चैत ११ गते काठमाडौँसहित देशभर गणतन्त्रको पक्षमा सचेतना अभियान चलाउने एमालेको घोषणा

नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । यसैगरी तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते नै देखि चैत ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।
यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटर साइकल र्योली आयोजना गरिने छ । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छ वटै प्रदेशका सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने उनको भनाइ छ ।
प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बिहीबार महासचिव पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।
एमाले केन्द्रीय सचिवालयको गत चैत ४ गते बसेको ४६औँ बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।
बैठकले पछिल्लो समय विदेशी शक्तिको उक्साहटमा पूर्वराजावादी शक्तिहरू सलबलाएर नेपाली जनता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै मिथ्या भ्रम फैलाएको ठहर गर्दै उक्त भ्रम चिर्न र जनतामा गणतन्त्रप्रति जागरण फैलाउन जनपरिचालन गर्ने निर्णय गरेको थियो ।
‘काठमाडौँसहित देशका मुख्य सहर, जिल्ला र सबै वडामा जनपरिचालन गर्ने निर्णय भएको छ’, सचिव योगेश भट्टराईले रातोपाटीसँग भने, ‘मुख्य मुख्य सहर र काठमाडौँमा हुने कार्यक्रम फरक फरक मितिमा भएका छन् र ती कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ ।'
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एकै दिन ६ हजार ७४३ वटै वडामा प्रदर्शनसहित प्रतिवाद सभा हुनेछन् । ‘वडा, जिल्ला र मुख्य सहरमा कुन कुन दिन त्यस्ता कार्यक्रम गर्ने भन्ने निर्णय सचिवालय बैठकले नै गर्नेछ’, अधिकारीले भने ।
फागुन ७ पछि पूर्वराजावादीहरूको पश्चगामी गतिविधि बढेकाले एमाले जनपरिचालनको निर्णयमा पुगेको हो । सरकारको नेतृत्व समेत गरेको एमालेले माघयता वडा केन्द्रित अभियान घोषणा गरेर चलाइरहेको छ ।
जसअनुसार वडा र टोलमा सदस्यता विस्तार र नवीकरण, भेला तथा प्रशिक्षण कमिटीको अधिवेशन, सुझाव संकलन र जनताको समस्या समाधानमा सुझाव लिने काम भइरहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
अभियानअन्तर्गत करिब साढे चार लाख सदस्यता विस्तार गरेर १० लाख पुर्याउने एमालेको लक्ष्य छ । २०७८ मंसिरमा चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा साँढे ५ लाख सङ्गठित सदस्य रहेको सो पार्टीले सार्वजनिक गरेको थियो ।
एमालेले अगामी २०८४ मा हुने निर्वाचनमा एक्लै बहुमत ल्याउने योजनाअनुसार २०७९ को निर्वाचनपछि लगातार विभिन्न कार्यक्रम बनाएर जनतासँग जोडिने प्रयत्न गरिरहेको छ । यहीबेला राजतन्त्र फर्काउने भन्दै पूर्वराजावादीहरुले समेत प्रदर्शनको तयारी गरिरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह गत फागुन २५ गते पोखराबाट काठमाडौँ आउँदा उनको पक्षमा देखिएको भिडबाट उत्साहित राजावादीहरूले राजतन्त्र फर्काउन पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा संयुक्त आन्दोलनमा जाने घोषणा गरेका छन् ।
उक्त समिति मातहतको निर्देशक समितिमा राप्रपा, राप्रपा नेपाललगायतका नेता तथा व्यवस्थाविरोधी अभियान चलाइरहेका दुर्गा प्रसाईँहरू समेत रहेका छन् ।
यता माओवादी केन्द्रसहित विपक्षी चार दलीय मोर्चाले समेत प्रतिगामी तथा पश्चगामी शक्तिका गतिविधिसहित सरकारका गलत क्रियाकलापविरुद्ध चैत १५ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । सरकारमै रहेको नेपाली कांग्रेसले समेत राजा फर्काउने भन्दै हुँदै आएका गतिविधिको विरोध गरिरहेको छ । कांग्रेसले चैत १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर विकसित राजनीतिक घटनाक्रमबारे थप निर्णय गर्ने तयारी समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधले बिगारेको जिन्दगी सुधार्ने प्रयास
-
योगी आदित्यनाथसँग मुख्यमन्त्री सिंहको भेटवार्ता, मन्त्रीहरू अनभिज्ञ
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बेलायती प्रधानमन्त्रीले भने-युक्रेन सम्झौताको बचाउ नगरे पुटिनले बर्वाद पार्छन्
-
आर्थिक सुधारसँग जोडिएका तीन विधेयक पारितसँगै लगानीको वातावरण सृजना हुने सरकारको विश्वास
-
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना