शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित

बिहीबार, ०७ चैत २०८१, २२ : २४
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जित हासिल गरेको छ । कर्णाली प्रदेशले बिहीबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्द्वी लुम्बिनी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित हासिल गरेको हो । 

जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले सातौँ र कर्णाली प्रदेशले छैटौँ खेल खेलेका हुन् । लुम्बिनी प्रदेशको यो तेस्रो हार हो । चार खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । कर्णाली प्रदेशको यो तेस्रो जित हो । तीन खेलमा कर्णाली प्रदेश पराजित भएको छ । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जिती ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ४८.५ ओभरमा अलआउट हुनुअघि दुई सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले ४९.४ ओभरमा अलआउट हुनुअघि दुई सय रनमात्र बनाउन सक्यो । 

पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । माथिल्लो क्रमका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै सस्तैमा पेभेलियन फर्किएपछि अर्जुन घर्तीले टोलीको खातामा ५६ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले ८४ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । आठौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्र रावतले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । 

दीपेन्द्र रावतले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६६ रन बनाए । उनले पनि ८४ बलकै सामना गरी नौवटा चौका हिर्काए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कर्णाली प्रदेशले टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै चार विकेट गुमाइसकेको थियो ।

 ओपनर रविन्द्र शाही नौ र सुनिल धमला १९ रन बनाउँदै पेभेलियन फर्किएका थिए । निश्चल रावल पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान विपिन रावल पनि १० रन बनाउँदै आउट भए ।  हिक्मत शाहीले त खातासम्म खोल्न सकेनन् । प्रकाश जैसी पनि शून्य रनमै पेभेलियन फर्किए । दिनेश अधिकारीले टोलीको खातामा १६ रन थपे । कप्तान दिवान पुनले दुई र मोहन विकले अविजित ६ रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि १० रन पायो । 

लुम्बिनी प्रदेशका बलर रमेश कुर्मीले तीन विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले पनि दुई–दुई विकेट हात पारे । देव खनालले पनि एक विकेट कुम्ल्याए ।  जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान प्रज्ज्वल थापाले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका प्रज्ज्वलले ८४ रन बनाए । 

लामो समय क्रिजमा सँघर्ष गरेका प्रज्ज्वलले एक सय सात बलमा ६ चौका हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देव खनालले पनि टोलीका लागि ४० रनको योगदान गरे । उनले ६० बलमा चार चौका प्रहार गरे ।

आकाश त्रिपाठीले २१ र मनिष थापाले १६ रन जोडे । लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा १९ रन पायो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारी र दीपेन्द्र रावतले तीन–तीन विकेट लिए । प्रकाश जैसीले पनि दुई विकेट हात पारे । दिवान पुन र सुनिल धमलाले एक–एक विकेट कुम्ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?