बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय
टिप्पणी

गृहजिल्लाबाट डाक्टर शेखर कोइरालामाथि उठेका प्रश्न

बिहीबार, ०७ चैत २०८१, १२ : ००
बिहीबार, ०७ चैत २०८१

विराटनगर । स्ववियु निर्वाचनको परिणामले मोरङ कांग्रेस र एमालेमा असन्तुष्टि चुलिएको छ । माओवादीमा भने खुसीयाली छाएको छ । जिल्लाका ८ वटा क्याम्पसमा भएको निर्वाचनमा ५ वटामा माओवादी निकट अखिल क्रान्तिकारीले जितेको छ । एमाले निकट अनेरास्ववियु दुई वटामा विजयी भएको छ । कांग्रेस निकट नेविसंघले एउटामा जितेको छ ।

नेविसंघ र अनेरास्ववियु कमजोर हुने, अखिल क्रान्तिकारीले धेरै क्याम्पसमा जित निकाल्नुको कारण एमाले र कांग्रेसभित्रको गुटगत राजनीति भएको जानकारहरू बताउँछन् ।

एमाले अखिलमा भन्दा बढी त कांग्रेसको नेविसंघमा झन् धेरै गुटगट गतिविधि भए । महेन्द्र मोरङ क्याम्पसमा त कांग्रेसको गुट, उपगुटले अपराध र आपराधिक क्रियाकलापको ढाकछोप नै गर्‍यो । जहाँ नेविसंघले हार्‍यो । कांग्रेस सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षबाट नेविसंघका प्रज्वल विष्ट र कांग्रेस नेता डाक्टर शेखर कोइराला गुटबाट योगराज दाहाल सभापतिका उम्मेदवार बने । निर्वाचन समितिले विष्टलाई नेविसंघको आधिकारिक उम्मेदवार मान्यो । त्यही विषयमा क्याम्पसमा असामान्य घटना भए, जसलाई कांग्रेस नेताहरूकै अगुवाइमा सामसुम पारियो ।

बहालवाला स्ववियु सभापतिसमेत रहेका जसवन्त पौडेलले नेविसंघका मोरङ सभापति रहेका सरोज पोखरेलमाथि बञ्चरो प्रहार गरे । मध्य फागुनमा उक्त घटना क्याम्पस हाताभित्रै भएको थियो । शैक्षिक वातावरण हुनुपर्ने क्याम्पस दुई गुटको रणमैदान बन्यो । केही विद्यार्थी घाइते भए । तर, प्रहरीले कांग्रेस नेताहरू अमृत अर्याल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला लगायतको दबाबमा पौडेलसहित दिनदहाडै ताण्डव मच्चाउनेलाई पक्राउ नै गरेन ।

यहाँ रोचक पक्ष के छ भने कोइराला समूहमै रहेका नागेश कोइरालाले नेविसंघको जसवन्त पौडेल समूह (संस्थापन पक्ष)लाई नै समर्थन गरेका थिए । अर्याल भने नेविसंघको दुई समूह भिडाएर मजा लिइरहेको कांग्रेसीहरू नै बताउँछन् ।

उता, डाक्टर शेखर कोइरालाका विश्वासपात्र समेत रहेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र कांग्रेस विराटनगरका सभापति दिपक चापागाईं भने योगराज दाहालको समूहलाई बोकेर हिँडेका थिए । दाहालले केही दिन अगाडि निर्वाचन समितिको कार्यालयभित्र गएर आगो लगाउनका साथै निर्वाचन प्रमुख डाक्टर सुशील अधिकारीलाई आगो लागेको कोठामै थुनिदिए ।

त्यसपछि पक्राउ परेका दाहालसहितको विद्यार्थी टोलीलाई पूर्वमुख्यमन्त्री कार्कीको दबाबमा त्यही दिन राति छोडियो । त्यसको दुई दिनपछि पुनः जसवन्त पौडेलसहितको विद्यार्थी टोलीले निर्वाचन समितिको कार्यकक्षमा तोडफोड गरे । तोडफोड गर्दागर्दै पक्राउ गरेका ६ जनाको टोली सोही दिन बेलुका छोडियो । फेरि योगराज दाहालसहितको टोलीले पत्रकार सम्मेलन गरेर भन्यो– अहिलेकै अवस्थामा निर्वाचन भए ‘मर्न र मार्न तयार छौँ ।

लोकतान्त्रिक शासन व्यवस्थामा वाक स्वतन्त्रता भए पनि कसैको ज्यान लिने र सार्वजनिक सम्पत्तिमा क्षति गर्ने गरी खुलेआम बोल्ने अराजकता छैन । खुलेआम पत्रकार सम्मेलन गरेर ज्यान लिनेसम्मका धाकधम्की दिने योगराज दाहाल उनै शेखर कोइराला पक्षका हुन् । दाहाल नेविसंघका केन्द्रीय सदस्य पनि हुन् । उनलाई त्यो बोलेको आधारमा प्रहरीले न सोधपुछ गर्‍यो, न त पक्राउ नै गर्‍यो । त्यस्तो नबोल्न उनलाई कोइराला समूहका कोही नेताले सुझाव पनि दिएनन् । बरू उनले बोलेका भिडियो र समाचारहरू शेयर गरेर स्यावासी दिए ।

Student (2) (1)

स्ववियु सभापतिसमेत रहेका पौडेलसहितको टोलीले केही समय अगाडि परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगो लगाए । त्यस घटनामा संलग्नको खोजी नै भएन । यस्तै गत जेठ २७ गते पौडेलको नेतृत्वमा ६ वटा गाडीमा तोडफोड र आगजनी भयो । को १ झ ६४४ नम्बरको गाडी त आगलागीबाट ध्वस्त भएको थियो । त्यो घटनामा पौडेल संलग्न रहेको भिडियोमा पनि प्रत्यक्ष देखिएको थियो । तर, उनलाई जिल्ला प्रशासन कार्यालयमा सामान्य मुद्दा चलाइयो । बरु, उनलाई छुटाउन कांग्रेस नेता नागेश कोइराला लगायतहरू गाडी लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

कांग्रेसले लोकतन्त्रको वकालत गर्छ । अझै डाक्टर शेखर कोइराला त पार्टी सभापति देउवाको आलोचना गर्दै अझ बढी लोकतन्त्र र उन्नत लोकतन्त्रको कुरा गर्छन् । तर, उनकै छत्रछायामा हुर्किरहेका नेताहरूको गतिविधि अराजकता र गुण्डागर्दीतर्फ केन्द्रित देखिन्छ ।

डा. कोइराला कांग्रेसको सभापति हुने र देशको प्रधानमन्त्री बन्ने सपना बोकिरहेका छन् । यदि उनी सभापति र देशको प्रधानमन्त्री नै भए पनि उनका पछाडि हिँड्ने यस्तै ताँतीले देशको सुशासनमा सहयोग गर्ला त भन्ने प्रश्न अनुत्तरित छ ।

कोइराला यसअघि पनि सभापतिमा लडेका थिए । अब पनि कांग्रेसको नेतृत्व गर्छु भनेर दाबी गरेर महाधिवेशनको अभियानमा होमिसकेका छन् । यदि उनी सभापति भए भने आगामी दिनमा कसरी यस्ता विषयको व्यवस्थापन गर्लान् ? त्यसबेला असन्तुष्ट पक्षले माग गरेजति दिन कोइराला पक्षले सक्ला कि नसक्ला ? यी प्रश्न पनि अनुत्तरित छन् । अहिले गुटगट राजनीतिले कांग्रेसलाई गरेको असरको जिम्मेवारी कसले लिने ?

kutpit (1)

कांग्रेस कोइराला पक्षका एक नेताका अनुसार शेखर कोइरालाले स्ववियु निर्वाचनमा चासो नै दिएनन् । ‘शेखर कोइरालाले चासो देखाएकै होइन । नागेश कोइरालाको कारणले यो सब भएको हो । नागेश कोइरालाले नै कोइराला पक्षका भनिएका नेविसंघका कार्यकर्तालाई मिनिमाइज गरे । मोरङमा के भयो भन्नेमात्रै नहेरौँ, काठमाडौँमा त कोइराला पक्षकै नेताहरूले जितेका छन् नि,’ उनले भने ।

विराटनगरका कांग्रेस सभापति दिपक चापागाईं आफूले स्वतन्त्र उम्मेदवार योगेन्द्र दाहाललाई सहयोग गरेको बताउँछन् । डाक्टर शेखर कोइरालाबाट स्ववियु चुनावमा उम्मेदवार उठाउने विषयमा कुनै हस्तक्षेप नभएको बताउँदै चापागाईंले नेविसंघभित्रको विवादलाई लिएर कोइरालालाई मुछ्न नहुने बताए ।

‘हामीलाई संस्थापन पक्षले एकलौटी गरेको कारण अहिले केही ठाउँमा आक्रोश व्यक्त भएको र विद्रोह भएको हो,’ चापागाईंले भने, ‘सभापति भएपछि सबैलाई समेटेर लाने हो । तर, अहिले शेखर पक्षबाट होइन, अर्को पक्षबाट निषेधको राजनीति भएको हो । हामी त सभापति भएपछि सबैलाई समेटेर लैजानु पर्छ । त्यसको लागि उपयुक्त पात्र शेखर कोइराला नै हो भनेर भनिरहेका छौँ नि ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि मोरङको स्ववियु निर्वाचनको विषयमा आफू धेरै जानकार नरहे पनि विद्यार्थी राजनीतिको अहिले औचित्य समाप्त हुँदै गएको बताए । उनले डाक्टर शेखरको गृह जिल्लामा नेविसंघलाई मिलाएर लान नसक्नु नेताहरूको कमजोरी भएको पनि बताए ।

‘अहिले विद्यार्थी राजनीतिले खासै औचित्य पुष्टि गर्न सकेको छैन । केन्द्रको संरक्षण पाएर तलसम्मै विभाजन गर्ने माध्यम विद्यार्थी राजनीति भएको छ,’ आचार्यले भने, ‘जहाँ केन्द्रीयस्तरको नेता हुन्छन्, त्यहाँ मिल्नु पर्ने हो । विश्वमै त्यो हुन्छ । नेपालमा चाहिँ त्यस्तो छैन ।’

आचार्यले मर्छु, मार्छु, आगो लगाउँछु भन्ने, गुण्डागर्दी गर्ने दिन अब गएको बताए । ‘माथिका नेताहरू चयनले बसेर तलतिर झगडा पनि लगाउँछन् । त्यसखालको उदण्डताले काहीँ पनि पुगिँदैन,’ उनी भन्छन् ।

Saroj Pokharel (1)

पूर्वविद्यार्थी नेतासमेत रहेका कांग्रेस नेता यदु विष्ट भने डाक्टर शेखर कोइरालाकै तहबाट स्ववियु निर्वाचनमा चासो दिएका नदेखिए पनि कोइराला पक्षले लोकतन्त्र विरुद्धमा गतिविधि गरेको बताए । ‘पार्टीमा सबै पक्षको योगदान हुन्छ । नेतृत्वमा एक जना पुग्छ । पार्टीको संस्थागत निर्णयलाई सबैले मान्नुपर्छ । पार्टीको निर्णय हुनु अगाडि पक्ष विपक्षमा लाग्नु जायज कुरा हो तर, निर्णय भइसकेपछि अनावश्यक बखेडा निकाल्नु नराम्रो कुरा हो,’ उनले भने ।

आधिकारिक उम्मेदवारलाई नसघाएको विषयमा असन्तुष्टि जनाउँदै विष्टले डा. कोइरालाको नाम जोडिएर जुन गतिविधि देखियो, त्यो राम्रो नभएको जिकिर गरे । उनले भने, ‘त्यो नगरेको भए परिणाम राम्रो पनि आउँथ्यो । नेविसंघले निर्णय गरेर टिकट दिएको विषयलाई चुनाव स्थगित गराउने, यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भन्ने कुरा लोकतान्त्रिक देखिएन ।’

कोइराला पक्षले मोरङमा गरिरहेको गतिविधि हेर्दा भोलि पार्टी सभापति नै जितेको अवस्थामा अन्य पक्षलाई निषेध गर्ने हो कि भन्ने देखिएको विष्टको आशङ्का छ । ‘अहिलेको गतिविधि हेर्दा उहाँ सभापति हुनुभयो भने निषेध गर्ने हो कि भन्ने देखिन्छ । उहाँले सभापति बन्ने हो भने अझै फराकिलो सोच लिएर अगाडि बढ्दा राम्रो हुन्छ,’ उनले भने, ‘त्यसो भयो भने पार्टी पनि बलियो हुन्छ । अहिलेकै सोच लिएर जाने हो भने पार्टी कमजोर हुन्छ । कमजोर पार्टीको सभापति हुनुको अर्थ पनि छैन ।’

अहिले मोरङ क्याम्पसमा देखिएको गतिविधि प्रजातन्त्रको खिलाफको गतिविधि रहेको विष्टको भनाइ छ ।

नेपाली कांग्रेसमा गुट र उपगुट हुनु नौलो कुरा होइन । अहिले पनि कांग्रेसमा सभापति शेरबहादुर देउवा गुट, सभापतिमा पराजित डाक्टर शेखर कोइराला गुट, महामन्त्री गगन थापा गुट, उपसभापति तथा अन्य कतिपय प्रभावशाली नेताहरूको पनि आ–आफ्ना गुट छन् । गुट र उपगुटहरूका कारण कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा छ । एक गुटले अर्को गुटलाई असहयोग गर्ने, अन्तरघात गर्ने, पोल खोलाखोल गर्नेसम्मका कामहरू भइरहेकै छन् । त्यो पनि कांग्रेसकै समस्या हो । तर, जब गुट उपगुटले अपराधिक क्रियाकलाप गर्छ र त्यो गुट उपगुटकै नाममा अपराधबाट उन्मुक्ति पाउँछ, त्यो भने आम सरोकारको विषय बन्छ र बन्नुपर्छ । त्यही गुटको नाममा भइरहेको अपराधलाई ढाकछोप गर्नका लागि डाक्टर शेखर कोइराला पक्ष लाग्नु वा उनको नाम मुछिनु भावी राजनीतिको लागि सकारात्मक संकेत भने होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप

छुटाउनुभयो कि ?