नेपालमा युवापुस्ता छन् सबैभन्दा धेरै खुसी, तपाईँ कत्तिको हुनुहुन्छ ?

सुख र खुसीको कामना नगर्ने वा यसलाई नचाहने मान्छे संसारमा को नै होला र ? अति व्यस्त समय तालिकाबाट आफ्नो लागि थोरै मात्र समय छुट्टाएर भए पनि खुसी रहन हामी दिनहुँ अनेकौँ क्रियाकलाप गरिरहेका हुन्छौँ ।
खुसी बटुल्न कोही पैसाको पछि लाग्छन्, कोही सुख सुविधा थुपार्न मरिहत्ते गरिरहेका हुन्छन् । कसैलाई घरमा आमाको काखमा केही मिनेट टाउको राखेर सुस्ताउन पाउँदा खुसी मिल्छ । परिवारको सदस्यका साथमा बसेर गफिँदै एकेक कप चिया पिउँदा मात्रै पनि खुसी हुने मान्छे धेरै छन् ।
केही मान्छेका खुसी घुमफिरमा हुन्छ । समय मिल्दासम्म नयाँ नयाँ ठाउँ घुम्न निस्किरहन्छन् । केही मान्छेले आध्यात्मिक चिन्तनमा आफ्नो खुसी खोज्छन्, वेला वेलामा धर्मकर्म गरिरहन्छन्, मठमन्दिर घुम्न गइरहन्छन् ।
मान्छेको स्वभाव, पारिवारिक स्थिति, आर्थिक हैसियत, साथीसंगति आदिका आधारमा आफूलाई खुसी राख्न अनेक उपाय अपनाइरहेका हुन्छन् ।
नेपालमा खुसी भएको व्यक्ति विदेशमा दुःखी हुन सक्छ, बिदेसिएका हाम्रा केही आफन्त केही हप्ता वा महिनाका लागि स्वदेश फर्किँदा पनि जीवनको सबैभन्दा ठुलो खुसी पाएको महसुस गर्न सक्छन् । हामी जस्तो समाजमा बस्छौँ, त्यसले पनि हाम्रो खुसीलाई परिवर्तन गर्न सक्छ ।
गएको २४ घण्टामा पछिल्लो पटक मनदेखि नै तपाईँ कति पटक खुसी हुनुभयो ? केही परको कुरा सोध्छु ल । गएको १२/२४ महिनामा जिन्दगीमा खुसीका पलहरू कति थुपार्नुभयो । यस अवधिमा आफ्नो निजी जीवन र अवस्थाप्रति कत्तिको सन्तुष्ट महसुस गर्नुभयो ? खुसीबारे यति धेरै प्रश्न किन सोधेको होला भन्ने जिज्ञासा तपाईंको मनमा उब्जिएको होला ।
मार्च २० अर्थात् विश्व खुसी दिवस । हरेक वर्ष यस दिनलाई विश्वभर खुसी दिवसका रूपमा मनाइन्छ । हरेक वर्ष यसैको छेको पारेर संयुक्त राष्ट्र सङ्घका लागि ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क’ले ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ शीर्षकको प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । गएको वर्षको वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा ५ दशमलव १५८ अंकसहित विश्वका १४३ देशमाझ नेपाल ९३ औँ स्थानमा रहेको थियो ।
२०२४ को प्रतिवेदनअनुसार अवधिमा नेपालमा सबैभन्दा खुसी युवापुस्ता थिए । सबैभन्दा कम खुसीचाँहि वयस्कहरू भेटिए । २०२४ को प्रतिवेदन सन् २०२१ देखि २०२३ सम्म ग्लायलप वर्ल्ड पोल सर्वेका नतिजा विश्लेषण गरेर तयार पारिएको थियो ।
यो प्रतिवेदनमा कुनै पनि देश तालिकाको शीर्ष स्थान नजिक पुग्यो भने खुसी मानिन्छ । जति तल गयो उति नै उक्त देशलाई दुःखी मानिन्छ । यस अर्थमा गएको वर्ष फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश रह्यो । योसँगै लगातार सातौँ वर्ष पनि फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको थियो ।
वरीयताको पुछार अर्थात् १४३ औँ स्थानमा रहेको अफगानिस्तान विश्वको सबैभन्दा दुःखी देश हो । प्रतिवेदनका अनुसार फिनल्यान्डबासीको खुसीको स्तर ७ दशमलव ७४१ अंक थियो भने अफगानीहरूको १ दशमलव ७२१ मात्रै थियो । गएको वर्ष प्रतिवेदनको शीर्ष २० मा पहिलो पटक कोस्टारिका र कुवेत छिरेका थिए ।
अमेरिका र जर्मनी गएको वर्षको क्रमशः १५ र १६ औँ स्थानबाट झरेर २३ र २४ औँ स्थानमा समेटिए । शीर्ष १० भित्र अधिकांश देशहरू लगभग अघिल्लो वर्षकै छन् । सार्क देशमाझ सबैभन्दा खुसी देश नेपाल हो । नेपालको छिमेकी देश भारत १ सय २६ औँ स्थानमा रहँदा भारतलाई उछिन्दै पाकिस्तान १ सय ८ औँ नम्बरमा सूचीकृत छ । चीन ६० औँ स्थानमा रहँदा सिंगापुर र ताइवान क्रमशः सूचीको ३० र ३१ औँ स्थानमा थिए ।
सन् २००६ देखि २०१० को तुलनामा २०२१ देखि २०२३ को अवधिमा हरेक देशका हरेक उमेर समूहमा समग्रमा खुसीको स्तर फेरिएको छ । पछिल्लो सर्वेक्षणमा हरेक देशमा पुरुषको तुलनामा महिलामा धेरै नकारात्मक भावना पाइयो । सन् २०१२ मा यो प्रतिवेदन आउन थालेदेखि नै नेपाल सूचीमा रहँदै आएको छ । त्यतिवेला नेपालीको खुसीको स्तर ४ दशमलव १६ अंक थियो । २०२३ को सूचीमा नेपाल ७८ औँ स्थानमा थियो ।
के हो विश्व खुसी प्रतिवेदन ?
विश्व खुसी दिवस देशहरूको खुसीको स्तर मापन गर्न यूएन (संयुक्त राष्ट्र संघ) ले बर्सेनि तयार पार्ने प्रतिवेदन हो । जीडीपीका आधारमा मात्रै कुनै पनि देशका जनताका खुसी वा समृद्धिको मापन गर्नु हुन्न भन्ने अवधारणाका आधारमा २०१२ देखि हरेक वर्ष यो प्रतिवेदन सार्वजनिक गर्न थालिएको हो । ग्यालप वर्ल्ड पोलको डेटाका आधारमा यो प्रतिवेदन तयार पारिन्छ । यसमा हरेक देशबाट एक हजारदेखि तीन हजारसम्म मानिसको छनोट गरिन्छ । सहभागीहरूले आफ्नो जीवनलाई दिएको ‘रेटिङ’का आधारमा यो प्रतिवेदन आधारित हुन्छ । यसले आजको संसारमा खुसीको अवस्थाको समीक्षा गर्ने र व्यक्तिगत अनि राष्ट्रियस्तरमा खुसीको विज्ञानको व्याख्या गर्ने प्रयास गरेको छ ।
सर्वेक्षणमा सहभागीलाई जीवनको निश्चित पाटोसम्बन्धी प्रश्नहरू सोधेर शून्यदेखि १० सम्म खुड्किला भएको एउटा भर्याङमा आफ्नो जिन्दगी कहाँ छ भनेर सोधिन्छ । भर्याङको माथिल्लो अर्थात् १० लेखिएको खुड्किलामा हुनुको अर्थ जीवन आदर्श छ भन्ने शून्यले खराब जीवनको प्रतिनिधित्व गर्छ । प्रतिवेदनले देशहरूलाई आय, स्वतन्त्रता, विश्वास, स्वस्थ औसत आयु, सामाजिक टेवा र उदारताजस्ता ६ तत्त्वका आधारमा छुट्टाछुट्टै रूपमा सूचीकृत गरेको थियो । प्रतिवेदनले विश्वस्तरमा कुनै पनि देशको समृद्धि र सामाजिकस्तरमा भएको प्रगतिबारे महत्त्वपूर्ण अन्तरदृष्टि दिने भएकोले पनि यसलाई निकै महत्वका साथमा हेर्ने गरिएको छ ।
सामाजिक टेवा, आर्थिक स्थायित्व र व्यक्तिगत स्वतन्त्रताजस्ता तत्त्वहरूको विश्लेषण गरेर प्रतिवेदनले कुनै पनि देशबासीको खुसी अनि जीवनस्तरको उकास्न केले बढी योगदान दिइरहेको छ वा आफ्ना जनतालाई खुसी पार्न के गर्न सकिन्छ भन्ने बुझ्न पनि यसले नीतिनिर्माताहरूलाई मद्दत गर्न सक्छ ।
यसले कुनै पनि देशको नीति निर्माणबारे जानकारी दिनुको साथै खुसीको स्तर र समृद्धि बढाउन पनि आवश्यक छलफल र पहललाई पनि प्रेरित गर्छ । जीडीपी धेरै हुँदैमा वा जीडीपी बढ्दैमा देशका जनता खुसी हुँदैनन् भन्ने कुरा यो प्रतिवेदनले निकै राम्रोसँग बुझाउँछ ।
कस्ता हुन्छन् प्रश्नहरू ?
सर्वेक्षणमा अनुभवजन्य विषयमा आधारित भएर प्रश्न सोध्ने गरिन्छ । आपत्मा परेका वेलामा नातेदार वा साथीभाइले मद्दत गरेका छन् ? आपतै परिहाल्यो भने पनि परिवारका सदस्य र साथीभाइले मद्दत गर्छन् भन्नेमा कत्तिको भर गर्नहुन्छ ? तपाईँ आफ्नो जिन्दगीमा कुनै पनि कुरा छान्न पाउने स्वतन्त्रतामा कति खुसी हुनुहुन्छ ? एक महिनामा के तपाईंले कुनै संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ ? भन्नेजस्ता प्रश्न पनि सर्वेक्षणमा सोधिएका हुन्छन् । भ्रष्टाचारसँग जोडिएका प्रश्नहरू पनि सर्वेक्षणमा समावेश हुन्छन् ।
यी प्रश्नलाई सहभागीले शून्यदेखि १० सम्मको स्केलमा र्याङ्किङ गर्नुपर्छ । उदाहरणका लागि: उत्तरदाताले परिवार वा साथीभाइबाट कुनै पनि सहयोग नपाएको अनुभव गरेको रहेछ भने शून्य अंक दिइन्छ । तर यदि उसले पर्याप्त सहयोग पाएको अनुभव गरेको भए १० अंकसम्म दिइन सक्छ । परिवार र साथीले मद्दत गर्छन् भन्नेमा धेरै भरोसा भए बढी अंक दिइन्छ, भरोसा नभएमा कम वा शून्य अंक पनि दिइन सक्छ । सबै प्रश्नमा यही कुरा लागु हुन्छ ।
करिअर छान्ने स्वतन्त्रता, कुनै पनि धर्म अपनाउन पाउने छुट, मीठो खाना खाने अवसर, आफूलाई मन लागेको कपडा किनेर लगाउन पाउने स्वतन्त्रता आदिजस्ता जीवनमा आफूलाई मन परेको कुरा गर्न पाउनु वा राम्रा लागेका कुरा छान्न पाउनु पनि खुसीभित्र पर्छन् । यस्तै खालका अनेकौँ प्रश्नबाट प्राप्त उत्तरका आधारमा प्रतिवेदनले हरेक देशलाई खुसीको सूचक अंक दिने गर्दछ ।
खुसी रहन अपनाउनुस् यस्ता उपाय:
- नियमित रूपमा व्यायाम र ध्यान गर्नुहोस् ।
- स्वस्थ खानपान अपनाउनुहोस् ।
- पूरा निद्रा निदाउनुहोस् ।
- आफ्नो मनका भावना अरूसँग सेयर गर्नुहोस्
- रक्सीको सेवन सकेसम्म बन्द वा कम गर्नुहोस् ।
- परिवारका सदस्य र साथीसँग धेरै समय बिताउनुहोस् ।
- सामाजिक सञ्जालको प्रयोग कमभन्दा कम गर्नुहोस् र आफ्ना वास्तविक सम्बन्धमा बढी ध्यान दिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा चिट चोराउने रौतहटका २ जना पक्राउ
-
आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा सुरू
-
पुलिस क्लबलको लगातार सातौँ जित, बागमती प्रदेशको केही लागेन
-
पुनः लोडसेडिङ हुने मन्त्रीको अभिव्यक्तिप्रति उद्योग परिसंघको आपत्ति
-
डेभलपमन्ट बैँकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिए
-
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित