‘मुख स्वस्थ राखे ९० प्रतिशत रोगको संक्रमणबाट जोगिन्छ’

काठमाडौँ । ‘स्वस्थ मुख, सकारात्मक सोच’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।
हरेक वर्षको मार्च २० का दिन यसलाई दिवसका रूपमा मनाइन्छ । मुख स्वास्थ्यमा सरोकार राख्ने सबैलाई समुदायस्तरमै जनचेतना जगाउन, मुख स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न अतिआवश्यक रहेको सन्देश प्रदान गरेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुखसम्बन्धी रोगको उपचारमा सुधार भए पनि दाँत किराले खाने, गिजासम्बन्धी, मुख र ओेठको अर्बुद्ध रोग (क्यान्सर) विकसित र अल्पविकसित देशहरूमा जनस्वास्थ्य समस्याको रूपमा छ ।
विश्व स्वास्थ्य संगठनको अध्ययन (सन् २०१९) अनुसार नेपालमा १ देखि ९ वर्ष उमेर समूहका करिब ५१.२ प्रतिशत बालबालिकामा दाँत किराले खाने रोग र १५ वर्षभन्दा माथिका करिब १४.८ प्रतिशत जटिल प्रकृतिका गिजा रोगबाट प्रभावित रहेको देखिएको छ । प्रतिएक लाख जनसंख्यामा लगभग ३.४ व्यक्तिहरू ओठ र मुखको क्यान्सरबाट प्रभावित छन् ।
शारीरिक सन्तुष्टिका लागि मुख स्वास्थ्य हुन आवश्यक हुन्छ । शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व मुखमार्फत नै जाने हुँदा मुख स्वस्थ राख्न सके ९० प्रतिशत रोगको संक्रमणबाट जोगिन सकिन्छ ।
डेन्टल साइन्स हाईजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाका अनुसार शरीर तन्दुरुस्त राख्न मुखको स्वास्थ्य आवश्यक हुने भएकाले दाँत परीक्षण, सरसफाइ अनिवार्य रहेको बताए । उनका अनुसार खाना खाइसकेपछि दैनिक दुई पटक सही तरिकाले दाँत माझ्नुपर्छ । ‘दाँत सफा गर्दा दुख्छ भनेर धेरैले भन्छन्,’ उनले भने, ‘त्यो होइन, मुखको हाइजिनका लागि ६/६ महिनामा चिकित्सकको सल्लाहअनुसार दाँत सफा गर्नुपर्छ ।’
अधिकांश दुर्गम स्थानीय तहमा मुख स्वास्थ्य सेवाको पहुँच पर्याप्त नहुनु, आवश्यकताअनुसार दन्तचिकित्सक नहुनु, भए पनि समतामूलक वितरण नहुनु, अनुसन्धानबाट प्राप्त तथ्यअनुसार नीति योजना निर्माण तथा कार्यान्वयन नहुनु, आधुनिकीकरणसँगै नेपालीको आहारामा आएको परिवर्तनले गर्दा मुखको स्वास्थ्यसम्बन्धी समस्या बढेको उनको भनाइ छ ।
मुख स्वास्थ्य सेवामा सरकारी लगानी वृद्घि गर्नुपर्ने पनि उनले बताए ।
सेवाग्राहीमैत्री गुणस्तरीय सेवा सुनिश्चित गर्नु र देशैभरि सञ्चालित सेवाको प्रभावकारी नियमन गर्नु, सामाजिक आर्थिक रूपले कमजोर जनसमुदायमा हालको उपलब्ध स्रोत साधनबाट आधारभूत मुख स्वास्थ्य सेवा पुर्याउनु, मुख स्वास्थ्य सेवालाई समतामूलक र उपयुक्त स्रोत साधनसहित सेवालाई व्यवस्थित गर्नु ठुलो चुनौती रहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
दाँत तथा मुख स्वास्थ्य सम्बन्धी शिक्षण संस्थाहरूको गुणस्तर सुनिश्चित गर्नु, मुख स्वास्थ्य सेवाको सुधारका लागि अनुगमन प्रणाली सुदृढ गर्नु पनि चुनौती रहेको देखिएको मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य नियमावली, २०७७ को अनुसूची १ मा आधारभूत स्वास्थ्य सेवामा मुख स्वास्थ्य समावेश भई आइसकेको परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्यबाट मुख स्वास्थ्य सञ्जाललाई स्थानीय तहसम्म विस्तार गर्न सकिने अवस्था छ ।
प्रायः नेपालीमा मुख स्वास्थ्यसम्बन्धी रोगको समयमा देखिने गरेको र उपचार महँगो भएको र सीमान्तकृत तथा कम आय हुनेका लागि सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत यस्तो स्वास्थ्य सेवा विकास र विस्तार गर्न सकिने मन्त्रालयले औँल्याएको छ ।
राष्ट्रिय मुख स्वास्थ्य रणनीति (२०८१–२०८७) को दीर्घकालीन सोच ‘स्वास्थ्य मुख, सुन्दर शरीर’ रहेको छ । यसको लक्ष्य मुख स्वास्थ्यको प्रवर्द्धन र मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, रोगहरूको रोकथाम, नियन्त्रण, उपचारको विकास र पुनर्स्थापना गर्दै प्रत्येक नागरिकमा गुणस्तरीय मुख स्वास्थ्य सेवाको समतामूलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय सरकारले गाउँ गाउँमा सिंहदरबार पुर्याएको छ : प्रधानमन्त्री
-
प्रचण्डको टिप्पणी– विद्यार्थीको निर्वाचनको रुझानले बढो राम्रो सङ्केत दियो
-
प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर
-
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयाे : अध्यक्ष प्रचण्ड
-
खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुट्यो
-
लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित