कसरी स्टारमय हुन पुग्यो कृषाको ‘पिताम्बर’ ?

काठमाडौँ । अभिनेता दायाहाङ राईको पछिल्लो समय बक्स अफिसमा दबदबा छ । थियटर ब्याकग्राउन्डका उनको वर्षमै ९ देखि १० फिल्म रिलिज हुन्छन् । अभिनेता सौगात मल्लको कुरा पनि त्यस्तै छ । थियटर ब्याकग्राउन्डकै उनले पनि वर्षमा ७ देखि ८ वटा फिल्म दिएकै हुन्छन् ।
अभिनेता प्रदीप खड्का पछिल्लो समयका स्टार हुन् । उनलाई फिल्म खेलाउन निर्माता निर्देशकको लाइन लाग्छ । उनी छानेर वर्षमा २–३ वटा फिल्म गर्छन् ।
दयाहाङ, सौगात, प्रदीपका अलवा अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया सबै कलाकार यतिवेला व्यस्त छन् ।
यी सबै कलाकारलाई एउटै फिल्ममा समेट्न वरिष्ठदेखि अहिले चलेका निर्देशकसम्मले सकेका छैनन् ।
तर निर्देशक कृषा चौलागाई त्यसमा सफल देखिएकी छन् । उनले यी सबै कलाकार समेटेर फिल्म तयार नै पारिसकिन् । फिल्म हो ‘पिताम्बर’ । किन मोलिन् उनले यस्तो जोखिम ? फिल्मको कन्टेन्टका न्याय दिन पनि स्टार कलाकार आफूलाई आवश्यक भएको उनी बताउँछिन् ।
‘जुन–जुन कलाकारलाई मैले कथा सुनाएँ । उहाँहरू आफै फिल्मका लागि एक्साइटेट थिएँ’, उनले भनिन्, ‘अहिले कलाकारलाई पनि हामी मासमा जानुपर्छ । हाम्रो फिल्म बिक्नुपर्छ । हामीबिच दोस्ती देखिनुपर्छ भन्ने भएको छ ।’
कलाकारमा कम्फर्ट जोनबाट बाहिरिएर, जोडिएर काम गर्नुपर्छ भन्ने भावना आफूले पाएको उनी सुनाउँछिन् । कलाकारमा पलाएको नयाँ सोचका कारण आफ्नो फिल्म स्टारमय भएको उनको धारणा छ ।
‘पिताम्बर’ उनको दोस्रो फिल्म हो । दोस्रो फिल्ममै यति धेरै स्टारलाई निर्देशन गर्नु ठुलै चुनौती सामना गर्नु हो । तर उनी सबै आफैले मनपराएका कलाकार भएकाले चुनौतीभन्दा पनि एक्साइटमेन्ट भएको बताउँछिन् ।
‘उहाँहरूको फिल्म टिकट काटेर हेरिन्थ्यो । त्यसैले म उहाँहरूसँग काम गर्दा नर्भस थिइनँ । किनभने उहाँहरू मेरो मनपर्ने हिरोहरू थिए’, उनले भनिन्, ‘म फिल्म निर्देशनको कुरोमा एकदमै क्लियर थिएँ । सबैले मेरो कन्फिडेन्ट मन पराए र जोडिए ।’ दयाहाङ त फोनबाटै फाइनल भएको उनी बताउँछिन् ।
‘सेटमा सबैलाई थर्काएर काम गराएँ’, उनले थपिन्, ‘सेटमा स्टार कलाकार भएकाले पनि म नर्भस थिइनँ, फिल्मप्रतिको भिजन र स्क्रिप्टमा क्लियर थिएँ ।’
आफूले समेटेका सबै स्टार कलाकार भएका र सबै व्यस्त हुँदा आफूलाई एउटा च्यालेन्ज भएको पनि उनले बताइन् । ‘उनीहरूको एकै समय अन्य काम पनि चल्दै थियो, एक जनाको समय बिग्रियो भने हामी सबै खाली बस्नुपर्थ्यो,’ उनले भनिन्, ‘त्यो हिसाबले फिल्म पूरा गर्न गाह्रो हुन्छ कि भन्ने डर थियो ।’ सबैको साथ र सपोर्टले फिल्म विना तनाव समयमै सकिएको उनले बताइन् ।
स्टार कलाकारसँग काम गर्नु नयाँ निर्देशकका लागि सिकाइ पनि हो । उनले दयाहाङसँग काम गर्दा त्यो अनुभव भने नपाएको बताइन् । दयाहाङको अभिनय क्षमता उनले देखेकी थिइन्, तर त्योभन्दा फरक अनुभव अभिनय गराउँदा पाएको उनको भनाइ छ । स्टार दयाहाङभन्दा पनि फिल्मको पात्र ठानेका कारण सजिलै फिल्म गरेको उनको अनुभव छ ।
‘मैले पहिल्यै क्लियर भएर दयाजीलाई भनेको थिएँ– तपाईंको पात्र यो, क्यारेक्टरको बाउन्ड्री यति । तपाईंले योभन्दा बाहिर जान पाउनुहुन्न’, उनले भनिन्, ‘मैले बोल्ने, खाने लगायतको स्टाइलसमेत बताएको थिएँ ।’
सुटिङमा कलाकारलाई बोलाउँदा पात्रको नामबाट बोलाउने गरेको उनी बताउँछिन्, जसले आफूलाई सजिलो भएको उनको धारणा छ । स्टार कलाकारलाई काम गराइरहेको भन्दा पनि पात्रहरूसँग छु भन्ने फिल गरेको उनले बताइन् ।
कृषाको कुरोमा सहमत जनाउँछन् अभिनेता दयाहाङ । ‘उनी एउटा सर्जक हो । उनलाई विश्वास गर्नु भनेको न उमेरले, न जेन्डर र न परिवेश । त्यतातिर म लाग्दिनँ’, दयाहाङले भने, ‘उसले के सोच्छ भन्ने मुख्य कुरो हो । मलाई उसले आफ्नो कुरो बलियोसँग भन्छ भन्ने लाग्यो । अनि अभिनयमा जोडिएँ, उनी कमान्ड गर्न सक्ने निर्देशकको रूपमा पाएँ ।’
- पहिलो फिल्मबाट चर्चा
कृषाको निर्देशकीय पहिलो फिल्म ‘ऐँचो पैँचो’ थियो । जुन गत वर्ष रिलिज भएको थियो । फिल्म निर्देशनबाट उनले राम्रो चर्चा मात्र बटुलिनन् । फिल्म अवार्डहरूमा उनले केही डेब्यु निर्देशकको अवार्डसमेत जितिन् । जसले उनलाई निर्देशनमा बढ्न थप हौसला दियो । त्यसैले उनले ‘पिताम्बर’ ल्याइन् ।
फिल्म चैत २९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्मको कन्सेप्ट पनि उनैको हो । जुन ‘ऐँचो पैँचो’भन्दा अगाडिकै हो ।
‘पिताम्बर लार्ज स्केलको फिल्म भएकाले पहिले सिम्पल फम्र्याटको ऐँचो पैँचो फिल्म गरेँ’, उनले भनिन्, ‘किनकि ‘पहिलोलाई दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया मिल्छ भनेर जान्न चाहन्थेँ ।’
‘ऐँचो पैँचो’ रिलिज भएपछि ‘पिताम्बर’का लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्ट डिजाइन गरेको उनले सुनाइन् । उनी ‘पिताम्बर’लाई भरपुर एक्सन फिल्म भन्छिन् । पछिल्लो समय एक्सन फिल्म कम आएकाले दर्शकका लागि यो फिल्म नौलो स्वाद हुने उनको बुझाइ छ ।
फिल्म मास दर्शकलाई ध्यानमा राखेर निर्माण गरिएको उनको भनाइ छ । ‘छक्का पन्जा ५’ र ‘बाह्र गाउँ’ पछि दर्शकले मासको फिल्म खोजेको आफूलाई महसुस भएको उनको भनाइ छ । ‘साउथ फिल्मले व्यवसाय गर्नु पनि मास रिलेटेट कथा भएर हो’, उनको बुझाइ छ ।
‘हामी केही वर्ग र समुदायको कथा भनिरहेका छौँ । त्यो पनि राम्रो हो । तर मासका लागि फिल्म भनेर पिताम्बर बनेको हो’, उनले थपिन्, ‘यसले फिल्म उद्योगमा कायापलट गर्छ । ठुलो सन्देश दिन्छभन्दा पनि धेरैभन्दा धेरै अडियन्सलाई मनोरञ्जन दिन्छ ।’ सानोमा फिल्म हेर्दा जसरी ताली र सिट्ठी बज्थ्यो । यो फिल्मबाट उनले त्यस्तै अपेक्षा राखेकी छन् ।
फिल्ममा एक्सन पनि भरपुर राखिएको उनी बताउँछिन् । ‘यसको मतलब प्रेम र रोमान्स छैन भन्ने होइन । सबै विषयवस्तु छन् । एक्सन फिल्म खर्च र समय पनि धेरै लाग्छ । यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैन,’ उनी भन्छिन्, ‘दर्शकका लागि रिक्स लिएको छु ।’
फिल्ममा प्रदीप खड्का पहिलो पटक एक्सन अवतारमा देखिँदैछन् । प्रदीपलाई फरक अवतारमा हेर्ने दर्शकको चाहनालाई आफूले पूरा गरेको उनको भनाइ छ ।
- स्क्रिप्ट पूरा गर्न डेढ वर्ष
फिल्मको स्क्रिप्ट पूरा गर्न झन्डै एकदेखि डेढ वर्ष लगाएको कृषा बताउँछिन् । त्यससमय आफूले स्क्रिप्टका लागि ३–४ जना लेखकसँग काम गरेका पनि उनले खुलाइन् ।
‘लामो समयदेखि फिल्महरू एउटा विशेष कुरामा मात्र केन्द्रित भइरहेका थिए । कतिपयले स्थानीय कथा देखाउनुपर्छ भन्दै त्यता लागिरहेका थियौँ’, भनिन्, ‘एउटा यस्तो फिल्म बनाउनुपर्छ, जुन वियोन्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् । म यस्तै फिल्म बनाउन चाहन्थेँ ।’
आफूले बनाएको जस्तो फिल्म नआएको पनि धेरै समय भएको र यस्ता फिल्मले मात्र धेरैभन्दा धेरै दर्शक हलसम्म तान्ने क्षमता राख्ने उनको बुझाइ छ । ‘अहिले हलमा मासलाई तान्न सक्नु नै फिल्मकर्मीको जित हो । त्यसकारण पिताम्बर बनाएँ’, उनले भनिन् ।
‘पिताम्बर’ हेरेपछि दर्शकले सन्देशभन्दा पनि मजा बोकेर घर जाने उनको विश्वास छ । पूर्ण रूपमा मनोरञ्जनात्मक भएकाले दर्शकको पैसा र समय खेर नजाने उनले दाबी गरिन् ।
एउटै टिकटमा धेरै स्टारको अभिनय हेर्न पाउनु अवसरसमेत भएको उनको भनाइ छ । ‘पिताम्बर’मा एकसाथ तीन क्यामेरा प्रयोग गरिएको पनि उनले बताइन् । भनिन्, ‘यसरी फिल्म खिचिएको नेपालमै पहिलो हो । दर्शकका लागि प्राविधिक रूपमा पनि बलियो फिल्म दिन त्यसो गरेको हो,’ उनले दाबी गरिन् ।
- किन निर्देशन ?
‘पिताम्बर’ निर्देशकीय दोस्रो फिल्म भए पनि कृषा चौलागाई सिने क्षेत्रमा नौलो नाम भने होइन । सन् २००७ मा फिल्म ‘इन्साफ’ निर्माण गरेर उनी यस क्षेत्रमा भित्रिएकी हुन् । त्यो समय उनी भर्खर १५ पूरा गरेर १६ वर्ष लागेकी थिइन् । आकर्षक जिउडाल, सुन्दर अनुहारकी उनी त्यतिवेला फिल्मको हिरोइनझैँ देखिन्छिन् । त्यही भएर फिल्म प्रचारका क्रममा एक पत्रकारले हिरोइन नबनेर किन निर्माता भनी उनलाई प्रश्नसमेत गरेका थिए । जवाफमा उनले भनेकी थिइन्, ‘हिरोइन त होइन, एकदिन निर्देशक बन्ने सोच छ ।’
उनले ‘इन्साफ’पछि ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘पलाँस’ लगायत आधा दर्जन फिल्म बनाएर निर्माणसँगै फिल्मका धेरै कुरा सिकिन् । आफ्नो फिल्मको नाइट सुटिङमा कति निर्माता राति घरमा जान्थे । उनी सुटिङ सेटमै बसेर हेर्थिन् । जसको कारण उनले निर्देशन अनुभव पनि लिन सफल भइन् ।
‘त्यतिवेला म फिल्म क्षेत्रमा सजिलो एक्सेसको खोजीमा थिएँ । किनभने म परिपक्व पनि थिइनँ’, उनी ती दिनहरूमा फर्किइन्, ‘निर्माता बन्न ठुलो अध्ययन पनि चाहिँदैन थियो । फिल्मले कति कमाउँछ, मार्केट कस्तो छ । केही बुझ्नुपर्दैन थियो । पैसा भए पुग्थ्यो ।’
निर्माणको पहिलो फिल्मबाटै युनिभर्सिटी पढेजस्तो अनुभव भएको उनले बताइन् । आफ्नो कथा आफैले भन्न सक्ने ठुलो प्लेटफर्मका रूपमा फिल्मलाई बुझेको बताइन् । भन्छिन्, ‘त्यो समय भविष्यमा निर्देशक बन्छु भन्ने थियो । अहिले आएर पूरा गरे ।’
उनी निर्मातापछि सीधै फिल्म निर्देशक बनेकी भने होइन । पहिले उनले ‘विज्ञापन’ फिल्म निर्देशन गरिन् । त्यसको चर्चासँगै सर्ट फिल्म निर्देशन गरेर देश विदेशका फेस्टिभलमा पठाइन् । त्यहाँ फिल्मले पाएको अवार्ड र चर्चाले उनलाई निर्देशनमा तान्यो । उनलाई लाग्यो, अब म फिल्म निर्देशन गर्न सक्छु । अनि निर्देशन गरिन् ‘ऐँचो, पैँचो’ । त्यसपछिको फिल्म हो यो ‘पिताम्बर’ ।
फिल्ममा दिव्या रायमाझी, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको समेत अभिनय छ । फिल्म दुई सेड्युल गरेर ७० दिनमा खिचिएको हो ।
केपी फिल्म्स्ले पुरुषोत्तम प्रधान फिल्म्स्सँग सहकार्य गरेर निर्माण गरेको ‘पिताम्बर’का निर्माता विशाल चौलागाई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका