सिरहामा दीपक मरिकको परिवारको उठीबास लगाउने घटनाले तात्यो प्रतिनिधिसभा

काठमाडौँ । विष्णु महायज्ञ लगाउन जग्गा खाली गराउन भन्दै निर्देशन दिने बजरंगी बाबालाई कारबाही गर्न सांसदहरूले माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्ने सांसदहरूले अन्तर्राष्ट्रिय जातीय उन्मुलन दिवस मनाउने घोषणा गरेको १८ वर्ष बित्दासम्म पनि यस्ता कार्य हुनु जघन्य अपराध भएको बताए ।
सांसदहरूले त्यो घटनाको तत्काल छानबिन गर्न छानबिन समिति बनाउन पनि माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलीप यादवले जेसीबी लगाएर दीपक मरिक (डोम)को घर भत्काएका थिए । बुधवार पीडित दीपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।
आकस्मिक समयमा कांग्रेस सांसद जीवन परियारले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोम परिवारको घर भत्काइदिएको बताउँदै उनीहरूलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसद परियारले महायज्ञका नाममा डोम परिवारलाई दुःख दिनेलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।
जनमत पार्टीका सांसद अब्दुल खानले घटनाको भत्सर्ना गर्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे । उनले स्थानीय प्रहरी चौकी र स्थानीय प्रशासनले मौन समर्थन जनाएको भन्दै आपत्ति जनाए ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले घटना घटाउने बजरंगी बाबा र गाउँपालिका अध्यक्ष यादवलाई सशक्त कारबाहीको माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले घटनाको घोर भत्सर्ना गर्दै कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिन माग गरे ।
सांसद सम्झना थपलियाले सिरहाको घटनाले आफू मर्माहत भएको बताउँदै गरिब दलित परिवारको घर डोजर लगाउनेलाई सशक्त कारबाही गर्न माग गरिन् । उनले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भनिन्, ‘तपाईं दलित विरोधी हो ।’ उनले घर भत्काएकोबारे जवाफ दिनुपर्ने बताइन् । यो घटनाले लोकतन्त्रको जगमा प्रहार भएकाले शक्तिशाली संसदीय छानबिन हुनुपर्ने उनको भनाइ छ ।
सांसद रणेन्द्र बरालीले यो घटनाले दलितहरूप्रति भएको ज्यादतीले सगरमाथाको टाकुरो नाघिसकेको बताए । यस्तै घटना घट्दै गएमा न्याय खोज्न हेगमा जानु पर्ने अवस्था आउने बताए ।
दीपकको घर प्रधानमन्त्री राहत कोषबाट बनाइएको सांसदहरूले बताए । दलितले टेकेको घर अपवित्र हुन्छ भनेर माटो समेत खन्नेलाई कारबाही गर्नुपर्ने सांसदहरूको भनाइ छ ।
सांसद अशोककुमार चौधरीले सिरहा घटनाले संवैधानिक मूल्य मान्यतामा आँच पुर्याएको बताए । त्यहाँ अमानवीय व्यवहार गरिएको उनले बताए ।
सांसद प्रभु हजारा पाशवानले सिरहाको औरही गाउँपालिकाको घटनामा विष्णु महायज्ञको गर्ने आयोजक र बजरंगी बाबालाई कारबाही गर्नुपर्ने बताए । जघन्य अपराध गर्नेलाई छुट दिन नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका