधिवेशन : राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वान, ७ एजेन्डा तय

बिहीबार, ०७ चैत २०८१, २० : ४२
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले एकता महाधिवेशनको पहलस्वरुप राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई बैठकमा बोलाएको छ । 

उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले बिहीबार सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षलाई बैठकबारे पत्राचार गरेका हुन् । सबै एनसीसीसँगको बैठक शुक्रबार साँझ ५ बजे (नेपाली समयानुसार) भर्चुअल रूपमा बस्नेछ ।

बैठकका लागि विभिन्न ७ वटा एजेन्डा तय भएको कुँवरले बताए । उनका अनुसार  सर्वोच्च अदालतको फैसला र सोको कार्यान्वयन सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयबाट प्राप्त पत्रहरुको कार्यान्वयन सम्बन्धमा भनेर एउटा एजेन्डा तय गरिएको छ । यसैगरी सदस्यता नवीकरण तथा नयाँ सदस्य दर्ताका लागि तोकिएको ३१ मार्चसम्मको समयसिमाका सम्बन्धमा, एनसीसीहरूका अधिवेशन सम्बन्धमा, अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्बन्धमा,  उच्चस्तरीय समिति र राष्ट्रिय समन्वय परिषद्‍‍बिच एमओयु सम्बन्धमा, केन्द्रीय कार्यालय सञ्चालन र  विविध भनेर एजेन्डा तय गरिएको उनको भनाइ छ । यी सबै विषयमा बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने कुँवरले बताए । 

बैठकमा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेको प्रमुख आतिथ्यता रहने छ  भने संस्थापक तथा पूर्व अध्यक्षहरू, उच्चस्तरीय समितिका सम्पूर्ण सदस्यहरू, परराष्ट्र मन्त्रालय साथै कानुन, न्याय र संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरू समेतको उपस्थिति रहने छ । 

यस्तै गैरआवासीय नेपाली संघ एनसीसीका अध्यक्ष, पदाधिकारी तथा एनआरएनए अभियन्ताहरूको बैठकमा सहभागिता रहने भन्दै सक्रिय सहभागिताका लागि पत्रमार्फत अनुरोध गरिएको छ । 

समितिले आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा एकताको महाधिवेशन मिति घोषणा गरेको छ । उक्त महाधिवेशनमा एनसीसीहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि उपसमितिले आवश्यक छलफल गर्न लागेको कुँवरको भनाइ छ । गत वर्षको चैत २१ मा सर्वोच्चले घलेको नेतृत्वमा एनआरएनएको विवाद समाधान गरेर एकताको महाधिवेशन गर्न दिएको परमादेशअनुसार महाधिवेशन गर्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?