शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

पुलिस क्लबलको लगातार सातौँ जित, बागमती प्रदेशको केही लागेन

बिहीबार, ०७ चैत २०८१, २२ : २५
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार सातौँ जित हात पारेको छ । पुलिस क्लबले बिहीबार सम्पन्न खेलमा बागमती प्रदेशलाई ९३ रनको फराकिलो अन्तरले हराएको हो ।

सातौँ खेल खेलेको पुलिस क्लबले सातौँ जित हात पारेको हो । जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने पुलिस क्लब एकमात्र टोली हो । पुलिस क्लब सात खेलबाट १४ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । 

बागमती प्रदेशले भने आफ्नो छैटौँ खेल खेलेको हो । जारी प्रतियोगितामा बागमती प्रदेशको यो चौथो हार हो । दुई खेलमा भने बागमती प्रदेश विजयी भएको थियो । यो हारपछि बागमती प्रदेशको फाइनलमा पुग्ने सम्भावना पनि कमजोर बनेको छ । 

भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बिहीबार जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो ।

जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो । यसअघि जारी प्रतियोगितामा सर्वाधिक रनको कीर्तिमान पुलिस क्लब र बागमती प्रदेशकै नाममा संयुक्त रुपमा रहेको थियो । पुलिस क्लबले दुई खेलमा र बागमती प्रदेशले एक खेलमा दुई सय ८८ रन बनाएका थिए । 

पुलिस क्लबले दिएको ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने ४५.२ ओभरमा अलआउट हुनुअघि दुई सय चार रनमात्र बनाउन सक्यो । बागमती प्रदेशका माथिल्लो क्रममा ब्याट्सम्यानले टोलीलाई गतिलो सुरुवात दिए पनि तल्लो क्रममा ब्याट्सम्यान चल्न सकेनन् ।

पुलिस क्लबको जितमा दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर कुशल भुर्तेलले टोलीका लागि ८८ रनको योगदान गरे । उनले केवल ९८ बलको सामना गरी ११ वटा चौका पनि प्रहार गरे ।  कुशल भुर्तेल र अमित श्रेष्ठले ओपनिङ विकेटका लागि एक सय २४ रनको साझेदारी गरेका थिए । अमित श्रेष्ठ भने ४८ रन बनाउँदै दूर्भाग्यपूर्ण तरिकाले रनआउट भएका थिए । उनले ५१ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए ।

पुलिस क्लबका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतकीय पाली खेले । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रले ६० रन बनाए । उनले केवल ४६ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे । उनले ४६ बलमा चार चौका पनि प्रहार गरे । गुलसन झा १६ रन बनाउँदै पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले १० रन बटुले । 

पुलिस क्लबले अतिरिक्त रुपमा पनि २६ रन पायो । बागमती प्रदेशका बलर प्रतिश जीसीले तीन विकेट लिए । उनले १० ओभरमा ४६ रन खर्चिए । रिजन ढकाल, ईशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले पनि एक–एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको बागमती प्रदेशका लागि ओपनर ईशान पाण्डेले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ७० रन बनाए । यस क्रममा उनले ९८ बलको सामना गरी ६ चौका पनि हिर्काए ।

अर्का ओपनर आशुतोष घिरैया भने १२ रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले टोलीको खातामा ३६ रन थपे । उनले केवल २८ बलमा दुई छक्का र तीनवटा चौका पनि प्रहार गरे ।

विपिन आचार्य २० रन बनाउँदै पेभेलियन फर्किए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । पुलिस क्लबका बलर ललित राजवंशीले बागमती प्रदेशविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरे । उनले चार विकेट लिए । 

ललितले यस क्रममा १० ओभर बलिङ गर्दै ३४ रन खर्चिए । यसअघिका खेलमा पनि उनले उत्कृष्ट बलिङ गर्दै आएका छन् । कुशल भुर्तेल पनि तीन विकेट हात पारे । कुशलले ७.२ ओभरमा ५१ रन खर्चिए । करण केसीले दुई विकेट कुम्ल्याए । गुलसन झाले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?