शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

एसईईकाे पहिलाे दिन मधेश प्रदेशमा २ हजार १७१ जना अनुपस्थित, ७९ हजार ५६० ले दिए परीक्षा

बिहीबार, ०७ चैत २०८१, २० : ०९
बिहीबार, ०७ चैत २०८१

जनकपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षामा आज पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सम्पन्न भएको हो । 

परीक्षाकाे पहिलाे दिन मधेशमा धेरै विद्यार्थी अनुपस्थित रहेकाे पाइएकाे छ । मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएकाे  विवरणअनुसार पिहलाे  दिनकाे परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी अनुपस्थित भएका छन् । 

परीक्षामा कुल सहभागी हुनुपर्ने विद्यार्थीको संख्या भन्दा २ हजार कम विद्यार्थी सहभागी भएको मधेस प्रहरीले पुष्टि गरेको हाे । प्रदेशका ८ वटै जिल्लाबाट २१७१ परीक्षार्थी आज अनुपस्थित भएको प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए ।

याे वर्ष एसईईमा मधेस प्रदेशबाट कुल ८१ हजार ७३१ विद्यार्थी परीक्षामा सहभागीताको लागि फर्म भरेका थिए । तर, आज पहिलो दिनको परीक्षामा सबै जिल्लाबाट गरी कुल ७९ हजार ५६० विद्यार्थी परीक्षामा भाग लिएको जनाइएको छ ।

कुन जिल्लामा कति विद्यार्थीले फर्म भरेका थिए ?
आजदेखि सुरु भएको एसईई परीक्षामा सहभागी हुनका लागि कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो विद्यालयमा परीक्षामा फर्म भरेका थिए । आठवटै जिल्लाको शिक्षा विकास तथा इकाइ समन्वय समितिले दिएको जिल्लागत तथ्यांक अनुसार पर्साबाट ९८०२, बाराबाट ८३३३, रौतहटबाट ९६६३, सर्लाहीबाट १११०९, महोत्तरीबाट ९८३७, सिरहाबाट १०५७२, सप्तरीबाट ८७५६ र धनुषाबाट १३६५९ जना विद्यार्थीले फर्म भरेका थिए । 

परीक्षामा सहभागी हुनको लागि फर्म भरेर सबै आवश्यक कागजातसमेत लिएर गएको सप्तरी शिक्षा विकास तथा इकाइ समन्वय समितिका शशी यादवले बताए । तरपनि धेरै विद्यार्थी आज पहिलो दिनको परीक्षामा अनुपस्थित रहेको पाइएको उनले सुनाए । यही कारणले अनुपस्थित भएको भन्नेबारे जानकारी नआएकोले अनुपस्थितिबारे बुझ्ने प्रयास भइरहेकाे यादवले बताए ।

कतिले दिए परीक्षा ?
मधेशका आठवटै जिल्लाका शिक्षा विकास तथा इकाइ समन्वय समितिले उपलब्ध गराएको विवरण अनुसार पर्सामा ९४५९, बारामा ८२२८, रौतहटमा ९३६९, सर्लाहीमा १०९४९, महोत्तरीमा ९६२४, धनुषामा १३५५९, सिरहामा १०२१७ र सप्तरीमा ८१५५ जना विद्यार्थीहरुले पहिलो दिनको परीक्षा दिएका छन् । 

पर्साको २९, बाराको ४१, रौतहटको ४०, सर्लाहीको ३८, महोत्तरीको ३२, धनुषाको ४५, सिरहाको ५० र सप्तरीको ३७ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएको मधेस प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ । यसैगरी परीक्षा सञ्चालनका लागि ३१२ परीक्षा केन्द्रमा ३१२ जना केन्द्राध्यक्ष, ४५९ सहायक केन्द्राध्यक्ष, चार हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक, एक हजार ६६६ जना सहयोगी कर्मचारी परीक्षामा खटाइएको छ ।

हरेक जिल्लाबाट कति गयल ?
मधेशका ८ वटै जिल्लामा सरदरमा सय भन्दा बढी विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् । जिल्लाका शिक्षा विकास तथा इकाइ समन्वयहरुले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा ३४३, बारामा १०५, रौतहटमा २९४, सर्लाहीमा १६०, महोत्तरीमा २१३, सिरहामा ३५५, सप्तरीमा ६०१ र धनुषामा १०० जना विद्यार्थीहरु अनुपस्थित भएका छन् । यसमा नियमित, प्राविधिक र ग्रेडवृद्धि विद्यार्थी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप

छुटाउनुभयो कि ?