शिक्षा मन्त्रालय बन्द गर्ने आदेशमा हस्ताक्षर गर्दै छन् ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकी शिक्षा मन्त्रालयले खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै छन् । राष्ट्रपतिको चुनावको बेलामा उनले गरेका वाचाहरूमध्ये यो पनि एक थियो । युएसए टुडेले ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक समारोहमा आदेशमा हस्ताक्षर गर्नेछन् । यस अवसरमा रिपब्लिकन पार्टीका कयौँ गभर्नरहरू र राज्य शिक्षा आयुक्तहरूको उपस्थिति हुने बताइएको छ ।
युएसए टुडेका अनुसार, ट्रम्पले आफ्नी शिक्षा मन्त्री लिन्डा म्याकमोहनलाई शिक्षा विभाग बन्द गर्न र राज्यहरूलाई शिक्षासँग सम्बन्धित अधिकार फिर्ता गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिनेछन् । आदेशमा अमेरिकी नागरिकहरूले निर्भर रहेका सेवा, कार्यक्रम र सुविधाहरूको अवरोध नहुने गरी आपूर्ति गरिराख्न भनिनेछ ।
ट्रम्पको लागि परीक्षा हुनेछ यो आदेश
ट्रम्पको यो नयाँ आदेश राष्ट्रपतिको शक्तिको सीमाको नयाँ परीक्षण हुनेछ । यसअघि, उनको सरकारले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) बन्द गर्ने प्रयास गरेको थियो, जसलाई यस हप्ता मेरील्याण्डको सङ्घीय जिल्ला अदालतले रोक लगाएको थियो । १९७८ मा कांग्रेसद्वारा मन्त्रीस्तरीय एजेन्सीको रूपमा स्थापित शिक्षा मन्त्रालय स्थापना गरेको थियो ।
ट्रम्पले आदेशमा हस्ताक्षर गरेपनि यो तुरुन्तै बन्द हुने छैन । मन्त्रालयलाई पूर्ण रूपमा खारेज गर्न कंग्रेसको कारबाही आवश्यक पर्नेछ । हालैका हप्ताहरूमा, ट्रम्पले शिक्षा मन्त्रालयका कर्मचारी कटौती गरिरहेका थिए । राष्ट्रपतिको यो आदेशले सबै विद्यार्थीका लागि नतिजा सुधार गर्न अभिभावक, राज्य र समुदायलाई सशक्त बनाउने ह्वाइट हाउसका प्रमुख उप–प्रेस सचिव ह्यारिसन फिल्ड्सले युएसए टुडेलाई दिएको एक विज्ञप्तिमा भनिएको छ ।