पुलिस क्लबले बनायो प्रतियोगिताकै सर्वाधिक स्कोर, बागमती प्रदेशलाई २९८ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौँ जितको खोजीमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ९८ रनको लक्ष्य दिएको छ ।
भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बिहीबार जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९७ रन बनाएको हो ।
जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो । यसअघि जारी प्रतियोगितामा सर्वाधिक रनको कीर्तिमान पुलिस क्लब र बागमती प्रदेशकै नाममा संयुक्त रुपमा रहेको थियो । पुलिस क्लबले दुई खेलमा र बागमती प्रदेशले एक खेलमा दुई सय ८८ रन बनाएका थिए ।
जारी प्रतियोगितामा नेपाल पुलिस क्लबको यो सातौँ खेल हो । यसअघि खेलिएको ६ वटै खेलमा पुलिस क्लब विजयी भएको छ । पुलिस क्लब १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने पुलिस क्लब एकमात्र टोली पनि हो ।
बागमती प्रदेशले भने आफ्नो छैटौँ खेल खेलिरहेको हो । बागमती प्रदेश दुई जित र तीन हारबाट चार अंक बटुल्दै तालिकाको सातौँ स्थानमा आसिन छ । बिहीबारको खेलमा पुलिस क्लब लगातार सातौँ र बागमती प्रदेश तेस्रो जितको खोजीमा छन् ।
बागमती प्रदेशविरुद्धको खेलमा पुलिस क्लबका दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर कुशल भुर्तेलले टोलीका लागि ८८ रनको योगदान गरे । उनले केवल ९८ बलको सामना गरी ११ वटा चौका पनि हिर्काए ।
कुशल भुर्तेल र अमित श्रेष्ठले ओपनिङ विकेटका लागि एक सय २४ रनको साझेदारी गरेका थिए । अमित श्रेष्ठ भने ४८ रन बनाउँदै दूर्भाग्यपूर्ण तरिकाले रनआउट भएका थिए । उनले ५१ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए ।
पुलिस क्लबका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतकीय पाली खेले । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रले ६० रन बनाए । उनले केवल ४६ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए ।
चौथो नम्बरका ब्याट्सम्यान आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे । उनले ४६ बलमा चार चौका पनि प्रहार गरे । गुलसन झा १६ रन बनाउँदै पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले १० रन बटुले ।
पुलिस क्लबले अतिरिक्त रुपमा पनि २६ रन पायो । बागमती प्रदेशका बलर प्रतिश जीसीले तीन विकेट लिए । उनले १० ओभरमा ४६ रन खर्चिए । रिजन ढकाल, ईशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले पनि एक–एक विकेट हात पारे ।