बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस

बिहीबार, ०७ चैत २०८१, १३ : ०६
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । नेपालमा सशस्त्रद्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले गरेका थिए ।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए । कोइरालको नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए ।

आन्दोलन सफल भएपछि कोइराला चौँथो पटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले विसं. २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो । कोइरालाकै नेतृत्वमा तत्कालीन माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । 

उनकै नेतृत्वमा ६ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक बिपी कोइरालाको सपना विसं २०६४ चैत २८ गते पूरा भएको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । 

पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्रद्वन्द्वरत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो । चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा विसं २०६५ जेठ १५ गते मुलुकबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाहवंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । बोलेको कुरा पुर्‍याउने राजनेताका रूपमा स्थापित कोइरालाको विसं २०६६ चैत ७ गते निधन भएको थियो । 

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १५औँ स्मृति दिवस मनाउँदै छन् । यस अवसरमा आज जिपी कोइराला फाउन्डेसनले उहाँको स्मृतिमा राजधानीमा कार्यक्रम आयोजना गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?