शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

चैत ११ गते काठमाडौँसहित देशभर गणतन्त्रको पक्षमा सचेतना अभियान चलाउने एमालेको घोषणा

पश्चगामी चलखेललाई ‘काउन्टर’
बिहीबार, ०७ चैत २०८१, १७ : ५९
बिहीबार, ०७ चैत २०८१

नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । यसैगरी तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते नै देखि चैत  ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए । 

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटर साइकल र्‍योली आयोजना गरिने छ । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छ वटै प्रदेशका सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने उनको भनाइ छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बिहीबार  महासचिव पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

एमाले केन्द्रीय सचिवालयको गत चैत ४ गते बसेको ४६औँ बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।

 बैठकले पछिल्लो समय विदेशी शक्तिको उक्साहटमा पूर्वराजावादी शक्तिहरू सलबलाएर नेपाली जनता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै मिथ्या भ्रम फैलाएको ठहर गर्दै उक्त भ्रम चिर्न र जनतामा गणतन्त्रप्रति जागरण फैलाउन जनपरिचालन गर्ने निर्णय गरेको थियो ।

‘काठमाडौँसहित देशका मुख्य सहर, जिल्ला र सबै वडामा जनपरिचालन गर्ने निर्णय भएको छ’, सचिव योगेश भट्टराईले रातोपाटीसँग भने, ‘मुख्य मुख्य सहर र काठमाडौँमा हुने कार्यक्रम फरक फरक मितिमा भएका छन् र ती कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ ।'

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एकै दिन ६ हजार ७४३ वटै वडामा प्रदर्शनसहित प्रतिवाद सभा हुनेछन् । ‘वडा, जिल्ला र मुख्य सहरमा कुन कुन दिन त्यस्ता कार्यक्रम गर्ने भन्ने निर्णय सचिवालय बैठकले नै गर्नेछ’, अधिकारीले भने ।

फागुन ७ पछि पूर्वराजावादीहरूको पश्चगामी गतिविधि बढेकाले एमाले जनपरिचालनको निर्णयमा पुगेको हो । सरकारको नेतृत्व समेत गरेको एमालेले माघयता वडा केन्द्रित अभियान घोषणा गरेर चलाइरहेको छ ।

जसअनुसार वडा र टोलमा सदस्यता विस्तार र नवीकरण, भेला तथा प्रशिक्षण कमिटीको अधिवेशन, सुझाव संकलन र जनताको समस्या समाधानमा सुझाव लिने काम भइरहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

अभियानअन्तर्गत करिब साढे चार लाख सदस्यता विस्तार गरेर १० लाख पुर्‍याउने एमालेको लक्ष्य छ । २०७८ मंसिरमा चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा साँढे ५ लाख सङ्गठित सदस्य रहेको सो पार्टीले सार्वजनिक गरेको थियो । 

एमालेले अगामी २०८४ मा हुने निर्वाचनमा एक्लै बहुमत ल्याउने योजनाअनुसार २०७९ को निर्वाचनपछि लगातार विभिन्न कार्यक्रम बनाएर जनतासँग जोडिने प्रयत्न गरिरहेको छ । यहीबेला राजतन्त्र फर्काउने भन्दै पूर्वराजावादीहरुले समेत प्रदर्शनको तयारी गरिरहेका छन् ।

  पूर्वराजा ज्ञानेन्द्र शाह गत फागुन २५ गते पोखराबाट काठमाडौँ आउँदा उनको पक्षमा देखिएको भिडबाट उत्साहित राजावादीहरूले राजतन्त्र फर्काउन पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा संयुक्त आन्दोलनमा जाने घोषणा गरेका छन् ।

 उक्त समिति मातहतको निर्देशक समितिमा राप्रपा, राप्रपा नेपाललगायतका नेता तथा व्यवस्थाविरोधी अभियान चलाइरहेका दुर्गा प्रसाईँहरू समेत रहेका छन् ।

  यता माओवादी केन्द्रसहित विपक्षी चार दलीय मोर्चाले समेत प्रतिगामी तथा पश्चगामी शक्तिका गतिविधिसहित सरकारका गलत क्रियाकलापविरुद्ध चैत १५ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । सरकारमै रहेको नेपाली कांग्रेसले समेत राजा फर्काउने भन्दै हुँदै आएका गतिविधिको विरोध गरिरहेको छ । कांग्रेसले चैत १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर विकसित राजनीतिक घटनाक्रमबारे थप निर्णय गर्ने तयारी  समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?