बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

नीलमको प्रेरणादायी यात्राः शिक्षिकादेखि डेपुटी गभर्नरसम्म

बुधबार, ०६ चैत २०८१, १८ : ४२
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन ।

तर नीलमको लेखोट भने अर्कै थियो । उनलाई त्यतिमै सीमित हुन छुट थिएन । एउटा यस्तो अवसर आयो, जसलाई पछ्याउँदै उनी आज नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरसम्म पुगेर मुलुकको अर्थतन्त्रको ढुकुटी सम्हालिरहेकी छिन् ।  अर्थतन्त्रका सूचकाङ्क केलाउँदै नीति नियम बनाउने र प्रभावकारी कार्यान्वयन गराउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जिम्मेवारीसमेत उनले बोकेकी छिन् ।

विद्यालयदेखि नै मेधावी छात्रा ढुङ्गानालाई कक्षामा कहिल्यै पछाडि पर्नुपरेन । पढाइमा सधैँभरि अब्बल भइराख्न पारिवारिक वातावरण अनुकूल थियो । बुबा माध्यमिक विद्यालयको निरीक्षक र आमा शिक्षिका हुनुहुन्थ्यो । ‘घरायसी काम सघाउनेदेखि पढाइमा अब्बल भइराख्न परिवारबाट मिलेको साथ, सहयोग र प्रेरणा हो भन्ने लाग्छ’, केही दिनअघि बाँसबारी, हेपाली हाइटस्थित निवासमा कुराकानीका क्रममा डा ढुङ्गानाले सुनाइन् ।

झापामा जन्मिएकी नीलमको बुबा सरकारी जागिरे भएकाले जता सरूवा हुन्छ, त्यतै जाँदा विद्यालयको पढाइ पनि त्यतै सर्दै गयो । उनले एसएलसी भने २०४१ सालमा दमकस्थित हिमालयन माध्यमिक विद्यालयबाट पूरा गरिन् । त्यसपछिको शिक्षामा ढुङ्गानाको रोजाइमा विज्ञान सङ्काय थियो । तर, दमकमा विज्ञान पढाउने क्याम्पस आइसकेका थिएनन् । उनको रहर त्यहीँ छुट्यो । विकल्पमा कमर्श पढ्नुपर्ने भयो । आइकममा उनले जिल्लामा सर्वोत्कृष्ट अङ्क ल्याइन् ।

दमकमा आइकम सकाएपछि ‘‘बिकम’ पढ्न विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भर्ना भइन् । स्नातक तहको पहिलो वर्ष पूरा भइसक्दा १९ वर्षको कलिलै उमेरमा विवाह भयो । विवाहपछि पनि पढाइ जारी नै रह्यो । केही समयपछि छोरी जन्मिइन् । त्यसपछि भने पढाइको गतिमा एक वर्ष बिराम लाग्यो । लगत्तै विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा एमबिए पढिन् । पढाइसँगै देवकोटा बोर्डिङ स्कुलमा अध्यापन सुरु गरिन् ।

स्नातकोत्तर तहमा उनी त्रिभुवन विश्वविद्यालयमा समग्रमा दोस्रो र महिलामा पहिलो स्थान प्राप्त गरिन् । कीर्तिपुरस्थित विश्वविद्यालय आएर तत्कालीन राजा वीरेन्द्र शाहबाट ‘‘गोल्ड मेडल’सँगै सम्मान ग्रहण गरेर फर्किएपछि स्नातकोत्तर क्याम्पसमै सहप्रध्यापकको जागिर मिल्यो । पढाइ जस्तै जागिर मिलेपछि उनलाई अर्को ठाउँ जाउँ भन्ने सोच नै पलाएन । ‘परिवार, पढाइ र जागिर सबै भने जस्तै भएपछि अर्को ठाउँ जाने रहर कत्ति पनि थिएन, मैले जे उपलब्धि प्राप्त गरेकी थिए, त्यसैमा सन्तुष्ट थिएँ’, उनले सुनाइन् ।

सोही क्रममा नेपाल राष्ट्र बैंकले सहायक अधिकृत तहमा जागिर खुलायो । तर, ढुङ्गानालाई भने यसबारे न चासो न जानकारी । ‘श्रीमान्का विद्यार्थी सुनील खनालले विज्ञापनको चिर्कटो देखाउँदै म्याडम, अब अध्यापनमा मात्रै सीमित भएर हुन्न भनेको डा नीलमले सम्झिइन् । ‘त्यो वेलामा उसले सके राष्ट्र बैंकमा नभए निजामती जागिर भए पनि खानुपर्छ भन्दै हौसाएको थियो, आवेदनको फाराम पनि उसकै कारणले भरेकी थिएँ ।’

फाराम भरेपछि त तयारी पनि गर्नुपर्‍यो । केन्द्रीय बैंकको विराटनगरको कार्यालयबाट केही प्रकाशनहरू ल्याएँ, केही पत्रपत्रिका र केही पुस्तकको सहयोगमा तयारी पनि भयो । परीक्षा दिन रात्रिकालीन बस बढेर काठमाडौँ हिडिन् । एकान्तकुनामा आफन्तकहाँ विश्राम लिएपछि बालुवाटारस्थित केन्द्रीय बैंक आउँदा बाहिरपट्टिको रूखमा टाँसिएको सूचनामा भनिएको थियो, ‘राजनीतिक परिवर्तनका कारण अहिलेका लागि सहायक अधिकृतको परीक्षा स्थगित भएको छ ।’

लामो समयदेखिको तयारी, विराटनगर–काठमाडौँको कष्टपूर्ण यात्रापछि जाँच स्थगितको सूचना ढुङ्गानाका लागि अपेक्षाभन्दा पर थियो । एकप्रकारले मनमा निराशा छायो । यति ठूलो मेहनत खेर गयो भन्ने भयो । मन बुझाउनै गाह्रो भयो, तर स्वीकार गर्नुबाहेक के नै गर्न सकिन्थ्यो र ? 

निराश मन लिएर बालुवाटारबाट गाडी चढेर रत्नपार्क पुग्दा सडक पेटीमा किताब बिक्रीका लागि राखिएको रहेछ । ‘बाटोमा किताब फिँजाएर बिक्री गरेको मलाई नौलो लाग्यो, विराटनगरमा त्यस्तो कहिल्यै देखिएन, एकान्तकुनाको गाडी चढ्नुअघि किताब नियाल्दै थिए, यत्तिकैमा ‘नेपाल राष्ट्र बैंक प्रतियोगिता गाइड’ देखेपछि नकिनी मनले मानेन ।’

विराटनगर पुगेपछि किताब पढ्दा उहाँलाई लाग्यो, सायद तयारी अझै पुगेको रहेनछ । उनले पढ्न छुटाएका कैयौँ कुराहरू पुस्तकमा थिए । त्यही पुस्तक उनका लागि राष्ट्र बैंक प्रवेश गर्ने माध्यम बन्यो भन्ने लाग्छ उनलाई । विसं २०५४ असारमा जाँच भयो । दसैँ सुरू हुनुभन्दा अगाडि प्रकाशित नतिजामा उत्तीर्ण हुनेमा नीलम ढुंगानाको नाम पनि थियो । ‘अहिले लाग्छ, सुरूमा परीक्षा स्थगित हुनु र त्यो पुस्तक संयोगले भेटिनु सायद मेरै लागि अवसर थियो, सायद पहिले तयारी पुगेको थिएन’, उनले भनिन् ।

नतिजा प्रकाशित भयो, तर थाहै छैन । दसैँमा विराटनगरबाट झापा जाँदै गर्दा बस स्ट्यान्डमा भेटिनुभएका एक आफन्तका मुखबाट नतिजा आएको पाँच दिनपछि खबर सुनेको रहेछ । ‘उनले गोरखापत्रमा नाम निस्केको छ, बधाई छ, लड्डु कहिले खुवाउने भनेपछि पो थाहा भयो, दसैँमा घर हिँडेको मान्छे नतिजा हेर्न जाऔँ कि कता जाऔँ भन्ने द्विविधा भयो’, उनले भनिन्, ‘अन्तर्वार्ता कहिले हुने हो, छुट्ने पो हो कि भन्ने चिन्ता भयो । तापनि दसैँ जस्तो महान् चाडका वेलामा त पक्कै हुँदैन होला, भनी झापा नै लागियो ।’

उनको मनमा दसैँभरि त्यही नतिजा घुमिरह्यो । दसैँलगत्तै विराटनगर फर्किएर क्याम्पसको पुस्तकालय खोल्न अनुरोध गरेर पुरानो गोरखापत्रमा हेर्दा नाम भेट्टिँदा निकै खुसी लाग्यो निलमलाई । नाम निस्केको सो गोरखापत्रकोे कटिङ अझै सुरक्षित छ, भन्छिन् उनी । २०५४ सालको भाइटीकाको पर्सीपल्ट अन्तर्वार्ताको मिति तोकियो, त्यसमा पनि पास भइन् । नियुक्तिपत्र लिन काठमाडौँ आएकी उनलाई केन्द्रीय कार्यालयमै विदेशी विनिमय व्यवस्थापन विभागमा खटाइएपछि यतै बस्नुपर्ने भयो ।

त्यसपछिको एक वर्ष काठमाडौँमा बिताएपछि नीलमको विराटनगर नै सरूवा भयो । त्यहाँ तीन वर्ष बिताएपछि पुनः काठमाडौँ फर्कनुभयो । त्यसयता उनले राष्ट्र बैंकमा विभिन्न विभागमा रहेर काम गर्दै आफूलाई अब्बल सावित गर्दै आएकी छिन् । । बैंकबाटै अष्ट्रेलिया पुगेर वलोङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरिन् । केही वर्षपछि उनले भारतबाट ‘मौद्रिक प्रसारण संयन्त्र र बैंक लेण्डिङ्ग विहेवियर’मा विद्यावारिधि पनि पूरा गरिन् । 

‘केन्द्रीय बैंकमा रहँदा मैले धेरै अवसरहरू प्राप्त गरेँ । प्रत्येक आन्तरिक प्रतियोगितात्मक परीक्षा पहिलो प्रयासमै उत्तीर्ण हुँदै निर्देशक तहसम्म बढुवा भएँ । काम गर्दाका अवस्थामा विभिन्न प्रकारका चुनौती र असफलताहरू आउनु स्वाभाविक जस्तो लाग्छ । चुनौती र असफलताले धैर्यता र पाठ सिकाउँछ । कार्यकारी निर्देशकमा भने कार्यसम्पादन मूल्याङ्कनका आधारमा पदोन्नति भयो, नियम नै यही हो’, उनले सुनाइन् । 

ढुङ्गानाले केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा कार्य अनुभव हासिल गरेकी छिन् । आफ्नो कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष आर्थिक अनुसन्धान विभागमा बिताइन् । उनले पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय निर्देशकका रूपमा सफलतापूर्वक १४ महिना काम गरिन् । मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारबाट उनलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्ति प्राप्त भयो ।

अर्थतन्त्रको अवस्था  

अर्थतन्त्रलाई नजिकैबाट नियालिरहेकी डा ढुङ्गानाका शब्दमा अहिले अर्थतन्त्रका अधिकांश सूचकाङ्क सकारात्मक छन् । यद्यपि सुधार गर्नुपर्ने कैयौँ पक्ष पनि नभएका होइनन् । ‘चालू आर्थिक वर्षको सात महिनामा मुद्रास्फीति ४ दशमलव १६ प्रतिशत (वाञ्छित सीमाभित्रै) छ, बाह्य क्षेत्र सहज अवस्थामा छ । रू २३६९ अर्ब विदेशी मुद्रा सञ्चिति छ, चालु खाता बचतमा छ, गतवर्षको तुलनामा वैदेशिक लगानी, ऋण र अनुदान पनि बढेको छ । विप्रेषणमा ७ दशमलव ३ प्रतिशतले वृद्धि भई रू ९०० अर्ब पुगेको छ’, उनले भनिन् । 

सरकारी वित्तका क्षेत्रमा अपेक्षित रूपमा पुँजीगत खर्च र राजस्व परिचालन हुन नसके पनि गत वर्षको तुलनामा वृद्धिदर उल्लेख्य छ । गत वर्ष सरकारी खर्च २ दशमलव ९ प्रतिशतले बढेकामा यस वर्ष ९ दशमलव ९ प्रतिशतले बढेको छ । त्यस्तै राजस्व परिचालन गत वर्ष यो अवधिमा १० दशमलव २ प्रतिशतले बढेकामा यो वर्ष १३ दशमलव ३ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा आशा गर्ने धेरै क्षेत्रहरू छन् । लगानीको प्रशस्त अवसर छन् । बैंकिङ क्षेत्रको ब्याजदर न्यून विन्दुमा झरेको र तरलता प्रशस्त रहेको अहिलेको अवस्थालाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा लिन सकिने उनको बुझाइ छ ।

अधिकांश सूचकाङ्कहरू राम्रा हुँदाहुँदै पनि बैंकमा अधिक तरलता छ, अपेक्षाकृत रूपमा कर्जा प्रवाह हुन सकेको छैन, वााणिज्य बैंकले दिने कर्जाको ब्याजदर गत वर्ष औसत ११ दशमलव ०८ बाट अहिले ८ दशमलव ५५ प्रतिशतमा झरेको छ, आधारदर पनि औसत ९ दशमलव ०६ प्रतिशतबाट ६ दशमलव ४६ प्रतिशतमा आइसकेको छ, तर कर्जा प्रवाह अपेक्षाकृत रूपमा बढ्न नसकेको र यसमा कहीँ न कहीँ, केही कमी कमजोरीहरू त पक्कै हुन सक्छन्, मूलतः कूल मागमा नै समस्या देखिएको उनको बुझाइ छ ।’

डेपुटी गभर्नर डा ढुङ्गाना अहिले अर्थतन्त्रमा देखिएको समस्या कोरोना महामारीदेखि नै सुरु भएको हो भन्छिन् । तत्कालीन समयमा अर्थतन्त्र पुनरुत्थानका लागि चालिएका केही लचकपूर्ण कदमका धेरै सकारात्मक प्रभावका साथै केही नकारात्मक प्रभाव पनि परेका छन् । केन्द्रीय बैंकले दिएको स्टिमुलस प्याकेज, ऋणको पुनःसंरचना, पुनःकर्जालगायतका नीतिले ८५ प्रतिशत उद्योग व्यवसाय पुनःसञ्चालनमा आए पनि कतिपय कर्जाको उत्पादनशील क्षेत्रमा सदुपयोग हुन नसक्दा केही समस्या भएको उनको बुझाइ छ । त्यसैको असर अहिले बैंकको रिकभरिमा देखिएको छ, यसले खराब ऋण बढाएको छ । त्यसबाहेक यसबीचमा भएका ऋण तिर्नुनपर्ने भन्दै अभियानकै रूपमा सृजित गरिएका गैरआर्थिक गतिविधि पनि कारक हुन् भन्ने उनको बुझाइ छ ।

ठूलो सङ्ख्यामा युवाहरू विदेश जाँदा आन्तरिक माग घटेको हो, उनी भन्छिन्, उपभोग गर्नेहरू नै विदेश गएपछि माग स्वतः कमजोर हुन्छ । यसको असर निजी क्षेत्रको उत्पादन र अन्ततोगत्वा बैंकको कर्जा प्रवाहमा देखिन्छ । माग नै छैन भने उत्पादनका लागि कर्जा प्रवाह कमजोर हुनु स्वाभाविक हो । तर अहिले ब्याजदरहरू माथि भनिएझैँ न्यून विन्दुमा झर्नु र बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहनुलाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा सदुपयोग गर्ने वेला हो । गत वर्षभन्दा कर्जाको वृद्धिदर बढीरहेको अवस्थालाई पनि यस अर्थमा हेर्न सकिन्छ ।

केन्द्रीय बैंकको भूमिका

केन्द्रीय बैंकको मुख्य भूमिका समष्टिगत आर्थिक स्थायित्वलाई ध्यानमा राख्दै आर्थिक विकासका लागि सहजीकरण गर्ने हो । कर्जा र ब्याजदरका माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो । त्यसबाहेक नीतिगत तवरबाट पनि काम गर्न सकिन्छ । अहिले पनि साना तथा मझौला क्षेत्र, कृषि र ऊर्जा क्षेत्रमा ४० प्रतिशत कर्जा हुनु केन्द्रीय बैंककै कारण सम्भव भएको हो । 

पछिल्लो समय नेपाल ग्रे लिस्टमा परेको र यसबाट निकाल्नका लागि पनि केन्द्रीय बैंकले सक्दो भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘फाइनान्सिल इन्टेलिजेन्स युनिट केन्द्रीय बैंकअन्तर्गत नै छ, वित्तीय क्षेत्रमा हुनसक्ने शङ्कास्पद कारोबार, सम्पत्ति शुद्धीकरणका क्षेत्रमा सूक्ष्म निगरानी भइरहेको छ ।’ ‘पछिल्लो समय त बैंकवित्तीय संस्थाहरूको एएमएल सिएफटीसम्बन्धी गहन रूपमा सुपरिवेक्षण गर्न छुट्टै एएमएल सीएफटी सुपरिवेक्षण महाशाखा नै नेपाल राष्ट्र बैंकमा बनाइएको छ ।’ 

त्यसबाहेक तल्लो तहसम्म एएमएल/सीएफटीसम्बन्धी जनचेतना अभियानकै रूपमा चलाउनुपर्ने खाँचो रहेको उनको बुझाइ छ । रेडियो टेलिभिजनमार्फत वा विभिन्न तालिमका साथै यसलाई पाठ्यक्रममै राख्न पनि सकिन्छ । केन्द्रीय बैंकले कडाइ गरेकै कारण सम्पत्ति शुद्धीकरणमा धेरै सुधार आएको छ । अन्तरराष्ट्रिय जगतले अझै बढी ‘कम्प्लाइन्स’ खोजेको अवस्था छ । सबै क्षेत्रमा एफएटीएफले ‘कम्प्लाइन्स’ खोज्दा  र अपेक्षित ‘कम्प्लाइन्स’  नदेखिएकोले ‘ग्रे लिष्ट’मा परेको उनको बुझाइ छ । 

गभर्नरको दाबेदार

वरिष्ठ डेपुटी गभर्नर डा ढुङ्गानाका अगाडि नेपालको पहिलो महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको छ । त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उनलाई प्राप्त भएको हो । यतिवेला गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति पनि गठन भइसकेको भन्ने सुन्नमा आएको छ । नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उनी भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुन् । 

‘म राष्ट्र बैंक प्रवेश गर्दा यति ठूलो सपना थिएन, यस गरिमामय संस्थामार्फत मुलुकको सेवा गर्न पाउनुका साथै मेरो जीविकोपार्जनसँग पनि जोडिएको थियो’, उनले भनिन्, ‘करिब तीन दशकको यात्रामा मैले बैंकमा गरेको मेहनत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ ।’ रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?