सरकारको गति : असोजमा बाढी पहिरो, चैतमा बल्ल क्षति सङ्कलन !

काठमाडौँ । वर्तमान सरकारको कामको गति हेर्न टाढा जानु पर्दैन । मुलुकका दुई ठुला दल मिलेर बनेको शक्तिशाली सरकारले विकास र सुशासनका चर्को नारा लगाए पनि ६ महिनाअघि अर्थात् गत असोज १२ गते काठमाडौँसहित देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोको क्षतिको आकलन बल्ल सुरु गर्दैछ ।
बिहीबार गृहमन्त्री रमेश लेखकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आकलन तत्काल अघि बढाउने बताएर सरकार आफैँले आफ्नो कामको गति देखाएको छ ।
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औँ बैठकपछि सञ्चारकर्मीहरूसित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले गत असोजमा गएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको आकलन सङ्कलन कार्य आगामी साताभित्रै सुरु गरिने जानकारी दिए ।
‘गत असोज महिनामा बाग्मती, कोशी लगायतका प्रदेश लगायतका अरू ठाउँमा अविरल वर्षाका कारणले बाढी, पहिरो डुबानले जुन क्षति भएको थियो, अब तत्काल त्यसको क्षतिको विस्तृत क्षति आकलन अघि बढाउने विषयमा छलफल भएको छ’, गृहमन्त्री लेखकले भने- ‘निजी आवासहरू अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्छौँ ।’
बाढीपछि सरकारले बेलैमा काम थालेको भए यतिवेला सवै संरचना निर्माण गरिसक्ने समय भइसक्दा बल्ल सरकार क्षति सङ्कलनमा जुटेको गृहमन्त्रीको भनाइबाटै पुष्टि हुन्छ ।
आगामी दिनमा विपदबाट हुन सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयारीका साथ अघि बढ्ने विषयमा बैठकमा छलफल भएको समेत गृहमन्त्रीको भनाइ छ ।
‘यसअघिको बैठकले पश्चिम नेपालको भूकम्प (डोटी अछाम र जाजरकोट) विस्तृत क्षति आकलन नभएको ठाउँमा क्षति आकलन गर्ने, क्षति आकलन भएको ठाउँमा निजी स्थायी आवास निर्माणको कार्य अघि बढाउने निर्णय गरेका थियौँ’, गृहमन्त्री लेखकले भने- ‘पश्चिम नेपालको भूकम्पका बारेमा काम गर्नका लागि तीन वटा कार्यालय पनि म आफै गएर स्थापना गरेका छु, आजको बैठकमा त्यसका बारेमा जानकारी लिने काम भयो । पश्चिम नेपाल भूकम्पबाट उत्पन्न पीडा क्षति आकलन गर्न बाँकी रहेको ठाउँमा विस्तृत क्षति आकलन कार्य पनि द्रुत गतिमा अघि बढेको छ ।’
मन्त्री लेखकले क्षति आकलन भइसकेका केही ठाउँमा स्थायी आवास निर्माणको कार्य पनि अघि बढेको जानकारी दिँदै भने- ‘जाजरकोटमा पनि पुनर्निर्माण र पुनर्स्थापनाको काम अघि बढेको छ । यहाँबाट अनुदान पठाउने काम प्रारम्भ भएको छ । डेढ दुई वर्षदेखि रोकिएको काम अहिले अगाडी बढ्यो । त्यसका बारेमा पनि समीक्षा भयो ।’
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडी लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा समेत सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको विकास निर्माणको कामको गतिबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले अघिल्लो वर्षको तुलनामा विकासे कामले गति लिएको बताएका थिए ।