बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिनल्यान्ड संसारको सबैभन्दा खुसी देश, कहाँ छ नेपाल ?

बिहीबार, ०७ चैत २०८१, ११ : ५२
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । फिनल्यान्ड लगातार आठौँ पटक विश्वको सबैभन्दा खुसी देश बनेको छ । ७ दशमलव ७३६ अङ्कसहित १४७ देशहरूको सूची लगातार आठौँ पटक पनि फिनल्यान्ड सबैभन्दा खुसी देशका रूपमा रहेको छ । यस वर्षको सूचीमा नेपाल ५ दशमलव ३११ अङ्कसहित ९२ औँ स्थानमा रहेको छ ।

गएको वर्षको वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा ५ दशमलव १५८ अङ्कसहित विश्वका १४३ देशमाझ नेपाल ९३ औँ स्थानमा रहेको थियो । यसको अर्थ नेपालको खुसी स्तर समीक्षा अवधिमा बढेको छ । सूचीमा भारत १२६ औँ स्थानमा छ भने पाकिस्तान १०९ औँ स्थानमा रहेको छ । 

खुसी आर्थिक विकासले मात्र निर्धारण गर्दैन । अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले प्रकाशित गरेको वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ अनुसार मानिसहरूबिचको पारस्परिक विश्वास र सामाजिक सम्बन्धले पनि यसमा ठुलो भूमिका खेल्छ । नोर्डिक देशहरू फेरि पनि खुसीको वरीयतामा शीर्ष स्थानमा छन् ।

फिनल्यान्ड बाहेक, डेनमार्क, आइसल्यान्ड र स्विडेन क्रमशः शीर्ष चारमा रहेका छन् । हरेक देशका सहभागीहरूलाई आफ्नो जीवनको मूल्याङ्कन गर्न सोध्दा दिइएको जवाफको आधारमा प्रतिवेदनले देशको वरियता तय गरेको हो । प्रतिवेदनका लागि सर्वेक्षण बजार अनुसन्धाता संस्था ग्यालप र संयुक्त राष्ट्रसङ्घको दिगो विकास समाधान नेटवर्कसँगको साझेदारीमा गरिएको थियो ।

‘खुसी भनेको केवल पैसा वा वृद्धिसँग मात्रै जोडिएको छैन– यो विश्वास, सम्बन्ध र मानिसहरू तपाईंको साथ दिइरहेका छन् कि छैनन् भन्ने बारे हो,’ ग्यालपका सीईओ जोन क्लिफ्टनले भने । यदि हामी मजबुत समुदाय र अर्थतन्त्र चाहन्छौँ भने हामीले वास्तवमै महत्त्वपूर्ण कुराहरूमा लगानी गर्नुपर्ने उनले बताए । 

खुसीको सूचकाङ्कमा अमेरिका अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । वरीयताको शीर्ष २०  केही अपवाद बाहेक युरोपेली देशहरूको प्रभुत्व छ । हमाससँगको युद्ध लडिरहेको इजरायल आठौँ स्थानमा छ । कोस्टारिका र मेक्सिको पहिलो पटक खुसी देशहरूको शीर्ष १० मा प्रवेश गरेका छन् । यी दुई देश क्रमशः सूचीको छैटौँ र १० औँ स्थानमा छन् । अमेरिका यस वरीयतामा अहिलेसम्मकै सबैभन्दा तल्लो स्थानमा २४ औँ स्थानमा पुगेको छ । २०१२ मा अमेरिका ११ औँ स्थानमा थियो । 

अमेरिकामा एक्लै खाना खानेहरूको सङ्ख्या विगत दुई दशकमा ५३ प्रतिशतले बढेको प्रतिवेदनमा भनिएको छ । बेलायत सूचीको २३ औँ स्थानमा छ । सूचीको सबैभन्दा पुछारमा रहेको देशलाई विश्वको सबैभन्दा दुखी देश मान्दा यो देश अफगानिस्तान हो । आफ्नो जीवन विशेष गरी कठिन रहेको अफगानी महिलाहरू भन्छन् । दोस्रो सबैभन्दा दुखी देश सियरालियोन हो । पुछारबाट तेस्रो स्थानमा लेबनान छ  । मलावी र जिम्बाब्वे पुछारबाट क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । 

यी हुन् मानिसको खुसीलाई असर गर्ने कुरा 

स्वास्थ्य र धन बाहेक, खुसीलाई प्रभाव पार्ने केही कारकहरू भ्रामक रूपमा सरल देखिने अनुसन्धानकर्ताहरू भन्छन् । रिपोर्टका अनुसार अरूसँग खाना बाँडेर खाने, सामाजिक सहयोगको लागि कसैमा भरपर्ने र परिवारको आकारले पनि मान्छेको खुसीलाई असर गर्छ । उदाहरणका लागि, मेक्सिको र युरोपमा, चारदेखि पाँच जनाको परिवारमा खुसीको स्तर सबैभन्दा उच्च छ ।

प्रतिवेदनका अनुसार विश्वभरका पाँचमध्ये एक युवा वयस्कले कुनै पनि सामाजिक सहयोग पाउँदैनन् । चिन्ताजनक कुरा के छ भने २०२३ मा विश्वभरका १९ प्रतिशत युवा वयस्कहरूले सामाजिक सहयोगको लागि भर पर्न सक्ने कोही नभएको बताएका थिए । २००६ को तुलनामा यो ३९ प्रतिशतले बढी हो । प्रतिवेदन २०२२ देखि २०२४ सम्मको तथ्यांकका आधारमा तयार पारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?