शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकसँगै कर्णालीले लुम्बिनीलाई दियो २०६ रनको लक्ष्य

बिहीबार, ०७ चैत २०८१, १२ : ३०
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार जारी खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि दुई सय ६ रनको लक्ष्य दिएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जिती ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ४८.५ ओभरमा अलआउट हुनुअघि दुई सय पाँच रन बनाएको हो । 

जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले सातौँ र कर्णाली प्रदेशले छैटौँ खेल खेलिरहेका हुन् । चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको लुम्बिनी आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको कर्णाली प्रदेश भने चार अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । 

लुम्बिनी प्रदेशविरुद्धको खेलमा कर्णाली प्रदेशका लागि दुई ब्याट्सम्यान अर्धशतकीय पाली खेले । माथिल्लो क्रमका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै सस्तैमा पेभेलियन फर्किएपछि अर्जुन घर्तीले टोलीको खातामा ५६ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले ८४ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । आठौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्र रावतले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । 

दीपेन्द्र रावतले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६६ रन बनाए । उनले पनि ८४ बलकै सामना गरी नौवटा चौका हिर्काए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कर्णाली प्रदेशले टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै चार विकेट गुमाइसकेको थियो ।  ओपनर रविन्द्र शाही नौ र सुनिल धमला १९ रन बनाउँदै पेभेलियन फर्किएका थिए । निश्चल रावल पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान विपिन रावल पनि १० रन बनाउँदै आउट भए । 

हिक्मत शाहीले त खातासम्म खोल्न सकेनन् । प्रकाश जैसी पनि शून्य रनमै पेभेलियन फर्किए । दिनेश अधिकारीले टोलीको खातामा १६ रन थपे । कप्तान दिवान पुनले दुई र मोहन विकले अविजित ६ रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि १० रन पायो । 

लुम्बिनी प्रदेशका बलर रमेश कुर्मीले तीन विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले पनि दुई–दुई विकेट हात पारे । देव खनालले पनि एक विकेट कुम्ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?