बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय
इतिहास

राजतन्त्र अन्त्यको दर्दनाक इतिहास : नेपालमा मात्र हो राजा बाँच्न पाएका

बिहीबार, ०७ चैत २०८१, १० : ११
बिहीबार, ०७ चैत २०८१

संसारभर राजतन्त्र अन्त्यको इतिहास निकै हिंस्रक छ । नेपालमा भने राजतन्त्रात्मक व्यवस्था शान्तिपूर्ण तवरले अन्त्य भएको थियो l झण्डै डेढ दशकमै फेरि राजतन्त्र फर्काउने भन्दै केही व्यक्ति र समुह जुर्मुराएका छन् l 

विश्व इतिहास नयाँ र पुराना शक्तिबिचको घर्षणबाट निर्मित हुने गर्छ । भनिन्छ, इतिहासको दुई पटक पुनरावृत्ति हुने गर्छ । पहिलो पटक दुःखान्त नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा । प्रहसनका रूपमा दोहरिएका राजतन्त्रको अन्त्य निर्मम हुने गरेको देखिन्छ । 

अहिले नेपालमा चलेको राजतन्त्र फर्काउने चर्चालाई हामी विश्व इतिहासको आँखीझ्यालबाट हेर्ने प्रयत्न गरौँ । सत्तामा फर्कन खोज्ने राजतन्त्रको हालत संसारमा के के भयो भनी बुझ्नु नेपालका लागि एउटा सन्दर्भ हुन सक्छ । आउनुस्, सुरु गरौँ विश्व इतिहासमा राजतन्त्र अन्त्यको कथा ।

  • बञ्चरोले काटिएका बेलायतका राजा चार्ल्स प्रथम

आजका दिनमा समेत राजतन्त्रको अवशेष बाँकी रहेको बेलायतमा राजतन्त्रको इतिहास त्यति सहज र कोमल छैन । संसारभर कुनै समय आफ्नो साम्राज्य फैलाएको बेलायतको राजतन्त्र जनताका प्रतिनिधिहरूसँगको लडाइँमा हिंसात्मक रूपमा कुनै समय बिदा भएको थियो ।

आफ्ना पिता जेम्स प्रथमको निधनपछि सन् १६२५ मा चार्ल्स प्रथम राजा घोषित भएका थिए । राजा भएको केही वर्षमै सन् १६२९ मा उनले तत्कालीन संसदलाई खारेज गरेर सम्पूर्ण शासन अधिकार आफूमा निहित गरेपछि पार्लियामेन्ट (संसद) सँग उनको द्वन्द्व सुरु भयो ।

Charles I

सन् १६४० को दशकसम्म आइपुग्दा नपुग्दै बेलायती समाजमा उनको अत्याचार उत्कर्षमा पुग्दै थियो । उनी आफूलाई पिता जेम्स प्रथमजस्तै दैवीय अधिकार सम्पन्न राजा ठान्थे । सन् १२१५ मा भएको म्याग्नाकार्टा अर्थात् राजा र जनताबिचको शक्ति विभाजनको घोषणापत्रलाई उनले रद्दीको टोकरीमा मिल्काएपछि यो द्वन्द्व सुरु भएको थियो ।

त्यो घोषणापत्रमा राजा कानुनको मातहत रहनुपर्ने र स्वेच्छाचारी हुन नमिल्ने लेखिएको थियो । तर, चार्ल्स प्रथमले त्यसलाई लत्याउँदै सम्पूर्ण शक्ति आफैँमा निहित गरे । तिनताका युरोप धर्मयुद्धमा फसेको थियो । क्याथोलिक र प्रोटेस्टेन्टका रूपमा युरोपभर विभिन्न प्रकारका युद्ध चलिरहेका थिए । इतिहासमा त्यसलाई ‘थर्टी इयर्स वार’ का रूपमा चिन्ने गरिन्छ ।

यो युद्धमा बेलायत पनि अछुतो रहन सकेन । प्रोटेस्टेन्ट पन्थसँग नजिक रहेको बेलायती समाजमा क्याथोलिक महिलासँग विवाह गरेर चार्ल्स प्रथमले उनलाई नै महारानी बनाएपछि बेलायती समाजको ठुलो हिस्सा असन्तुष्ट थियो । यसै समय बेलायत र स्कटल्याण्डबिच युद्ध चलिरहेको थियो ।

राजा चार्ल्स प्रथम संसदलाई बेवास्ता गर्दै आफैँ कुत उठाउने, खर्च गर्ने र युद्धको नेतृत्व लिने गरिरहेका थिए । युद्धमा बेलायत कमजोर हुँदै गइरहेको थियो भने संसदको तर्फबाट गठन गरिएको सेनाको अगुवाइ तत्कालीन समयका ओलिबर क्रमबेलले गरेका थिए ।

राजाको नेतृत्वमा हार्दै गरेको युद्धलाई क्रमबेल नेतृत्वको नयाँ आधुनिक सेनाले विजयतर्फ डोर्‍याउनु बेलायती राजतन्त्रका लागि अशुभ सङ्केत थियो । तर, बेलायती राजतन्त्रका अघिल्तिर त्यही अशुभ घटना बारम्बार दोहोरिएको थियो । अन्ततः राजा चार्ल्स प्रथम स्कटिस सेनाको बन्दी बन्न पुगे ।

त्यसपछि ओलिबर क्रमबेलको सेनाले स्कटिस सेनासँग सम्झौता गरेर राजालाई बेलायत फिर्ता ल्यायो । उनलाई स्वेच्छाचारी, मनोमानी र देशद्रोही भएकोमा मुद्दा चलाइयो । यो अभियोग चल्दै गर्दा उनी बेलायत छोेडेर भाग्न प्रयत्न गरिरहेका थिए । उनी संसदलाई अधिकार दिन र आफ्नो स्वेच्छाचारी शक्ति छोड्न तयार भएनन् ।

अन्ततः उनीविरुद्ध मुद्दाको सुनावाइ भयो र लण्डनस्थित ह्वाइट हलको बैंकेटिङ हाउस बाहिर ३० जनवरी १६४९ मा मृत्युदण्डको सजाय दिइयो । जाडोमा पातलो कपडामात्रै लगाएका चार्ल्स प्रथम थुरथुर काप्दै आफ्नो मृत्युतर्फ एक–एक पाइला चालिरहेका थिए । त्यति नै बेला उनलाई बन्चरोले काटेर मारियो ।

लण्डनको बैंकेटिङ हाउस बाहिरको सडकमा बेलायतका सबैभन्दा शक्तिशाली राजाको टाउको एकातर्फ र बाँकी शरीर अर्कोतर्फ लडिरहेको बेलायती जनताले मात्रै होइन, सिङ्गो युरोप हुँदै दुनियाँले हेरिरहेको थियो । यो घटनाबारे बोल्दै बेलायतका तत्कालीन चर्चित नेता ओलिबर क्रमबेलले जनताको मातहतमा नरहने राजालाई मृत्युदण्ड दिनुपर्ने इतिहासको ‘निर्मम आवश्यकता’ रहेको बताएका थिए ।

  • क्रान्तिपछि काटिएका फ्रान्सका राजा लुई सोह्रौँ

मध्ययुगमा फ्रान्स युरोपको मात्रै नभएर संसारकै महाशक्ति राष्ट्र थियो । संसारभर उसका उपनिवेश थिए । युरोपमा बेलायत र रुसजस्ता शक्तिहरूसँग हाराहारीमा टक्कर गरिरहेको थियो । १८औँ शताब्दीसम्म आइपुग्दा फ्रान्सको राजतन्त्रले आफूलाई सर्वेसर्वा ठान्न थालिसकेको थियो ।

लुई चौधौँ आफूलाई कतिसम्म शक्तिशाली ठान्थे भने उनले ‘लेटाट सेस्ट मोई’ अर्थात ‘म नै राज्य हुँ’ भन्थे । उनका नाति लुई स्रोह्रौँ अझै स्वेच्छाचारी र तानाशाही थिए । सन् १७७४ मा आफ्ना हजुरबुबा लुई पन्ध्रौँको निधनपछि १९ वर्षकै उमेरमा शासन सत्ताको बागडोर सम्हालेका लुई स्रोह्रौँ आर्थिक सङ्कटमा फसेको फ्रान्स र ‘सेभेन इयर्स वार’ को ऋणको बोझमा थिए ।

Louis XVI

यो ऋणको बोझ र अन्य भूराजनीतिक तनावहरूबारे निर्णय गर्दा उनले स्वेच्छाचारी शैली अपनाउँदै गए । फ्रान्स आन्तरिक रूपमा जर्जर अर्थतन्त्रतर्फ अघि बढ्दै थियो भने बाह्य रूपमा थप कमजोर हुँदै गइरहेको थियो । उनको दरबारकी महारानी मेरी एन्टोनियोटको विलासी जीवन फ्रान्सभर बदनाम थियो ।

यी तमाम बदनामीसहित फ्रान्समा लुई सोह्रौँ आर्थिक समस्या हल गर्न असमर्थ भइरहेका थिए । उनले कर प्रणालीको सुधार र आर्थिक व्यवस्थापन गर्ने उद्देश्यसहित सन् १७८९ मा ‘स्टेट्स जेनेरल’ भन्ने चर्चका पादरीहरू, सम्भ्रान्तहरू र आमजनताका प्रतिनिधि सम्मिलित भेला बोलाए ।

फ्रान्सको राजतन्त्र त्यसै भेलाबाट ओरालो यात्रा गर्न थाल्यो । भेलामा सहभागी आमजनताका प्रतिनिधि जसलाई ‘थर्ड स्टेटस्’ भनेर चिनिन्थ्यो, उनीहरूले निरपेक्ष राजतन्त्रलाई अस्वीकार गरे र फ्रान्सको राजतन्त्र संवैधानिक हुनुपर्ने मत राखे ।

यस मतका समर्थकहरूले संवैधानिक राजतन्त्रको वकालत गर्दै ‘नेशनल एसेम्बली’ को भेला बोलाए । राजाको अधिकार कटौती गर्नुपर्ने, राजालाई कानुनको मातहत ल्याउनुपर्ने माग फ्रान्सभर व्यापक रूपमा बढ्दै गयो । यस मतका समर्थकहरूले १४ जुलाई १७८९ का दिन बस्टाईल किल्लामा आक्रमण गरे । त्यहाँ फ्रान्सका राजबन्दीहरूलाई थुनिएको थियो ।

राजबन्दीहरूलाई छुटाउने क्रममा भएको दोहोरो भिडन्तमा परेर हजारौँ मानिसले ज्यान गुमाए । स्थिति नियन्त्रणभन्दा बाहिर गयो । त्यसपछि जनताले राजा बस्ने भर्सेली दरबारमै आक्रमण गर्ने सम्भावना देखेपछि लुई स्रोह्रौँ संवैधानिक राजतन्त्र मान्न तयार भए र ‘डिक्लेरेशन अफ द राईट्स अफ मेन एण्ड अफ द सिटिजन’ नामको आमजनताका प्रतिनिधिको घोषणापत्र स्वीकार्न बाध्य भए ।

आन्दोलनसामु झुकेका राजा समयक्रमसँगै पछि फेरि टाउको उठाउन थाले । जुन १७९१ मा लुई स्रोह्रौँ भागेर भरेनेस जाने तथा वैदेशिक सहयोगमा पुनः शक्तिशाली राजा हुन खोजे । यसक्रममा उनलाई पक्राउ गरी फ्रान्सको राजधानी पेरिस ल्याइयो । उनीमाथि देशद्रोहको आरोप लाग्यो । त्यसबाट आक्रोशित जनप्रतिनिधिहरूले १० अगस्ट १७९२ मा फ्रान्सलाई गणतन्त्र घोषणा गरे र फ्रान्सको राजतन्त्रलाई सधैँका लागि बिदा गरेको घोषणा गरे ।

तर, इतिहास सधैँ घोषणा गरिए अनुरुप चल्दैन भन्ने फ्रान्सको इतिहासले देखाउँछ । लुई स्रोह्रौँले संविधान मातहत बस्न अस्वीकार गरेर पुनः सर्वाधिकार सम्पन्न सत्तामा स्थापित हुन खोजे । त्यसपछि गणतन्त्रात्मक शासन व्यवस्थामा तानाशाही व्यवस्था फर्काउन खोजेको अभियोगमा उनीमाथि अनुन्धान गरियो ।

२१ जनवरी १७९३ मा देशमा गणतन्त्रलाई मासेर तानाशाही शासन ल्याउन खोजेको अभियोगमा जिलोटिनमा राखेर लुई स्रोह्रौँको घाँटी काटियो । लुई सोह्रौँको घाँटी काटेको ९ महिनापछि उनकी पत्नी पूर्वमहारानी मेरी एन्टोनेटलाई पनि त्यसै ठाउँमा, त्यसैगरी घाँटी काटेर मारियो ।

त्यो घटनालाई विश्व राजनीतिको इतिहासमा फ्रान्सेली राज्य क्रान्तिका रूपमा व्याख्या गरियो । क्रान्ति र परिवर्तन ठुलो मूल्य चुकाएरै स्थापित हुने गर्छ भन्ने इतिहासका पानाहरूमा दर्ज घटनाहरूले देखाउने गरेका छन् ।

  • रुसमा गोली हानी मारिएका राजा जार निकोलस– २

रुसमा राजतन्त्रको इतिहास करिब एक हजार वर्ष लामो छ । यति लामो इतिहास बोकेको राजतन्त्र पछिल्लो तीन सय वर्षमा रोमानोव वंशको मातहतमा चलेको थियो । यसक्रममा रुस महाशक्तिको रूपमा अगाडि बढेको थियो । पछिल्लो कालखण्डमा रुसभित्र राजतन्त्रले गरेको दमनविरुद्ध पटक–पटक आन्दोलन भइरहेका थिए ।

यसक्रममा १९औँ शताब्दीको अन्त्यतिर सडकमा यात्रा गरिरहेका राजामाथि साङ्घातिक हमला पनि भएको थियो । रुसभित्र निरन्तर चलिरहेको आर्थिक सङ्कट, जापानसँग रुसको लज्जाजनक पराजयले सन् १९०५ मा देशव्यापी ठुलो आन्दोलन सिर्जना भयो ।

तर, यो आन्दोलनलाई दमन गरियो । आन्दोलनलाई तितर–वितर पार्न तत्कालीन रुसी सत्ता सफल भयो । यति हुँदाहुँदै पनि रुसभित्रको आर्थिक र सामाजिक सङ्कट भने गहिरिँदै गइरहेको थियो । त्यससै क्रममा विश्व पहिलो महायुद्धमा फस्यो । युद्धमा रुस पनि सहभागी भयो । तर, युद्ध मैदानमा रुसको प्रदर्शन प्रभावकारी हुन सकेन ।

एकातर्फ आन्तरिक सङ्कट र अर्कोतर्फ विश्वयुद्धमा निरन्तर झेलिरहेको असफलतालाई जार निकोलस द्वितीयको असक्षमतासँग जोडेर हेरियो । रुसी समाजभित्रको असन्तुष्टि एकपछि अर्को गर्दै चुलिँदै गइरहेको थियो । त्यसैको परिणाम स्वरुप रुसका सडकहरूमा ठुला–ठुला आन्दोलन हुन थाले ।

यसक्रममा शासनमा निरन्तर हस्तक्षेप गरेको भनेर जारिना एलेक्जेन्ड्रा (महारानी) र उनका सल्लाहकर रास पुटिन रुसभर बदनाम हुँदै गइरहेका थिए । यी तमाम असन्तुष्टिहरूका बिच युद्धमा निरन्तर भइरहेको पराजय तथा खाद्यान्न अभावलाई लिएर सन् १९१७ को फेब्रुअरीमा हालको सेन्ट पिटसवर्ग भनिने पेट्रोग्राडमा आन्दोलन सुरु भयो ।

यो आन्दोलनको आगो देशभरि फैलिँदै गइरहेको थियो । रुसी इतिहासमा एउटा नयाँ अध्यायका रूपमा रुसी सेना, प्रहरी र दमन नियन्त्रक फोर्सले रुसमा चलिरहेको आन्दोलन दबाउन तथा त्यसमा गोली चलाउन अस्वीकार गर्‍यो । त्यसपछि रुसका जार निकोलस द्वितीयले आफू राजगद्दी छोड्ने र आफ्ना भाइ ग्रान्ड ड्युक माईकललाई राजगद्दी दिने घोषणा गरे ।

तर, उनका भाइ माईकलले पनि राजगद्दीमा बस्न अस्वीकार गरे । अन्ततः रुसमा तीन सय वर्ष पुरानो रोमानोभ राजवंशको राजशाही अन्त्य भएर रुस गणतन्त्रमा प्रवेश गर्‍यो । राजतन्त्रको अन्त्यसँगै रुसमा केही समय अन्तरिम सरकार बन्यो तर, नयाँ सरकारको गतिविधिबाट आममानिस सन्तुष्ट हुन सकिरहेका थिएनन् । फलस्वरुप भ्लादिमिर लेनिनले नेतृत्व गरेको बोल्सेविक पार्टीले अक्टोबर १९१७ मा अन्तरिम सरकारलाई खारेज गर्दै रुसमा कम्युनिस्ट सत्ता स्थापित गर्‍यो ।

यससँगै रुस नयाँ सत्ता र पुरानो सत्ताबिचको गृहयुद्धमा होमियो । पुरानो सत्ताका प्रतितिधिहरू ह्वाइट गार्डसका रूपमा चिनिन्थे भने नयाँ सत्ताका प्रतिनिधि रेड आर्मीका रूपमा परिचित थिए । ह्वाइट गार्डसको एकीकृत प्रतिरोधले रुसमा बन्दी बनाइएका राजा निकोलस–द्वितीयलाई ल्याएर फेरि राजाका रूपमा स्थापित गर्न खोजियो । तर, उनीहरूको यो प्रयास सफल हुन सकेन ।

जुलाई १९१८ मा निकोलस द्वितीय र उनको सम्पूर्ण परिवारलाई बोल्सेभिकहरूले एकातेरिनवर्गमा गोली हानेर मारिदिए । यो गोलीकाण्ड कतिसम्म क्रुर थियो भने राजाका खलकहरू रुसको सत्तामा फेरि स्थापित हुन नसकुन् भनेर सम्पूर्ण खलकलाई नै एकै ठाउँमा भेला पारेर गोली हानी मारिएको थियो ।

  • मारिएका अन्य राजा

यसैगरी विश्व राजनीतिको इतिहासमा राजतन्त्रको क्रुर बिदाइ हुनेमा सन् १८११ मा आफैँलाई राजा घोषणा गरेका हाईटीका राजा हेनरी क्रिस्टोफ पनि हुन् । उनलाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो । उनले मृत्युदण्डको सजाय पाउनु अघि नै आत्महत्या गरे ।

त्यस्तै मेक्सिकोका राजा मेक्सिमिलन प्रथमलाई गोली हानेर मारिएको थियो । उनलाई नेपोलियन बोनापार्टका भतिजा नेपोलियन तृतीयले मेक्सिकोका राजा बनाएका थिए । तर, मेक्सिकोका गणतन्त्रवादी आन्दोलनकारीहरूले बेनिटो जुवारेजको नेतृत्वमा मेक्सिमिलनलाई गिरफ्तार गरे र १९ जुन १८६७ मा सेर्रो डे लास काम्पानासमा उनका दुई जना जर्नेलहरूसहित गोली हानेर हत्या गरे । यससँगै मेक्सिकोमा सधैँका लागि राजतन्त्र अन्त्य हुन गयो ।

पोर्चुगलका राजा कार्लोस प्रथमको दर्दनाक हत्यासँगै सुरु भएको पोर्चुगलको गणतन्त्र स्थापनाको इतिहास पनि त्यस्तै रोचक छ ।

( विश्व इतिहासमा राजतन्त्रको बिदाइ, पुन:स्थापना र हालको अवस्थाबारे पनि रातोपाटीले आगामी दिनहरूमा विभिन्न परिघटना प्रकाशित गर्नेछ ।- सं )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?