धुलिखेल खावा सडकमा लफडा, स्थानीयले बाटो बन्द गराए

काभ्रे । धुलिखेल खावा सडक निर्माण सम्पन्न नगरेको भन्दै स्थानीयले सडक बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त सडक समयमा नबनाई स्थानीय र यात्रुहरूलाई सास्ती व्यहोर्न बाध्य पारेको भन्दै बिहीबार दिउँसो १ बजेबाट सडक बन्द गरिएको हो ।
स्थानीय र व्यवसायीहरूले अरनिको राजमार्ग धुलिखेल खावा सडक पकुचामा स्थानीय अवरोध गरेका हुन । धुलिखेल खावा ४ किलोमिटर सडक खण्ड निर्माणको सुनिश्चितता नभएको भन्दै आक्रोशित स्थानीयले सडक बन्द गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । तीन पटक सरकार फेरिए पनि सडकको अवस्था फेरिन नसकेको स्थानीयको गुनासो रहेको छ ।
गत २०७९ जेठ २० मा सम्झौता गरी निर्माण कार्य थालिएको सो सडकको काम २०८० चैत १९ मा सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण व्यवसायीले समयमा नै काम नगर्दा समय सीमा सकिएको वर्ष दिन पछि ठेक्का रद्द गरिएको छ । गौरी पार्वती निर्माण सेवा प्रालिले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक निर्माणमा ढिलासुस्ती र निर्देशनको बेवास्ता गरेको भन्दै सडक डिभिजन कार्यालयले भक्तपुरले २०८१ फागुन १५ गते ठेक्का सम्झौता रद्द गरेको थियो ।
कार्यालयले ठेक्का रद्द गरेसँगै निर्माण व्यवसायी अदालत पुगेका छन् । निर्माण व्यवसायी अदालत पुगेपछि सडक निर्माण थप अन्यौलता तर्फ धकेलिएको छ । तोकिएको समयमा काम नभएको भन्दै कार्यालयलेले ठेक्का रद्द गरे लगत्तै निर्माण व्यवसायी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
अदालतले यो सडकको निर्माण जिम्मा पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिलाई कारबाही नगर्न र ठेक्का तोड्ने प्रक्रिया अघि नबढाउन स्टे अर्डर समेत दिएको छ भने अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा नराख्न समेत आदेशमा भनेको छ । जसका कारण सो सडक खण्डको निर्माणको काममा थप समस्या देखिएको हो ।
अदालतको स्टे अडरका कारण कार्यालयले नयाँ ठेक्का प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । यद्यपि सडक डिभिजन भक्तपुरले भौतिक पूर्वाधार मन्त्रालयसँग सडक निर्माण पुरा गर्न बजेट सुनिश्चितताका लागि प्रक्रिया भने थालिसकेको छ । ४२ करोड रुपैयाँ बराबरको लागत ईस्टेमिट सहितको बजेटको स्रोत सुनिश्चितताका लागि डिभिजनले मन्त्रालयसँग आग्रह गरेको साइट इन्चार्ज इन्जिनियर सिताराम बुढाथोकीले जानकारी दिए ।
हाल वातावरणीय प्रदूषण कम गराउने हिसाबले सडक विभागबाट दुई वटा ट्याङ्कर मार्फत पानी हाल्ने काम भइरहेको उनले बताए । त्यो बाहेक यो सडक खण्डमा अन्य कुनै पनि काम अघि नबढेको उनले बताए ।
यद्यपि नयाँ ठेक्काबारे भने अदालतको आदेशमा केही भनिएको छैन । ठेक्का रद्द भएपछि कम्पनीलाई कालो सूचीमा राख्ने, धरौटी बापतको रकम जफत गर्ने, अब गर्ने काममा उसले हालसम्म गरेको काम घटाएर बाँकी रहेको पैसा असुल उपर गराउनुपर्ने हुन्छ ।
२२ महिनाभित्र काम सक्ने गरी २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडक खण्डको धुलिखेलदेखि जिप लाइन आसपाससम्म सब–बेस हाल्ने काम सम्पन्न भएको छ ।