काठमाडौँ । ब्रस गर्न वा दाँत राम्रोसँग सफा गर्न जाने ९० प्रतिशत रोगको संक्रमणबाट जोगिन सकिन्छ । दाँत सफा गर्नुअगाडि दाँत माझ्ने ब्रस छनोट गर्नुपर्छ । बजारमा नरम, कडा दुवैखाले ब्रस पाइन्छन् । हामीले नरम खालको ब्रस छनोट गर्नुपर्छ ।
ब्रस खरिद गर्दा ती ब्रसको खोस्टामा लेखिएकै हुन्छ । सकेसम्म ब्रस सीधा होस्, जिकज्याक नहोस्, नरम खालको ब्रस हुनुपर्छ । समथर जमिनमा ब्रस राख्दा बराबरी हुनुपर्छ । अघिल्लो पटक प्रयोग गरिएको ब्रसलाई सफा गरेर मात्र प्रयोग गर्नुपर्छ ।
ब्रस सफा गरिसकेपछि हामीले फ्लोराइड भएको मन्जन लिनुपर्छ । तर मन्जन ब्रसभरि लिनु हुँदैन । ठुलो केराउको दानाजति मन्जन लिनुपर्छ । र पानीमा भिजाउनु हुँदैन । मन्जन पानीमा भिजाए पातलो हुन्छ । र यो पातलो भई दाँतमा जुन वस्तु लाग्नुपर्ने हो, त्यो लाग्दैन ।
दाँत सफा गर्दा ब्रसलाई कलम जसरी समात्नुपर्छ । हलुका तरिकाले नै ब्रस गर्नुपर्छ । धेरै घोटेर वा वरिपरि गरेर दाँत माझ्नु हुँदैन । ब्रसमा मन्जन हालेपछि दाँतको सबैतिर लगाउनुपर्छ । यसो गर्दा मुखको सबैतिर मन्जन लाग्छ । त्यसपछि ४५ डिग्री वा गिजापट्टी थोरै फर्काएर अथवा छड्के बनाएर हलुका तरिकाले गोलो गोलो गरेर तीनदेखि चार वटा दाँत माझ्नुपर्छ । त्यो ब्रसले छोएका दाँतहरूलाई हल्का गोलो–गोलो घुमाउँदै गिजापट्टि फर्काएर दुई दाँतको बिचबाट थोरै दबाएर बाहिर निकाल्नुपर्छ । यसो गर्दा दुवै दाँतका बिचमा अड्केका खानेकुरा निस्कन्छ । गिजा र दाँतको दूरी करिब ०.५ देखि १ मिमि प्राकृतिक रूपमा नै हुन्छ । त्यो दूरीमा अड्किएको खानेकुरा निकाल्नुपर्छ ।
चपाउने भागको दाँत अग्लो–होचो हुन्छ । त्यो भागका दाँत पनि त्यसरी नै गोलो गोलो घुमाइएर माझ्नुपर्छ । यसो गर्दा टाँसिएको फोहोर जान्छ । त्यसैगरी जिब्रोपट्टिको भाग पनि बिस्तारै गोलो गोलो गरी घुमाउने र माथिपट्टि सार्नुपर्ने हुन्छ । जिब्रो छुने दाँतहरूलाई पनि गोलो गोलो गरी ब्रस गर्नुपर्छ । यदि सकिएन भने अगाडि पछाडि मात्रै गरेर ब्रस गर्दा पनि खानेकुरा निस्कन्छ ।
दायाँबायाँ गरी दाँतका तीन तह हुन्छन् । एउटा गालापट्टि, अर्को चपाउने पट्टि र अर्को जिब्रोपट्टि । माथितिर पनि ब्रस गोलो गोलो गर्दै अगाडि पछाडि सारेर सफा गर्नुपर्छ । तलका तीन र माथिका तीन गरी करिब ६ भागमा दाँत सफा गर्नुपर्ने हुन्छ ।
अगाडि पछाडि गरेर धेरै घोटेर दाँत माझ्नु हुँदैन । यसरी दाँत माझ्दा खिइन्छ । ब्रसले नै दाँत खियाइदिन्छ । यसले गिजालाई चोट पुर्याउँछ ।
प्रत्येक ६/६ महिनामा एक पटक डेन्डल क्लिनिकमा दाँतको परीक्षण गर्नुपर्छ । हामीले दाँत सफा गरे पनि दाँत शतप्रतिशत सफा हुँदैन । साँझ र बिहानको खानापछि ब्रस गरिन्छ । तर दिउँसो पनि विभिन्न खानेकुरा खाइन्छ, यस्ता खानेकुरा टाँसिने भएकाले त्यसको तह बिस्तारै बाक्लिँदै जान्छ । दाँतलाई ब्रसले सफा गर्दा पनि फोहोर जाँदैन । यसले गर्दा दाँतमा सङ्क्रमण हुन्छ ।
चिकित्सकको सल्लाहअनुसार ६/६ महिनामा नियमित दाँत सफा गर्नुपर्छ । यस्तै दाँतको बिचको फोहोर निकाल्ने ‘फ्लस’ भन्ने पाइन्छ । यो बिचमा धागो भएको हुन्छ, यसको प्रयोगले दाँतको बिच भागमा अड्किएको फोहोर निकाल्छ । त्यो ‘नाइलन’को धागोबाट बनेको हुन्छ । जसले गिजा र दाँतलाई क्षति पुर्याउँदैन ।
सिन्काको प्रयोगले दाँतमा सङ्क्रमण बढ्छ । सिन्का कडा हुन्छ, यसले दाँत र गिजालाई क्षति पुर्याउँछ । यसको प्रयोगले रगत बगेर सङ्क्रमण पनि हुन्छ । दाँतको बिचमा ठुलो ग्याप भए ‘प्रोक्जा ब्रस’ भन्ने पाइन्छ, यो ‘सेभेन’ आकारको हुन्छ । यो ब्रस ससाना हुन्छन् । डेन्टिस्टको सल्लाहमा हामीले यो प्रयोग गर्नुपर्छ ।
ब्रस गर्दा मुखमा आउने फिँज केही समय मुखमै राखे मन्जनबाट पाइने तत्व पाइन्छ । मुखमा भएका सङ्क्रमण यसले हटाउन मद्दत गर्छ ।
बच्चा ६ महिनाको हुँदा नै दाँत परीक्षण गराउनुपर्छ । उमेरअनुसार ब्रस र मन्जन पाइन्छ । सो प्रयोग गर्नुपर्छ । बच्चाहरूलाई गोलो गोलो गरी ब्रस गर्न सिकाउनुपर्छ । ठुला मान्छेले जस्तै बच्चाको पनि दाँत सफा गराउनुपर्छ ।
प्रतिक्रिया