काठमाडौँ । आजदेखि एसईई परीक्षा सुरु हुँदै छ । फलामे ढोका भनिएको एसईईमा सहभागी हुने कतिपय विद्यार्थीलाई परीक्षा कसरी दिने भन्ने डर पनि लागेको होला ।
परीक्षालाई कसरी राम्रो बनाउने भन्ने तनाव पनि त्यतिकै होला । कतिलाई त परीक्षा अवधिभरि के गर्ने, के नगर्ने भन्ने अन्योल पनि छ होला ।
यही अन्योललाई मेटाउन हामीले २०७९ सालमा एसईई दिएर ४ जीपीए ल्याउन सफल आस्था ठाकुरसँग एसईई परीक्षा दिँदा के–के कुरामा ध्यान दिनुपर्छ भनेर कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
एसईईको परीक्षाको लागि रातभरि पढ्नु कत्तिको राम्रो हो ?
परीक्षाको अघिल्लो रात अबेरसम्म पढ्नुहुँदैन । ८ घण्टासम्म राम्ररी सुत्नुपर्छ ।
नसुती–नसुती पढेर परीक्षा राम्रो हुँदैन । राम्ररी सुत्नुभएन भने परीक्षा नै राम्रोसँग दिन सकिँदैन । मैले सेन्टअपको समयमा रातभरि पढेँ, तर मेरो राम्रो अंक आएन । राम्रोसँग परीक्षा दिन आराम पनि निक्कै जरुरी रहेछ ।
परीक्षालाई राम्रो बनाउन कसरी पढ्ने ?
परीक्षाको समयमा किताब पढ्ने भन्दा पनि स्कुलमा बनाएको नोट पढ्नुपर्छ । सेट प्रश्नलाई फोकस गर्ने र सेट प्रश्नलाई नै रिभिजन गर्दा राम्रो हुन्छ । आफूलाई जे मन लाग्छ, त्यो नपढ्ने । शिक्षकहरूले भनेको महत्त्वपूर्ण प्रश्नलाई बढी ध्यान दिनुपर्छ ।
परीक्षा हलमा जानु भन्दा अगाडि पढ्ने कि नपढ्ने ?
नपढ्ने । परीक्षा हलमा जानुभन्दा अगाडि पढ्न थाल्दा वा साथीभाइसँग छलफल गर्दा मलाई त साथीलाई जति पनि आउँदैन भन्ने हुन सक्छ । साथीहरूलाई यो पढ्यो कि पढेनौँ भनेर सोध्नुभएन । यसो गर्यो भने आफूलाई कन्फ्यूजन हुन सक्छ ।
परीक्षा हलमा समयको व्यवस्थापन कसरी गर्ने ?
सबैभन्दा पहिले सामाजिक, नेपाली जस्ता विषयमा टाइम म्यानेटमेन्ट धेरै महत्त्वपूर्ण हुन्छ । त्यसैले पहिले सजिलो प्रश्न हल गर्नुपर्छ र त्यसपछि गाह्रो प्रश्न गर्ने । त्यसले समय बचाउँछ । अनि तपाईंलाई आउने प्रश्न पनि छुट्दैन ।
लेख्ने टेक्निक पनि केही छ ?
लामो प्रश्नको उत्तर लेख्दा उत्तरलाई तीन अनुच्छेदमा बाँड्नुपर्छ । सुरुमा परिभाषा लेख्ने, बिच भागमा निचोड के हो लख्ने, बुँदामा लेख्ने, जे पायो त्यहीँ नलेख्ने । अनि तेस्रो भागमा सानो निष्कर्ष लेख्नुभयो भने राम्रो हुन्छ ।
सामाजिक सञ्जाल चलाउने कि नचलाउने ?
मैले एसईई सुरु हुनुभन्दा चार पाँच दिन अघि नै सोसल मिडिया चलाउन छोडिसकेको थिए । ब्रेक लिँदा केही खाने बरु साथीभाइसँग डुल्न जाने गर्थे । यो सोसल मिडिया परीक्षाको बेला डिस्ट्रयाक्सन नै हो । परीक्षाको बेला सोसल मिडिया कट नै गर्नुपर्छ । सोसल मिडियामा टिकटक, रिल्सको १० सेकेन्डेको भिडियो हेर्दा हामीलाई हतारिने बानी पर्छ । अनि परीक्षामा पनि हतारिने बानी हुन्छ । अनि परीक्षामा पनि लेख्ने भन्दा पनि छिटो सकाउनुपर्छ भन्ने हुन्छ । परीक्षाको दिनहरूमा सोसल मिडिया कन्ट्रोल गर्नुपर्छ । एसईईले तपाईँको भविष्यलाई सेप गर्छ । त्यसैले सोसल मिडिया नचलाउनु नै राम्रो ।
प्रतिक्रिया