‘बाबुरामले सकेनन्’ भनेर आलोचना गर्दै बस्नु मूर्खता : डा.भट्टराई

विराटनगर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले ‘बाबुरामले सकेनन्’ भनेर आलोचना गर्दै चुप लागेर बस्नु मूर्खता हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टीको राजनीतिक तथा वैचारिक अभिमुखी कार्यक्रममा बोल्दै डा.भट्टराईले सबै जना मिलेर वैकल्पिक शक्ति निर्माण गर्न आह्वान गरेका हुन्।
‘तपाईं चुप लागेर होइन, हातमा हात जोडेर अगाडि बढे मात्र यसको निकास मिल्नेछ,’ भट्टराईले थपे, ‘हाम्रो जस्तो दस्ताबेज कुनै पनि पार्टीको छैन। अरू पार्टीहरू कुनै न कुनै रूपमा एउटा निश्चित समुदाय, लिङ्ग वा वर्गसँग मात्र सम्बन्धित देखिन्छन्। तर हाम्रो पार्टी कुनै एक मात्र वर्ग, जाति वा समुदायको प्रतिनिधित्व गर्ने होइन। यो सम्पूर्ण वर्ग, जाति, र समुदायहरूको साझा केन्द्र हो, जहाँ सबैको समान सहभागिता हुन्छ। हाम्रो पार्टी कुनै निहित स्वार्थ राखेर बनेको होइन, बरु समावेशिता, समानता, र न्यायलाई आधार बनाएर तयार पारिएको साझा फूलबारी हो, जहाँ सबै वर्गका नागरिकले आफूलाई समान रूपमा प्रतिनिधित्व भएको महसुस गर्न सक्छन्।’
अघिल्लो पुस्ताका पार्टीहरूले आफूलाई लोकतान्त्रिक भन्दै आए पनि गहिराइमा गएर हेर्दा ती पार्टीहरूका दस्ताबेज, कार्यशैली र नीति बुर्जुवा सोचले ग्रस्त रहेको उनले टिप्पणी गरे । परिवर्तनका लागि भन्दै आएका शक्तिहरू पनि मूलतः परम्परागत संरचनाभित्रै सीमित रहेको उनले बताए ।
नयाँ शक्तिका अध्यक्ष भट्टराईले भने- ‘अहिले संसार चौथो औद्योगिक युगमा प्रवेश गर्दैछ, जहाँ पुराना संरचनाले मात्र समाधान दिन सक्दैनन्। अबको आवश्यकता वास्तविक लोकतान्त्रिक, समावेशी, र वैज्ञानिक दृष्टिकोणबाट निर्देशित पार्टी हो। हाम्रो पार्टीले यही आवश्यकता पूरा गर्ने प्रतिबद्धता लिएको छ। अब पार्टीका विधान, दस्तावेज, र प्रतिवेदनहरू केवल अतीतको गौरवगाथा गाउने खालका हुनुहुँदैन, बरु अहिलेको जटिल सामाजिक, आर्थिक, र प्रविधिगत यथार्थलाई सम्बोधन गर्ने, समाधानमुखी र भविष्यमुखी हुनु आवश्यक छ। तर दुर्भाग्यवश, मूलधारका शीर्ष पार्टीहरूमा यस्ता व्यवहारिक, समसामयिक, र वैज्ञानिक प्रतिवेदनहरू भेट्नै मुस्किल छ।’
केवल आलोचना गरेर, पुरानो संरचनामा बसेर असन्तुष्ट हुनुभन्दा नयाँ शक्ति सिर्जना गर्नु नै उचित समाधान भएको भट्टराईको जिकिर छ । ‘म आफैँले पनि एक विशाल परम्परागत शक्ति त्यागेर नयाँ बाटो किन रोजेँ ? किन म एक स्थापित शक्तिसँग सम्झौता गरेर अघि बढ्नेभन्दा शून्यबाट पुनः सुरुवात गर्ने बाटोमा लागेँ ? किनभने मलाई थाहा छ, परिवर्तन बाहिरबाट होइन, भित्रबाट गर्नुपर्छ। अबको समय नयाँ राजनीतिक विकल्प निर्माण गर्ने हो। तपाईं केवल टाढाबाट चुपचाप हेरिरहनुहुन्न, हातमा हात जोडेर, मिलेर अघि बढ्नुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल